चौथो अंग : स्केचमा त प्राथामिकता नदिएका अनलाइनले कार्टुनलाई किन दिन्थे र! 

चौथो अंग : स्केचमा त प्राथामिकता नदिएका अनलाइनले कार्टुनलाई किन दिन्थे र! 
तस्बिर : प्रजु पन्त

२०४६ सालमा बहुदल आएपछि गोरखापत्रमा नेतृत्त्व परिवर्तन भयो। त्यसपछि मैले त्यहाँ कार्टुन बनाउन थाले। चुनावपछि कांग्रेसको सरकार बन्यो। त्यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष मनमोहन अधिकारीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लगेका थिए। असफल भयो। 

मैले अधिकारीले तरबार लिएर गएको तर भाँचिएको कार्टुन बनाएँ। छापियो पनि। यो कार्टुनले सदनमा हंगामा भयो। एमालेले ‘नागरिकको कर तिरेर चलेको गोरखापत्रमा प्रतिपक्षीको खेदो खन्न पाइँदैन, यसबारे सञ्चारमन्त्रीले स्पष्टिकरण दिनुपर्छ’ भनेर माग गर्यो।

त्यसपछि सञ्चारमन्त्री जेपी गुप्ताले यसबारे जवाफ नै दिनुपर्यो्। यसको अर्थ एउटा कार्टुनको शक्ति धेरै हुन्छ। कार्टुनमा लेखिने एक शब्दले धेरै प्रभाव पार्थ्यो कुनै बेला।

अहिले कार्टुनले कति प्रभाव पार्छ? विषयवस्तुमा ट्याक्कै लाग्ने गरी कति कार्टुन बन्छन्? नयाँ कार्टुनिष्टहरू कति आएका छन् मिडियामा? नयाँ कार्टुनिष्टले विषयवस्तुको गाम्भीर्यता कतिको बुझ्छन्? सम्पादकले कार्टुनिष्टको महत्त्व कतिको बुझ्छन्? यस विषयमा छलफल गर्नुपर्छ भन्ने लाग्छ।

बन्द समाजमा कार्टुनको प्रभावकारिता बढि

२०१८ सालमा एसएलसी दिएपछि उच्च शिक्षाको लागि पृथ्वीनारायण कलेजमा भर्ना भएँ विज्ञान संकायमा। त्यतिबेला त्रिविले विज्ञान पढाउन अनुमति दिएन कलेजलाई। हामीलाई पढाउने सरले मलाई ‘तपाईं राम्रो चित्र बनाउनुहुन्छ, कला पढ्नु’ भन्नुभयो। 

त्यसपछि म काठमाडौँ गएँ। कला सम्बन्धी बाहिर छात्रवृत्ति आइरहेको हुन्थ्यो त्यसमा पढ्न जान पाइन्छ की भन्ने आश थियो। पाइएन। २२-२३ सालतिर नयाँ सन्देशका सम्पादक रमेशनाथ पाण्डेले उनको पत्रिकामा कार्टुन बनाउन सुझाव दिए। भारतिय पत्रिकामा आउने कार्टुनहरू देखाए।

उनले विषयवस्तु दिन्थे म सोही अनुसार कार्टुन बनाउँथे। तर मैले पारिश्रामिक भने मागिन। उनले पनि दिएनन्। पत्रिकाहरूको दिन सक्ने अवस्था पनि थिएन त्यो बेलामा। त्यतिबेला पञ्चायती नेताहरू लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र मरिचमान सिंहहरूबीचको खिचातानीबारे कार्टुन बनाइन्थे।

५-६ वर्षपछि पोखरा फर्किएँ। अनी प्राङ्गण भन्ने पत्रिकामा कार्टुन बनाएँ। त्यो काठमाडौंको बजारमा पनि जान्थ्यो। पछि राष्ट्र पुकारमा कार्टुन बनाउन थालेँ। पञ्चायती व्यवस्था विरोधी कार्टुनहरू धेरै बने।

त्यतिबेला बन्द समाज थियो। बन्द समाजमा सिधै सत्ताको व्यवस्थाको आलोचना गर्न पाइँदैनथ्यो। तर कार्टुनहरूले गर्थे। यो देख्दा आम पाठकहरूले अपनत्त्व महसुस गर्थे।

