चौथो अंग : भारतको मूलधार मिडियाले मुसलमानलाई जसरी हेर्छन्, नेपालका मूलधार मिडियाले मधेसीलाई त्यसरी नै हेर्छन्

चौथो अंग : भारतको मूलधार मिडियाले मुसलमानलाई जसरी हेर्छन्, नेपालका मूलधार मिडियाले मधेसीलाई त्यसरी नै हेर्छन्
तस्बिर : कृष्पा श्रेष्ठ

२०७२ मा संविधान जारी हुँदा समग्र मधेसले विरोध गर्यो। संविधान जल्यो। नयाँ संविधानमा मधेसका केही माग थिए र छन्। त्यो माग पूरा हुनुपर्छ भनेर आन्दोलन हुँदा समग्र मिडियाले मधेसलाई भारतको सहयोगमा भएको देख्यो। एक तिहाई जनसंख्याले हाम्रो असन्तुष्टि संविधानमा छ भन्दा मिडियाले कति प्राथामिकता दिए? त्यतिबेलाका पत्रिका र अनलाइन हेर्ने हो भने प्रष्टै हुन्छ।

पहाडिया नश्लवाद छपक्कै छोपेको मिडियाले नेपालमा भएको हरेक आन्दोलनमा भारतको भूमिका थियो भन्ने कुरा त्यतिबेला सर्लक्कै बिर्सियो। हामीहरू र उनीहरू भन्ने भाष्य सिर्जना गरे मिडियाले। एक प्रकारले भन्दा संविधानमा असन्तुष्टि पोखिएर मधेसमा आन्दोलन हुँदा राज्य र मिडियाले युद्ध नै छेडे। युद्धमा त पक्ष र विपक्ष हुन्छ। त्यतिबेलाको विपक्षी मधेसी भए। पक्ष सत्ता र मिडिया भए।

युद्ध भएपछि हार र जित हुन्छ। राज्य र मिडिया मिलेर मधेसलाई हराइयो। यही उदाहरणबाट प्रष्ट हुन्छ नेपाली मिडियाले मधेस र एक तिहाइ जनसंख्यालाई कसरी हेर्छ भन्ने। मैले यो आरोप लगाएको होइन, ऐना देखाएको मात्रै हो।

माओवादी सक्न मधेस आन्दोलनको समर्थन
सन् १९७५ देखि नै हो मैले पत्रिकामा लेख्न थालेको हो। कलेज म्यागेजिनको सम्पादक थिएँ म भारतमा पढ्दा। साथीहरूलाई लेख दिन आग्रह गर्दा केही दिन्थे केही दिँदैनथे। खाली पाना भर्ने जिम्मेवारी आफ्नै हुन्थ्यो। पछि जेसीज न्यूज लेटरमा सन् १९८२ मा लेखेँ।

सन् १९८६ देखि नियमित लेखक भइयो। अंग्रेजीमा लेख्ने हुँदा पत्रकार किशोर नेपाल भन्थे ‘आफैँ लेख्छस्, आफैँ पढ्छस्, उस्तै परे फोन गरेर मैले लेखेको छु भन्छस्। नेपालीमा लेख।’

यो त भएन भनेर त्यसपछि नेपालीमा पनि लेख्न थालेँ। भारतबाट निस्कने पत्रिकामा पनि मैले लेख्थेँ। मेरा लेखहरू प्राय मधेसका मुद्धाहरू उठाइएका हुने। एक जनाले मुखै फोरेर भन्नुभयो- 'कति मधेसका मात्रै लेख्नुहुन्छ अरु पनि लेख्नु न।' मधेसको विषयमा जानेपछि के बारे लेख्ने? मेरो जवाफ यस्तै हुन्थ्यो।

नेपाली पत्रकारितालाई हेर्दा विभिन्न समयको कसीमा राखेर हेर्नुपर्छ। मेरो अहिलेसम्मको अनुभवमा कांग्रेस र एमाले पत्रकार हावी छन् नेपाली मिडियामा। समयको कसीमा राखेर हेर्दा, सन् १९९० देखि सन् १९९६ सम्म एउटा कालखण्ड, सन् १९९६ देखि सन् २००१ सम्म, सन् २००१ देखि हाल सम्मलाई हेरौँ।

