चौथो अंग : फेसबुक पेजलाई पत्याउने तर मिडियाको कन्टेन्टलाई नपत्याउने स्थिति कसरी आयो ?

चौथो अंग : फेसबुक पेजलाई पत्याउने तर मिडियाको कन्टेन्टलाई नपत्याउने स्थिति कसरी आयो ?

नेपालमा मिडियाले युवालाई मिडियाप्रति विश्वास र आकर्षण गराउन सकेको देखिँदैन।

केही ठूला मिडियाले अनलाइनमा ‘सब्सक्राइब मोडल’मा जाने भनेर निर्णय गरे पनि गइहाल्न सकेनन्। मिडियाको कन्टेन्टप्रतिको अविश्वास र इन्टर्नसमेत गर्न नचाहने अवस्था कसरी सिर्जना हुन पुग्यो ? 

मैले केही समयअघि एक विश्वविद्यालयमा पढाउँदा प्रायः विद्यार्थीको चाहना पत्रिकामा काम गर्ने त छँदै थिएन। उनीहरू पडकास्ट तथा न्युज रिर्डर बन्ने बताउँथे। अहिले मिडिया हाउसमा जनशक्ति अभाव छ। पत्रकारिता पढिरहेका युवा र युवा पाठकप्रतिसमेत मिडियामा यति विघ्न विकर्षण किन भएको हो ? हाम्रो मिडिया सञ्चालक र सम्पादकहरूले सोच्नु ढिला भएन र ?
०००
सम्पादनमा कमजोर समाचार

मैले पत्रकारिता सुरु गरेको सन् २००७ देखि हो। इन्टर्नबाटै सुरु गरेको मैले विस्तारै ओपेडदेखि रिपोर्टिङसम्म गरेँ। फिचर स्टोरीमा नयाँ नयाँ शैली प्रयोग गर्न पाइने भएपछि यसमा पनि केही वर्ष काम गरेँ।

काठमाडौँ पोष्टमा अनुप काफ्ले आउनुभएपछि केही परिवर्तन भयो। पहिले विचार र सम्पादकीयलाई विशेष महत्व दिइन्थ्यो भने उहाँले रिपोर्टिङलाई दिन थाल्नुभयो। रिपोर्टिङ नै पत्रकारिताको मेरुदण्ड हो भन्ने उहाँको विचार थियो।

सम्पादकअनुसार प्राथमिकता त फरक हुन्छ नै। अर्काे मिडियाले नगरेको स्टोरी गर्ने, प्रस्तुतिको शैली बदल्ने र पाठकलाई टिकाउन सक्नु नै मिडियाको सफलता हो। हामीले लेखेको /प्रस्तुत गरेको स्टोरी जतिसुकै तथ्यमा आधारित भए पनि प्रस्तुति राम्रो भएन भने पाठक टिक्दैनन्। प्रस्तुत गर्ने शैली ठीक तर तथ्यमा आधारित भएन भने पनि पाठक टिकाउन सकिँदैन। दुवैको संयोजन गर्न सक्नुपर्छ। 

हाम्रोमा आउने समाचारहरूमा कतै सत्य नहुने र फूलबुटटा् मात्रै भरेको देखिन्छ। यसमा डेस्क इडिटरको ठूलो कमजोरी देखिन्छ। हाम्रो समाचार कक्षमा कुनै पनि रिपोर्टरले लेखिसकेपछि डेस्क इडिटर र रिपोर्टर बसेर कति छलफल हुन्छ? डेस्कले मेरो स्टोरी सबै बिगारिदिए छ भन्छन् रिपोर्टर। डेस्कले पनि मैले नमिलाई हुँदैन, लेख्नेको ढंग नै छैन भनेर रिसाउँछन्। तर समन्वय छैन।

समन्वयमा प्रमुख भूमिका प्रधानसम्पादकको हुने हो। प्रधानसम्पादक पनि दिनैभरि मिटिङ भनेर त बस्नुभएन नि।रिपोर्टिङ ठीकठाकै भएका तर सम्पादन हुँदै नभएका समाचार पनि छापिन्छन्। फेरि सम्पादन गर्नुपर्नेमा प्रुफ मात्र हेरिएका पनि हुन्छन्, यो कुरा डेस्क एडिटरले बुझ्न जरुरी छ। 

केही समयअघि एउटा राम्रो विषयको रिपोर्टिङ पढेको थिएँ। विषय ठीक थियो, तर तथ्य नै तथ्य। यसले त पाठकलाई स्टोरी पढ्न तान्न सक्दैन। यस्तो समस्या अन्त्य गर्न डेस्क र रिपोर्टरबीचको दूरी कम गर्दै लगे ठीक हुन्छ। 

