चौथो अंग : समाचार नै लेख्न नजान्ने सम्पादक, अपलोडर भए कपी इडिटर

चौथो अंग : समाचार नै लेख्न नजान्ने सम्पादक, अपलोडर भए कपी इडिटर

पत्रकारितामा कपी इडिटिङबारे कुराकानी गर्नुभन्दा पहिले एउटा उदाहरण दिन्छु।

एउटा अनलाइनमा काम गर्दा रिपोर्टरले लेखेको समाचार मैले अलिक समय लगाएर सम्पादन गरी पोस्ट गरेँ। जब समाचार प्रकाशित भयो, जस्ताको तस्तै किन आएन भन्ने कुरा उठ्यो। पछि रिपोर्टरले जस्तो पठाएका थिए, त्यस्तै पोस्ट गरिदिएँ। त्यो समाचारको सम्पादनमा मैले खर्चिएको समय खेर गयो। 

मैले २०५३ सालबाट पत्रकारिता सुरु गरेको हो। रिपोर्टिङबाट सुरुवात भएको भए पनि भाषा राम्रो देखेर २०५७ सालमा कपी इडिटिङको जिम्मेवारी आयो। २०६० सालमा एक वर्ष जति रिपोर्टिङ गर्ने बाहेक २२ वर्ष कपी इडिटिङमै बित्यो।

पहिला हातैले समाचार लेख्थे रिपोर्टरहरु। समाचार हेर्दाहेर्दा कुन अक्षर कुन रिपोर्टरको हो भन्ने ट्वाकै थाहा पाउने भइसकेको थिएँ। 

अहिले बजारमा समाचार सम्पादन गर्नसक्ने जनशक्तिको ठूलै अभाव छ। त्यो बेलामा पनि थियो। त्यो बेलामा रिपोर्टरलाई समाचार दोहोर्याएर लेख्न लगाइन्थ्यो। रिपोर्टरहरु खुसी नै हुन्थे रिराइट गर्न लगाउँदा पनि। मेरै लागि हो भन्ने सोच देखिन्थ्यो। तर अहिले त मैले लेखेकोमा प्रश्न गर्ने भन्ने शैली हावी भएको अनुभव हुन्छ।

व्याकरण मिलाउने, भाषा मिलाउने, थप सूचना माग्ने र तथ्य जाँच गर्ने कामै त हो हाम्रो। तर अनलाइन पत्रकारिताको विस्तार नहुँदै प्रिन्टमै विस्तारै यो प्रक्रिया हट्न थाल्यो। रिपोर्टरले जे लेख्यो त्यही सदर हुन थाल्यो। केही अन्योल देखिए मन लागे डेस्कको जिम्मा पाएकाले सच्याइदिने, नभए भाषाको हल्का संरचना मिलाउने, शुद्धाशुद्धी हेर्ने पठाइदिने प्रक्रिया सुरु भयो।

अनलाइनमा आएपछि त झन् रिपोर्टरले जस्तो लेख्यो प्रकाशित गरिहाल्नुपर्ने पद्धति बस्यो। रिपोर्टले जे लेख्यो त्यही फाइनल हो भन्ने परेको देखियो। समाचार सम्पादन गर्ने जिम्मेवारी पाएको व्यक्तिले केवल संरचना र भाषा मात्र हेर्ने हैन। उसको जिम्मेवारीमा तथ्यहरु केलाउने पनि हो नि। तर उसलाई विस्तारै यो जिम्मेवारीबाट मुक्त गरिँदै लगियो।

प्रिन्टमा कत्रो समाचार बनाउने भन्ने हुने भयो स्पेसका कारण। तर अनलाइनमा त जति लामो हाले पनि भइहाल्यो। तर यसो भनेको समाचारलाई छरितो नै नबनाउने भन्ने त हैन होला! तर अहिले अधिकांशमा त्यही देखिन्छ। प्रिन्टमा पनि अनि अनलाइनमा पनि अहिलेका समाचार पढ्दा कपी इडिटिङ झुरै देखिन्छ। पढ्दा शब्दशब्द खट्किन्छ।

