चौथो अंग : राशिफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?

चौथो अंग : राशिफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?
तस्बिरः कृष्पा श्रेष्ठ

मिडिया प्रवेश गर्ने अनि बाहिरिने ढोका सधैँ खुला राख्नुपर्छ। यो सुविधा भएन भने मिडिया स्वतन्त्र रहन सक्दैन। भित्रिन सक्ने र बाहिरिने सुविधा भएमा मिडिया खुल्न कुनै बन्देज हुन्न। धेरै मिडिया हुँदा एउटा मिडियाले नउठाएको विषय अर्कोले उठाइदिन्छ। एउटाले नदेखेझैँ गरेको विषयलाई अर्को मिडियाले राम्रोसँग लेख्न सक्छ।

हाम्रोमा मिडिया क्षेत्रमा प्रवेश गर्न र बाहिरिन कानूनले छेकबार लगाएको छैन। तर स्थापित मिडियाले छाडेका कामलाई अगाडि ल्याउने गरी अलि ठूलै लगानीमा नयाँ मिडियाको प्रवेश हुन सकेको छैन। नयाँ मिडियाको प्रवेश भएको छ तर सानो लगानीका बोकेर। 

तै पनि साना लगानीमै आएका नयाँ मिडियाले पनि ठूला र स्थापित मिडियालाई केही इस्युमा आच्छु-आच्छु भने पारेका छन्। स्थापित मिडियाले नदेखेझैँ गरेको विषयलाई सानो मिडियाले उठाएर राष्ट्रिय स्तरमा स्थापित पनि गरेका छन्।

अर्को पक्ष पनि छ अहिले। सामाजिक मिडियाले मिडियालाई कठघरमा उभ्याइरहेका छन्। यो समाचार किन गरेनौँ भनेर खबरदारी गरिरहेका हुन्छन् पाठकले सामाजिक सञ्जाल मार्फत। यसमा यस्तो गल्ती भो भनिरहेका हुन्छन्। यो मिडियाका लागि राम्रो हो वातावरण हो!

पत्रकारको खुब आलोचना पनि हुन्छ। तर पत्रकारिता पेसामा लाग्ने जति अन्य कुन पेसामा लाग्नेहरू कठघरामा उभिनु परेको छ? यो प्रश्नमा घोत्लिन आवश्यक छ।

सरकारी जागिर खानेलाई यसरी कठघरामा उभिनु पर्छ? कुनै नेतालाई पर्छ? कुनै न्यायाधीशहरू जबाफदेही हुनुपरेको छ? महिलामाथि हिंसाको आरोप लागेका न्यायाधीशहरू न्याय परिषद्मा ल्याएर थर्काउँछन् अथवा सरुवा गर्छन् तर कारबाही हुन्छ?

नेपाली प्रेस जति नेपालका अन्य पेसामा आबद्धले कठघरामा उभिनुपरेको छैन। सत्य यही हो। 

हुँदा–हुँदा सरकारी कर्मचारीले पनि पत्रकारको इमानमा प्रश्न उठाउन थाले। सरकारी कर्मचारी देशभर नेतापछिको भ्रष्ट भएको रिपोर्टले नै भन्छ। पत्रकारले धेरै खानु पनि छैन, लाउनु पनि छैन।

मैले फेरि मिडिया हाउसलाई भनेको होइन पत्रकारलाई भनेको हो। किनकी अहिले पत्रकारलाई धेरै आक्रमण भइरहेको छ।

जति आक्रमण भए पनि पत्रकारले किन काम गरिरहेको छ त? किनभने पत्रकारले मैले जायज काम गर्दा प्रश्न उठ्छन् भन्ने बुझ्छ। मैले दिएको सूचनाले आम नागरिकहरू जागरुक भइरहेका छन् र त प्रश्न उठाउन सकेका छन्। प्रश्न उठाउने बहस गर्ने काम भएको त छ नि भनेर पत्रकार काम गरिरहन्छ।

