चौथो अंग : ठूला मिडियाले लत्तो छाडे, सम्पादकहरू निरीह बने

चौथो अंग : ठूला मिडियाले लत्तो छाडे, सम्पादकहरू निरीह बने

केही दिनअघि राष्ट्रपतिले प्रमुख स्वकीय सचिवमा सुरेशचन्द्र चालिसे नियुक्त गरे। यहि समाचार लेख्दा एउटा ठूलै मिडियाले गल्ती लेख्यो। चालिसे तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारका रूपमा काम गरेका हुन् भन्यो। जबकी चालिसेले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला काम गरेका हुन्।

७० को चुनावपछि प्रधानमन्त्री भएका सुशील कोइरालाले क–कस्लाई नियुक्ति गरेका थिए भन्ने थाहा हुँदैन? धेरै जसो समाचारकक्ष इन्टर्नबाट चलेको छ। मिडियामा अर्काइभिङ छैन। यसै समाचार लेखिएको छैन। अपलोड भइरहेको छ। अहिले हाम्रो समाचार कक्षहरू शक्तिशाली भएनन् भन्ने लाग्छ।

पहिलेको समाचार कक्षको ‘चार्म’ छुट्टै थियो। प्राविधि रूपमा एक जना सम्पादक त हुन्थे तर सम्पादक हुन योग्य मान्छेहरू ५/७ जना हुन्थे, जसले विभिन्न ब्यूरोहरूको नेतृत्व गर्ने, न्यूजचिफ भएर काम गर्थे। जसले गर्दा समाचारहरू माझिएर आउँथे।

न्युज चिफ, ब्यूरो चिफ सिनियर, जुनियर रिपोर्टरहरू अनि इन्टर्न। यति धेरै लेयर हुने हुँदा भर्खरै सिक्दै गरेको रिर्पार्टरले धेरै सिक्न पाउँथ्यो। अहिले त समाचार कक्षहरू इन्टर्न तहका पत्रकारले धानिरहेका छन्।

उस्तै प्रकृतिका घटना घट्दा त्यसैले त पत्रकारले ‘सम्भवतः पहिलो घटना’ भनेर लेख्ने गर्छ। यदि समाचार कक्षमा १५/२० वर्ष काम गरेको रिपोर्टर हुन्थ्यो भने ‘सम्भवतः पहिलो’ भनेर लेख्दैनथ्यो।

विश्वविद्यालय पढ्दैमा समाचार लेख्न जानिँदैन
५४ सालबाट हो मैले पत्रकारिता सुरु गरेको। नेपाल वाणीमा काम गरेँ। पत्रिका हुँदै रेडियो र टेलिभिजनमा काम गरेँ १७ वर्ष। अहिले भने म कुनै मिडिया अन्वेषण अनलाइनको सल्लाहाकार सम्पादक छु।

२०६२ सालदेखि मात्रै हो मैले क्याम्पस पढाउन थालेको। पढाउँदै रिपोर्टिङ गर्दा अर्काे फाइदा भयो। न्युजरूम र क्लासरूम जोड्न सकियो। न्युजरूममा भएको घटनाहरू क्लासरूममा सुनाउँदा विद्यार्थीले धेरै कुरा थाहा पाउने भए। नयाँ पुस्तासँग संगत हुँदा उनीहरूले मिडियालाई कसरी हेर्छन् भन्ने कुरा बुझ्न सकियो।

जस्तो अहिले ब्याचलर पढ्ने विद्यार्थीलाई गगन थापा र रामकुमारी झाँक्री लगायतलाई चिन्छौँ भन्दा चिन्दैनौँ भन्छन्। न्युजरूममा मात्रै बस्दा हामीलाई भ्रम भएको कुरा कक्षामा बस्दा हुँदैन।

अहिले विद्यार्थीमा मिडिया प्रति उत्साह देखिँदैन। नेपाली पत्रकारितामा दक्ष जनशक्तिको अभाव हुँदै गएको देखिन्छ। हामी शान्तिप्रक्रियामा गएपछि अनमिनको जागिर खुल्यो धेरै पत्रकार त्यता गए, दोस्रो भूकम्पको बेला धेरै पत्रकारले काम छाडे।

कोरोनापछि मिडिया इन्डस्ट्री गर्ल्याम–गुर्लुम्मै ढल्यो। धेरै पत्रकार निकालिए। पहिले पत्रकारको तलब शाखा अधिकृतको भन्दा बढि थियो। अहिले न्यूनतम तलब नै नेपाल सरकारको कार्यालय सहयोगी भन्दा थोरै छ। यस्तो अवस्था भएपछि पत्रकारितामा कसरी आकर्षित हुन्छन् विद्यार्थी?