प्रिन्टका समाचार सम्पादक अनलाइनमा अपलोडर भए
अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेको छ। जति यसको प्रभाव बढिरहेको त्यही रुपमा आलोचना पनि उत्तिकै बढेको छ। यसको एक कारण तथ्य अनि भाषागत संरचना हो। यसको मुख्य कारण समाचार सम्पादकहरुको बदलिएको भूमिका हो।

प्राय: अनलाइनमा म्यासेन्जरमा आउँछन् समाचार। मेसेन्जरमा पठाउँदा रिपोर्टले उस्तो मिलाएको हुँदैन। केहीले मात्र संरचनामा मिलाएर पठाउँछन्। त्यसको भाषागत संरचना अनि तथ्य केलाउन थाल्दा ढिला हुन्छ समाचार प्रकाशित गर्न। समाचार ढिला भयो भने रिपोर्टरले मैले उहिल्यै पठाएको समाचार गएन, अन्त आइसक्यो भनेर गुनासो गर्न थाल्छन्। प्रकाशकका लागि समाचार प्रकाशित हुने समयसँगै भिजिटर जोडिएको हुन्छ। भिजिटरसँगै विज्ञापन जोडिन्छ।

त्यसैले अनलाइनमा काम गर्ने अधिकांश समाचार सम्पादकको दैनिकी मेसेन्जरमा आएको समाचारमा हल्का भाषा मिलाइदिएर पोस्ट गरिहाल्नेमै बितेको छ। समाचारको संरचनादेखि भाषा हेर्नु सहज काम हैन। यो सम्बन्धित मिडियाको गुडविलसँग पनि जोडिएको हुन्छ। अब समाचार तथ्यपरक अनि शुद्ध बनाउन थप मिहिनेत गर्दा उल्टो अपजस आउने भएपछि कसले गर्छ मिहिनेत? त्यसमा पनि अहिले डेस्कले समाचार भेरिफाइ गर्न खोज्यो भने जान्ने टोपलियो भन्ने र रिपोर्टरलाई अविश्वास गर्यो भन्ने सोच पनि बढ्दैछ। 

भेरिफाई गर्नुको कारण समाचार थप विश्वसनीय बनाउन खोजेको हो भनेर बुझ्नुपर्ने हो। समाचार विश्वसनीय हुँदा सम्बन्धित रिपोर्टरकै विश्वसनीयता बढ्ने हो। कुनै समाचार तथ्यपरक र विश्वसनीय बनाउँदा डेस्कले भन्दा त रिपोर्टरले नै हो नि क्रेडिट पाउने। तर रिपोर्टरहरुमा मैले लेखेको गलत हुनै सक्दैन भन्ने भ्रम बढिरहेको छ।

नढाँटी भन्नुपर्दा अहिले प्रिन्ट होस् कि अनलाइन, अधिकांश समाचारमा कपी इडिटिङ भएकै हुँदैन। कपी इडिटर अपलोडर भएका छन्। अनि कसरी सम्पादन होस् समाचार। समाचार राखेको राख्यै गर्नुपर्ने दबाब हुन्छ अनलाइनमा। अनलाइनको डेस्कलाई वास्तवमै अर्थहीन र भूमिकाविहीन बनाइएको छ।

अनलाइनको तुलानामा केही भए पनि प्रिन्टका समाचार सम्पादन भएको देखिन्छ। तर सन्तुष्ट हुने ठाउँ भने छैन। प्रिन्टमा डिजाइन हावी हुन्छ। सम्पादन गरेको स्टोरी राख्न स्पेस पुगेन भने समाचारको अगंभंग गरिन्छ। डिजाइनरले यति राख्दा राम्रो देखिन्छ भनेपछि त्यति नै समाचार राख्ने गलत काम भइरहेको देख्छु प्रिन्टमा पनि।

कोर्ष बुकमा सम्पादनदेखि प्रकाशित नभएसम्म कपी इडिटरको जे-जे भूमिका हुन्छ भनेर पढियो ती सबै झुटो रैछ जस्तो लाग्छ अहिले।

