चौथो अंग : पर्यटन पत्रकारितामा रिपोर्टर कम भए, सम्पादक बल्ल बुझ्दै छन्

चौथो अंग : पर्यटन पत्रकारितामा रिपोर्टर कम भए, सम्पादक बल्ल बुझ्दै छन्
तस्बिर : कृष्पा श्रेष्ठ

भ्रमण वर्ष २०२० कोरोनाका कारण पूरै प्रभावित भयो। भ्रमण वर्षको लागि तयारी गरेका होटल व्यवसायीदेखि ट्राभल्स एण्ड टुरिजम एजेन्सी नराम्ररी डुबे।

कोरोनाले पर्यटन क्षेत्र त प्रभावित भयो नै, पर्यटक शून्य हुँदा अन्य क्षेत्रमा कस्तो असर पर्यो, पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको मात्र होइन, समग्र नेपालीको जीवनस्तरमा के फरक पर्यो भन्ने विषयमा रिपोर्टिङ भएकै छैन। 

पर्यटन पत्रकारिताको दायरा फराकिलो हुन सकेको छैन। यसमा लेख्ने रिपोर्टर पनि थोरै छन्। मिडियाको संख्या बढे पनि पर्यटनबारे समाचार जति आउनुपर्ने हो त्यति आएको देखिँदैन। 

पर्यटन पत्रकारिता हुनै सकेन
वि.सं. २०५२ सालतिर आइएको परीक्षा दिएपछि मैले फाट्टफुट्ट साप्ताहिक पत्रिकामा लेख्न सुरु गरें। विशेषतः सामाजिक र सांस्कृतिक विषयमा फिचरहरू लेख्थें। 

२०५४ सालतिर हरि अधिकारीको सम्पादकत्वमा काठमाडौं र विराटनगरबाट एक साथ ‘श्री देउराली दैनिक’ प्रकाशित हुन थाल्यो। त्यसमा कला संवाददाताका रुपमा काम गरें। त्यो पत्रिका केही महिना प्रकाशन भएर बन्द भयो। त्यसपछि पनि साप्ताहिक र मासिक पत्रिकामा कला रिपोर्टिङ र सामाजिक विषयवस्तुका फिचरहरू लेख्दै आएँ। 

२०५७ सालको साउनदेखि 'कान्तिपुर'को शनिबारे विशेषाङ्क ‘कोसेली’मा फिचर लेख्न थालें। माघ १५ गतेदेखि पोखराबाट रिपोर्टिङ गर्ने गरी मलाई नियुक्ति दिइयो। पर्यटकीय नगरी पोखरा पुगेपछि मैले पर्यटनको कखरा सिक्ने मौका पाएँ। पोखराले नै ममा पर्यटन पत्रकारिता सिकायो। त्यहीँबाट अन्य विषयसँगै पर्यटनका विषयमा पनि कलम चलाउन सुरु गरें।

पोखरामा एक जना पत्रिका पसलेले पत्रिकासँगै रङ पनि राखेका थिए। पत्रिका किन्दै मैले रङको व्यापार कस्तो भएको छ? भनेर सोध्दा ती पसलेले जवाफ दिए, 'पर्यटक छैनन् कसरी रङको व्यापार हुनु?'

भर्खरै पत्रकारिता सुरु गरेको मैले कसरी रङ र पर्यटक जोडियो? भनेर प्रश्न गर्दा ती पसलेले भने, ‘पर्यटक आउँदा होटलदेखि घरहरुले रंगरोगन गर्छन्। रङ बिक्छ अनि आम्दानी बढ्छ।’

त्यसैले पर्यटकको आवागमन बाक्लिँदा केही होटल र एजेन्सीहरुलाई मात्रै फाइदा हुने होइन, किसानदेखि ठूला व्यवसायीसम्मलाई हुने हो। 

त्यतिबेला माओवादी शसस्त्र द्वन्द्वमा थियो। पर्यटक घटेका थिए। चहलपहल थिएन। द्वन्द्वले धेरै  व्यवसायीहरु पलायन पनि भए। त्यतिबेलादेखि नै पर्यटन पत्रकारितामा रस बस्दै गयो। 

