चौथो अंग : नेपाली चलचित्र क्षेत्रमा अवार्ड किनबेच हुन्छ, तर रंग पत्रकार एक अक्षर लेख्दैनन्

चौथो अंग : नेपाली चलचित्र क्षेत्रमा अवार्ड किनबेच हुन्छ, तर रंग पत्रकार एक अक्षर लेख्दैनन्
तस्बिर : कृष्पा श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रमा ६०/६२ वटासम्म विधामा अवार्ड बाँडिन्छ। आयोजकले स्पोन्सर खोज्छन्। जसले स्पोन्सर खोजिदिन्छन्, जसले विज्ञापन दिलाइदिन्छन्, आयोजकले उसैलाई अवार्ड दिन्छन्। एक प्रकारले भन्नुपर्दा, आयोजकले अवार्ड बेच्छन्।

ती अवार्डहरु त्यतिबेलासम्म बाँडिन्छन् जतिबेलासम्म फेक अवार्डमा अमेरिकाको ‘एक्स्ट्रा अडिनरी भिसा’ पाइन्छ भन्ने पर्छ।

अमेरिका जान पाइने लालसामा बाँडिने यस्ता अवार्डबारे न त कला पत्रकारले उधिनेर लेखेका छन् न त कला विश्लेषकहरुले नै आलोचना गरेका छन्। अर्को पटक आफूले पनि पाउने आशामा अवार्ड वितरणको जति आलोचना हुनुपर्ने हो त्यति भएको देखिँदैन।

कला क्षेत्रमा लागेकाहरुको चेतनास्तर कमी
मैले २०५७ सालमा पत्रकारिता सुरुवात गरेको हो। सुरुवातमै कला पत्रकारिता गरेको मैले त्यतिबेला र अहिलेको कला पत्रकारितामा फरक पाएको छैन। कला पत्रकारिता मात्रै ९ वर्षभन्दा धेरै गरियो। हिजो हामीले लेख्दा पनि कला पत्रकारिता उम्दा थिएन, अहिले पनि उम्दा देख्दिनँ। 

पछि कला पत्रकारितामा केही फरक गर्न खोजियो। कलाकारको कुनै विशेष चिनारीलाई लिएर संवाद गरियो। त्यो संवाद राम्रैसँग चल्यो पनि। कला पत्रकारिताको जुन ट्रेण्ड चल्यो वास्तवमा त्यो ठिक थिएन । हामी जो-जो कला पत्रकार छौँ, यसको गुणस्तर वृद्धिमा हामी चुकेकै हो। लय समात्न पाएन कला पत्रकारिताले। 

कलामा बिट बनाउनेहरुको चेतनास्तरमा नै समस्या देखिएको छ। फिल्मकर्मी र फिल्म पत्रकार दुवैको चेतनाको स्तरमा कमी देखिन्छ। अन्य बिटको समाचार जस्तो एक्स्लुसिभ खासै हुँदैन कलामा। गसिप, अन्तर्वार्ता, फिचरहरु नै हो लेख्ने।

यदि ढंग भएको रंग पत्रकार छ भने राम्रोसँग लेख्छ पनि नत्र काम चलाउ, जागिर पकाउने खाले समाचार लेख्छ। जागिर पकाउनेवाला पत्रकारको बोलवाला रहँदै आयो यो पत्रकारितामा। 

फिल्म पत्रकारिता भनेको प्रचार पत्रकारिता होइन। कलाकारको चाहना अनुसार समाचार लेख्ने होइन, मिडिया हाउसको चाहना अनुसार आउने हो भन्ने दुवै पक्षले बुझेको देखिएन। 

दादा-दिदी भन्ने बित्तिक्कै कलाकारका अन्तर्वार्ता आइदिने अनि हुन्छ? कलाकारसँग बसेर चिया-खाजा खान पाउनुलाई नै ठूलो सम्झिने भएपछि कस्तो हुन्छ रंग पत्रकारिता? 

कलाकारसँग बसेर कफी खान हुन्न भनेको होइन तर  आफ्नो पेशाको मर्यादा भुल्न भएन नि। पुरुष पत्रकार छ भने अभिनेताले जस्तो लगाउँछ उस्तै लगाउनुपर्ने, महिला कला पत्रकार छ भने अभिनेतृले जस्तो लगाएको छ उस्तै लगाउनुपर्ने, उस्तै देखिनुपर्ने। आफ्नो पेशाको मर्यादा नै भुलेर परिवारै लिएर गएर सित्तैमा फिल्म हेर्नुपर्ने, यस्तो भएपछि कला पत्रकारिता मौलाउँछ? प्राय: समाचारमा सम्बन्ध झल्किने भयो। त्यसकारण त कला पत्रकारहरु आलोचित हुन्छन्। 

