चौथो अंग : जति उफ्रिए पनि मिडियाले मतदाताको मनस्थिति बदल्न सक्दैनन्

चौथो अंग : जति उफ्रिए पनि मिडियाले मतदाताको मनस्थिति बदल्न सक्दैनन्
तस्बिर : कृष्पा श्रेष्ठ

सन् १९४० अघि र पछिका केही वर्ष मिडियालाई म्याजिक बुलेट ठानिन्थ्यो। हिटलर गलत कुरा पनि सय पटक सही भन्यो भने आमनागरिकले विश्वास गर्ने बताउँथे। उनले गोयल्बस शैली अपनाएका थिए। 

अमेरिकामा अनुसन्धान भयो- के मतदातालाई मिडियाले प्रभाव पार्छन् त? सन् १९५० अघि अमेरिकामा गरिएको स्थलगत अनुसन्धानबाट मिडियाले मतदाताको मनस्थितिलाई बदल्न नसक्ने पत्ता लाग्यो।

जस्तो: धरैजसो मतदाता अर्ली डिसाइडर हुन्छन्। कुनै सञ्चार माध्यमले कांग्रेसको समर्थन गरेर लेख्यो र ऊ कांग्रेसको मतदाता रहेछ भने त्यो मान्छ। यदि ऊ एमालेको मतदाता रहेछ भने कामै नलाग्ने मिडिया रहेछ यो भन्ने निर्णयमा पुग्छ।

कुन दललाई भोट जाने निश्चय नभएका केही मतदाता हुन्छन्। तिनले मिडियाले लेखेको आधारमा कुन दललाई मतदान गर्ने निश्चित गर्दैनन्। 

समय क्रममा मानिसलाई टेलिभिजनले धेरै प्रभाव पार्यो। एक हिसाबले भन्दा आम मानिसलाई लद्दु नै बनायो। खानपानदेखि आनीबानीमा प्रभाव पर्यो। ९० को दशकपछि भने टेलिभिजनको प्रभाव पनि हट्दै गयो। इन्टरनेटको प्रभाव पर्दै गए पनि सोचाइ नै बद्ल्ने गरी हाम्रा मिडियाले काम गर्न सकेका छन् जस्तो मलाई लाग्दैन।

मिडियाले स्थान दिँदा जित्ने, नदिँदा हार्ने भन्ने हुँदैन। मिडियाले इस्युमा धेरै होमर्वक गरेर दीर्घकालीन प्रभाव भने पार्न सक्छ तर तत्काल हुँदैन। जस्तो, कुनै समूहले इर्यासनल माग राखेर आन्दोलन गर्छ भने मिडियाले यो माग किन उपयुक्त छैन भनेर लेखाइले विस्तारै स्विङ गराउन पनि सक्छ, नगराउन पनि सक्छ। मिडियाले उठाएको तत्काल कसैले नमानेको तर विस्तारै त्यही कुरा पुष्टि भएको भने हुनसक्छ।

त्यसकारण, मिडियाले निर्वाचन होस् या अरु कुनै विषय प्रभाव पार्छौं भनेर उफ्रिने मात्रै हुन्, वास्तवमा पार्दैनन्। 

०००
वि.सं. २०४७ देखि सुरु भएको हो मेरो पत्रकारिता। अखिलको राजनीति गरेका कारण पर्चा लेख्दै पत्रकारिता सुरु भएको हो भन्दा फरक नपर्ला। त्यतिबेला छलफल, दृष्टि, बुधबार जस्ता साप्ताहिकमा काम गरेँ। जसले मार्क्सवादी विचारधारालाई फैलाउन सहयोग गर्थ्यो। 

पत्रकारितामा रस बस्दै गएपछि कुनै एक दलको अमुक कार्यकर्ता मात्रै होइन, पत्रकार भन्ने चेतना बस्दै गयो। विभिन्न फेलोसिपमा विदेशतिर पढ्ने अवसर पाउँदा ज्ञानको क्षीतिज फराकिलो हुँदै गयो। 