यसरी भएको मन्थनलाई स्वागत गर्नुपर्छ। यसले त हामीलाई सुधार हुने मौका दिन्छ। खाडल जति खार्याे उति गहिरो हुन्छ। मिडिया हाउस बचाउन भए पनि अहिले देखिएको बहसले राम्रो नै गर्छ।

स्थापित मिडियाको खस्कदो विश्वसनियता
पञ्चायतकालदेखि हो मैले पत्रकारिता गरेको छ। झण्डै ४० वर्षको अनुभवले के भन्छ भने मिडियाको विश्वसनियताप्रति हिजो पनि प्रश्न उठ्थ्यो आज पनि उठेकै छ।

पञ्चायतकालमा पनि नेपाली मिडिया ठीक नै छैनन् भनि भारतिय मिडियाको ठूलो अडियन्स थिए नेपालमा। तर म चाहिँ के देख्छु भने मिडियाको विश्वसनियता हिजो र आज खासै उत्तरचढाव देख्दिन। स्थापित मिडिया र भर्खरै ग्रुम गर्दै गरेका मिडियाविच फरक चाहिँ प्रष्टै देखिन्छ।

स्थापित मिडियाले बजारमा प्रभाव पारि सफलताको एक चरण पार गरिसकेका हुन्छन्। नयाँ मिडियाले प्रभाव विस्तार पार्न तल्लिन देखिन्छन्। अडियन्सको मन, मस्तिष्क प्रभाव पारि विश्वास गर्न खोज्छन्।

नयाँ मिडियालाई सम्भव कसरी पनि हुन्छ भने उनीहरू लगानीकर्ताको विशुद्ध पैसाबाट चलेका हुन्छन्। त्यसैले त राम्रो रिपोर्ट खोज्ने, खोज पत्रकारिता गर्न फिल्डमा पठाउन नयाँ मिडिया अगाडि देखिन्छन्। वस्तुनिष्ठताको परिपालाना गरेकाले पनि आम पाठकलाई नयाँ मिडिया विश्वसनीय लाग्छ।

कालान्तरमा मिडिया स्थापित भएपछि त्यही मिडियाको २५ वर्ष अघिको र पछिको कन्टेन्ट तुलना गर्नुभयो भने भिन्नता पाइन्छ। कन्टेन्टको आधारमा विश्लेषण गर्दा देखिन्छ पनि। सुरुवाती चरणमा मिडियाले उम्दा पत्रकार, चर्चित स्तम्भकार लिने, त्यो पनि राम्रो सेवा सुविधा दिएर। आर्दशका कुरा धेरै छाप्ने हुन्छन्।

जसै ती मिडिया स्थापित हुन्छ उनीहरू बद्लिन थाल्छन्। व्यवसाय पनि उल्टिन थाल्छ। आम्दानीभन्दा खर्च कम हुन थालेपछि समाचारले सफर गर्न थाल्छन्। धेरै तलब खाने रिपोर्टर तथा स्तम्भकारहरु पाखा लगाइन थाल्छन्। तपाईंले धेरै लेख्नुभयो या पाठक कम भए भनेर पाखा लाउने गरेको देखिन्छ। किनभने मिडिया लगानीकर्तालाई थोरैले नै चल्ने रहेछ किन धेरै खर्च गर्ने भन्ने लाग्न थाल्छ।

यहि बेला नयाँ मिडिया अलि ठूलो लगानीको भित्रिएर यसरी चलाउने हो मिडिया भनेर समाचार दिनुपर्ने त्यो चाहिँ देखिएन हाम्रोमा। साना मिडियाले कति नै दिन सक्छन् र? टक्कर दिन सकस नै देखिन्छ।

