उकेरा कोलम

चौथो अंग : पैसा लिएर गरिएको समीक्षा कस्तो हुन्छ? राम्रो फिल्म बनाउनेले त पैसा बाँड्दैन नि !


मानौं, फिल्म उद्योग खोला हो, कलाकार माछा। पत्रकारले किनारामा बसेर खोला कता बग्दैछ, सचेत गराउनुपर्ने हो। खोला कता बग्दैछ, जाल कता थापेको छ भनेर माछालाई जानकारी गराउनुपर्ने पत्रकार आफैं खोलाभित्र पसेपछि के हुन्छ? 

अहिले फिल्म उद्योग कतातर्फ जाँदैछ भनेर लेख्नुपर्ने पत्रकार आफैं खोलामा हेलिँदा फिल्म उद्योगको दिशा प्रष्ट हुन सकेको छैन। कलाकार र पत्रकार सँगसँगै खोलामा डुबेका कारण फिल्म उद्योग कतातर्फ जाँदैछ, यसै भन्न सक्ने अवस्था रहेन। 

पत्रकारिता भनेकै मिसनमा आधारित हुनुपर्छ। कहाँ पुग्ने टुंगो नभएको पत्रकारिता काम छैन। फिल्म तथा कला उद्योगबारे अबको बाटो यो हो भनेर देखाउन सक्ने र समग्र कला जगतलाई सुधार्ने काम पत्रकारिताको पनि हो। स्तर उकास्न सहयोग पुर्‍याउने हो।

के अहिले कला पत्रकारले यसै गरिरहेका छन् त? अधिकांश पत्रकार आफैं खोलामा हाम्फालेर कलाकारसँगै हेलिने भए। जसले गर्दा फिल्म उद्योगलाई नै असर गरिरहेको छ। फिल्म समीक्षा गरेर कस्तो फिल्म बन्नुपर्छ भन्नुपर्ने पत्रकारले आफ्नो दायित्व पूरा गरेजस्तो लाग्दैन। अहिले जति पनि समीक्षा आएका छन् अधिकांश समीक्षा नै होइनन् भन्ने मलाई लाग्छ।

समीक्षाको स्तर बढेन
‘नेपाल समाचारपत्र’ दैनिकले नेपाली चलचित्र उत्कृष्ट बनाउन के गर्नुपर्छ भनेर निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। फिल्महरु हेरिरहने भएकाले मैले पनि यस प्रतियोगितामा निबन्ध लेखेर पठाएँ २०५५ सालमा। मेरो निबन्ध प्रथम भयो। बोल्ड अक्षरमा छापियो पनि। त्यसपछि पत्रकारितामा रस बस्यो।

मिडिया पोइन्टबाट पत्रकारिताको आधारभूत तालिम लिएपछि २०५७ सालदेखि पत्रकारिता सुरु गरें ‘एभरेष्ट’ दैनिकबाट। यो पत्रिका हङकङबाट निस्कन्थ्यो। कन्टेन्ट यतैको हुन्थ्यो। पछि किशोर नेपाल प्रधानसम्पादक हुनुभएको ‘नयाँ सडक’मा काम गरेँ।

मेरो रिपोर्टिङ कला क्षेत्रमा रह्यो। फिल्म समीक्षा ‘नवयुवा’ मासिकले छाप्ने गथ्र्यो गोविन्द वर्तमानको नाममा। त्यो समीक्षा पढ्दा फिल्मको समीक्षा कस्तो हुने रहेछ, कसरी आलोचना गर्ने रहेछ, पाटोमा ध्यान दिनुपर्ने रहेछ भन्ने जानियो। नभए पहिले मैले पनि कथाकै सार लेख्ने रहेछु। 

नवीन सुब्बा, छिरिङरितार शेर्पा लगायतको संगत बढ्दै गएपछि फिल्मप्रति मेरो दृष्टिकोण फेरियो। चार वटा गीत, चार वटा फाइट राखेर सूत्रबद्ध तरिका र सन् १९८० का भारतीय फिल्मका कपीले नेपाली फिल्म उद्योगलाई कसरी तहसनहस बनाउँदै छ भन्ने बुझियो।

त्यसपछि मेरा समीक्षा कथामा मात्र केन्द्रित भएनन्। प्रस्तुति र कलाकारको अभिनयमा समेत हुन थाल्यो। विशेषगरी २०५७ पछि दैनिक मिडियाले जब फिल्म समीक्षा निरन्तर छाप्न थाले, त्यसपछि न हो फिल्मको आलोचनात्मक कुरा हुन थालेको। 

कलाकारको अभिनय र कन्टेन्टलाई लिएर बहस हुँदैनथ्यो पत्रकारितामा त्यसभन्दा अघि। कलाकारलाई गहना मान्ने चलन थियो। उनीहरुका अफेयर, गसिप लेखे पनि क्षमतामा प्रश्न उठाउने चलन थिएन। जब उठ्यो, केही गन्यमान्य कलाकारलाई पचाउनै गाह्रो भएको पनि देख्न सकिन्थ्यो।