पञ्चायतकालमा पत्रकारितालाई राजनीतिकै एक अंग मानिन्थ्यो र थियो पनि। तर अहिले बदलिएको छ। 

नेपालमा व्यावसायिक मिडिया आएपछि भने पार्टीको मुखपत्र भनिएका साप्ताहिक धराशायी भए। साथीहरु व्यावसायिक मिडियामा आर्कषित भए। मैले पनि त्यही गरेँ। 

पहिलो स्थानीय तहको चुनाव हुँदा व्यावासयिक पत्रकारितातिर थिइनँ म। त्यतिबेला कम्युनिस्ट र कांग्रेसका रोचक सभाहरु हुन्थे। एक-अर्कालाई आरोप लगाउँथे।

संघीयतापछिको स्थानीय चुनावमा भने माओवादी र कांग्रेस मिलेको देखियो। कम्युनिष्ट-कम्युनिष्ट मिल्दा अचम्म नभए पनि दुई ध्रुवका शक्ति मिल्दा अनौठो देखिने नै भयो। त्यसको प्रभाव मिडियामा पनि परेको देखिन्छ।

मिडिया गठबन्धनको औचित्य दलहरुको राजनीतिक विचारधाराभन्दा पनि कुन स्थानमा कसको पकड भन्नेमा केन्द्रित देखिए। आज फरक विचारधाराका पार्टी मिलेर चुनावमा जाँदा भोलि नीति-नियम बनाउँदा गुड गभरनेन्स दिनु पर्दा फरक पर्ने देखिन्छ। 

नेपाली कांग्रेस र माओवादीको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा मत फरक छ। आर्थिक नीतिमा पनि फरक देखिन्छ।

त्यस्तै एमाले र राप्रपा मिलेका छन्। राप्रपाको मुल उद्देश्य राजतन्त्र ल्याउनु भनेको छ। ऊ हिन्दु राष्ट्रको पक्षधर हो। एमालेले नीतिगत हिसाबमा गठबन्धन गर्न मिल्दैन। तर दलहरुले दलको सीमितता नै हटाइदिए। यसलाई मिडियाले चिरफार गरेर लेख्न सक्नुपर्ने हो तर चिरफार गरेको देखिएन। 

कांग्रेस निकट पत्रकारले कांग्रेसलाई फाइदा हुने भएर चुप बस्ने भयो। एमाले निकट पत्रकाले एमालेलाई फाइदा हुने भयो भनेर चुप बस्ने भयो। यसले त स्वतन्त्र पत्रकारिता मर्यो नि हैन र? विचार-विश्लेषण खोइ त आएको? 

युनियन र चौतारी पार्टीका प्रचार विभाग जस्ता भए
युनियनको हकमा म भन्न सक्दिनँ। तर प्रेस चौतारीको संस्थापकको हैसियतले म के भन्न सक्छु भने, प्रेस चौतारी पहिले एमालेको भ्रातृ संगठन थिएन। यहाँ आबद्ध पत्रकारले मुठ्ठी उचालेर सपथ खाने चलन थिएन। अध्यक्ष छान्दा पार्टीका नेताले टिका लगाउने चलन थिएन। शुभेच्छुक संस्था थियो। वाम विचारधारा राख्ने पत्रकारहरुको साझा थलो थियो प्रेस चौतारी। त्यसकारण पनि प्रेस चौतारी नाम राख्दा एमालेको भ्रातृ संस्था जस्तो देखिएन। त्यस्तै प्रेस युनियन पनि कांग्रेसको संस्था जस्तो नाम छैन। 

पछि यी संस्थाहरु पार्टीका भ्रातृ संस्था जस्ता भए। जय नेपाल र लालसलाम कमरेडतिर पो गए पत्रकार। यसरी व्यावसायिक पत्रकारिता कसरी हुन्छ भन्ने मान्नु? 

