उकेरा कोलम

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए


तस्बिर : कृष्पा श्रेष्ठ

२०४६ सालपछि व्यावसायिक मिडिया आए। दैनिक पत्रिकाहरू धेरै खुले। साप्ताहिक पत्रिकाले दिएको कन्टेन्टले बजार तहल्का पिट्थे तर, साप्ताहिक पत्रिकाले जे पनि लेख्छन् पनि भनिन्थ्यो त्यो बेला। विश्वास आर्जन गर्न सकेको थिएन।

साप्ताहिकले ठोक्ने र बोक्ने काम पनि गर्थे। कुनै दल बोकेर हिड्थे। अनि साप्ताहिक भर्सेज दैनिक पत्रिका भयो। रेडियो र टेलिभिजनको आफ्नै प्रभावकारिता थियो। 

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ।

अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि लेख्छन् भन्ने आलोचना पनि बढ्दो छ। पहिलेका साप्ताहिक पत्रिकाको ‘ दीर्घ रोग’ अनलाइनमा सल्कियो।

आशावादी हुनसक्ने पक्ष भनेको अनलाइन मिडियाको विश्वसनियता साप्ताहिकको तुलनामा रिकभर हुँदै गएको छ।

तर, अनलाइन मिडिया कस्ता छन्? यसले दिने सामाग्री कस्ता छन्? अनलाइन मिडियालाई सामाजिक सञ्जालले प्रभाव पारेको छ या छैन, सिटिजन जर्नालिजमले अनलाइन पत्रकारितालाई कता पुर्याउला भनेर हामीले गम्भीर छलफल गर्ने बेला भने भइसक्यो।

केही हदसम्म अनलाइनले विश्वास आर्जन गर्‍याे
२०५७ देखि हो मैले पत्रकारिता सुरु गरेको। धरानको दैनिक पत्रिका 'ब्लास्ट टाइम' दैनिकबाट सुरु भयो मेरो पत्रकारिता। त्यसअघि पनि पत्रपत्रिकामा लेख भने लेखिरहन्थें।

माओवादी सशस्त्र द्न्द्धताका उनीहरूले भाटे कारबाही गरेका समाचार पनि प्राथामिकतामा पर्थे। तीन वर्ष ब्लाष्टमा काम गरेपछि 'जनआस्था साप्ताहिक' काठमाडौंमा बसेर काम गर्न थाले। 

त्यहाँ ८ वर्ष काम गरेपछि केही समय नयाँ पत्रिकामा काम गरेर २०६९ सालदेखि अनलाइनखबरमा काम गरे। त्यतिबेला ५-७ जना मात्रै थियौं पत्रकार अनलाइनमा। 

पहिले पनि  'माइसंसार', ब्लग अनी न्युजपोर्टल 'नेपाल न्युज', लगायतले अनलाइन पत्रकारिताको ‘टेष्ट’ गरिसकेका थिए। 'अनलाइनखबर' विलकुल नयाँ चाहिँ थिएन। 

तर, मेन स्ट्रीममा आउँछ कि आउँदैन दुविधा चाहिँ थियो। अनलाइनमा काम गर्नेहरू कतै न कतै पत्रिकामा पनि जोडिएकै हुन्थे। पत्रकारले पनि अनलाइनलाई पूरै विश्वास गरिहाल्न सकेका थिएनन्। 

नागरिकतहमा इन्टरनेटको सहज पहुँच पुगेको थिएन। जब इन्टरनेट सेवा सहज बन्दै गयो अनलाइनहरूले रफ्तार लिन थाले। अपडेट दिन अनलाइनखबर अग्रणी भयो त्यो बेला।

तर अनलाइनको यस्तो दुरावस्था थियो की रेडियोको बुलेटिन ट्रान्सक्राइब गरेर समाचार बनाउँथे। अहिले अवस्था फेरियो। अहिले रेडियाले अनलाइनको समाचार पढेर सुनाउन थाले। रेडियोले मात्र किन टेलिभिजन पनि अनलाइनमा आश्रित देखिन्छन् अहिले त। यस हिसाबले हेर्दा अहिले पत्रकारितामा माध्यमको हिसाबले अनलाइनको पकड छ नै। 

अन्य माध्यममा काम गरिरहेका पत्रकार झ्याम्मै अनलाइन पत्रकारितामा आउँदैनथे। अडियन्सले पनि विश्वास गर्दैनथे।