कारबाहीमा परे कपी इडिटर 
रिपोर्टरले बढाएको लेखनसिप अनुसार डेस्कको भूमिका निर्भर हुन्छ। केहीले लेखेको हल्कामात्र चलाउँदा नै हुन्छ। केहीको पूरै रिराइट नै गर्नुपर्ने पनि हुनसक्छ। कसैको त भाषागत संरचना चलाउँदै नचलाए पनि हुने गरी आउँछ। केवल सररर शुद्धाशुद्धी मात्रै हेरे पुग्नेगरी लेख्ने पत्रकारहरु पनि छन् नै।

मुख्य गरी नयाँ जनशक्तिमा भाषागत समस्या देख्छु म। भाषागत संरचना नै नमिलाई समाचार लेख्ने तर डेक्सले मिलाउन खोज्दा उल्टो समाचार बिगारिदियो भन्नेहरु पनि बढेका छन्। फर्मल कार्यक्रमको रिपोर्टिङमा पठाइएका रिपोर्टरले प्रमुख अतिथीलाई मञ्चमा बोलाइयो। पानसमा बत्ति बालियो। माला लगाइयो। ह्यान-त्यान भनेर समाचारका लागि अर्थहीन विषय लेखेका पनि हुन्छन्।

कुनै-कुनै कार्यक्रमको शैलीले हामीले एंकर वा फिचर वा सफ्ट न्युज भन्ने फर्म्याटमा लेख्दा गजब पनि हुनसक्छ। तर सबै त हुन्न नि। असाइन गर्दा कार्यक्रममा केके हुन्छ लेख्नु भनेर पठाएको आधारमा पानसको दीप प्रज्वलनदेखि धन्यवाद ज्ञापनसम्म सबै नबिराई लेखेर समाचार हुन्छ र!

त्यसैले स्रोतसँगको पहुँच मात्र भएर पत्रकार हुने हैन। पत्रकार हुन स्रोतसँगको पहुँचसँगै आएका सूचना कति सत्य छन्, कति असत्य भनेर पर्गेल्ने अनि समाचारको संरचना अनुसार मिलाएर लेख्ने पनि हो। सूचना व्यापक छ तर संरचना मिलाएर लेख्न आउँदैन भने त्यो समाचारै मर्न पनि सक्छ।

रिपोर्टले आफ्नो समाचार सम्पादन भएपछि कहाँ-कहाँ के लेखेका थिए। के-के सम्पादन भएछ भनेर मात्र हेरिदिने हो भने पनि विस्तारै भाषा र संरचनामा सुधार हुनसक्छ। तर अधिकांश रिपोर्टरले आफूले लेखेको समाचार प्रकाशित भएपछि पढ्दै पढ्दैनन्। कसरी हुन्छ सुधार?

अहिले अनलाइनमा काम गरिरहेकाले अनलाइनकै कुरा गर्छु। अधिकांश पत्रकारहरु अपग्रेड नै भएनन्। उनीहरु यो क्षेत्रमा प्रवेश गर्दा जस्तो क्षमताका थिए त्यस्तै छन् अहिलेसम्म। अनि अनलाइन मिडियाको फैलावटसँगै पत्रकारितामा बिताएको समयमा आधारमा सिनियर देखिने उनीहरु नै सम्पादकीय नेतृत्वमा पुगेका छन्।

अब आफैं समाचार राम्रोसँग लेख्न नजान्नेको सम्पादकीय नेतृत्व कस्तो होला? तिनले उत्पादन गर्ने रिपोर्टर कस्ता होलान्? उदेकलाग्दो अवस्था छैन र?

मैले १०/१२ वर्ष सयौँलाई पत्रकारिता पढाएँ। अहिले २ जना मात्रै विद्यार्थी छन् पत्रकारीतामा जमेका। अन्य विद्यार्थी कता गए? अब पत्रकारिता पढेकाहरु नै यो विषयमा आकर्षित छैनन्। हरेक विश्वविद्यालयमा पत्रकारिताको पढाइ भइरहेको छ। तर खै त त्यहाँका जनशक्ति? 