५० प्रतिशत कलापत्रकार प्रायोजित समाचार लेख्छन्
२०५९ सालमा रसियन कल्चरमा सिनेमा सम्बन्धी कार्यक्रम भएको थियो। सो  कार्यक्रममा भाषण गर्नेहरुले २/४ वटा सिनेमा चलेको भरमा नेपाली फिल्मको स्वर्ण युग आयो भनेर बोले।

हामीले २/४ वटा फिल्म चलेको भरमा स्वर्ण युग लेख्न नमिल्ने भनी आलोचना गरेर लेख्यौं। यसरी लेख्दा फिल्मकर्मीदेखि यसका सपोर्टरले जहाँ भेटे पनि हामीलाई गाली गरे। त्यसको दुई वर्षपछि सिनेमामा संकट लाग्यो। हामीलाई आलोचना गर्नेहरुले तपाईंहरुले भनेको सही रहेछ भने पनि। 

पत्रकारले कुनै पनि फिल्म हेरेपछि जस्तो छ उस्तै लेख्नुपर्छ। प्रायोजित फिल्म रिभ्यु लेखेर हुँदैन। खल्तीमा बोकेर हिँड्ने खुत्रुके अनलाइनले अहिले फिल्म पत्रकारितालाई ध्वस्त बनाइरहेका छन्। निर्देशक दाइ-दिदी खुसी बनाउन समाचार लेखिएपछि पत्रकारिता जिउँदो रहन्छ र? 

कुनै अमुक फिल्मको आलोचना गर्दा फिल्म उद्योगलाई नै आक्रमण गरेको सम्झिने भए। हामीले फिल्म रिभ्यु गर्दा पनि यदि आलोचनात्मक छ भने फिल्म उद्योग जोगाएका व्यक्तिहरुले बनाएको फिल्मबारे किन आलोचना गरेको भन्ने भए। 

एउटा कुनै फिल्म वा कलाकारको आलोचना गर्नुको अर्थ फिल्म उद्योगलाई गाली गरेको होइन भनेर कहिले बुझ्ने हाम्रा कलाकारले? 

उदाहरणको लागि, अभिनेतृ साम्राज्ञीलक्ष्मी शाहले भुवन केसीले यौन दुर्व्यवहार गरेको आरोप लगाइन्। उनले अभिनेता र अभिनेतृलाई विभेद गरिएकोबारे पनि बोलिन्। तर फिल्म पत्रकारले जति लेख्नुपर्ने हो उति लेखेनन्। किनभने, उनीहरुले यसलाई समाचार नै देखेनन्।

तथाकथित फिल्म उद्योग जोगाएका भनेर ट्याग भिराइएका भुवन केसी विरुद्ध लेख्ने आँट एकदमै कम पत्रकारमा मात्र आयो। 'भुवन केसी जस्तो मान्छे' भनेर ठूलो बनाइयो। साम्राज्ञीलाई कमजोर ठानियो। 

अझ उधिन्दै जाने हो भने त कलाकारको इर्श्यामा पनि परेकी हुन् उनी। कलाकार पनि साम्राज्ञीको पक्षमा बोलेनन्। तुलानात्मक रुपमा बढी पारिश्रामिक लिने र ठकुरी हो, ठूलो पल्टिन्छिन् भन्ने तुष पालेर बसे अन्य कलाकार।

यसलाई चिरेर लेख्नुपर्थ्यो कला पत्रकारले। तर उनीहरुलाई भुवन केसीको तथाकथित व्यक्तित्वले थिच्यो पनि। ५० प्रतिशत कला पत्रकारलाई निर्देशक दाइ-दिदी र हिरो-हिरोइनले दिएको मात्रै समाचार हुन्छ भन्ने परेको  देखिन्छ। 

अवार्ड पाउने लोभले आउँदैनन् समाचार 
अहिलेका सम्पादकले कला क्षेत्रका समाचारलाई पनि प्राथामिकता दिन थालेका छन्। विचार र पहिलो पृष्ठमा मात्रै ध्यान हुन्थ्यो। ठूलो मिडियामा समस्या देखिएको छैन। खुत्रुके अनलाइनहरुमा भने समस्या देखिएको छ।

कला पत्रकारलाई हामीले हिरो-हिरोइनको अन्तर्वार्ता लिइदिएर पुण्य गरेका छौँ भन्ने लाग्छ। अनि हिरो-हिरोइन पनि अनुग्रहित हुने भए। जबकी, कला पत्रकारको त त्यो काम नै हो नि। उनीहरुले अनुग्रहित हुनुपर्ने केही गरेकै होइनन्। 