व्यवस्था परिर्वतन भएपछि भने कार्टुनहरूको कम प्रभावकारिता हुने रहेछ। यसको अर्थ प्रभाव नै पर्दैन भन्न खोजेको होइन। खुलेआम भन्न सकिने कुरालाई कार्टुनले भनेर कम प्रभाव पर्छ मात्रै भन्न खोजेको हो। कार्टुनलाई कलात्मक बनाउन नसके प्रभावकरिता कम हुन्छ।

पञ्चायती व्यवस्थाको कारण मण्डलेको आतंक थियो क्याम्पसमा। पिएन क्याम्पसमा चित्रकारिता पढाउँथेँ म। छद्य नाम वात्सयन राखेर बनाउन थाले। बहुदल आएपछि छद्य नाम राख्नुपर्ने बाध्यता नभए पनि यहि नाम राखियो।

जस्तोसुकै सत्ता होस् या प्रतिपक्षी आफूलाई व्यंग्य गरेको रुचाउँदैन। ४८ सालपछि कांग्रेसको सरकार बन्यो। सरकारविरुद्ध कार्टुन बनाइन। प्रतिपक्षीले लगेको अविश्वासको प्रस्ताव लैजाँदा फेल भएपछि बनाएको कार्टुनले सदनमा हंगामा भएपछि सरकारी पत्रिकामा काम गर्न छाडेँ। 

गोरखापत्रमा छाडेपछि किशोर नेपाल आए त्यतिबेला खुलेको व्यावसायिक पत्रिकाको हवाला दिँदै। उनले त मलाई करार नै गरेर काठमाडौं फर्किएँ। सामाजिक राजनीतिक आर्थिक विषयवस्तुलाई प्रमुख मुद्दालाई केन्द्रमा राखेर मैले कार्टुन बनाएँ। 

बेञ्चमार्क तोडिएन
गणतन्त्रपछिका पहिलो राष्ट्रपति रामवरण यादवले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानसेनापतिको बर्खास्ती गर्दा अस्वीकृत गरिदिए। मैले कार्टुन बनाएँ यहि विषयवस्तुमा। रामवरण यादवलाई भिष्मपितामह बनेर रमिता हेरेको अन्य सदस्यहरू लडाईं गरिरहेको।

यो कार्टुन छापिएन। त्यतिबेला पत्रिकाहरूले रामवरण यादवको कदमलाई समर्थन गरिरहेका थिए। आफ्नो लाइन भन्दा बेगर कार्टुन बने पनि पत्रिकाहरूले छाप्दैनथेँ। यसभन्दा अघिका केही कार्टुनहरू पनि छापिएका थिएनन्। जुन ब्यवस्थामा पनि यो भोगियो। 

मिडियाहरूको पहिले व्यवस्था परिर्वतन गर्ने मिसन थियो। अहिले धेरै मिसन देखिन्छ। राजनीतिक दलको पकडमा त छन् नै मिडिया। अहिले कर्पोरेट हाउसको पकडमा पुगेका हुन् कि भन्ने देखिन्छ अहिले।

मिसन त पत्रकारिताको धर्म वरपर हुन पर्दथ्यो। तर, आफू अनकुल स्वार्थ हेरेर काम गरेको देखिन्छ मिडियाले। पत्रकारिताको धर्मबाहिर गएर काम गरेको देखिन्छ। दुषित प्रकारको विचार हावी भयो मिडियामा। 

यसको प्रभाव जताततै देखिन्छ। मिडियाले आफूलाई परिर्वतन गर्नुपर्नेमा अरुको इसारामा चल्न थालेपछि त्यसको प्रभाव त पर्छ नै। 

कार्टुनकारिता यहाँसम्म आउनुमा मिडियाकै भुमिका हो। तर जसरी पहिलेका सम्पादकले कार्टुनिष्टहरू खोज्दै हिड्थें अहिलेका सम्पादकले खोज्दै हिँडेका छन्? 