कुनै पनि संगठनमा नरहेका तर चुनाव आएपछि आफ्नो पार्टीको आबद्धता खुलाउन लागे। मलाई शंका लाग्दैछ, कतै पत्रकारिता २०४६ सालअघिको अवस्थामा पुगेको त होइन? ३० वर्षमा हामीले के-के गरिरहेका छौँ पत्रकरितामा? समीक्षा गर्न ढिला भएन र?

जुनसुकै पेसा गरेका पनि राजनीतिमा जान सक्छन् तर पत्रकारिताको प्रमुख उद्देश्य सूचनामा पहुँच, सूचनालाई पर्गेल्न सक्ने, कुनै एक विषयवस्तुमा पोख्त हुने हो कि के हो? अथवा प्रधानसम्पादक हुने हो कि मन्त्री अथवा पार्टीको क्याडर? 

हुँदा-हुँदा पत्रकारले कुन पार्टीलाई भोट हाल्ने भनेर विज्ञप्ति निकाल्ने? कुनै दलले अर्को दललाई केही आरोप लगाएको छ भने चुनावी प्रोपोगाण्डा सम्झिने कि आरोप सत्य अथवा हौवा फैलाएको हो त्यो खोज्ने? पत्रकारिताको धर्म के हो? के हामीले पत्रकारिताको धर्म सम्झेर काम गरिरहेका छौँ?  

पत्रकारितामा लाग्नेले के बुझ्नुपर्यो भने पत्रकारिताले राजनीतिको क्याडर उत्पादन गर्ने ठाउँ होइन। एउटा पार्टीको मात्रै पक्षपोषण गर्ने ऊ पत्रकार होइन। चुनावको बेला एउटा दललाई मात्र गाली गर्ने मिडियाले आफ्नो धर्म निभएको हुँदैन। बरु प्रचारमा नलागी चिरफारमा लाग्यो भने मिडियाको क्रेडिबिलिटी बढ्छ।

पत्रकारिता भनेको पब्लिक रिलेसन मात्र हो भन्ने देखियो। पब्लसक रिलेसन मात्रै होइन पत्रकारिता। विषयवस्तुलाई हेर्ने दृष्टिकोण विचारधाराले फरक पार्न सक्छ तर क्याडरमा जाने होइन। पत्रकारिता पेसा हो। 

पार्टीका भ्रातृ संस्था जस्ता पत्रकार संगठनहरु काम छैनन् अब। पेसालाई तिखार्ने र हक-हितका लागि काम गर्ने संगठन त चाहिन्छ नै। तर अमुक दलको झण्डामुनि गोलबद्ध हुने पत्रकारका संगठनको औचित्य समाप्त भयो। 

केही मिडियाले ब्यालेन्स गरेका छन्
सबै मिडिया, सबै पत्रकार दलका कार्यकर्ता भने छैनन्। नेपाली मिडियाको सकारात्मक पाटो यही हो। जो  बजारमा दीर्घकालीन रुपमा टिक्ने हिसाबले आएका छन् ती मिडियाले सन्तुलन मिलाएको देखिन्छ। केही मिडियाले लाजगालले पनि सन्तुलन मिलाएको प्रष्टै देखिन्छ। मिडियाको कन्टेन्ट हेर्दा कम्युनिष्ट आइडोलोजी मन नपराउने पत्रकार धेरै भएको प्रष्टै हुन्छ। 

जसले आफूलाई व्यावसायिक रुपमा चिनाएका छन् तिनैसँग आफ्ना संगठनका पत्रकारभन्दा व्यावसायिकसँग नेताहरु खुलेको देखिन्छ।

मसिनो गरी केलाउने हो भने पत्रकारहरु बायस्ड छन् भनेर अहिलेकै कन्टेन्टमा पनि देखिन्छ। जुन पत्रकारले लेखेको कुराले आँखा चिम्म गरेर सोच्न बाध्य बनाउँछ त्यसले नेता र अन्यलाई समेत प्रभाव पारेको देखिन्छ। 