कतिपय समाचारका कन्टेन्ट राम्रा हुन्छन्, प्रस्तुत गर्ने शैली नै हुँदैन। हामीले समाचार त दिन्छौँ, तर कतिले पढिरहेका छन्? धेरैले पढ्नुपर्ने स्टोरी पढिएको छ त ? भनेर पनि सोच्नु र खोज्नुपर्छ।

समाचारहरू 'अटोनोमस' हुन थाले, मिडिया हाउसले यसतर्फ विचार गर्न ढिलो भइसक्यो। फेसबुक पेजलाई पत्याउने तर हाम्रो कन्टेन्टलाई नपत्याउने स्थिति कसरी आयो ? नीति निमार्ताले त हाम्रो कुरा अहिलेसम्म सुनिरहेका छन् तर केही स्वतन्त्र रूपमा जितेर आएका युवा प्रतिनिधिले मिडियाको कुरा कति सुनेका छन् त ? युवाले त अहिलेका युवा प्रतिनिधिकै कुरा सुन्छन् नि होइन र? अहिले युवा हुँदा नबुझेर हो, भोलिपर्सि बुझिहाल्छन् नि भनेर मिडियाले हात बाँधेर बस्नै हुँदैन।

अंग्रेजी माध्यमको पत्रकारिता त झनै दयानीय नै देखिन्छ। नेपालमा डेप्थ स्टोरी गर्ने अंग्रेजी माध्यमका निकै कम मिडिया छन्। अंग्रेजी माध्यममा खोज पत्रकार त छैनन् जस्तो लाग्छ। जसको नेपालीमा पहुँच छैन,उसैले मात्र अंग्रेजी माध्यम पढिरहेको हुन्छ। नेपालमा अंग्रेजी माध्यमको समाचार दिने शैली पनि पुरानो भयो। नेपाली माध्यमले शब्दमा खेलाएको देखिन्छ, तर अंग्रेजी माध्यममा देखिँदैन। 

पत्रकार किन टिक्दैनन् ? सोच्न ढिला भएन र?

नेपाली मिडिया हाउसले जनशक्तिलाई नबुझेका मात्रै होइनन्, हेलाँ गरिरहेका छन्। कर्पाेरेट हाउस भन्नेले महिनाको ३० हजार रुपैयाँ तलब पनि महिनैपिच्छे दिँदैन। महामारी र आर्थिक संकट आएका बेला पत्रकार नै निकाले। कर्पाेरेट भनिएका मिडियाले यस्तो गर्न मिल्छ र ?कर्पाेरेट भनिएका मिडियाले पैसा नभएर नदिएका होइनन्, पैसा भएर पनि हेलाँ गरेर नदिएका हुन्। नयाँ नयाँ मोडल आउने बित्तिक्कै गाडी किन्न सक्नेले कर्मचारीलाई तलब दिन नसक्ने हुन्छ र?

पछिल्लो समय ५ वर्ष एउटै मिडिया हाउसमा टिकेका पत्रकार कति होलान् ? किन ५ वर्ष पनि जनशक्ति टिकाउन सकेका छैनन् मिडियाले ? लेखेर मात्रै हुँदैन, अहिले मल्टीमिडियाको अधिकतम उपयोग, ग्राफिक्सको प्रयोगका लागि मिडियाले कति जनशक्ति राखेको छ? अझ अंग्रेजी माध्यममा जनशक्ति नै छैनन्। धेरैले अंग्रेजी माध्यमका पत्रकारहरू आईएनजीओ जान्छन् भन्छन्। किन नजाने त ? समयमै तलब नदिने वृत्ति विकास कहिल्यै नहुने अनि कोही किन बस्छ त ?

पत्रकार नै टिक्न नसकेपछि पाठकले त्यो मिडिया हाउसलाई कसरी पत्याउँछ ? जनशक्ति टिकाउन सक्नु अहिलेको मिडियाको मुख्य चुनौती हो। 

इन्टर्नसिप पहिलेजस्तो मिडियामा हुँदैनन् अहिले। केही गइहाले पनि सिकाउने संस्कार नै छैन। भर्खर मिडिया हाउसमा काम गर्न गएकालाई तँ यो विषयमा रिपोर्टिङ गर भन्दा कसैले सक्छ र ? सिकाउनु पर्दैन ? एक-दुई वर्ष काम गरेर रिपोर्टर टिकेन भने घाटा त मिडिया हाउसलाई नै हो नि। के हुन्छ र यसले छाडेर भन्ने भावना पाल्नुभएन। जब न्युज रुमलाई स्रोत र साधनबाट भरिपूर्ण बनाइन्छ, तब न हो राम्रो रिपोर्टिङ आउँछ। 

रिपोर्टरका पनि कमजोरी नै छैनन् भनेको होइन। रिपोर्टरहरू धेरैजसो ट्विटरमा झुण्डिने भए। कति रिपोर्टरहरू खाली समयमा किताब पढ्छन्? कति मिडिया हाउसमा पुस्तकालय छ ? किताबले नयाँ नयाँ एंगल दिन्छ, धारणा बदल्न सहयोग गर्छ। यसतर्फ रिपोर्टरले ख्याल गर्नुपर्ने देखिन्छ। 