अनलाइनले जे पायो त्यही लेख्छ, अर्काको सार्छ भन्ने छाप थियो। पहिलेका साप्ताहिक जस्तेै थिए अनलाइनहरू। जनशक्ति पनि पार्ट टाइम मात्रै काम गर्ने भएकाले कन्टेन्ट उत्पादनमा समस्या देखिन्थ्यो। टिपनटापन समाचारले नै चलेको थियो भन्दा हुन्छ।

पछि अनलाइनहरूले पार्ट टाइम काम गराउने प्रचलन हटाउँदै लगे। जसको प्रभाव कन्टेन्टमा देखिन थाल्यो। अनलाइनमा आएको समाचारकै कारण बहालवाला मन्त्रीदेखि बहालवाला सभामुखसम्मको पद खुस्कन थाल्यो।

कुनै बेला अनलाइनले कपि गर्छन् भन्नेहरूले नै अनलाइनले उठाएको इस्युलाई खोजखाज गरेर डेप्थ स्टोरी बनाउन थाले। फलो गर्न थाले।

यस हिसाबले हेर्दा यो बीचमा अनलाइनले पाठकको धेरै विश्वास आर्जन गरेको देखिन्छ। बजारमा तहल्का पिटे पनि विश्वास आर्जन गर्न नसक्दा साप्ताहिक पत्रिका जसरी सेलायो अनलाइनले भने विश्वास आर्जन गर्न सकेको देखिन्छ। यस हिसाबले अनलाइन मिडियालाई सफल माध्यमको रूपमा लिन सकिन्छ। 

अनलाइन जर्नालिजम भर्सेज सिटिजन जर्नालिजम 
१० वर्षको दौरानमा अनलाइन पत्रकारिताले जुन रफ्तारमा फड्को मार्यो त्यो रफ्तारमा अब रहन्छ की रहँदैन भन्ने प्रश्न भने कायमै छ।

जस्तो अहिले कतै दुर्घटना भयो भने अनलाइन कुरेर बसिराख्नु पर्दैन। घटनास्थलमा भएकाले सहजै फोटो खिचेर फेसबुक वा ट्वीटरमा राखिदिन्छन्। के-के भयो लेख्न सक्छन्। अनि अनलाइनले त्यसैलाई क्रेडिट दिएर प्रकाशित गर्नुपर्ने हुनसक्छ। भइराखेका पनि छन्। कतिपय पत्रकारले सिटिजन जर्नालिजमले सहयोग भयो भन्ने गरेको सुनेको पनि छु।

अब तलबी पत्रकारलाई कुनै नेताको ट्वीटको समाचार बनाएर पोष्ट गर्न लगाउने अनि घटनास्थलको समाचारमा भने सञ्जालका प्रयोगकर्ताको सहयोग लिने हो भने अनलाइन पत्रकारिताको भविष्य के होला भनेर चिन्तन त गर्नैपर्छ।

सिटिजन जर्नालिजम ठीक की बेठीक भन्ने मेरो कोण हैन,  घटनास्थलनै नपुग्दा पत्रकारको दृष्टिकोणबाट समाचार कसरी आउँछ भन्ने हो।

अहिले सूचनाका लागि मिडिया नै चाहिन्छ भन्ने नै भएन। मिडिया नभए पनि नागरिकको सूचनामा पहुँच पुगिसकेको छ।

त्यसैले अहिलेको पत्रकारिताको उदेश्य सूचना दिनु मात्रै बनाउने हो भने टिक्न सक्दैन। सूचनालाई पर्गेल्न सकिएन भने अनलाइन पत्रकारितालाई सिटिजन जर्नालिजमले टक्कर दिनसक्छ। 

अनलाइन सञ्चारमाध्यममा सामाजिक सञ्जालको प्रभाव कति छ भनेर अहिलेकै अवस्था हेरौं न। कुनै समाचार गल्ती भयो भने तत्काल 'हावादारी समाचार' भनेर सञ्जालमा प्रतिक्रिया आइहाल्छ। समाचार पोष्ट गरेको केहीबेरमै समाचार हटाउनुपर्ने स्थिति आउन थालेको छ। यसले सूचनामाथि पत्रकारको दादागिरी तोड्यो।नागरिक आफैँ पनि शक्तिशाली भइसके। हिजो उनीहरू सुनेको विषय हो/हैन एकिन गर्न मिडियाको जसरी भर पर्थे अहिले मिडियाको मात्र भर पर्नु पर्दैन।