सूत्रमा आउने फिल्म त्यो पनि राम्रो सूत्र नभएपछि यो सूत्रलाई भत्काउनुपर्छ भनेर समीक्षा लेखिन्थ्यो समकालीन साथीहरुबाट पनि। तुलसी घिमिरे तुलानात्मक रुपमा राम्रा निर्देशक थिए। उनका फिल्म राम्रा भनेर लेख्न पनि छाडिएन। 

पछि नवीन सुब्बाले ‘नुमाफुङ’ फिल्म ल्याए। यो फिल्म तारिफयोग्य थियो। परम्परागत सूत्रलाई भत्काउने पाराको थियो। गीत र फाइट बिनाको के फिल्म भन्नेलाई चुनौती दिने फिल्म त्यसपछि भने आए। 

फिल्मको समीक्षा लेख्दा धम्क्याउनेदेखि फिल्म बनाउन कति गाह्रो छ भनेर कार्यक्रममै हप्काउने पनि भेटिए। जबकी, फिल्म बनाउनु र समीक्षा गर्नु अलग–अलग प्रोफेसन हो भनेर बुझ्ने कमै थिए।

भुवन केसीको ‘सुपरस्टार’ भन्ने फिल्म हिन्दी फिल्म ‘रंगिला’को कपी थियो। मैले समीक्षा लेख्दा ‘सुपरस्टार र रंगिला उस्तै–उस्तै हो नानु’ भनेर समीक्षा लेखेँ। फिल्म समीक्षा गरेपछि निर्देशक तथा कलाकारले रिसइवी नै साँध्ने त होइन तर आलोचनात्मक समीक्षा गरेपछि रुचाएको भने पाइँदैन। ‘तिमी बिना मरिहाल्छु’ भन्ने फिल्मको समीक्षा गर्दा त्यस फिल्मका नायक मलाई खोज्दै आउनुभएको थियो। उहाँ लामाजीसँग फिल्म बनाउन सिक्नुपर्‍यो भनेर फर्किनुभयो। 

कलाकारको सिर्जनामा औँला नउठाएका समयमा सिर्जना र अभिनयमा प्रश्न उठाउँदा नयाँ देखिएको थियो। तर हाम्रो पनि समीक्षाको स्तर पुगेको थिएन। अहिले पनि समीक्षाको स्तर पुगेको देखिँदैन। नेपाली फिल्मको निर्मम समीक्षा भएकै छैन। अहिले फिल्म बनाउन थाले पनि मैले फिल्मका समीक्षाहरु पढेको हुन्छु। तर लेख्न खोजिएका, ढंग नपुगेका समीक्षाहरु देखिन्छन्। 

समीक्षालाई दुई तरिकाबाट हेरौँ। पहिलो, पत्रकारले लेख्ने, दोस्रो एकेडेमिक। पत्रकारले लेख्ने कथाको सार हुन्छ। एकेडेमिक केही जर्नलमा केही फिल्मको लेखिएका छन् तर पर्याप्त छैन। 

समीक्षामा भिज्युअल ल्याङ्वेज, क्यामेराको लाइटिङ, अभिनय, सिनेमेटोग्राफी र सम्पादन, कला, गीत–संगीत, रङ बुझेर समीक्षा गर्ने कति छन् पत्रकार? 

सम्पादन गर्नेले कैंची चलाउन जानेन भनेर कोरा वाक्य लेख्नेले कहाँनेर सम्पादन गर्ने भनेर उल्लेख भएको देखिँदैन। कस्तो फिल्मलाई प्रोत्साहित गर्ने, कस्तोलाई नगर्ने भन्ने धारणा पत्रकारिताको माध्यमबाट समीक्षा गर्नेहरु प्रष्ट भएको देखिँदैन। 

ज्ञानमा कमी देखियो
भारतीय मिडियाहरुमा पनि सुनियोजित तरिकाबाट आएका समीक्षा धेरै हुन्छन्। अन्य देशका भने राम्रै देखिन्छन्। उनीहरुले फिल्मको जीवन्त समीक्षा गरेको देखिन्छ। 

‘भेराइटी’ भन्ने म्यागेजिनमा राम्रो समीक्षा आएको देखिन्छ। भिज्युअल, कथा, लाइटदेखि सिनेमाटोग्राफीसम्म आएको देखिन्छ।

नेपालमा पत्रकारले पैसा लिएर फिल्म समीक्षा गरेको देखिन्छ। सबै पत्रकारलाई आक्षेप लगाउन चाहन्न तर केही पत्रकारमा यस्तो प्रवृत्ति देखिन्छ। पैसा लिएर गरिएको समीक्षा कस्तो हुन्छ? राम्रो फिल्म बनाउनेले त पैसा बाँड्दैन नि। जस्तो रिभ्यु आए पनि मेरो फिल्मले व्यापार गर्छ भन्ने आत्मविश्वास भएकाले त यस्तो गर्दैनन्।

पत्रकारले पूर्वाग्रह राखेर समीक्षा लेख्नु भएन। फलानो निर्देशकले मलाई यस्तो भन्यो, म त्यसको फिल्मलाई ध्वस्त बनाइदिन्छु भन्ने धारणा त राख्नु भएन नि । केही पत्रकारले यस्तो आग्रह राखेको देखिन्छ। 