सब्सक्राइब मोडलमा नगई सुखै छैन

सुरुवातमा ग्रान्टबाट चले पनि 'द रेकर्ड नेपाल'ले मेम्बरसिप प्रणाली अपनायो। १० देखि १५ हजार मेम्बर भयो भने मिडिया चल्छ भन्ने थियो। तर यति पनि मेम्बर पनि पाउन सकेन। अंग्रेजी माध्ययममा लंग फर्मको अन्त नआएको स्टोरी दिन्थ्यो रेकर्डले। यो त गुम्यो नि। रेकर्ड असफल भए पनि सब्सक्राइबमा नगई नेपाली मिडियालाई सुख छैन।

ठूला मिडियाले आँट गरेर सब्सक्राइब गर्न लगाउने हो भने सफल हुन्छ। साना मिडिया सब्सक्राइब मोडलमा जाने, ठूला मिडिया नजाने हो भने साना मिडिया हराउँछन्। उस्तै प्रकृतिका समाचार पढ्न सब्सक्राइब गर्दैनन् पाठकले।

विस्तृतमा अन्त नआउने खालका मन लाग्ने स्टोरी दिन सक्यो भने न हो सब्सक्रिप्सन मोडल सफल हुने। ठूला कर्पाेरेट भनिएका मिडियाले आँट गरे भने सफल हुन पनि सक्छन्।

युट्युब र नेटफ्लिक्सकै कुरा गरौँ। नेटफ्लिक्सले के त्यस्तो कन्टेन्ट दियो र फ्रिका युट्युब कन्टेन्ट नेटफिल्क्समा रमाउन थाले ? मिडियाले सामाजिक सञ्जालमा स्टोरी हाल्ने मात्रै होइन, पाठकसँग जोडिनु पनि पर्छ। पत्रिका पढ्ने, थन्काएर राख्ने होइन।

अहिले त मिडियासँग पाठकले प्रत्यक्ष छलफल होस् भन्ने चाहिरहेको छ। जहाँ धेरै व्यक्तिहरू इन्गेज भइरहेका छन् त्यहाँ मिडियाले आफ्नो उपस्थिति देखाउनुपर्यो। वासिंगटन पोष्टको टिकटक छ। टिकटकलाई उपयुक्त हुने कन्टेन्ट दिनुपर्छ।

सिरियस कन्टेन्टलाई पनि कसरी प्ले गर्ने भन्ने कला हुनुपर्छ। यसमा अहिलेका युवाले राम्रोसँग गर्न सक्छन्। 

हाम्रो मिडियामा राम्रो काम नभएका होइनन्, हामीले यसलाई बेच्न सक्नुपर्छ। हामीले कुनै पनि इस्यु उठान गर्यौँ भने त्यसको बैठान नभइन्जेल उठाउनुपर्छ। र अर्काे मिडियाले पनि त्यो विषयवस्तुको गाम्भीर्य बुझेर निरन्तर उठाउने गरिएको देखिन्छ, यो मिडिया क्षेत्रको राम्रो प्राक्टिस हो। 

खोज पत्रकारहरूले राम्रा राम्रा रिपोर्टहरू ल्याइरहेका हुन्छन्। डेप्थ स्टोरी पनि उस्तै आइरहेका छन्। तर स्टोरी मात्रै बनाएर हुँदैन, बजारसम्म पुर्याउने कला पनि हुनुपर्छ।

पत्रकारहरू मिलेर मिडिया खुलेको छ भने कन्टेन्ट राम्रो उत्पादन हुन्छ, तर बजारसम्म पुग्दैन। व्यवसाय ल्याउने आइडिया नै हुँदैन। त्यसकारण मिडिया क्षेत्र बुझेको, मिडियाको कन्टेन्ट कसरी बेच्न सकिन्छ भन्ने आइडिया भएको जनशक्ति अहिले अभाव छ। यसलाई पूरा गर्नैपर्छ। मिडियाले नै यो विषयमा बहस चलाउन सक्छ। मिडियाप्रति विश्वास भरोसा र आकर्षण फर्काउन सोच्ने मात्रै होइन, काम गर्नै ढिलो भएन र ? 

(नेपाली टाइम्स, द काठमान्डु पोष्टमा काम गरिसकेका राणा अहिले द रेकर्ड नेपालमा आबद्ध छन्। उनैसँग ‘नेपाली मिडियामा स्वतन्त्र मिडियाको चुनौती’ बारे उकेराको चौथो अंग कोलमका लागि गरिएको कुराकानी )

चौथो अंगका पुराना श्रृंखला 

 

१२ असार, २०८०, १७:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।