जुनसुकै कालखण्डका पत्रकार भए पनि मेरो दृष्टिकोणमा, एमाले निकट पत्रकार संख्यात्मक धेरै अनि कांग्रेस निकट पत्रकार गुणात्मक रूपमा राम्रा थिए। पहिले पनि अनि अहिले पनि।

सन् १९९० पछि सरकारी र मिसन पत्रकार थिए। त्यसपछि भने कांग्रेस निकट, एमाले निकट र स्वतन्त्र रूपमा पत्रकारिता गर्छु भन्ने आए। सन् १९९६ मा माओवादी विद्रोह सुरु भयो। राजनीतिक दललाई नरुचाउने, नेपाली कांग्रेससँग रिस भएका र एमालेमा स्थान नपाएका र ठूला व्यापारी निकट पत्रकार निस्किए।

केही भने नयाँ विचारलाई स्थान दिनुपर्छ भन्ने पनि थिए। तिनले माओवादीलाई समर्थन गरे। मुलुकमा केही समय ४ थरी पत्रकार रहे। रातारात केही पत्रकार माओवादी पक्षधर भए। माओवादीले उनीहरूलाई गाइडेड टुर गरायो। केही पत्रकारले भन्छन्- 'हामी युद्धग्रस्त क्षेत्रमा हामी गएर रिर्पोटिङ गर्यौ।' तर ती माओवादीको आतिथ्यमा गएका थिए। राजा ज्ञानेन्द्रको उदय भएपछि भने सुरक्षा फौजको आथित्य स्वीकार्ने पत्रकार भए।

६३ सालको जनआन्दोलनमा दुई धार भए पत्रकार। ६४ सालको मधेस आन्दोलनमा कांग्रेस समर्थित पत्रकार बाहेक सबैले उपेन्द्र यादवलाई ग्लामराइज गरे। एमाले पत्रकारले उपेन्द्र यादवलाई हिरो बनाए। यसको एउटै कारण थियो माओवादी मन नपर्नु। उनीहरूले उपेन्द्र यादवलाई समर्थन गरे। कांग्रेस निकट पत्रकारले यादवलाई समर्थन नगर्नुको कारण उनीहरूमा कांग्रेसको किल्ला भत्कने डर थियो।

माओवादी सक्न मधेस आन्दोलनमा समर्थन गरेका मिडियाले त्यसपछिको आन्दोलनमा के भाष्य सिर्जना गरे र आन्दोलनलाई कसरी भारतीय षड्यन्त्रको रूपमा बुझे भन्ने कुरा मैले भनि राख्नु नपर्ला ! 

सत्ताको चौथो खम्बा मिडिया
मैले नेपालको स्थायी सत्तालाई एउटा शब्दावलीको प्रयोग गर्ने गरेको छु 'हंस'। त्यो भनेको हिन्दु, आर्य, मेल नेपाली स्पीकर। यो समुदायले नेपाललाई जागिर ठानेका छन्। सम्पत्ति कमाउने मेलो बाहेक केही नै ठानेका छैनन् यिनले।

यो समुदायलाई पहिलो राष्ट्रपति मधेसी हुँदा पनि तनाव भयो। उपराष्ट्रपतिले हिन्दीमा सपथ लिँदा पनि तनाव भयो। न्यायाधीश पनि अन्य समुदायका, जनजाति प्रधानसेनापति भए। उनीहरूलाई सहिसक्नु भएन। 

जनजातिको आन्दोलनलाई जसोतसो व्यवस्थापन गर्यो हंसले। किनभने उनीहरू एक थिएनन्। तर, तेस्रो मधेस आन्दोलन हुँदा एक तिहाई जनसंख्या एक भइदिए। उनीहरूको माथिगंल मात्रै हल्लिएन सम्हालिनै सकेनन् र त मधेसीको राष्ट्रियतामा शंका गरे। देश टुक्राउने हुन् भन्ने भाष्य सिर्जना गरे।

यो हंसबाट नेपाली पत्रकारहरू दिक्षित भए। समस्या यही भएको हो। पत्रकार भएपछि घटनास्थल पुग्नुपर्छ। वर्षौंदेखि पछि पारिएका मधेसीको बारेमा फिल्ड रिर्पोटिङ गर्नुपर्छ र सरकारी आँखाले मधेसका मागलाई हेर्ने मिडियालाई सत्ताको स्थायी चौथो खम्बा भएको किन नभन्ने?