उनीहरू सूचनाका लागि मिडियामा मात्र आश्रित छैनन्। अब उनीहरू त सूचनाको उपभोक्तासँगै प्रत्यक्ष निगरानी गर्नसक्ने हैसियतमा पुगिसकेका छन्।

त्यसकारण अहिलेको अनलाइन पत्रकारिताको अगाडि नागरिक पत्रकारिता चुनौती बनेर आइरहेको छ। तर, यसको आकार र प्रभाव यस्तै हुन्छ भनेर ठोकुवा गरिहाल्ने अवस्था भने अझै देखिएको छैन।

यही पाराले टिक्न कठिन
यही पाराको कन्टेन्टले मात्र अनलाइन पत्रकारिता धेरै लामो समय टिक्ला भन्ने लाग्दैन मलाई। पहिलो त अनलाइनका कन्टेन्टहरू धारिलो हैन भुत्ते छन्। अर्को प्रविधिमा आएको आमुल परिर्वतन अनुकुल प्रविधिमैत्री नै छैन। अनि कसरी टिक्छ अनलाइन मिडिया? 

अनलाइन पत्रकार यति अल्छी भए कि कुनै पार्टीको पदाधिकारीले सामाजिक सञ्जालमा जे लेख्छ त्यसैलाई समाचारको भाषामा ढालेर पाठकलाई छल गरिरहेका छौं। विचारको विचौलियाको काम गरिरहेका छौं। यसरी त अनलाइन पत्रकारिता टिक्दैन।

रिपोर्टर दलबाट, प्रकाशक कर्पोरेटबाट प्रभावित
अनलाइन पत्रकारिताले विश्वास आर्जन गरिरहेको थियो। तर, यो बीचमा यति धेरै अनलाइन मिडिया आए कि यसले विस्तारै बढ्दै गएको विश्वास धर्मरायो।

अनलाइन पत्रकारिता फेसन जस्तो बन्यो। 'अँ मेरो पनि अनलाइन छ एउटा' भन्नेहरूको संख्या बढ्यो। यसले व्यावसायिक पत्रकारिता गरिरहेकाहरूले पनि तुच्छ गाली खान बाध्य भए।

पहिले साप्ताहिक पत्रिका चलाउने एक समूहको उदेश्य कल्याणकारी विज्ञापनको रकम लिने हुन्थ्यो। अहिले सूचना विभागको कार्डका लागि अनलाइन दर्ता गर्ने समूह त्यसरी नै बढेका छन्।

ठ्याक्कै साप्ताहिक प्रवृत्ति अनलाइनमा देखियो अहिले। फेरि पनि भन्छु यो विकृतिका स्रोत भने हिजोका साप्ताहिक पत्रिका नै हुन्। 

अनि अहिलेको मिडियाका कन्टेन्ट हेर्ने हो भने दलिय पत्रकारिता र कर्पोरेट पत्रकारिता मिश्रित देखिन्छन्।

मिडिया हाउसले नै सिण्डिकेट चलाउन थाले। मिडियामा दलका अनि कर्पोरेट क्षेत्रका पत्रकार हावी हुन थालेका छन्। ती समाचार लेख्न हैन समाचार रोक्न राखिएका पत्रकार हुन्। 

आयल निगम हेर्नेले आयल निगमको समाचार लेख्ने हैन, रोक्ने हो। अर्कोले सिमेन्ट कारखानाको बदमासीबारे समाचार लेख्ने हैन, रोक्ने हो। क्रिटिकल समाचार कहिल्यै नलेख्ने या नछाप्ने। खाली गुणगान मात्र गाउने। क्रिटिकल समाचार लेख्ने हैन बरू छेक्ने काम धेरै हुन थालेको छ।

एकथरी छन् झोलामै कार्यालय हुने अनलाइन। झोलामा ल्यापटप बोक्यो, क्याफेमा बसेर अर्काको समाचार तानतुन बनाएर अपडेट गर्योे अनि विज्ञापन उठाउन हिँड्यो। व्यावसायिक आचरण कम हुँदै गएको देखिन्छ।

यसको अर्थ पत्रकारिता मात्रै व्यावसायिक धर्म अनुसार चलेको छैन भनेको हैन। हाम्रो राज्यका अंगहरूले नै आफ्नो काम के हो, दायित्व के हो सम्झेर काम गरेको देखिँदैन। 