फिल्म समीक्षा गर्नुपर्छ भन्ने चेत धेरैमा आएको छ। यो राम्रो पक्ष हो। समीक्षा राम्रो गर्नेहरुबीच प्रतिस्पर्धा भएको छैन। एउटाले आलोचना गरे अर्कोले झन् धेरै आलोचना अथवा पूरै प्रशंसा गरेर लेख्ने चलन हावी देखिन्छ। यो भनेको समीक्षकहरुको अपरिपक्वता हो। 

फिल्म पत्रकारिता गर्नेले समग्र कला बुझ्नु जरुरी छ। चित्रकला, संगीत तथा साहित्य बुझ्न जरुरी छ। तर यहाँ फिल्म पत्रकारिता गर्नेले भ्युज खोज्ने, न्युज नखोज्ने भएका छन्। फिल्म पत्रकारिता गर्ने कतिले साहित्य र चित्रकला बुझ्छन्? शंकै लाग्छ। फिल्ममा मात्रै केन्द्रित भएर फिल्म बुझिँदैन। काव्यात्मक चेत पनि हुन जरुरी छ। 

ज्ञानको कमी देखियो। हुन त म आफैं ‘फिल्म क्रिटिक्स सोसाइटी’ को अध्यक्ष हुँ। तपाईंले के गर्नुभयो भन्ने प्रश्न पनि आउँला। मलाई के लाग्छ भने, पत्रकार महासंघ, प्रेस काउन्सिलले तालिम दिन आवश्यक छ। रिपोर्टर आफैं पनि कस्ता फिल्मलाई प्राथामिकता दिने, कस्तालाई नदिने, फिल्मको कस्तो मापदण्ड हुने भनेर बुझेर आउन जरुरी छ। 

भ्युज होइन, न्युजको गुणस्तर बढाऔं
कला पत्रकारिता मात्र नभएर समग्र पत्रकारिता नै फरक एंगलबाट आएको छैन। आवाजविहीनको आवाज भनिन्छ मिडिया। तर आवाजविहीनको आवाज भएका छैनन् हाम्रा मिडिया। हाम्रा मिडियाले प्राथामिकता पनि निर्धारण गरेको देखिँदैन। 

‘लोरी’ फिल्मले कान्समा अवार्ड जित्यो। एकाध बाहेक कुन मिडियाले यसलाई प्राथामिकता दियो? त्यहाँ पुग्नु मात्रै ठूलो कुरा होइन। फिल्मले अर्वाड जितेको छ, मिडियालाई वास्तै छैन। राम्रो काम पनि देख्न सकेको छैन हाम्रो मिडियाले। 

मैले पहिले फिल्म समीक्षा गरें र अहिले फिल्म बनाएँ। फिल्म बनाउने काम गाह्रो हो। जति पनि समीक्षा आएका छन्, त्यसलाई मैले रियाक्ट गरेको छैन। तर फिल्ममाथि पत्रकारले निर्मम समीक्षा गरेकै छैनन्। फिल्म पत्रकार ज–जसले समीक्षा गर्छन्, उनीहरुले एक पटक समीक्षाबारे समीक्षा गरेदेखि हामीले बनाएको बेञ्चमार्क भत्किएर नयाँ बन्थ्यो कि।

अघि नै भनेँ, हामीले कलाकारलाई गहना भन्ने बेला उनीहरुको सिर्जना र अभिनयमा प्रश्न उठाएको हो। तर पहिलेभन्दा अहिले धेरै रिपोर्टर तथा सम्पादकले फिल्म र कला क्षेत्रलाई बुझे जस्तो लाग्छ। हामी आफैंले पनि वर्कसप र रिफ्रेसमेन्टहरु गराउनुपर्ने हो, त्यो गर्न सकेको देखिँदैन। 

फिल्मले कारोबार गरुन्जेल लेख्ने त्यसपछि छाड्दिने हो भने फिल्म पत्रकारिता राम्रो हुँदैन। फिल्म पत्रकारले पनि खोज पत्रकारितामा ध्यान दिनु जरुरी छ।  

नेपाली फिल्म मार्केट कस्तो छ, कर कति तिरिरहेका छन्, सरकारले फिल्म क्षेत्रबाट कति आम्दानी गर्छ, कलाकारले कर कति बुझाउँछन्, कुन सहरमा कस्तो छ बजार, दर्शकको च्वाइस कस्तो हो, रिलायबल कलाकार को हो जस्ता विषयमा सर्वेक्षण आवश्यक छ। यतातर्फ फिल्म पत्रकारले ध्यान दिनुपर्ने देखिन्छ। 

(एभरेष्ट, नयाँ सडक, नेपाल समाचापत्र, स्पेस टाइम, नयाँ पत्रिका र नागरिक दैनिक गरी १७ वर्ष पत्रकारिता गरेका लामा अहिले फिल्म निर्देशक हुन्। लामासँग नेपाली फिल्म समीक्षाको गुणस्तरबारे उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....