धेरैजसो मिडिया हाउस र सम्पादकको गुनासो हुन्छ विश्वविद्यालय पढेर आएकाले ‘हार्ड न्युज’ लेख्न जान्दैनन्। यसमा सम्पादकहरूले अलि गहिरिएर बुझ्न जरुरी छ। भर्ना हुन्छ २५० विद्यार्थी, कलेज आउँछन् ५० जना।

कुनै मिडिया हाउसको भ्याकेन्सी खुलायो भने अप्लाइ गर है भन्यो भने विद्यार्थीले गर्दैनन्, किन त? उनीहरूले पहिले सेवा सुविधा पनि हेर्छन्, क्षमता अनुसारको पेमेन्ट छ छैन त्यो हेर्छन्, त्यो रहेनछ भने अप्लाइ गर्दैनन्। मिडिया हाउसले भ्याकेन्सी खुलाउँदा कतिले देलान् क्षमतावान्ले आवेदन? 

पत्रकार लिँदा क्षमतावान् भन्दा यत्तिकोले न्युज अपलोड गरिहाल्छ भनेर थोरै तलब दिए पनि हुनेलाई छान्ने अनि पत्रकारिता पढेकाहरूलाई ‘हार्ड न्युज’ पनि लेख्न आउँदैन भन्ने? गतिला मान्छे हायर गरौँ न राम्रो पेमेन्ट दिएर कस्ले लेख्न सक्दो रहेनछ?

अनि फेरि अर्काे कुरा, पहिले ठूला मिडियाले इन्टर्नमा राख्थे अहिले राख्दैनन्। पेपरमा समाचार लेखुन्जेल इन्टर्न थिए। उनीहरूलाई बस्ने स्पेश कम्प्युटर केही चाहिँदैनथ्यो, त्यसैले राख्थे। प्रविधि आएसँगै डेस्क र कम्प्युटर दिनुपर्ने भयो। ठूला मिडियाले लत्तो छाडे। नयाँ पत्रकारलाई सिक्ने अवसर नै छैन अहिले।

मिडिया हाउसमा नबुझी लगानी गर्ने बढे
केही दिनअघि एकजना टेलिभिजन लगानीकर्ताले टेलिभिजनको जिम्मा लिइदिन आग्रह गरे। खाद्यान्नको व्यापार गर्ने उनले सबैले फाइदा हुन्छ भने त्यसैले लगानी गरेको बताए। को–को छन् अफिसमा भन्दा कांग्रेस, एमाले लगायत सबै पार्टीका मान्छे भएको बताए। उनले बिटसमेत भन्न जानेनन्।

मिडियामा मान्छेले फाइदा हुन्छ रे भनेकै भरमा लगानी गरेका छन्। कुनै पनि लगानी गरेपछि फाइदा खोज्नु स्वभाविक नै हो तर मिडियाको मेन थिम नै नबुझी लगानी गर्नु ठीक हो र? धेरै मिडिया खुलेकाले शक्तिशाली न्युजरूमहरू भएनन्। लेख्न जान्ने पत्रकारहरू छरिए, जसले गर्दा कतैबाट पनि गुणस्तरीय समाचार आउन छाड्यो। बुझाइ र बजारको हिसाबले क्षयीकरण भएको छ मिडियाको।

एउटालाई विज्ञापन दियो भने उसलाई दिने, मलाई किन नदिने भन्ने विकृति पनि बढ्यो। एउटै मिडिया हाउसमा सबै विषय जानेका धेरै थरी रिपोर्टर हुन्थे, अहिले विषयवस्तुमा ज्ञान भएका पत्रकार एउटै न्युजरूममा छैनन्।

न जनशक्ति, न समाचारको कभरेज, न त मिडियाको एजेण्डा सेट भएको नै देखिन्छ। एजेन्सीले बनाएको समाचार अपलोड गर्ने, बस्ने। अहिले समाचारकक्षले समाचार लेख्दैन, एजेन्सीले पठाएको न्युज अपलोड गर्छ। अहिले त मिडियाले भन्दा सोसल मिडियाले एजेण्डा उठाएको देखिन्छ।

सम्पादक निरीह भए
ठूला मिडिया भनेको ठूलो वरको वृक्ष हुन्। बरको वृक्ष ढल्यो भने साना मिडियालाई झन् गाह्रो हुन्छ। ठूला मिडियाका सम्पादक लगानीकर्ताको अगाडि साह्रै निरीह भए। रिपोर्टरलाई के आवश्यक परेको छ भन्दा पनि साहु रिसाउने हो की भनेर कहिल्यै खोजी पत्रकारिता हुन्छ?