स्थापित भइसकेकालाई स्थान दिएका होलान् तर नयाँ कार्टुनिष्टहरू कति जन्माउन सके? पत्रिकाकै जसको अनलाइन छ उनीहरूको कार्टुन त अनलाइनको देखिन्छ तर शुद्ध कति अनलाइनमा कार्टुनिष्टहरू छन्?

पत्रिकाको बजार जसरी गयो कार्टुनकारिताको बजार पनि त्यसरी नै खस्कियो। नयाँ कार्टुनिष्टहरू आउन सकेकै छैनन्। त्यसमाथि अनलाइनहरूले प्राथामिकता दिएको जस्तो पनि देखिँदैन। स्केचमा त प्राथामिकता नदिएका अनलाइनले कार्टुनलाई किन पो दिन्थे र? 

हामीले के–के न गर्यौ भनेको त होइन। तर, अहिलेको कार्टुनले पहिले बनेको बेञ्चमार्क तोड्न सकेको छैन। प्रविधिले सजिलो त बनायो तर त्यो अनुसारको सिर्जनशीलता देखिएन कार्टुनकारितामा। वैचारिक दृष्टिकोणले समयअनुसार स्वभाविक परिर्वतन त भयो तर कलामा देखिएन।

म आफैंले आजसम्म प्रत्येक कार्टुन बनाउँदा सिकिरहेको हुन्छु। प्रत्येक कार्टुनको कमजोरी हेर्छु, अर्कोपटक त्यो गल्ती हुन दिन्न। कार्टुन भनेको चित्र मात्रै होइन। त्यसबाट विचार पनि सम्प्रेषण हुने गर्छ। तर अहिले कार्टुनिष्टहरूमा मिहिनेत देखिएन। कार्टुनिष्टहरूले आफलाई सुधार गर्नुपर्ने देखिन्छ। सोच्ने विचार गर्ने परिमार्जित गर्ने गर्नुपर्छ। जे लाग्छ एक सटमै त्यही बनाउने होइन। 

विषयवस्तु छान्ने त्यसपछि हास्य र व्यंग्य मिसाएर के हुन सक्छ भनेर बनाउने। आफूले न्याय गर्न नसक्ने विषयलाई नबनाउने। जस्तो अहिले नागरिकताको विषयमा उठेको छ। यो विषयलाई न्याय गर्न सक्छु भन्ने लाग्छ भने बनाउने नत्र नबनाउने। बनाउनकै लागि बनाएको कार्टुनको खासै अर्थ देखिँदैन।

कार्टुनिष्टलाई सम्पादकले ग्रुमिङ गरेनन्

पत्रकारिताको गहना भन्छन् कार्टुनलाई। कार्टुनिष्टले स्केचहरू पनि बनाउँछन्। हिजोआज न्युज कन्टेन्टहरूलाई कार्टुन स्केचले साजसज्जा गर्ने गरेको देखिँदैन। गहनाविहीन भएका छन् समाचारजन्य सामग्री। हेर्दै खल्लो लाग्ने। 
सम्पादकले रिपोर्टरलाई जुनसुकै विषयवस्तुमा रिपोर्टिङ गर्न गु्रमिङ गर्छन् कति सम्पादकले कार्टुनिष्टलाई ग्रुमिङ गर्छन्?

जीविका चलाउन पनि कार्टुनकारिताले समस्या पर्ने देखिन्छ नयाँलाई। कार्टुनकारिता र पत्रकारिताको दूरी बढेको देखिन्छ। पछि राम्रो हुन पनि सक्छ तर अहिले भने देखिँदैन।

मिडिया हाउस कार्टुनिष्ट जन्माउन उदासिन देखिन्छ। सम्पादकले प्रोत्साहन दिएको देखिँदैन। त्यसकारण पनि जति कार्टुनिष्ट छन् त्यतिलाई नै सन्तुष्ट मान्नुपर्ने अवस्था छ।

(नयाँ सन्देश, प्राङ्गण, राष्ट्र पुकार, देशान्तर, मातृभूमि, सुरुची, गोरखापत्र, कान्तिपुरमा लामो समय कार्टुन बनाएका बराल पृथ्वीनारायण क्याम्पसमा २७ वर्ष पढाए उनै सँग प्रजु पन्तले चौथो अंग कोलमका लागि गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला

४ असोज, २०७९, १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।