चौथो अंग : पहिले पत्रकार हुँ भन्दा इज्जत हुन्थ्यो, अहिले त इमान-सम्मान सबै गुमाए

चौथो अंग : पहिले पत्रकार हुँ भन्दा इज्जत हुन्थ्यो, अहिले त इमान-सम्मान सबै गुमाए

बहुदल आएपछि एकै दिन एकै जिल्लाका तीन जना सांसदसम्मले बोलेको विषय हामी टेलिभिजनमा प्रसारण गर्थ्यौं। भिडियो कुनै लामो त कुनै छोटो भइनै हाल्थ्यो। छोटो भिडियो प्रसारण भएका सांसद् उसको भन्दा मेरो १० सेकेण्ड किन कम भनेर रिसाउँथे।

सायद एउटा मात्र टेलिभिजन भएकोले पनि होला, टेलिभिजनको छुट्टै महत्व थियो त्यतिबेला। यहाँ मैले व्यक्तिगत रिसइवीको कुरा गरेको होइन। टेलिभिजनको यति चार्म थियो कि आफ्नो कुराकानी कति बेरसम्म आउँछ भनेर घडी हेर्थे मान्छेहरुले।

टेलिभिजन नदेखी काम गर्दा
पद्मकन्या क्याम्पस पढ्दा म राष्ट्रिय महिला फुटबल  टिमको कप्तान थिएँ। फिफाले महिला खेलाडी नखेलाए रकम रोकिदिने बाध्यकारी व्यवस्था गरेपछि एन्फाका तत्कालीन अध्यक्षले भलिबल खेलिरहेका हामीलाई फुटबल पनि खेल्न अफर गर्नुभएको थियो। तेस्रो राष्ट्रिय खेलसम्म मैले फुटबल खेलेँ।

मेरो बुबा बिबी सिंह रेडियो नेपालको ब्रोडकास्टर हुनुहुन्थ्यो। मैले त्यहाँ स्थानीय समाचार पढिरहेको थिएँ। नीर शाहले मेरो बुबालाई छोरी टेलिभिजनमा पठाइदेऊ भनेपछि म टेलिभिजनमा काम गर्ने भएँ। केही समय फुटबल खेल्दै टेलिभिजनमा काम गर्ने भइयो। पछि भने टेलिभिजनमै काम गर्ने योजना बनाएँ।

मन्त्रीहरुको कुनै समाचार गएन भने को हो मेरो समाचार रोक्ने? को छ त्यहाँ? भनेर पञ्चायतमा पनि सोधखोज गरिन्थ्यो। पछि पनि यो कायम रह्यो। बहुदल आएपछि भ्रष्टाचारका केसहरु भने बाहिरिए। 

ठूलो क्यामेरा, ठूलो डेक बोकेर हिड्नुपर्थ्यो। ३२ जना थिए स्टाफ। पाँच जना महिला थिए। समाचार शाखामा हामी दुई जना थियौँ। अरु प्राविधिक हुनुहुन्थ्यो।

त्यतिबेला फिनल्याण्डको टिभीमा काम गरेका दुई जना श्रीमान्-श्रीमती आउनुभएको थियो हामीलाई तालिम दिन। उहाँहरुले दुई ब्याचसम्म सिकाउनुभयो। ओभरल्ली टेलिभिजनबारे सिकियो त्यो बेला। 

मैले पहिलो समाचार वाचन गर्ने अवसर पाएँ। विशेषगरी दुर्गानाथ शर्मा र मैले मात्रै समाचार भन्थ्यौँ। पहिलो पटक, दोस्रो पटक भन्ने नै भएन। टेलिभिजन सेट थोरै थियो। आम नेपालीको घरमा थिएन टिभी।

मैले पनि त्यसभन्दा अघि टिभी देखेको थिइनँ। रेकर्ड गर्ने अनि प्रसारण गर्ने गरियो ६ महिनासम्म। पछि मात्रै समाचार लाइभ भन्न थालिएको हो। 

कम्प्युटराइज्ड पनि चार वर्षपछि मात्रै भयो। सरकारका गतिविधिमा त केन्द्रित हुने नै भइयो। विकास निर्माणका कामहरुको रिपोर्ट समेत प्रसारण गर्थ्यौँ। मैले न्युज रिडर भएर मात्र काम गरिनँ। रिपोर्टिङ पनि गर्नुपर्थ्यो। 

उहिले गरेको एउटा रिपोर्टिङ म अहिले पनि सम्झन्छु। पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतिर जाँदै थिएँ। यसरी पानी परेको थियो कि ओरोलो ठाउँबाट पानीको भेल झर्दा खहरे खोला जस्तै देखिएको थियो। काठमाडौँबासीले खहरे खोला हेर्न टाढा जानै पर्दैन भनेर रिपोर्टिङ गरेको थिएँ मैले। टेलिभिजनमा प्रसारण भएपछि धेरै मन पराइयो त्यो रिपोर्टिङ। 