उनीहरूले दिएको कन्टेन्टको स्थान र विषयवस्तुलाई हेर्दा स्कोर नै दिन सक्छु। पूर्णाङ्क ५ राख्दा महिलाको ४.५ दलितको ४, एलजिबिटीक्यूको ३.५, जनजातिको २.५ र मधेसीको ०.५ नम्बर मात्रै दिन सकिन्छ। मधेसमा दाइजो प्रथाबारे लेख्न पर्यो भने मिडियाले लेख्छ फेरि। 

तर, अझै पनि दाइजोप्रथा बुहारी जलिनुपर्ने स्थिति राज्यले शिक्षा नदिएर हो भन्ने सर्लक्कै बिर्सन्छ मिडियाले। भिलेनीकरण गराउन सहयोग गर्ने तर किन यस्तो भयो भनेर उधिनेर नलेख्ने गरे मिडियाले। 

अधिकांश पत्रकारको स्रोत आफन्ती नै हुने हुन्। हंस सोचाइ भएका नेता, कर्मचारीदेखि विद्वानसँग पत्रकारको उठबस हुन्छ। अनि पत्रकार पनि नश्लीय हुने भइ नै हाले।

मधेसमा हिंसा छ। मधेसमा अन्यको तुलानामा महिला हिंसा ज्यादा छ नै। तर, किन भनेर कुन पत्रकारले खोजेको छ अहिलेसम्म? शिक्षामा मधेस किन पछि पर्यो? राम्रो अस्पताल मधेसमा किन छैन? दाईजोको निहुँमा किन जल्छन् महिलाहरू?

यसबारेमा सांगोपांगो खोज्ने काम भएको छ त मिडियामा? छैन। मधेसी नै उस्ता हुन्, उनीहरूको सोचाई नै गतिलो छैन भन्ने सत्ताको धारणा बनाएका छन् आवाजविहीनको आवाज दिने भन्ने मिडियाले पनि।

सबैभन्दा धेरै कर तिर्ने मधेस प्रदेश किन सबै विकासका सुचांकमा कमजोर छ?  संघीय सरकारले वित्तीय हस्तान्तरण गर्दा किन मधेसलाई विभेद गर्छ? भ्रष्टचार अन्त पनि हुन्छ, छानविन अन्तको पनि हुनुपर्छ। तर, मधेसीलाई मात्रै किन भ्रष्ट हुन्छन् भन्ने न्यारेटिभ स्थापना गर्न खोजिँदैछ? 

अझै पनि कतिपय पत्रकारलाई मधेसमा पछिमात्रै बस्ती बसेको हो त्यसकारण यिनीहरू भारतीय हुन् भन्ने परेको छ। सुगौली सन्धीताका गोर्खालीको अत्याचारबारे भारतीय गजेटहरूमा पढ्न पाइन्छ। तर, नेपाली इतिहासमा पढ्न पाइन्न।

योबारे मधेस बुझ्न खोज्नेले पढ्नु पर्दैन? राजा पृथ्वीनारायणको राज्य विस्तारताका मधेसमा भएको अत्याचारको खै इतिहास? अनि सत्ताले लेखाएको बनिबनाउ इतिहासलाई सत्ताले प्रश्न गर्छ भनेको मिडियाले पत्याइदिने?

मिडियालाई दोष लगाएको हैन, मिडियाकर्मीलाई त्यसरी नै हुर्काइयो। शिक्षा नै त्यही अनुसार ग्रहण भएको हो। पत्रकारले ज्ञानको दायरा फराकिलो बनाउन सक्छन्। तर, दायरा फराकिलो बनाउनेहरू एकदमै कम पत्रकार छन्।

आफूलाई मार्क्सवादी भन्ने एकथरीले पनि मधेसलाई जहिले शंकाको दृष्टिले हेरे। राजा महेन्द्रले मधेसमा पहाडिया लगेर नराखेको भए मधेसै रहँदैनथ्यो भन्ने जमात ठूलो छ। मार्क्सवादलाई पाँचौं वेद र १७औं उपनिषद् सम्झनेहरू त्यो संस्कारबाट उम्किन खोजेको देखिँदैन अझै। मधेसलाई हेर्ने दृष्टिकोण सधैँ उपेक्षा गरेको देखियो।

