चौथो अंग : रिपोर्टर जुन भिडियोले चर्चित हुन्छन् त्यही भिडियो खिच्ने भिडियोग्राफर किन ओझेलमा ?

चौथो अंग : रिपोर्टर जुन भिडियोले चर्चित हुन्छन् त्यही भिडियो खिच्ने भिडियोग्राफर किन ओझेलमा ?

लोडसेडिङ अति धेरै हुने केही वर्ष अघिसम्म। दिनकै १८ घण्टा लोडसेडिङ भइरहेको थियो। एक जना रिपोर्टरले ‘दाइ लोडसेडिङबारे रिपोर्टिङ गर्नपर्याे, प्याकेज बनाउनुपर्याे’ भन्नुभयो।

एकछिन बसेर चिया खाइयो। मेरो दिमागमा ‘कन्सेप्ट’ फुर्याे। ‘ल मैले जे भन्छु मान्नु पर्छ है त!’ भनेर प्रस्ताव राखेपछि उहाँले पनि हुन्छ भन्नुभयो।

मैले उहाँलाई मेरो घर लिएर गएँ। पाँच मिनेटपछि बत्ति निभाउनु भनेर माथि भान्सामा उक्लिएँ। दिदी खाना बनाइरहनुभएको थियो।

‘क्यामेरा बोकेर आएको छस् त’ दिदीले भन्नुभयो।

मैले ‘खाना पकाइरहनु, म खिच्छु’ भनेँ। पाँच मिनेटपछि बत्ती गयो। दिदीले ‘हैरान नै भइयो लाइन गएर। यही खाना पकाउने बेला जानुपर्ने। कति दुःख भएको हुन पनि’ भनेर बोल्नुभयो। मैले भिडियो खिचिरहेँ। पूरै अँध्यारो अनि ग्यास चुल्हो बलिरहेको।

भिडियोग्राफरको पाखुरा चलुन्जेल काम अह्राउने पाखुरा बसेको दिन जीविका चलाउनै संकट परिरहेको हो कि जस्तो देखिन्छ सबै मिडियाको साथीहरूको हालत हेर्दा। मिडियामा वर्षाैं काम गर्नेहरू वृद्ध आश्रममा छाडिएका वृद्धवृद्धाको हालतमा मिल्काइन्छन् किन?

मेरो दिमागमा लोडसेडिङ भएपछि हामीले बाल्ने टुकी, लालटिन टर्च लाइटको संयोजन गरेर भिडियो बनाउन खोजिरहेको थिएँ। हतार थियो। लालटिन भेटिएन।

रिपोर्टरलाई मैले भनेँ, ‘टर्च भए आफ्नो मुख तिर फर्काएर बाल्नुस् म पिटिसीको टेक लिन्छु।’

रिर्पोटरले मानेनन्। एकातिर कालो देखिन्छ हुँदैन भने। मैले गर्नुस् न भनेर जोड लगाएँ। मैले क्यामेराको लाइट बालिनँ। त्यही टर्चको आधारमा भिडियो खिचियो। पछि रिपोर्टरले लाइट बालेर पनि लिनुस् भनेपछि लिएँ।

अफिसमा गएपछि दुवै भिडियो सम्पादकले हेरे। सम्पादकले टर्च बालेको रोजे। टर्चबालेको पीटीसीसहितको प्याकेज प्रसारण भयो। यो कार्यक्रम यति हिट भयो कि एमडीले रिपोर्टरलाई बोलाए। पछि लालटिन समाचार पनि यहि कन्सेप्टमा बनाइयो।

बीबीसी, सीएनएन लगायतका अन्र्तराष्ट्रिय मिडियामा रिपोर्टर र सम्पादकलाई अन्तर्वार्ता दिन भ्याइ-नभ्याइ भयो। ‘कन्सेप्ट’ बनाउने मलाई वास्ता भएन। गुनासो गरेको होइन, क्यामेरा पर्सनहरू पर्दा पछाडिको पात्रहरू हुन्। 

टेलिभिजनमा क्यामेरा पर्सनहरूको सबैभन्दा प्रमुख भूमिका हुन्छ तर के त्यहीअनुसार क्यामेरा पर्सनहरूको महत्व बुझिएको छ त? पर्दा पछाडि काम गर्नेको नाम पनि ओझेलमा दाम पनि ओझेलमा पर्छ।

गोलीको प्रवाह नभएका ती दिन
२०४९ सालमा हो मैले क्यामेरा चलाएको। फिल्मका हिरो–हिरोइन भनेपछि म हुरुक्कै हुन्थेँ। फिल्म कसरी खिच्ने होला, कसरी काम गर्ने होला भन्ने हुटहुटीले छोडेन।

मैले एक सयभन्दा बढी फिल्ममा काम गरेँ। रिपोर्टिङ पनि गरेँ। माओवादीको सशस्त्र संघर्ष शूरु भएपछि भने फिल्मको काम ठप्पै जस्तो भयो। मैले चितवनमा कार्यालय पनि खोलेको थिएँ। बन्द गरेर काठमाडौँ आएँ।

क्यामेराप्रतिको मेरो लगाव उस्तै थियो। कान्तिपुर मिडियासँग जोडिन पाएँ। कान्तिपुर टेलिभिजनमा अहिलेसम्म काम गरिरहेको छु। शुरूमा त मलाई केही समय समाचारमा त्यसपछि प्रोडक्सनमा काम गर्ने भनियो।

