चौथो अंग : भनेअनुसार फोटो खिच्ने त हुन् भनेर रिपोर्टरले फोटोपत्रकारलाई कम नआँके हुन्छ

चौथो अंग : भनेअनुसार फोटो खिच्ने त हुन् भनेर रिपोर्टरले फोटोपत्रकारलाई कम नआँके हुन्छ

मिडिया हाउसमा फोटोपत्रकार र रिपोर्टरको पोर्टफोलियोबारे अहिलेसम्म छलफल भएको छ की छैन? ५ वर्ष आफूसँग काम गरेको फोटोपत्रकारका उत्कृष्ट ५ वटा फोटो स्टोरी कुन हो? अथवा ५/६ वर्ष नै आफूसँग काम गरेको रिपोर्टरको हेर्न लायक स्टोरीबारे समाचार कक्षमा छलफल हुन्छ की हुँदैन?

छलफल हुँदा एक अर्काको कमीकमजोरी थाहा हुन्छ, सुधार्ने मौका पाइन्छ। ‘वाह ! क्या स्टोरी गरेँ’ भन्ने पनि लाग्नसक्छ, ‘हत्तेरीका गर्नै सकेको रहेनछु’ भनेर सुधार पनि गर्न सकिन्छ।

टेक्स्ट स्टोरीमा मात्रै होइन, फोटोस्टोरीमा मिडिया हाउसले कति लगानी गरेको छ? फोटो स्टोरीमा लगानी नै नगर्ने, उस्तै परे समयमा तलब पनि नदिने अनि फोटो स्टोरी आएन भनेर हुन्छ? फोटोपत्रकारलाई कुनै स्टोरी फलो गर्दै यात्रा गर्न कति मिडिया हाउसले लगानी गरेका छन्?

०००

विद्युत् प्राधिकरणमा केही समय ज्यालादारीमा काम गरेपछि ४६ सालदेखि हो मैले फोटोग्राफी गरेको। सल्यान जिल्ला बस्थेँ। फोटो धुलाउन दाङ पठाउनुपर्थ्यो। साथीहरूको फोटो खिचेर धुलाएर उनीहरूलाई नै दिन्थे।

पत्रिकासँग मेरो लगाव पहिलेदेखि नै थियो। ‘युग संवाद’मा मेरो विचार पनि छापिएको थियो। जहाँ गए पनि डायरी टिप्ने र फोटो खिच्ने बानी बस्यो मेरो। राजनीतिक आन्दोलनमा पनि आबद्ध भएको हुँदा मैले सामाजिक मुद्दाहरूमा आवाज उठाइरहन्थे।

मिडिया हाउसमा काम गरेपछि त्यो फोटो कस्को हुने? ग्याजेट कस्ले किन्ने? ग्याजेट अफिसको प्रयोग गरेपछि त्यो फोटो भिडियो पनि अफिसको हुने की फोटोपत्रकारको?

४८ सालमा काठमाडौं आएपछि भने फोटोपत्रकार भइयो औपचारिक रूपमै। त्यतिबेला नेपाल पत्रकार संघ थियो। तीन जना जति फोटोपत्रकारले सदस्यता लिँदा म पनि थिएँ। पहिले फोटोपत्रकारलाई फोटोग्राफर भनिन्थ्यो। पछि संशोधन गर्न लगाएपछि विधानमै फोटोपत्रकार लेखियो।

मैले कहिल्यै पनि मिडियामा आबद्ध भएर काम गरिनँ। तर, खिचेका फोटो त्यतिबेलाका साप्ताहिकहरू छलफल, दृष्टि, युग संवाद, मासिक मुल्यांकन, अंग्रेजी हिमाल, नेपाली हिमालदेखि दैनिक पत्रिकाहरू कान्तिपुर र काठमाडौँ पोष्टसम्ममा छापियो।

मिडिया हाउससँग नजोडिनुमा मेरा आफ्नै कारण थिए। मिडिया हाउसको लागि काम गरेपछि त्यो फोटोको निगेटिभ मिडिया हाउसको हुन्थ्यो, मेरो हुँदैनथ्यो। दोस्रो भनेको म राजनीतिक सामाजिक आन्दोलनमा हिडिरहने भएकाले पर्याप्त समय दिन पाउँदिन भनेर हो।

कति मिडिया हाउसमा यो हप्ता वा यो महिना यस्तो–यस्तो फोटो स्टोरी गर्ने भनेर छलफल भएको होला? मलाई त शंकै लाग्छ।

मिडिया हाउसमा काम गरेपछि त्यो फोटो कस्को हुने? ग्याजेट कस्ले किन्ने? ग्याजेट अफिसको प्रयोग गरेपछि त्यो फोटो भिडियो पनि अफिसको हुने की फोटोपत्रकारको?

