चौथो अंग : कला पत्रकार ठेकेदारको शरणमा, कलाकारका पिआर एजेन्ट जस्ता

चौथो अंग : कला पत्रकार ठेकेदारको शरणमा, कलाकारका पिआर एजेन्ट जस्ता

नेपालको कला पत्रकारिता कतिसम्म सतही छ भन्ने केही उदाहरण दिँदै विषय प्रवेश गर्न चाहन्छु।

चाबहिलको गोपीकृष्ण हलमा सात वटा पर्दा थिए। नेपाली फिल्म प्रदर्शन भएको बेला निर्माताले हलमा कलाकार ल्याउँथे। तर कलाकार यस्तो समयमा ल्याउँथे, जतिबेला सातै पर्दाका दर्शक बाहिर जाने र आउने बेला पर्थ्यो।

गोपीकृष्ण हलको माथि बसेर सयौँ दर्शकलाई हात हल्लाइरहेका कलाकार देखिन्थे। त्यही फोटो पठाउने भए मिडियामा। फलानो फिल्म हेर्न दर्शक खचाखच अनि फिल्म सुपर हिट जस्ता समाचार बाहिरिन्थे।

जबकी, ती सातै पर्दामा जुन कलाकारले हात हल्लाएका छन् तिनले अभिनय गरेको फिल्म मात्रै चलेको हुँदैनथ्यो। अन्य फिल्म पनि लागेको हुन्थ्यो। आउने-जाने समय हुँदा दर्शक धेरै देखिएका मात्रै हुन्। यसलाई चिरेर लेख्ने को रिपोर्टर छ त? 

अर्को, बक्स अफिसले कुन फिल्मले कति व्यापार गर्यो, सही तथ्यांक दिएको छ त? कति पत्रकारले भेरिफाइ गरेका छौँ?

अहिले कुन हल फुल भयो/भएन भन्ने अनलाइनमै थाहा हुन्छ। त्यही हेरेर सही हिसाब निकाल्न सकिन्छ। निर्माताले पठाएको ‘फेक’ तथ्यांकलाई आधार मानेर समाचार लेखिरहेका छौँ हामी।

कला पत्रकार त कलाकारको बडी गार्ड र हेल्पर जस्ता पो भयौँ। कला क्षेत्रको चिन्तन होइन, कलाकारको पो चिन्ता गरेका छौँ। 

कलाकारको पिआर एजेन्ट जस्ता पत्रकार
मैले पत्रकारिता सुरु गरेको २३ वर्ष भयो। हामीले फिल्म, नाटक र संगीतको रिपोर्टिङ गर्थ्यौं। पहिले र अहिले कला क्षेत्रको रिपोर्टिङ परिर्वतन भएको देखिँदैन। कला क्षेत्र व्यापक भए पनि फिल्म, नाटक, संगीत र चित्रकलाका केही समाचार आएको देख्न सकिन्छ। मलाई के लाग्छ भने, यी क्षेत्रको समेत रिपोर्टिङ आइरहेको छैन। कला पत्रकारले पत्रकारिताको इथिक्स अनुसार काम गर्न सकेको  देखिँदैन। ६० को दशकतिर राम्रैसँग रिपोर्टिङ भएको देखिए पनि अहिले सुस्ताएको छ। 

आलोचनात्मक समाचार लेख्नेभन्दा पनि प्रचार-प्रसारमा रमाइरहेका छन् कला पत्रकार। कलाकारसँग तुरुन्त निकट भइहाल्ने र साथी जस्तो भएपछि आलोचना नै नगर्ने भए। पत्रकारिता मर्यो यसरी त।

परम्परागत रिपोर्टिङ गर्ने, कलाकारसँग बसेर खाजा खाएको भरमा रिपोर्टिङको साटो प्रचार-प्रसार गर्ने भए। कलाकारको कोठा-चोटा पुग्नेले पिआर एजेन्सीको काम नगरेर पत्रकारिता गर्छ भनेर कसरी पत्याउनु? सही सूचना दिने, धारणा विकास गर्ने काम पत्रकारिताको हो। कला पत्रकार यसमा चुकेका छन्। 

म दावीका साथ भन्छु, नेपाली पत्रकारमा जति पनि कला पत्रकारको खोल ओढेका छन् ५/७ जना बाहेक सबै पिआर एजेन्ट जस्ता भएका छन्। 

यस्तो किन भयो त भन्दा प्रोफेसनको इथिक्सभन्दा पैसा कसरी कमाउने भन्नेमा ध्यान गयो। युट्युबले कला पत्रकारितालाई त झनै ध्वस्त पारेको छ। पत्रकार मनिमाइण्डेड हुनु र इजी मनी हुनुले पनि कला पत्रकारिता बिग्रेको हो। 