भारतका मुसलमान, नेपालका मधेसी
भारतको तुलनामा नेपाली मिडियाले धेरै राम्रो काम गरेका छन् भन्न हिच्किच्याउन पर्दैन। स्रोत र साधनले भ्याएसम्म गरेका पनि छन्। तर, यही मिडियाले मधेसको कुरा लेख्ने बेलामा भने सकारात्मक दृष्टिकोण पाउँदिन। 

जसरी भारतको मूलधारको मिडियाले मुसलमानलाई हेर्छन्, त्यसरी नै नेपालका मूलधारका मिडियाले मधेसीलाई हेर्छन्। पृष्भूमि नदिइकन रिर्पोटिङ हुँदैन। तर, मिडियाले मधेसमा यस्तो हुन्छ भनेर हौवा फैलाउँछ मात्र। गहिराइमा गएर रिर्पोटिङ गर्ने गरेको देखिँदैन। 

एउटा उदाहरण दिन्छु- तराई मधेसमा झोले विद्यालयको विगविगी थियो। न्यारेटिभ यस्तो स्थपना गरियो कि मधेसमा मात्रै झोले विद्यालय छन्। मधेसीहरू ठग्छन् भन्ने सोचाइ व्याप्त देखिन्थ्यो तर त्यो झोले विद्यालय कसले परिचालन गरेको छ भन्ने कुरा समाचारमा आउँदैनथ्यो। 

अधिकांश झोले विद्यालयका ठेकेदार एमाले निकट शिक्षक थिए। उनीहरू पार्टीको काम गर्थे, विद्यालयको पैसा खान्थे। यो बारे गहिराइमा पुगेर किन रिर्पोटिङ भएन?

मधेसमा लठैत् पत्रकारको विगविगी
काठमाडौंमा बसे पनि सन् २००१ देखि २००६ सम्म धेरै समय मैले मधेसमा बिताएँ। एकजना व्यापारीले भनेको सम्झन्छु, ‘बाजेको पालामा डाँका लाग्छन् भनेर लाठा बोकेका लठैत् राख्नुपर्दथ्यो कार्यालयबाहिर, मेरो पालामा प्रहरीलाई महिना बुझाएपछि भनेको बेला आउँथ्यो। अहिले त नियमित पत्रकार राख्नुपर्छ। नत्र नेताले दु:ख दिन्छन्। एउटा एफएम अनलाइन अथवा केही दर्ता गर्योआ। गाडिमा प्रेस टाँस्यो। नत्र त कहाँ काम गर्न सक्नु?’

साँच्चै मधेसमा धेरै उद्योग छन्। अनि उद्योगीपिच्छे पत्रकार। अब यसरी उद्ध्योगीपिच्छे पत्रकार राख्न पर्ने भएपछि त्यहाँको समाचार कसरी आउँछ, अनि आएका समाचार कस्ता हुन्छन्?

मधेसका मुद्दालाई मिडियाले उठाउँदै नउठाएको होइनन्। उखु किसान र मिटर ब्याजीके विषय उठिरहेको छ। उखु किसानको मुद्दा उठ्नुमा चिनी मिलबीचको झगडा हो। मिटर ब्याजीको केसमा भने मिडियाले राम्रोसँग उठाएको त देखिन्छ। तर, राज्य उपस्थित नभएर मिटर ब्याजीको बिगबिगी भएको हो, हालीमुहाली भएको हो भन्ने कुरालाई अझै उठाएका छैनन्।

एउटा उदाहरण दिन्छु- स्वास्थ्य अवस्था नि:शुल्क त के कुरा सहज पहुँच छैन। विरामी भएको बेला मागेर चलाउँछ एक परिवारले। पछि उसले ५० हजार लगेपछि दुई तीन लाख तिर्न बाध्य पारिन्छ। मिटर ब्याजमा पैसा लगाउने गल्ती त हो नै सँगै स्वास्थ्यको सहज पहुँच नबनाइदिने राज्यको दोष हो कि होइन? गहिराइमा पुगेर खै रिर्पोटिङ भएको?