व्यवस्था फेरियो अवस्था फेरिएन
पञ्चायतकालमा पनि नेताहरुले आफ्नो समाचार किन आएन? टिभीले किन देखाएन भनेर अनावश्यक चासो दिइरहन्थे। मन्त्रीहरुले टिभी नगइन्जेल पत्रकार सम्मेलन नै गर्दैनथे। यो क्रम बहुदल आएपछि पनि रोकिएन। पहिले पञ्चायती व्यवस्थाका मन्त्रीहरुले फोन गर्थे, पछि बहुदलका। कस्ता समाचार जाने कस्ता नजाने भन्ने सम्पादकको निर्णय हो भन्ने बुझेको देखिएन।

बहुदलपछि स्वतन्त्रता केही बढेको पक्कै हो तर सरकारी मिडिया भएकामा पात्र फेरिए पनि काम त उही सरकारका गतिविधिमै मात्र केन्द्रित भयो। 

मन्त्रीहरुको कुनै समाचार गएन भने को हो मेरो समाचार रोक्ने? को छ त्यहाँ? भनेर पञ्चायतमा पनि सोधखोज गरिन्थ्यो। पछि पनि यो कायम रह्यो। बहुदल आएपछि भ्रष्टाचारका केसहरु भने बाहिरिए। 

सरकारी मिडिया सरकारको प्रचार-प्रसार विभाग जस्ता भए भन्ने कुरा पनि हुन्छ। यो हुनुमा हाम्रै कमजोरी हो। चाकरीमा रमाउने भयौँ हामी। जसको सरकार आउँछ उनैका मान्छे भर्ती गर्ने भएपछि कसरी मिडिया मिडिया हुन्छ? भजनमण्डली भइहाल्छ नि।

सरकारी मिडिया भएका कारण २०४६ सालमा सरकार विरोधी दलहरुका गतिविधि हामी प्रसारण गर्दैनथ्यौँ। त्यतिबेला भारतले नाकाबन्दी लगाएको थियो। जनतामा भारतप्रति घृणाको भावना पैदा भएको देखिन्थ्यो। हामीले यसलाई क्यास गरेर समाचार भनेका थियौँ। 

सरकारी मिडिया पहिले पनि सरकारकै गतिविधिमै केन्द्रित थिए। अहिले पनि त्यही देखिन्छन्। फरक केही आएको देखिँदैन। जुन सरकार आयो उसैमा केन्द्रित हुनुभन्दा केही फरक गरेको भए हुने थियो भन्ने मलाई लाग्छ। 

अर्को, मलाई चित्त नबुझेको भनेको भाषा हो। हाम्रो भाषामा तँ, तिमी, तपाईंको आ-आफ्नो महत्व छ। तर मिडियाले सबैलाई तिमी चलाएको छ। भाषामा विविधता भएको देशमा यो चाहिँ फिटिक्कै सुहाएन। पदलाई सम्मान गरेर तपाईंभन्दा के बिग्रन्छ? 

पत्रकारिता स्वच्छन्द भयो, अनुशासित भएन
टेलिभजनका अध्यक्षहरुसँग मेरो त्यतिसाह्रो विवाद भएन। त्यतिबेला अनुशासित थियो टेलिभिजन परिवार। अहिले यौन दुर्व्यवहारका कुरा आउँछन् कार्यस्थलमा। पहिला त्यस्तो थिएन। अनुशासित थिए सबै नैतिक रुपमा।

मैले पञ्चायतकालदेखि गणतन्त्रकालसम्म थुप्रै सञ्चार मन्त्रीसँग काम गरेँ। मिडियालाई हस्तक्षेप नगर्ने मन्त्रीमा पर्नुहुन्छ सर्वेन्द्रनाथ शुक्ला। उहाँले हामी सबैलाई बोलाएरै भन्नुहुन्थ्यो- म क-कसको समाचार आएन, केही भन्दिनँ। समाचार प्रसारण गर्ने तपाईंहरुको अधिकार हो।

नत्र, प्राय: सञ्चार मन्त्रीले 'लौन आइदिनुपर्यो। मेरो साथी हो, प्रसारण गरिदिनुपर्यो जसरी पनि' भनेर दबाब दिनुहुन्थ्यो। प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी हुनुहुन्थ्यो एकदमै राम्रो आनीबानी भएको।