नेपाली मिडिया हाउसले करार गर्दा यस्ता विषय कत्तिको समेट्लान्? मलाई त लाग्दैन। लगानीकर्ता, सम्पादक र श्रमजिवीहरू मिलेर नै मिडिया हाउस चलाउने हो। 

काम गर्दा मिल्ने अनि पारिश्रामिक दिने बेलामा ठुस्किने गर्नुहुँदैन। कति श्रमजिवीहरूले समयमै पारिश्रमिक पाएका छन्? आर्थिक अवस्था साह्रै नै कमजोर भयो श्रमजिवीको। यस विषयमा त सम्पादक र प्रकाशकहरू सचेत हुनुपर्यो नि!

अबको फोटो स्टोरीको मुद्दा के?
पहिले प्रिन्ट मिडियाले फोटो स्टोरीलाई निकै प्राथामिकता दिन्थे। दैनिक पत्रिकाले फोटो स्टोरीका लागि एउटा पृष्ठ नै छुट्याउँथे।

पत्रिकामा अहिले पनि राजनीति, समाज, उपत्यका, विदेश, खेलकुद लगायतक विभिन्न विधा छुट्याइएको छ। तर के फोटो स्टोरीका लागि पनि त्यसरी नै कुनै पृष्ठ छुट्याइएको छ त?

अनलाइनले पनि फोटो स्टोरीलाई लगानी गरेको देखिँदैन। स्पेशका हिसाबले अनलाइनमा जति पनि राख्न पाइयो। तर, मिडिया हाउसले फोटो स्टोरीलाई खै लगानी गरेको?

अहिलेका नयाँ–नयाँ फोटो पत्रकारहरूसँग अत्याधुनिक प्रविधि भएको क्यामेरा देखिन्छ। के क्यामेराको गुणस्तर अनुसार फोटो आएका छन् त?

यदि फोटोपत्रकारमा स्कील हुने हो भने औपचारिक कार्यक्रममै फोटो स्टोरी खोज्न सकिन्छ। त्यस्ता फोटो स्टोरी कम देखिन्छ।

मैले अघिदेखि फोटो स्टोरीमा लगानी भनेको छु, लगानी भनेको फोटो खिच्न ग्याजेट किनिदिने मात्रै होइन, आवश्यक तालिम दिने र विषयवस्तुबारे ज्ञान दिन बेला–बेला छलफल गर्नु पनि हो।

फोटोपत्रकारको काम रिपोर्टरले भनेको फोटो खिच्ने मात्र होइन। फोटो खिच्न त सबैलाई आउँछ। सबैको हातमा राम्रा–राम्रा फोन छन्।

कति मिडिया हाउसमा यो हप्ता वा यो महिना यस्तो–यस्तो फोटो स्टोरी गर्ने भनेर छलफल भएको होला? मलाई त शंकै लाग्छ।

३० वर्ष पुगिसक्यो मैले फोटोपत्रकारिता गरेको। त्यतिबेला मलाई कस्तो फोटो खिचेर समाज रूपान्तरणमा योगदान दिन सकिन्छ भन्ने लागिरहन्थ्यो। समाजमा रहेका जातीय, लैंगिक र वर्गाीय विभेदलाई कसरी एकैपटक उतार्न सकिन्छ भनेर अक्सर सोचिरहन्थे।

हाम्रो पुस्ताले माओवादी सशस्त्र द्वन्द्व, राजाको सैनिक कूदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको नेपाल देख्यौँ। अधिकांश फोटो स्टोरी यिनै राजनीतिक घटना र सामाजिक विभेद वरपर घुमे। अबको फोटो स्टोरी के हो त?

अहिले पनि समाजमा हिंसा छ, राजनीति स्वच्छ छैन, युवाहरू पलायन भएका छन्, विभेद कायमै छ।

यौनिक तथा लैंगिक समुदायमाथि भएको हिंसा, दलित, जनजाती, मधेसी, अपाङ्गता भएका, मुसलमान दलितको तर्फबाट हेर्दा यो समाज र राज्य कस्तो देखिन्छ?