यस्तो अनुग्रहित हुने समस्या दुवैतिर देखियो। पल शाहलाई बलात्कारकै आरोप लगाउँदा केही मिडियाले उनलाई जोगाउन मरिहत्ते गरे। समाचार के हो र कसरी लेख्नु पर्छ भनेर व्यावसायिकता भुल्दा यो समस्या आयो।

पत्रकारले कृपा गरिदिएको भन्ने/ठान्ने हिरो-हिरोइनले मौका दिएको भन्ने/ठान्ने भएका कारण कला पत्रकारिता राम्रो भइरहेको छैन। 

यदि निर्देशक र हिरो-हिरोइनसँग व्यावसायिकता भुलेर सम्बन्ध बनाएका हुँदैनथे कला पत्रकारले भने पर्दा पछाडिका कलाकारबारे किन समाचार बन्दैनन्? उनीहरुले काम गरेको पारिश्रामिक समेत पाएका छैनन्। यसबारे किन रिपोर्टिङ भइरहेको छैन? 

फिल्म रिलिजको बेला ठेक्का मिलाइदिने समेत काम गर्ने भए पत्रकारले। पत्रकारको दायित्व त पाठकप्रति हो नि, कलाकारप्रति त होइन। 

नेपालको कला क्षेत्रमा सिनेमा हावी भएको छ। सिनेमा हावी हुँदा नाटक, चित्रकला, मूर्तिकलाबारे रिपोर्टिङ एकदमै कम छ। हाम्रो पालामा बुझ्नुपर्छ भन्ने पनि देखिएन। अहिले पनि देखिएको छैन। चित्र नबुझेपछि अन्तर्वार्ता पनि सतही हुने भयो। अहिले भएकै त्यही छ। 

पहिले चित्रकलाका रिभ्यु लेख्ने थिए, अहिले त त्यो पनि भएनन्। 

अवार्डहरु प्राय: विवादित नै हुन्छन्। चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराई थिए। बेस्ट मुभी 'गोपी' र बेस्ट निर्देशन 'बुलबुल' फिल्मले पाएको बेलामा पनि थिएँ जुरीमा। त्यो बेला मलाई पनि दिपेन्द्र लामा साथी भएर गोपी फिल्मलाई अवार्ड दिएको हो? भनेर सोधिएको थियो। त्यसैले फेरि भन्छु, अवार्डहरु प्राय: विवादित नै हुन्छन्। 

फेरि पनि भन्छु, नेपाली चलचित्र क्षेत्रमा ६२ वटा अवार्ड छन्। ती अवार्ड आयोजकले स्पोन्सर खोजिदिनेलाई प्रदान गर्छन्। कसैलाई अमेरिका जानुपर्यो भने दिइन्छ त्यो अवार्ड। 

किन यसबारे उधिनेर समाचार आएका छैनन्? कला पत्रकार समेत कोही विदेश गए, कोही जाने पाइपलाइनमा छन्। तिनले किन लेख्थे त समाचार? 

प्रोफेसनमा बस्ने कला पत्रकारले यस्ता अवार्डबारे कसले पायो/पाएन भनेर पनि लेख्दैन। यसको आलोचना कहिलेकाहीँ गरेको पाइन्छ। 

एक्स्ट्रा अडिनरी भिसाको लोभले बाँडिएका छन् अवार्ड। पालो कुरेर बसेकाले आलोचना गर्ने कुरै भएन। 

जस्तो खाले रंग पत्रकारिता भइरहेको छ, म सन्तुष्ट छैन। प्रोफेसनमा बसेर लेख्ने नयाँ पुस्ता पनि नआएको होइन। यही पुस्ताले परिर्वतन गर्यो भने कला पत्रकारितामा आशा गर्न सकिन्छ। खुत्रुके अनलाइन र प्रायोजित समाचार बनाउनेले लिड गरे भने भन्न सक्दिनँ। 

धेरैले पत्रकारिता साहुको हातमा गयो भन्छन्। होइन, पत्रकार नै खतरानाक साहु भएर निस्के। समग्रमा भन्दा नेपाली कला पत्रकारितामा गहिरो अध्ययन र लेखाइमा निख्खरता आउनुपर्ने देखिन्छ। रंग पत्रकार रंगकर्मीप्रति जिम्मेवार होइन, पत्रकारिताप्रति जिम्मेवार भयो भने पत्रकारिता सुध्रिन्छ नै। 

(स्पेसटाइम, नयाँ पत्रिका तथा राजधानी दैनिकमा काम गरिसकेका लम्साल अहिले राजधानीको अनलाइन संस्करणका सम्पादक छन्। उकेराको चौथो अंग कोलमका लागि लम्सालसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।) 

चौथो अंगका पुराना श्रृंखला

 

१० साउन, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।