समाज जस्तो बन्दैछ त्यसैको प्रभाव परेको हो पत्रकारितामा। पत्रकारितामा विकृति आएको हो, पत्रकारिता नै विकृत भइसकेको छैन। 

तर, भारतीय मिडियाको तुलनामा हामी धेरै पेशागत आचरणमा छौं। यो क्षेत्रमा अझै राम्रा पत्रकार छन्।

जनशक्ति नभएको होइन लुकेको हो
केही साथीहरूले अनलाइन मिडिया खुत्रुके जस्तो जे भयो त्यो अपडेट दिइहाल्ने हैन भन्थे। तर, अनलाइनको महत्त्वपूर्ण काम अपडेट दिने नै हो।

अपडेट नदिने, डेप्थ स्टोरी मात्र दिने भनेर खुलेका अनलाइनहरूले पनि भिजिटर नआएपछि अपडेट दिन थालेका छन्। जनशक्तिलाई अपडेट र डेप्थ भनेर छुट्याउन सकिन्छ। तर, अपडेट नै नदिने भन्ने हुँदैन अनलाइनमा।

मुख्यपक्ष सस्तो खाले कन्टेन्ट नदिने हो। पत्रकारिताको आचारसंहिता बाहिर नजाने हो। एउटै अनलाइनमा अपडेट, डेप्थ, विषयगत पत्रकारिताको राम्रो अभ्यास भने गर्न सकेका छैनौं। यति गर्न सक्ने हो भने राम्रो हुनेमा शंकै रहेन।

अहिले अर्को समस्या जनशक्तिको अभाव हो। यसको रोचक कारण छ। ५ सय भन्दा बढि अनलाइनले २-३ सय जना पत्रकार होल्ड गरेका छन्। ती अनलाइन संकटमा नपरेसम्म ती पत्रकार त्यहाँबाट निस्कदैनन्।

त्यहाँ भएको आधा भन्दा बढि पत्रकार परिचित नै छन्। यदि ती जनशक्तिलाई तान्ने हो भने जनशक्तिको खडेरी पर्दैन।

त्यसैले पत्रकारितामा जनशक्ति नभएको होइन, लुकेको हो। अर्को प्रकाशकमा आम्दानी भएसँगै जनशक्ति थपेर अझ राम्रो गरौं भन्ने सोचै देखिँदैन। यसले हाम्रो पत्रकारितामा खोजी पत्रकारिता अनि डेप्थ स्टोरीको खडेरी नै देखिन्छ। 

समाज कस्मेटिक हुँदै गएको छ। फेसबुक र ट्वीटर हेरेको भरमा धारणा बनाउनेहरू धेरै देखिन्छन्। अनि हामी पनि सतही समाचार दिन थालेका छौं।

यद्यपि एकै समाचार पनि ४-५ वटा मिडियामा हेरेपछि मात्रै विश्वास गर्ने केही पाठकहरू पनि छन्। 

दक्षिणपन्थ, वामपन्थ र मध्यपन्थ विभाजित भएको छ नेपाली समाज। के सही के गलत खुट्याउन सक्ने अवस्थामा आम नागरिक छैनन्। पत्रकारले यसलाई चिर्नेगरी लेख्नुपर्ने हो नि! तर, सकेका छैनौं।

अनलाइनमा विचारको खडेरी
अनलाइनमा अर्को समस्या विचारको खडेरी देखिन्छ। केही विचार त आएका छन् तर, त्यसले समाजलाई दिशानिर्देश गर्न सकेका छैनन्। मिडियाले नयाँ विचारकहरू बनाउन सकेको देखिँदैन।

कतिपयले अभियन्तालाई विचारक मानेको भनेर आरोप लगाउने गर्छन् मिडियालाई। यसमा मेरो फरक धारणा छ। 

केही समय पहिलेसम्म केही मिडियाले विचारकहरूमा सिण्डिकेट चलाएको थिए। आफू इतर, विचार दिनेलाई स्थान नै नदिने। अनलाइन मिडियाले यो तोडेको त छ। 

विचारक भनेको त्यो गाउँको होस् कि शहरको, चिनिएको व्यक्ति होस् कि नचिनिएको उसको विचारलाई स्थान दिनुपर्छ। तर, मिडियाले यो गर्न पनि सकिरहेका छैनौं। केहीले कोसिस गरेका छन्। तर, निरन्तरता दिन सकेका छैनन्।