अबको नेपाली पत्रकारिता यतातर्फ ढल्कनुपर्ने होइन र? फोटो पनि यहिअनुसार आउनुपर्ने होइन र? अहिलेका फोटोपत्रकारले यी र यस्ता सामाजिक मुद्दालाई गहिरो गरी बुझ्न जरुरी छ।

मसिक तलबै खाने गरी काम गरेकालाई त समयमै तलब नदिने मिडिया हाउसले स्वतन्त्र पत्रकारलाई देला कि नदेला। अझ भनौँ स्वतन्त्र पत्रकारको सामग्री छाप्छ की छाप्दैन भन्नेकुरा पनि हुन्छ।

फोटोपत्रकारको काम रिपोर्टरले भनेको फोटो खिच्ने मात्र होइन। आफैँ अध्ययन गर्नुपर्याे, विषयवस्तु बुझ्नुपर्याे। फोटो खिच्न त सबैलाई आउँछ। सबैको हातमा राम्रा–राम्रा फोन छन्।

जसरी रिपोर्टरले लेखेका सबै समाचार उत्कृष्ट हुँदैनन्, फोटोपत्रकारले खिचेका फोटा पनि नहुन सक्छन्। नमिलेका फोटाहरू पाठ सिक्न पनि काम लाग्छ। फोटो पत्रकार फिल्डमा जानैपर्छ, रिपोर्टरले भन्दा धेरै मिहिनेत गर्नुपर्छ।

फोटोग्राफी गर्नेहरू बेवकुफ होइनन् नि ! रिपोर्टरले आफूले भनेर खिचेको त हो फोटो भन्छन्। त्यसो त रिपोर्टरले पनि सम्पादकले जे रिपोर्टिङ गर भनेका हुन् त्यही गरेका हुन्छन् भनेर ओठे जवाफ त फर्काउन सकिएला।

तर, खास भन्ने हो भने जसरी फिल्डमा उत्रेपछि रिपोर्टरले आफ्नो स्कीलले काम गर्छ, फोटोपत्रकारले पनि गर्ने त्यही नै हो।

अब स्वतन्त्र पत्रकारिता गाह्रो छ?
जसोतसो मैले त स्वतन्त्र फोटोपत्रकारिता गरेँ नै।

एउटा पत्रिकाको सम्पादक प्रदिप नेपाल हुनुहुन्थ्यो। मैले फोटो दिएँ उहाँलाई। प्रति फोटो ३० रूपैयाँ भन्दा उहाँले महंगो भयो नि भन्नुभएको थियो। पछि पनि कति धेरै फोटोहरू धेरै मिडियामा गए, कतिको त अझै पैसा आउन बाँकी नै छ।

जागिरे मानसिकता रहेसम्म स्टोरी अनुसार र मिहिनेत अुनसारको पारिश्रामिक पाउन गाह्रै हुन्छ।

फ्रिलेन्सर भएर काम गर्न गाह्रो छ। मसिक तलबै खाने गरी काम गरेकालाई त समयमै तलब नदिने मिडिया हाउसले स्वतन्त्र पत्रकारलाई देला कि नदेला। अझ भनौँ स्वतन्त्र पत्रकारको सामग्री छाप्छ की छाप्दैन भन्नेकुरा पनि हुन्छ।

यदि पत्रकारहरू स्वतन्त्र भएर काम गर्ने र स्टोरी अनुसारको पेमेन्ट लिने हो भने मिडिया हाउसहरू स्टोरी किन्न बाध्य हुन्थे। जागिरे मानसिकता रहेसम्म स्टोरी अनुसार र मिहिनेत अुनसारको पारिश्रामिक पाउन गाह्रै हुन्छ।

फोटो पत्रकारिता मात्रै गरेर पनि टिक्न गाह्रो छ। त्यसमाथि युट्युबे हो भनेर क्यामेरा बोक्नेलाई हैरान छ। मिडिया के हो, के होइन भन्ने विषयमा पनि साक्षरता दिनुपर्ने देखिन्छ।

(३० वर्षदेखि स्वतन्त्र फोटो पत्रकारिता गरिरहेकी उषा तितिक्षसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला

चैत २१, २०७९ मंगलबार १९:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।