अधिकांश कला पत्रकारको आफ्नै साइट छन्। ती साइटमा फिल्म बन्ने कुरादेखि बक्स अफिसबाट आम्दानी बाहिर नआउँदासम्म सूचना आउँछन्। त्यही सूचना छापेपछि निर्माताहरुले पैसा दिने भए। अर्काले पठाइदेको, अझ भन्दा ‘मैले फिल्म बनाउन लागेँ’ भनेर फेसबुकमा स्टाटस राख्ने र त्यही समाचार पो बन्ने भयो। महिनाको ३५/४० हजार यसै आउने भएपछि कसले लेखोस् समाचार।

कला पत्रकारिता ठेकेदारको हातमा
फिल्म बन्ने भएपछि कलाकार छान्नुभन्दा पहिले मिडिया को-अर्डिनेटर छान्छन्। त्यसपछि समाचार आउन थाल्छन्। ९० प्रतिशत निर्माता नामको लोभले यो क्षेत्रमा आएका हुन्छन्। फिल्म बन्ने भयोदेखि, कलाकार छानेको, सुटिङ सुरु भएको, सुटिङ सकिएको, पोष्टर रिलिजदेखि कति आम्दानी गर्योसम्म समाचार जाने भयो। अझ आम्दानी पनि निमार्ताले भनेको आधारमा लेखिने भयो। त्यो सत्य हो/होइन पुष्टि गर्ने कुनै अन्य माध्यम प्रयोग गरेको देखिँदैन। मिडिया को-अर्डिनेटर फिल्म पत्रकार नै हुन्छ। प्रक्रियादेखि फेक डाटासम्म उसैले वितरण गर्छ। 

आफ्नै वेबसाइट भएकाले त महिनैपिच्छे रकम पाउने नै भए। नहुनेले पनि न्यूनतम ५ हजारदेखि वितरण हुन्छ। कला पत्रकारिता ठेकदारका हातमा पुगेको छ। केहीलाई छाडेर सबैले पैसा लिन्छन्। ठेकेदारको शरणमा पुगेका छन् कला पत्रकार।

समाचारको हिसाबले भन्दा खेलकुद र कला आम मान्छेको रुचि हुन्छ। कला पत्रकार आफ्ना पाठकप्रति उत्तरदायी हुने कि नहुने? जेन्युन पत्रकारिता गर्ने कि नगर्ने? सिनेमा कस्तो बन्नुपर्छ भनेर पत्रकारले निरन्तर लेख्दा फिल्म नै बदलिन सक्ने तागत राख्छ नि। खै रंग पत्रकारले बुझेको? 

एक जना निर्देशकले कुनै फिल्म बनाउँदा भनेका थिए- पत्रकारले स्टोरी टेलिङ भएन भनेको भएर यो फिल्ममा फरक गरेको छु। आलोचनात्मक हुन सक्नुपर्यो नि लेख्नेले। 

समस्या फिल्म रिपोर्टिङमा मात्रै होइन, चित्रकलामा पनि त्यही ठेकेदारको कब्जा हो। कोटरीको मान्छेलाई पुरस्कृत गर्ने, त्यही समाचार ठेकेदारले वितरण गर्ने। रिपोर्टिङ नै भएन के कला पत्रकारिताको। 

यौन हिंसा जोगाउने कला पत्रकार
स्रोत चाहिन्छ भनेर कलाकार र पत्रकारको सीमारेखा नै मिचिएको अवस्था छ अहिले। केही समयअघि एक कलाकारलाई बलात्कारको आरोप लाग्दा पत्रकार नै घटना मिलाउन खटिए भन्ने आयो। घटनालाई बाहिर ल्याउनुपर्ने पत्रकार कलाकारको ड्यामेज कन्ट्रोलतर्फ पो लाग्यो। जे गर्नुपर्छ त्यो गरेका छैनन् कला पत्रकारले। जे गर्न हुन्न त्यही-त्यही गरिरहेका छन्। 

अहिले धेरै विवादमा आउने भनेको गसिप हो। गसिपको सवालमा यदि कुनै लिंग, जात, भाषा, धर्मलाई होच्याएर लेख्न भएन। पहिले यस्ता कुरा इग्नोर गरियो। कसैको स्वाभिमानमा असर पुग्ने गसिप पनि लेखिएकै हो। अब भने यस्तो लेख्न हुँदैन। गसिप लेख्न हुन्छ तर होच्याउन भएन कुनै समुदाय विशेषलाई। पत्रकारले पत्रकारिताको मर्यादा राख्न सिक्नु पर्यो। 

केही पत्रकार आरोपीलाई जोगाउनतिर लाग्दा कला क्षेत्रमा भयावह यौन हिंसा हुन्छ भन्ने परेको छ। मिडिया हाउसले पनि कला क्षेत्रमा अलि-अलि त भइनै हाल्छ भनेर क्षमा दिएको देखियो।