विस्तारै पत्रपत्रिकाले (शनिबारे अंक) विशेष बनाए। त्यसमा ४ पेज 'घुमफिर' विशेषांक पनि प्रकाशन गर्न थाले। घुमफिर विषय पनि पत्रकारिताको बिट बन्न सक्छ भन्ने २०६३ सालपछि खुलेका पत्रिकाहरुले प्रमाणित गरेका हुन्। पछिल्लो समय पत्रपत्रिका र अनलाइनहरूले पनि यात्रा सम्बन्धी सेगमेन्ट राख्दै आएका छन्। 

हाम्रो पर्यटन पत्रकारिताबाट सन्तुष्ट भइहाल्ने अवस्था छैन। विशेषतः नेपाली मिडियामा हवाई उड्डयन, पर्यटन सम्बन्धी संघ/संस्थाका गतिविधि र गन्तव्यहरूमा पर्यटकको घुइँचो लागेका खबरहरू मात्र छाउँछन्। सतही समाचार बढी लेखिन्छ। डेफ्थ रिपोर्टिङ कमै मात्र आउँछ।

हामीले पर्यटन क्षेत्रमा भएका बेथितिका विषय र नीति निर्माण नहुँदा पर्यटन व्यवसायीले भोग्नु परेका समस्याका बारेमा कमै लेखेका छौं। उदाहरणका लागि, नयाँ-नयाँ साहसिक पर्यटन, खेल पर्यटन सम्बन्धी नीति-नियम बनेका छैनन्। त्यसका लागि सरकारलाई झक्झक्याइरहनु आवश्यक छ।

रिपोर्टरले विभिन्न ठाउँमा घुमफिर गरेर लेख्ने वातावरण छैन। किनकी, यात्राका लागि मिडिया हाउसहरू लगानी नै गर्दैनन्। पर्यटन पनि पत्रकारिताको एउटा महत्वपूर्ण बिट हो भन्ने स्थापित भइसकेको छैन। आर्थिक ब्युरोमा पर्यटन हेर्न भनेर जिम्मेवारी पाएको रिपोर्टरले पर्यटनसँगै अरु क्षेत्र पनि हेर्नुपर्ने बाध्यता छ। त्यसले गर्दा पूर्ण रुपमा पर्यटनमा समय लगानी गर्न सक्दैनन्। 

आजको डिजिटल युगमा केही युवाले भ्लगमार्फत गन्तव्यहरूको प्रवर्द्धनमा भने उदाहरणीय काम गरेका छन्। समग्रमा, हामी पर्यटन क्षेत्रको गहिराइमा पुग्न सकेका छैनौं। 

आन्तरिक पर्यटकबारे रिपोर्टिङ भएन
नेपालको पर्यटनमा आन्तरिक पर्यटकको ठूलो योगदान छ। तर आजसम्म हामीले उनीहरुको योगदानको मूल्यांकन गरेका छैनौं। अझ रिपोर्टिङमा विदेशी पर्यटकको आवात-जावातलाई मात्र उल्लेख गर्छौं। 

सरकारले नै २५ घण्टा बढी कुनै स्थानमा जाँदा पर्यटक मान्छ। न त सरकारले आन्तरिक पर्यटनको प्रष्ट तथ्यांक राखेको छ न त हामीले नै रिपोर्टिङ गरेका छौँ। 

मुक्तिनाथमा कति नेपाली जान्छन्? पाथीभरा कति नेपाली जान्छन्? मनकामना कति नेपाली जान्छन्? यी पनि त पर्यटक नै हुन् नि। यसबारे लेखेको खै? 