अनि एकथरी आफैँ लगानी गर्ने साना मिडिया सम्पादक छन् फेरि। समाचारको आइडिया भन्नुपर्ने मान्छे तलब कसरी खुवाउने भनेर सर्भाइभ गर्नुपर्याे भने न्युजरूम कस्तो होला? ठूला मिडियाको सम्पादक साहुसँग निरीह, साना मिडियाका सम्पादक आर्थिक रूपमा निरीह देखिएका छन् त्यसैले त मिडियाले भन्दा सोसल मिडियाले एजेण्डा सेट गरिरहेको छ।

कुनै महत्वपूर्ण अपराध सोसल मिडियाबाट बाहिरिने अनि त्यसैलाई फलोअप गर्ने काम भएको छ अहिले मिडियाको।

ठूलो मिडिया ढल्यो भने त पराकम्पनले साना मिडिया ढल्दैनन् र? अहिले संसदको लाइभ दिन्छन् अधिकांश मिडियाले तर संसदको रिपोर्टिङ नै भएन। संसदमा कुन इस्युमा कस्तो छलफल भयोदेखि त्यहाँ भित्रको अर्काे पाटो आएको खै?

पत्रकारिता फैलन सकेन
विश्वविद्यालयले पत्रकारिता पढाउँछ तर फाट्टफुट्ट अनुसन्धानबाहेक मिडियाको अनुसन्धान गरेकै छैन। मिडियाको अनुसन्धान हुनका लागि भौतिक पुर्वाधार, काम गर्ने वातावरण र बजेटको व्यवस्था हुनुपर्छ। आफ्नै बस्ने चेम्बर त छैन उप–प्राध्यापकको, कसरी हुन्छ अनुसन्धान?

मैले विश्वविद्यालयमा काम गरेको १८ वर्ष भयो। आजसम्म विश्वविद्यालयलाई कसरी सुधार गर्ने भनेर छलफल भएको छैन। विद्यार्थीको चाप अनुसारको कक्षा कोठा छैन।

बाहिरतिर कुन क्षेत्रमा कति बच्चा जन्मिए कति भौतिक पुर्वाधार आवश्यक पर्छ भनेर सो अनुसारको कक्षा कोठा थपिन्छ शैक्षिक संस्थामा। हाम्रो आंगिक क्याम्पसहरूमा विद्यार्थी अनुसारको राखिएको छ? जसरी हुन्छ पढाउने बाहेक अरु कतै कसैको ध्यान देखिँदैन।

पत्रकारिता फैलने भन्दा पनि खुम्चँदो देखिन्छ। मिडियाको निरन्तर रिभ्यु भएको छैन। कुन विषयमा के रिपोर्टिङ गर्ने भन्नेबारे अनुसन्धान भएको देखिँदैन। मिडियामाथि अट्याक हुँदा सम्पादक एक भएर बोल्न सक्ने अवस्था किन रहेन?

मिडियामा धेरै समस्या त छन् नै तर कामै नभएका होइनन्। सीमित स्रोत र साधनका बाबजुत पनि काम भइरहेका छन्। अहिले पत्रकारहरूले आफ्नो बिटमा दक्षता हासिल गरेपछि किताब निकाल्नेदेखि डकुमेन्ट्री बनाउनेसम्म काम गरिरहेका छन्।

‘सिर्जनशील काम गर्नु कला हो’
रिपोर्टरले समाचार आफ्नो लागि पनि लेख्ने हो। साहु र मिडिया हाउसको लागि मात्रै लेख्ने होइन। डकुमेन्टहरू कलेक्सन गर्दै जाने हो। कुनै सूचना तत्काल दिन नमिल्ने हुन्छन्, त्यसलाई जतनका साथ राखेर पछि प्रकाशित गर्दै जानु दायित्व पनि हो।

अन्य काम गर्दा पत्रकारले पैसा आउँछ की आउँदैन हेर्ने नै होइन। काम गर्दै जाने हो। यसको अर्थ कार्यालयको काम गर्दा रेगुलर पैसा आउने भने हुनुपर्छ। रेगुलर इनकम नै भएन भने अन्य काम गर्दा लाग्ने खर्च नै जोहो गर्न सकिँदैन।

कसैको अन्तर्वार्ता लिन जानुभयो। कुरा गर्दै जाँदा अन्तर्वार्ता गर्ने व्यक्तिकै बायोग्राफीमा काम गर्न सकिन्छ। आफूलाई रुचि लागेका पात्रहरूबारे सामग्रीहरू खोजी–खोजी काम गर्न सकिन्छ।

निरन्तर संकलन गर्ने, सुरक्षित अर्काइभिङ गर्ने र त्यसलाई मूर्तरूप दिने। समय भएन, वातावरण मिलेन भन्नु सबै बहाना हुन्। काम गर्नेले बहाना खोज्दैन।

(नेपालवाणी, सूरुची, विमर्श, रेडियो नेपाल, कान्तिपुर टेलिभिजनमा गरेका नेपाल पत्रकारिता विषयको उप–प्राध्यापक समेत हुन्। ‘पत्रकारितासँगै सिर्जनशील काम कसरी गर्ने?’ भन्ने शिर्षकमा आधारित रहेर प्रजु पन्तसँग गरिएको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला

२८ चैत, २०७९, १९:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।