जनशक्तिको अभाव समग्र पत्रकारितामै देखिन्छ। नेपालको सबैभन्दा प्रभावकारिदेखि भर्खर खुलेको मिडिया हाउससम्मको न्युजरुममा खोजेको जनशक्ति पुगेका छैनन्। रिपोर्टरभन्दा कपी इडिटिरको अभाव अझ चर्को छ। नयाँ जनशक्ति नै आएनन्। पुरानालाई पनि रिपोर्टिङ गर्न नसकेपछि लगेर थन्क्याइदिने जगेडा दरबन्दी जस्तो पो बनाए सम्पादन विभागलाई। अर्को, यो काम अपजसजति आउने तर कमै क्रेडिट पाउने भएर पनि नयाँ जनशक्ति नआएका हुन्।

रिपोर्टरको समाचारमा पूरै मिहिनेत गरेर सम्पादन गर्यो। जस जति सबै उसैलाई हो जाने। कसले सम्पादन गर्यो भन्ने मतलबै हुन्न। बाहिरतिर सम्पादन कसले गरेको पनि राख्ने गरिन्छ। तर हाम्रोमा त्यो पद्धति भित्रिन सकेन। रिपोर्टर र फोटो पत्रकारको नाम राखेजस्तै समाचार सम्पादन कसले गरेको राख्ने हो भने डेस्कमा काम गर्नेमा जिम्मेवारीको अनुभव बढ्न सक्छ। हैट नाम पो जान्छ त, जस्तो पायो त्यस्तै सम्पादन गरे त बेइज्जत हुन्छ भन्ने हुनसक्छ। 

न तालिम न महत्व 
२०५७ देखि कपी इडिटिङ गरेको मैले २०६० सम्ममा कपी इडिटिङको जम्मा एक पटक तालिम लिन पाएँ। मसँगै पत्रकारिता सुरु गरेका रिपोर्टरले यो बीचमा धेरै पटक तालिम लिन पाए। कपि इडिटिङ गर्नेलाई तालिम नै छैन। समय अनुसार विषयवस्तु परिर्वतन भइरहेका छन्। तर कपी इडिटरलाई त्यो अनुसार अपग्रेड गरिएको छैन।

माध्यम अनुसारको भाषाशैली हुन्छ। रेडियो, टेलिभिजन, दैनिक पत्रिका, म्यागेजिनको जसरी भाषा र शैली फरक हुन्छ अनलाइनको पनि पक्कै हुन्छ नि। तर खै नेपालमा अनलाइन पत्रकारिताको भाषाशैलीबारे गृहकार्य भएको? पूरै प्रिन्ट शैलीमा छन् हाम्रा अनलाइन। तर गफ चाहिँ अब प्रिन्टको भविष्य सकियो भन्ने सुनिन्छ।

यसका लागि त तालिम दिनुपर्यो। नयाँ शैलीको अभ्यास गराउनुपर्यो। अनि हो डेस्कले पनि सुधार गर्ने। डेस्कले मात्र चाहेर भाषाशैली सुधार सम्भव छैन।

गाली गर्न तम्सने तर गजब भयो नभन्ने
लगानीकर्ताको कुनै समाचारमा इन्ट्रेस्ट छ भने हो कपी इडिटरले कुरा गर्ने मौका पाउने। त्यो समाचार जाओस् है भन्ने हुन्।  अन्य विषयमा कुरा भएको अनुभव छैन। परेका समस्याबारे अनि क्षमता बढाउनेबारे कुरै हुन्न। त्यस्तै सम्पादकले पनि कुनै रिपोर्ट बिग्रियो भने हो हामीसँग कुरा गर्ने। 

काम बिग्रियो भने यस्तो भएछ भन्दै गाली गर्ने तर राम्रो काम हुँदा स्याबास भन्ने संस्कारै छैन अधिकांशमा। किन काम बिग्रियो? कतै कामको अधिक चाप पो भयो कि? जानजान भएको हो कि अन्जानमा भन्ने कुनै मतलबै हुँदैन।