यसमा पनि लगानीकै कुरा आउँछ। लगानीकर्ता विचारमा लगानी गर्न तयार देखिएनन्।

अनलाइनले विचारमाथि लगानी नगर्ने अनि नव लेखकहरूलाई पत्रिकामा नाम लेखाउने रहर हुनाले पनि अनलाइनमा विचारको खडेरी परेको हो। 

अनलाइन पत्रकार र अन्य मिडियाका पत्रकार आचारसंहिता मान्ने मामिलामा उस्तै हुन्। तर, काम गर्ने शैली भने फरक हुन्। 

दैनिक पत्रिकाको पत्रकार र अनलाइन पत्रकार एउटै कार्यक्रममा गएका छन् भने दैनिकको पत्रकारले टिपोट गर्ला। केही बेर गफ गरेर आएर लेख्ला।

म्यागेजिनको छ भने त अझ अर्कै रिर्पोटिङ पनि गर्ला। तर, अनलाइनको छ भने उत्तिनैबेला अपडेट दिने अनि बेलुकी आएर फेरि  कम्पाइल स्टोरी पनि गर्नुपर्छ।

अर्को कुरा, अनलाइनमा काम गर्ने भनेपछि स्मार्ट अनि प्रविधिमैत्री हुनैपर्यो नै। तर, विभिन्न माध्यममा काम गरेका सम्पादक तथा रिपोर्टर अनलाइनमा आएकाले अहिले एकै अनलाइन कहिले दैनिक पत्रिका जस्तो त कहिले साप्ताहिक जस्तो देखिन्छन्।

सम्पादक चेपुवामा 
सम्पादक न्यूज रुमको लिडर पनि हो र अलिकति व्यवस्थापक पनि। रिर्पोटर र सम्पादकको सम्बन्ध एकताबद्ध हुन जरुरी छ तर, यहाँ जम्प भएको देखिन्छ।

सम्पादकलाई लगानीकर्तासँग मिलेको आरोप लगाइन्छ पनि। तर, सबैतिर यो सही होइन। सम्पादक पनि तलबी मजदुर नै हो।

यद्यपि सम्पादक हुन् या रिपोर्टर लगानीकर्ताको चाकडी कस्ले बढि गर्ने अनि बढि फाइदा लिने भन्ने चाहिँ देखिन्छ। रिपोर्टर जवाफदेही हुने सम्पादकसँग हो। तर, अहिलेको रिपोर्टर सम्पादकसँग भन्दा प्रकाशकसँग बढि लोयल देखिन्छन्।

स्टोरी खोज्न हैन कि मालिकसँग ताबेदारी गर्नमा तल्लिन पनि छन्। कर्पोरेट हाउस जोगाउन रिपोर्टर परिचालित भएका पनि छन्। सम्पादक निरीह भएका पनि छन्।

यस्तो परिस्थितिले भने नेपाली पत्रकारिता जोखिममा छ भन्ने संकेत भने गर्छ।

(ब्लास्ट दैनिक, जनआस्था साप्ताहिक, नयाँ पत्रिका अनि अनलाइनखबरमा काम गरेका बराल अहिले नेपालखबरको सम्पादक छन्। उनीसँग चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....

चुनावमा जित जनताको होइन, जसले जित्छ उसैको हुन्छ

मङ्सिर ३ गतेदेखि मेरो यो नम्बरबाट कसैलाई फोन गर्‍यो भने एनसेलबाट नेपाली र अङ्ग्रेजी भाषामा जवाफ आउँछ– तपाईंको टेलिफोन सेवा निषेधित गरिएको छ। त्यो सन्देश....

सबका घरमा मगमग बास्ना आउने तेल पुर्‍याउन खोकना ब्रान्ड ब्युँताउन कस्सिएका कान्छा

खोकनालाई तेलले र तेलले खोकनालाई परिचित गरायो। तर, अहिले यो सब 'एकादेशमा खोकनामा तोरीको तेल उत्पादन हुन्थ्यो' समान बनेको छ। भित्री बस्ती बाहेकको स्थानमा प्राइभेट....

मनोचिकित्सक डा. निदेशको उपचार अनुभव : जुरुक्क उठेर आएका युवकले च्याप्प कठालो समातेर मलाई घिसार्दै बाहिर निकाले

उनले ती महिलाको मानसिक स्वास्थ्यको अवस्था परीक्षण गरे। कारागारमा स्वास्थ्य शिविर लिएर जानुअघि पनि मनोचिकित्सकको टिमले महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो। कारागारमा भेटेपछि....