अहिले मिडियाको विश्वसनियताको जति प्रश्न उठेको छ। त्यो पत्रकारीता जगतबाटै उठेको हो। किनभने कुनै स्थापित मिडियाले कुन इस्युलाई कति उठायो कसरी लेख्यो भन्नेमा खासै थाहा हुँदैन। अर्थात धेरैलाई थाहा हुँदैन। अनि त्यहि पत्रकारिता जगतबाट यस्तो–यस्तो भएको हो भन्दै हिँड्छन्।

पत्रकारले नै किन आफ्नो पेशाको विश्वसनियता माथिको प्रश्न उठाउँछन् त? पहिलो कारण पत्रकारले त्यो स्थापित मिडियामा जान नपाएको रिस या त त्यहाँ काम गर्दा मन नपरेका पनि हुनसक्छ भने अर्काे, केही मिडियाले स्थापित भइसकेपछि पहिलेकै रफ्तारमा काम गरेको देखिँदैन।

तेस्रो मिडियाले सबै समाचारलाई स्थान दिन पनि सक्दैन। जस्ले धेरै ठाउँ पाउँदैन उसले पनि औँला उठाउँछ। जसले बदमासी गरेर धेरै स्पेश पाएको छ उसले पनि अर्काेलाई किन लेख्दैनस् भनेर औँला उठाउँछन्।

मिडियावालालाई के थाहा छ भने, समाजका सबै अवयवहरू सबै कभर गरेर सम्भव हुँदैन। मिडियाको आफ्नो स्वभाव स्वार्थ नबाझिने गरी काम गर्ने हो। स्वार्थ बाझिने देखियो भने मिडिया अलग बसेको पनि देखिन्छ।

एउटा मिडियाको दादागिरि अर्काेले लेख्न सकेन
अहिले मिडियाको दादागिरि चलेको छ भन्ने चर्चा बढि चलेको देखिन्छ। केही घटनाले हो कि जस्तो पनि देखिन्छ। स्थापित मिडियाहरू सूचना दिन थाक्नु, वस्तुनिष्ठतामा आधारित रहेर काम गर्ने नयाँ खेलाडी नआउनाले खाडल कस्ले पुर्ने भन्ने देखिएको छ। अहिले हामी त्यही खाली ठाउँ कसरी पूरा गर्ने भनेर बहस गरिरहेका छौँ।

मिडिया अनुशासनमा बस्नुपर्छ। आचारसंहिता पालना गर्ने हो मिडियाले। यदि मिडियामा आबद्ध व्यक्तिले गैरकानूनी काम गरेको छ भने ऊ कानूनी कठघरामा उभिन जरुरी छ। यदि मिडिया व्यक्तिले ज्यान मार्ने अथवा कर छली नै गरेको छ भने अन्य मिडियाले त्यसलाई उधिनेर लेख्नुपर्याे।

न्यायाधीशले मिडियाको हो भनेर कुनै पनि अपराधको मुद्दा पर हुत्याउन भएन। यहि कारणले गर्दा न्यायाधीश र पत्रकारको साँठगाँठ छ की क्या हो भन्ने परिसक्यो। पत्रकारको कार्ड कर छली गर्न र अन्य अपराध गर्न छुट पाउने कार्ड होइन नि! यो त मात्र पत्रकारिता गर्नलाई हो।

यदि मिडियाको व्यक्तिले गलत गरेको छ भने आम मान्छेले उसकै मिडियाबाट त्यो समाचार पढ्न अपेक्षा राख्नु मुर्खता हो। त्यसकारण अर्काे मिडियाले लेख्न जरुरी छ।

कुनै पनि घटना घटाउने मिडिया अपराध अनुसारको जति दोषी हो, त्यति नै दोषी त्यो घटनाको लटरपटर पारेर समाचार लेख्ने मिडिया पनि हो।

सहि मिडिया भएको भए लटरपटर पारेर लेख्दैन। पत्रिकामा लेखिनु मात्रै ठूलो कुरा होइन, राज्यको कानून पनि आर्कषित भएर कारबाही हुनुपर्याे। प्रेस भएकै कारणले सफाइ पाउन हुँदैन।