राजनीतिक दलले आफ्नो मतदाता तान्न गलत कुरा पनि बोल्न सक्छन्। हाम्रा मिडियाले सही-गलत केहीले त लेखेका छन् तर सबैले लेखेका छैनन्। मिडियाले भेरिफाइ नगरी नेताको कुरा हाल्दा मतदातामा भ्रम फैलिन सक्छ। मिडियाको दुरुपयोग हुन सक्छ। 

स्वतन्त्र पत्रकारिता गरेको ३० वर्ष भयो, अब समीक्षा जरुरी 
पञ्चायतकालमा निर्भिक लेख्न सक्ने पर्यो भने जेल जान पनि सक्ने सम्पादक र रिपोर्टरहरु हुनुपर्छ भनिन्थ्यो। अब यतिले मात्रै पुग्दैन। खोज कला र सिप भएको पत्रकार चाहिन्छ। पत्रकारिता पेसा र मिडिया उद्योग भएपछि त्यो स्तरमा त जानै पर्छ। 

हामीले गरिरहको पत्रकारिताले छुट्टै उद्योग हो भनेर पुष्टि गर्न सक्छ? विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिले खरो प्रश्न गर्न सक्ने बनाएको छ त? 

अन्तर्विषय पढेकाले पनि पत्रकारिता पढ्न पाउने नियम बनाउन जरुरी छ। पास गर्न सजिलो हुन्छ भनेर पत्रकारिता पढ्ने धेरै भए। यसरी त पत्रकारिता के सुध्रिन्छ र? तर पछिल्लो समय एसइई टप गरेकाहरुको रोजाइमा समेत पत्रकारिता विषय पर्ने गरेको छ। यसले मलाई आशावादी बनाएको छ। 

विश्वविद्यालयको पनि कमजोरी छ, पत्रकारहरुलाई आलोचनात्मक नबनाउनुमा। कन्टेन्ट कस्तो आइरहेको छ, विश्वविद्यालयहरुले अनुसन्धान गर्नुपर्ने हो। स्रोत र साधनको अभावले विश्वविद्यालयले पनि गर्न सकेको देखिँदैन। संयन्त्रले गर्ने काम एक प्राध्यापकले गर्नसक्ने कुरा पनि हुँदैन। 

अहिले चुनावको बेला झनै पत्रकारिता विभाग र यहाँ पढाउनेहरुको सक्रियता बढ्नुपर्ने हो तर यो देखिएन। मिडियाको कन्टेन्ट एनलाइसिस गर्नुपर्ने हो, भएको छैन। 

पत्रकारीता भएको ३० वर्ष भयो। समीक्षा त हुनैपर्ने हो। समीक्षाले हाम्रो बाटो कहाँ हो, कस्तो हो भन्ने देखाउँथ्यो। २०५४/२०७४ सालको स्थानीय चुनाव र अहिलेको स्थानीय चुनावमा मिडिया कभरेज कसरी भएको  छ, अनुसन्धान हुनसक्थ्यो। यतातर्फ पनि काम भएको देखिँदैन। 

समग्रतामा अहिले जसरी पत्रकारिता गइरहेको छ, नयाँ पुस्ताले राजनीतिक दल र पत्रकारिताको दूरी कायम गर्छ कि भन्नेमा आशावादी छु। पत्रकारिताको विविधतालाई फैलाएर पत्रकारितामा नै भविष्य खोज्ने जमात बढ्दै गयो भने अहिलेभन्दा प्रोफेसनलाजिम बढ्छ पनि। 

अहिले जसरी कभरेज भइरहेका छन्, चुनावका समाचार सुधार्नुपर्ने, विचार विश्लेषण बढाउनुपर्ने त छँदैछ, सँगै मिडियाबारे समीक्षा हुन पनि जरुरी छ।

(छलफल, दृष्टि, बुधबार साप्ताहिकमा काम गरेका अर्याल हिमाल (पाक्षिक) हुँदा सम्पादक थिए। त्रिविका सह-प्राध्यापक समेत रहेका अर्यालसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

२७ बैशाख, २०७९, १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।