एकथरीलाई एनजीओ आइएनजीओले प्रगतिशील विचार राख्छ भनेको पनि देखिन्छ। तिनीहरू एनजीओ होइनन् वेस्टर्न गभरमेन्ट अर्गानाइजेसन हुन्। उनीहरूले यहाँ सबै समुदाय समान भएर बसेको हेर्न चाहँदैनन्। विस्फोट नहोस् भनेर लगानी गरेका देखिन्छन्।

त्यसकारण दलितले यहाँ आन्दोलन गर्न सक्दैन। वेस्टर्न कन्ट्रीमा गएर पिएचडी गर्न सक्छ। जनजातिमा झन् धेरै घुसपैठ भएको देखिन्छ। त्यसकारण यस्ता आन्दोलनलाई एनजीओले उचालेका होइनन् बरु अरु दबाउने काम गरेका हुन्। तर, मिडियाले बुझ्दैन।  बुझ्न जरुरी छ।

मलाई लाग्छ नेपाली मिडियाको सोच बदल्न कामै सुरु भएको छैन। अढाइ सय वर्षको मनस्थितिको रिफ्लेक्सन छ मिडियामा। ३० वर्ष त भयो स्वतन्त्र विचार गर्न थालेको। यति हुँदा पनि हामी मिडिया भारतीय भन्दा अघि चाहिँ छौँ।

अर्थ राजनीतिमा पत्रकारले शैद्धान्तिक ज्ञान राख्न पर्योन। दु:ख पाएकालाई सान्त्वना दिने र दु:ख दिनेलाई दु:ख दिनुपर्यो । कमजोरको आलोचना गरेर त के अर्थ रहन्छ र?

दोस्रो पत्रकारिता पेशा गर्नेले पैसा कमाइदैन भन्ने बुझे हुन्छ। पैसा कमाउने हो भने अन्य पेशा गरे हुन्छ। भर्याङ बनाउन भएन पत्रकारितालाई। मिडिया हाउसले पनि आफ्ना पत्रकारलाई नैतिक रूपमा बलियो बनाउन सेवा सुविधामा कुनै कसर बाँकी राख्न भएन। सत्ता र शक्तिसँग कलमले खेल्ने पत्रकारसँग चानचुने नैतिकता भएर पुग्दैन। नैतिकता बलियै हुनुपर्छ। 

आफ्ना रिर्पोटरलाई कति नैतिक रूपमा बलियो बनाइएका छन्, त्यो सम्पादक र प्रकाशकले विचार गर्ने पक्ष भयो।

स्तम्भ र ओपेडबीचको फरक थाहा छैन सम्पादकलाई
म 'स्टेट अफ द स्टेट" स्तम्भ लेख्छु। तर, अधिकांश पत्रिकाले दृष्टिकोण लेख्न सुझाए। तर, स्तम्भ रुचाएनन्। अपवादबाहेक स्तम्भ र ओपेडको फरक नै थाहा छैन सम्पादकलाई। दृष्टिकोणमा सम्पादन गर्न हुन्छ, तर स्तम्भमा हुँदैन। 

इकोनोमिष्ट पत्रिकाले ओपेडलाई पूरै पुर्नलेखन नै गर्छ। उनीहरूको घोषित नीति नै छ। यहाँ त उस्तै परे स्तम्भलाई चलाइदिने भए। मेरो सवालमा भने यो बेहोर्नु परेको छैन। 

यदि स्तम्भ सम्पादकले चलाउने हो भने स्तम्भकारले भन्दा दुई पुस्तक भए पनि बढि पढेको हुनपर्योस नि! यस्ता कति सम्पादक छन्, अब आफैं बुझौँ। 

अन्त्यमा नेपाली पत्रकारिता शिशु अवस्थामा नै छ। धेरै काम गर्न बाँकी छ। गहिरो अध्ययन नगरी पत्रकार भइएला। तर, पथप्रर्दशक भइदैन। सत्ताको भजन गाउनलाई पत्रकारिता गर्न पर्दैन, अन्यत्र काम गरे पनि हुन्छ। त्यसकारण पत्रकारिता गर्नेले गराउनेले यसतर्फ ध्यान दिन जरुरी छ अब। 

(पेशाले सडक विभागका सिभिल इन्जिनियर लाल १९७५ देखि विचार लेख्दै आएका छन्। मधेसको विषयमा जानकार उनीसँग चौथो अंगका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी)

 

चौथो अंगका पुराना श्रृंखला

२८ भदौ, २०७९, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।