पर्यटनका विज्ञहरू, नीति-निर्माताहरू पर्यटक भनेका विदेशी मात्र हुन् भन्ने मानसिकतामा छन्। तर विदेशीभन्दा धेरै ठूलो संख्यामा नेपालीहरू नेपाल घुम्छन्। 

यकिन तथ्याङ्क त छैन। तर विभिन्न पर्यटन गन्तव्यका सरोकारवालाको भनाइलाई आधार मान्ने हो भने वर्षमा करिब ४० लाख नेपाली नेपालभित्र घुमफिर गर्छन्। जब कि कोभिड-१९ अगाडिको तथ्यांक हेर्ने हो भने नेपालमा वार्षिक १२ लाखको हाराहारीमा मात्र विदेशी पर्यटक आएका थिए। 

यसो हेरौं त, मनकामना, बन्दीपुर, कालिन्चोक, स्वर्गद्वारी, जनकपुर, लुम्बिनी, इलाम, भेडेटार, हलेसीधाम, मुक्तिनाथ, रारा ताल, खप्तड लगायत क्षेत्रमा अधिकांश पर्यटक नेपाली नै हुन्छन्। त्यस्तै, त्रिशुली र भोटेकोशीमा राफ्टिङ गर्नेहरू पनि ७० प्रतिशतभन्दा बढी नेपाली नै हुन्छन्। 

पोखरा र चितवनका व्यवसायी आफ्ना ४० प्रतिशत ग्राहक नेपाली नै भएको बताउने गर्छन्।

घलेगाउँ, सिरुबारी, भादा गाउँ, डल्ला, अमलटारी ल गायत मुलुकभित्रका सयौं होमस्टेका ९९ प्रतिशत ग्राहक पनि नेपाली नै हुन्। काठमाडौंको पशुपतिनाथ, बौद्धनाथ आदि घुम्ने नेपालीको संख्या पनि अनुमान गरौं न। 

बञ्जी जम्प, जिपलाइन, क्यानोनिङ गर्नेहरूमा पनि नेपाली नै बढी हुन्छन्। 

यसरी हरेक क्षेत्रमा हेरौं, ठूलो संख्यामा मुलुकभित्र नेपालीहरू घुमिरहेका छन्। त्यसको लेखाजोखा हुने गरी हामीले रिपोर्टिङ गरेका छैनौँ। नेपाली पनि पर्यटक हुन् भनेर राज्यले बुझेकै छैन। आन्तरिक पर्यटकका लागि सरकारले ठोस योजना ल्याएको छैन।  

वास्तवमा दिगो पर्यटनको आधारस्तम्भ भनेकै आन्तरिक पर्यटक हुन्। मिडिया हाउसले यसलाई बुझेर पर्यटन बिट बनाएर रिपोर्टिङ गर्नुपर्ने देखेको छु। 

आलोचनात्मक रिपोर्टिङ भएन
ठाउँबारे जानकारी दिने उद्देश्यले रिपोर्टिङ भयो तर पर्यटकहरु ठगीमा परेको विषयमा रिपोर्टिङ हुन सकेन। केही समयअघि फेक रेस्क्युको समाचार बाहिरियो। त्यो पनि विदेशी मिडियामार्फत हामीले थाहा पायौं। यो भनेको नेपाली रिपोर्टरलाई यसबारे जानकारी नभएको हो।

एक त थोरै रिपोर्टर त्यसमा पनि स्थान पहिचान र होटल व्यवसायबारे मात्रै लेख्ने भए। त्यसकारण आफ्नै देशमा भएका यस्ता घटनाको समाचार आउन सकेन। 

अर्को, हामीले सरकारले आयोजना गर्ने भनेका भ्रमण वर्षहरुको पनि आलोचनात्मक भएर लेख्न सकेका छैनौँ। 

हामीले विदेशी पर्यटक भित्र्याउन भनेर तीन पटक भ्रमण वर्ष आयोजना गर्यौं। ५ लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यले नेपाल भ्रमण वर्ष-१९९८, १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल पर्यटन वर्ष-२०११ र २० लाख पर्यटक भित्र्याउने भन्दै नेपाल पर्यटन वर्ष-२०२० का रुपमा मनाइयो। यद्यपि कोभिड-१९ का कारण २०२० को भ्रमण वर्ष बीचमै स्थगित हुन पुग्यो।