अहिले त झन् प्रेस रिलिज पनि कपि इडिटरले खोजेर समाचार बनाउनुपर्ने अवस्था छ अधिकांशमा। समाचारलाई चाहिने तस्बिरदेखि थप सूचना सबै डेस्कले भेला पार्नुपर्ने समस्या छ। डेफ्थ स्टोरी आउन् अनि मजाले समय दिएर सम्पादन गर्न पाए त्यसको आउने प्रतिक्रियाले सम्पादन गर्नेलाई पनि अलग्गै सन्तुष्टि दिन्छ नि।

जोडजाड गरेर डेप्थ स्टोरी भन्यो। ६-७ वटा अनलाइनका समाचार तानतुन गर्यो। न फिल्डमा जानु छ न कुनै विषयमा खोजी नै गर्नु छ। त्यस्तो समाचार हालेर बस्दा के मजा आउँछ र! रिपोर्टरहरु डेस्ककाले त के थाहा पाउँछन् र भन्ने जस्तो पनि गर्छन्। डेस्कले उनीहरुले तानतुन गरेको समाचार कुन-कुन अनलाइनको हो भनेर प्रमाणितै गर्नसक्छ। तर सुधारको साटो जसरी चलेको छ चलोस् भन्ने पारा भएपछि हामीले मात्र किन दुश्मनी लिन्छौँ र!

सेवा-सुविधाको उस्तै समस्या
मिडिया बढेका छन् तर समस्या उस्तै छन् अहिले पनि। अहिले पनि समयमा तलब दिने मिडिया एकदम कम छन्। न संस्थाको स्थायित्व छ न सामाजिक सुरक्षा। न तालिम नै हुन्छ। अनि यसरी कसरी बढ्छ जनशक्ति? त्यसमाथि कपी इडिटरको त एक्सपोजर समेत हुँदैन। कपी इडिटरहरु संस्थागत रुपमा समेत एक हुन सकेका छैनन्। 

तर, केही सम्पादकहरुमा मिडिया म्यानेजमेन्टको राम्रो सिप पनि देखिएको छ। कुन रिपोर्टरलाई कसरी काम अह्राउनेदेखि इस्यु कसरी उठाउने भन्नेसम्म चनाखो भएका सम्पादक पनि छन् नै। तर कतिपय त आफैँ समाचार लेख्न नजान्ने पनि सम्पादक भएका छन्। सम्पादक हुँदैमा समाचार लेख्न छोडिहाल्ने पनि छन्, निरन्तर लेख्नेहरु पनि छन्। 

तैपनि, कन्टेन्टमा अपेक्षाकृत सुधार हुन अझै सकेको छैन। पत्रकरितालाई देखाएर लाभ खोज्नेहरुको हालिमुहाली बढ्दै गएको छ। यसले पेसागत रुपमा प्रतिवद्ध रहेकाहरु ओझेल पर्दै छन्। 

पत्रकारिताको भविष्यसँगै समाचार सम्पादकहरुको पनि भविष्य जोडिएको छ। यति लामो समय काम गरिरहेको क्षेत्रमा सुधार होस् भन्ने लाग्छ नै। अनि सुधार गर्नसक्ने स्थान पनि प्रशस्तै छ पनि। लगानीकर्ता अनि सम्पादक बसेर आफ्नो समाचारकक्षको समस्याबारे हप्तामा एक दिन मात्रै खुला मनले छलफल गरेर कमजोरी पहिल्याएर सुधार गर्दै जाने हो भने सकिन्छ पनि।

तर, जसरी चलेको छ, चलिरहन्छ भन्ने हो भने अहिलेको भन्दा पनि भयावह अवस्था आउँछ मिडियामा। यसलाई रोक्न आवश्यक छ।

(युग संवाद, नेपाल वाणी, श्री देउराली, महानगर, नेपाल समाचारपत्र, नयाँ पत्रिका, कान्तिपुर, नेपाल न्युज, नेपाल लाइभमा काम गरिसकेका र हेल्थपोष्ट डटकमका सम्पादक रहेका दाहालसँग उकेराको चौथो अंग कोलामका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

१७ जेठ, २०७९, २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।