जतिबेला प्रेस स्वतन्त्रता थिएन त्यतिबेला प्रेसप्रतिको ‘सिम्पेथी’ ठीकै थियो तर पत्रकारको अन्य अपराधको प्रहरीले अनुसन्धान गर्नै नहुने? गरिहाले पनि अदालतले अड्काइदिने? सरकारले फिर्ता लिइदिने? प्रेसमाथि आक्रमण भयो भन्दै विज्ञप्ति निकालेकै भरमा राज्यको संयन्त्र नै हल्लिने? पत्रकारको कार्ड भिर्नुको अर्थ जे पनि गर्न छुट पाउने होइन।

नेपाली मिडियाको विश्वसनियता घट्नुका दुई कारण छन्– एउटा आश अर्को त्रास। कुनै कर्पाेरेट हाउसले विज्ञापन दियो उसको बारेमा विज्ञापन पाएको मिडियाले नलेख्नुलाई आश भनौं।

अर्को भनेको मिडियालाई देखाएर हामीलाई दिइनस् भने लेखिदिन्छु भनेर र्तसाएको अवस्था पनि देखिएकै हो। यसको अर्थ सबै मिडिया यस्तै छन् भनेको होइन तर केही मिडिया यस्ता पनि भए। जसले गर्दा स्वार्थ नभएका मिडियाप्रति पनि प्रश्न उठ्यो।

राशीफल दिने मिडियाको के विश्वास गर्नु र?
पत्रकारितामा समस्या नभएको होइन तर यो संस्था सुधार गर्न एउटा संस्था खोल्न कसैको मनसाय देखिएन। भएका पनि बन्द भइसके। निरपेक्ष भएर नेपाली प्रेसको विश्वासनियता छैन भन्यो भने गलत हुन्छ। प्रेसको विश्वसनियता नभए कस्को छ त? न्यायाधीशको कि नेताको?

अख्तियारको स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा अन्य संवैधानिक निकायका आयुक्तहरू किन गएका? लोकसेवाको कार्यक्रममा जाँदैनन् त? महान्याधिवक्ताको कार्यक्रममा पनि जाँदैनन् त? त्यो अख्तियारभन्दा हामीले खोलेको खोज पत्रकारिता केन्द्रले नै राम्रो–राम्रो खोज अनुसन्धान गरिरहेको छैन त? पत्रकारिताको विश्वसनियता छैन त? अख्तियार लाग्नसक्छ भनेर साखुल्ले पल्टिन गएका होइनन् अन्य आयोगका मान्छेहरू? सही बाटोमा लैजान केही नगर्ने अनि लोलोपोतो घस्न जाने?

अहिले पनि राम्रोसँग सर्भे गर्ने हो भने मिडियाकै विश्वसनियता बढि देखिन्छ। सम्पादकीय र विचारमा भन्दा मिडियाले समाचारमा बढि स्पेश दिएको देखिन्छ। मिडियामा वस्तुनिष्ठता हुन्छ, पक्षधरता त हुन्छ नै। तथ्य तोडमोड गर्न भएन। मिडियामा निष्पक्षता हुँदैन।

मिडियामा विश्वसनियताका क्षयीकरण भएको त हो नै तर अर्काे लोकप्रियतावादको चक्करमा फस्ने सुरुवाती अवस्था देखिन्छ। लोकप्रियता बाबाजीको भाषणमै हुन्छ नि हैन? चम्तत्कारी जादुगिरि बाबाकै देखिन्छ नि हैन? मिडियाले लोकप्रिय हुने चक्करमा राशीफल प्रसारण गरेको देखिन्छ। राशीफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?

(शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालसँग ‘नेपाली मिडियाको विश्वसनियता’ शिर्षकमा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानी।)

चौथो अंगका पुराना श्रृंखला

२ फागुन, २०७९, १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।