न त हामीले नेपाल भ्रमण वर्ष-१९९८ मा लक्ष्य हासिल गर्न सक्यौं न त सन् २०११ मा नै। यदि संसारमा कोरोना नआएको भए पनि हामीले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सक्ने अवस्था थिएन। योबारे जति मिडियामा आउनुपर्ने हो त्यति आएन।

नेपालमा धुमधामसँग भ्रमण वर्ष घोषणा गरिन्छ। तर जुन देशबाट पर्यटक ल्याउने हो ती देशमा पुग्ने गरी प्रचारात्मक कार्यक्रम गरिँदैन। विदेशका चर्चित मिडियामा एग्रेसिभ रुपमा विज्ञापन गरिँदैन भने कसरी भ्रमण वर्ष सफल हुन सक्छ?

अर्को कुरा, भ्रमण वर्षमै एउटा पर्यटकले नेपाल किन घुम्ने? त्यो वर्ष घुम्दा उसले थप सुविधा वा आकर्षण के-के पाउँछ? यसको जवाफ सरकारले दिन सक्नु पर्छ। साथै भ्रमण वर्षका लागि राम्रो तयारी पनि हुने गरेको छैन। 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भनेर नेपाल पर्यटन बोर्डले वि.सं. २०७३ लाई घुमफिर वर्षका रुपमा मनायो। यो अभियान घोषणामा मात्र सीमित भयो। बोर्डले पर्यटन प्रवर्द्धन गर्ने कुनै प्रभावकारी कार्यक्रम ल्याएन। त्यसका लागि आवश्यक बजेट पनि छुट्टयाइएन।

त्यसकारण, रिपोर्टिङ गर्दा एकोहोरो भ्रमण वर्ष लेखेर मात्रै मात्रै हुँदैन। पहिलाका भ्रमण वर्ष किन असफल भए, अब के हुन्छ भन्ने समाचार लेख्नुपर्ने देखिन्छ। 

मिडियाले लगानी बढाउनै पर्छ
हामी रिपोर्टरको अर्को कमजोरी पनि देखिएको छ। हिमाल-पहाडको जति डेस्टिनी लेखेका छौँ, तराईबारे लेखेनौँ। नेपाल भनेको हिमाल र पहाड मात्रै हो भन्ने तरिकाले बुझ्यौँ। तराईको संस्कृति, तराईका डेस्टिनीलाई कम महत्व दिएको देखिन्छ। अब पर्यटन पत्रकारिता गर्नेले यसमा ध्यान दिनै पर्छ। 

समग्र रिपोर्टिङमा नै मिडिया हाउसको लगानी कम देखिन्छ। नियमित तलब नदिने मिडियाले समाचारमा लगानी गर्छन् भनेर आश गर्ने कुरै भएन। पर्यटन पत्रकारिताको लागि लगानी गर्न आवश्यक छ। सम्पादकले बल्ल यो क्षेत्र बुझ्दै छन्। केही रिपोर्टरमा पनि चासो देखिन्छ। तर स्रोतको अभावले रिपोर्टिङ भने भएको देखिँदैन।

नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन हो भनिसकेपछि मिडिया हाउसले पर्यटनलाई प्राथमिकतामा राखेर रिपोर्टिङ गर्नुपर्ने देखिन्छ। यसले पत्रकारिताको दायरा फराकिलो बनाउने मात्र होइन, नेपालको प्रचार-प्रसार हुनेदेखि हाम्रो पर्यटनका क्षेत्रमा देखिएका धेरै भ्रम पनि हटेर जान्छन्।

(श्री देउराली दैनिक, कान्तिपुर दैनिक, नागरिक दैनिकमा काम गरेका भादगाउँले छिट्टै नै घुमफिर डटकम सञ्चालनमा ल्याउने तयारीमा छन्। भादगाउँलेसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

३ साउन, २०७९, १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।