एक कलाकारलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता हुँदा कति सम्पादकले प्राथामिकता दिए त्यो समाचारलाई? कला क्षेत्रमा भएको हिंसा भन्दैमा जेनरलाइज्ड गर्ने? पत्रकारको खोल ओढेर बचाउमा समेत उत्रिए केही कार्यक्रम प्रस्तोता।

त्यसैले मैले भन्ने गरेको छु, मिडियामा आएर प्रश्न सोध्दैमा पत्रकार हुने होइन। पत्रकारिताको आडमा शक्ति आर्जन गर्ने र पत्रकारिताको बदनाम गराउनेदेखि सचेत हुनुपर्ने देखिएको छ। 

हेडिङदेखि नै गल्ती सुरु 
अहिले कला समाचारमा एक घण्टा अडिएर पढ्न सक्ने अवस्था छैन। जनशक्ति राम्रो आइरहेको छैन। मर्म बुझेर लेख्न सक्ने पत्रकार १० प्रतिशत पनि छैनन्। ९० प्रतिशत पत्रकारलाई ५ सय शब्दको समाचार लेख्न पनि आउँदैन। 

अर्को, आफैं लेख्ने, आफैं पोस्ट गर्ने भएपछि झन् समस्या देखिएको छ। हेडिङदेखि नै गल्ती सुरु भएको छ। पत्रकारिताको सुरुवातमा सिक्दैछ भनेर मान्न सकिएला तर पत्रकारिता गरेको १०औँ वर्ष भइसक्दा समेत उही गल्ती? 

अब फिल्म समीक्षाबारे कुरा गरौं। विदेशतिर कला समाचार लेख्ने र समीक्षा लेख्ने फरक-फरक पत्रकार हुन्छन्। हाम्रोमा एकै छन्। त्यसकारण पनि समीक्षा राम्रो आएका छैनन्।

समीक्षा लेख्नेले परम्परागत शैलीमा कथा सार लेखिरहेका छन्। कथा सारलाई कसरी फिल्म समीक्षा भयो भन्नु? फिल्म बजार लाखबाट करोडमा पुगिसक्यो तर लेख्न सक्ने पत्रकार भएनन्।  

हुन त म आफैं स्क्रिप्ट राइटर हुँ। नैतिक रुपमा अन्य फिल्मको समीक्षा गर्दा असहज नलाग्ने होइन। तर दुवै प्रोफेसन फरक भएकाले सोही अनुसार काम गरेको छु। फिल्म समीक्षा गर्दा कलाकारले फेसबुकमा ब्लक नै गरेका घटना पनि छन्। 

जसले जे गरे पनि पत्रकारले आलोचनात्मक चेत भने गुमाउनु भएन। कथाको सार होइन, त्यसको दर्शनदेखि प्राविधिक पाटोसम्म हेर्न सक्ने समीक्षक हुनुपर्यो। अग्रज पत्रकारले बनाएको बेञ्चमार्क तोड्नु त परको कुरा पहिले बनाएको बेञ्चमार्कभन्दा पनि तल गिरे कला पत्रकार त। 

राम्रो गर्न सकिन्छ
नेपालका अहिलेका सम्पादक धेरैजसो साहित्य, कलाबाटै बेस बनाएका देखिन्छन्। तर सम्पादक भइसकेपछि कलाको क्षेत्रलाई असाइन गर्ने नै कम हुन्छन्। सम्पादकले असाइन नै नगरेपछि रिपोर्टिङ हुने कुरै भएन नि।

अर्को, मिडिया हाउसले नियमित तलब नदिँदा बाध्य भएर कलाकारको पिआर एजेन्ट बन्ने पत्रकार पनि छन्। आफ्ना रिपोर्टरलाई आर्थिक कमजोर हुन दिनु त भएन नि। 

यद्यपि, कला क्षेत्रमा राम्रो रिपोर्टिङ नै नभएको भने होइन। केही पत्रकारले गरेकै कारण यो क्षेत्रका यति कुरा बाहिरिएका हुन्। अहिले कान्समा नेपाली फिल्म 'लोरी'ले स्थान पाएको छ। यसबारे हाम्रा पत्रकारले लेखेका छैनन्। अपडेट हुन जरुरी छ। सुरक्षा पन्तको फोटो मात्रै छापेर पत्रकारिता हुँदैन। 

अध्ययनशील रिपोर्टर, असाइन दिने सम्पादक र नियमित तलब दिने प्रकाशक हुने हो भने कलापत्रकारिताले फड्को मार्छ नै। 

(नेपाल समाचारपत्र, आहा संगीत, सेलरोटी डटकम, नागरिक, अन्नपूर्ण पोष्टमा काम गरिसेकका तिमल्सेना इकागज डटकमको कला सम्पादक छन्। तिमल्सेनासँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

१० जेठ, २०७९, १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।