सरकारी मिडिया सरकारको प्रचार-प्रसार विभाग जस्ता भए भन्ने कुरा पनि हुन्छ। यो हुनुमा हाम्रै कमजोरी हो। चाकरीमा रमाउने भयौँ हामी। जसको सरकार आउँछ उनैका मान्छे भर्ती गर्ने भएपछि कसरी मिडिया मिडिया हुन्छ? भजनमण्डली भइहाल्छ नि।

न्युज रिडर पनि पत्रकार नै हो। रिपोर्टिङ गर्ने विषयवस्तुको गहिरो रुचि राख्ने र प्रस्तुतिमा तिख्खरता आउनुपर्ने हो। तर आएको देख्दिनँ म।

अहिले नेपालमा देखिएको समस्या भनेको पार्टीगत पत्रकारका संगठन हुन्। पत्रकार महासंघ भएपछि दलका भ्रातृ संगठन किन चाहिन्छ पत्रकारलाई? अमेरिकामा पनि कुन रिपब्लिकन पार्टीको, कुन डेमोक्रेट्सको भनेर सहजै छुट्टिन्छ। तर राष्ट्रिय एकतामा एक हुन्छन्। राष्ट्रियताको सवालमा समेत नेपाली मिडिया एक भएको देखिनँ मैले।

गणतन्त्रकालमा नै सुस्ताको कुरा उठ्दा हाम्रै देशका प्रजातान्त्रिक भनिने पार्टी निकट पत्रकारले गम्भीर रुपमा नलिएको तत्कालीन टेलिभिजन अध्यक्षले नै भन्नुभएको थियो। पत्रकारले त पार्टीको लाइन बोल्ने होइन नि। पत्रकारले आलोचनात्मक चेतले हेरेको देखिएन। 

अमेरिकामा हामीले कम्युनिटी नेपाल टेलिभिजन सञ्चालन गरेका थियौँ। अमेरिकामा संघीयता भएको हुँदा निश्चित समयमा नेसनल समाचार आएपछि प्रत्येक स्थानीय तहमा अन्य समयमा स्थानीय गतिविधिका समाचार कार्यक्रम प्रसारण हुन्थे। हामीले त्यहाँ नेपालको समअप समाचार र केही कार्यक्रम चलाएका थियौँ। इन्टरनेट सहज भएपछि त्यो छोडियो। 

पत्रकारिता आफैंमा समाजलाई मार्गदर्शन गर्ने बाटो हो। पहिले पत्रकारिता अनुशासित थियो। अहिले स्वतन्त्रका नाममा  स्वच्छन्द भएको छ। जसले जे लेखे पनि हुने, जे बोले पनि हुने देखिएको छ । यसरी त पत्रकारिता मौलाउँदैन नि। 

टेलिभिजनमा पहिले भोकलदेखि सबै टेस्ट लिएर तालिम दिएपछि मात्रै स्क्रिनमा देखाइन्थ्यो। अहिले त यो सबै प्रक्रिया पूरा गरेको जस्तो देखिँदैन, टेलिभिजनमा समाचार प्रसारण गरेको तरिका देख्दा।

हामी काम गर्दा पत्रकार हुँ भन्दा छुट्टै इज्जत थियो। पत्रकारले आफ्नो धर्म निभाउँथे तर बेइमानी गर्दैनथे। अहिले पत्रकारले इमान गुमाए। सँगसँगै सम्मान पनि।

न्युज रिडर पनि पत्रकार नै हो। रिपोर्टिङ गर्ने विषयवस्तुको गहिरो रुचि राख्ने र प्रस्तुतिमा तिख्खरता आउनुपर्ने हो। तर आएको देख्दिनँ म।

समग्र मिडियाका केही कार्यक्रम बाहेक अन्य कार्यक्रम राम्रा छैनन्। यो मिडिया चाहिँ साच्चै राम्रो छ है भन्न सक्ने अवस्था रहेन। केही कार्यक्रम राम्रा होलान्, समग्र मिडिया राम्रा भएनन्। 

हामी काम गर्दा पत्रकार हुँ भन्दा छुट्टै इज्जत थियो। पत्रकारले आफ्नो धर्म निभाउँथे तर बेइमानी गर्दैनथे। अहिले पत्रकारले इमान गुमाए। सँगसँगै सम्मान पनि। त्यसकारण पत्रकारले आफ्नो पेसा सम्मानजनक बनाउन आजैबाट आचरण सुधार्न जरुरी छ भन्ने मलाई लाग्छ। 

(नेपाल टेलिभिजन स्थापना हुँदा पहिलो समाचार बाचिकाको रुपमा रहेकी सिंह २०६६ सालमा अवकाश लिँदा समाचार निर्देशक भएकी थिइन्। उनीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

२१ असार, २०७९, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।