न्यूजतिरको क्यामेरा पर्सनको जोखिम नै बढी। दौडादौड उस्तै, समाचारको ज्ञान पनि हुनुपर्ने। म त मनोरञ्जन क्षेत्रमा काम गरेको। ‘छोड्दिउँ कि क्या हो’ जस्तो नभएको होइन। तर छाडिएन। पत्रकारितामा रस बस्दै गयो। अनि यसैमा रमाएँ।

क्यामेरापर्सन पर्दा पछाडिको कामदार हो। फ्रन्टलाइनमा रिपोर्टर हुन्छ। त्यो भिडियो राम्रो खिचेको छ कि छैन आम मान्छेलाई चासो त हुन्छ। तर, कस्ले खिच्यो भन्ने चासो हुँदैन। जो कार्यक्रम/समाचार प्रस्तोता छ उसैको चर्चा हुन्छ। मलाई लाग्छ टेलिभिजनमा रिपोर्टरभन्दा क्यामेरा पर्सनको भूमिका महत्वपूर्ण हुन्छ।

६० सालमा कान्तिपुरमा प्रवेश गर्दा द्वन्द्वकाल थियो। समाचारहरू द्वन्द्वकै बढी आउने भए। त्यसको लागि भिडियो खिच्न कम त सकस भएन। भिडियोग्राफरहरूले खिचेको भिडियोका कारण टेलिभिजनको एक समय राम्रो बजार भएको हो भन्ने दाबी गर्छु। भिडियोग्राफरको मिहिनेत टेलिभिजनमा सर्लक्कै देखिन्छ।

केही सम्पादक भने क्यामेराको एंगलदेखि कुन क्यामेरा बजारमा आयोसम्म समेत जानकारी राखी प्रत्येक भिडियोको राम्रो र नराम्रो पक्ष भन्नसक्ने दक्षता राख्छन्। यस्ता टेलिभिजन सम्पादक औँलामा गन्न सकिने मात्र छन्।

केही उदाहरण दिन्छु, थानकोटमा माओवादीले प्रहरीमाथि आक्रमण गर्याे। ७/८ जना प्रहरी मारिए। हामी गएर भिडियो खिच्यौँ। खिच्दै गर्दा सेनाले पछाडिबाट किन खिचेको? भन्दै हान्यो। जति खिच्यौँ त्यति नै लिएर हिँडियो।

त्यस्तै, साँखुमा पनि प्रहरी मारेका थिए माओवादीले। त्यहाँ खिच्दा पनि उस्तै जोखिम। रिपोर्टर त पर बसेर बोले भयो। तर, भिडियो तथा फोटो त नजिकै गएर खिच्नुपर्याे। त्यतिबेला घटनास्थलमा अरू बम पनि हुनसक्थ्यो अनि सेनाले त कुट्थ्यो नै। त्यो दुःख गरि-गरि भिडियो ल्याइन्थ्यो।

२०६२/०६३ को आन्दोलनताका आन्दोलन भइरहेको स्थानमा भिडियो खिचिन्थ्यो। भिडियो खिच्दा अगाडिकै मान्छेलाई गोली लाग्यो। पूरै अन्धकारमा डुबेर भिडियो खिचिन्थ्यो। दुई चार फुटेज खिच्यो अनि उसलाई उपचारको लागि मान्छे बोलायो। यस्तो बेला कतिपयले उपचार नगराएर भिडियोग्राफरहरूले भिडियो किन खिच्ने भनेर प्रश्न गर्थे। तर सरकारले मारेको मान्छे भिडियो तथा फोटो भएन भने पछि सरकारले नै बेपत्ता पार्याे भने के गर्ने?

भिडियो देखाएर त हो अन्तर्राष्ट्रिय स्तरमा के भइरहेको छ भन्ने घटना पुर्याउन सकिने। त्यतिबेला हामीले नागरिकले आन्दोलनमा पाएका सास्तीबारे खुब भिडियो खिच्यौँ। मलाई लाग्छ त्यतिबेला गोली र बुटको प्रवाह नगरी भिडियोग्राफरले भिडियो नखिचेको भए टेलिभिजनहरूले नागरिकको विश्वास आर्जन गर्ने थिएनन्।

पछि शान्ति प्रक्रिया शुरू भएपछि भने राज्यको डर त हट्यो। तर, कोरोना कालमा भने उस्तै अवस्था बेहोर्नुपर्याे। बिरामी वार्डमा नै गएर भिडियो खिच्नुपर्ने र आर्यघाटमा नै गएर काम गर्नु कम त चुनौतीपूर्ण थिएनन्। नेपाली टेलिभिजनका भिडियोग्राफरले आफ्नो दायित्व भरपूर पूरा गरे।

तर, सधैँ पर्दा पछाडि भिडियोग्राफर
अघि पनि भनेँ, रिपोर्टरहरू भिडियोले चर्तित हुँदा त्यही भिडियो खिच्ने भिडियोग्राफर ओझेलमा पर्छ। कतिपय रिपोर्टरहरू भिडियोको कन्सेप्ट नबुझ्ने पनि हुन्छन्। केही सम्पादकहरू पनि टेलिभिजन नै नबुझेका पनि हुन्छन्। कन्टेन्ट भए पुग्ने टेलिभिजनका सम्पादकहरू नभएका होइनन्।

तर, केही सम्पादक भने क्यामेराको एंगलदेखि कुन क्यामेरा बजारमा आयोसम्म समेत जानकारी राखी प्रत्येक भिडियोको राम्रो र नराम्रो पक्ष भन्नसक्ने दक्षता राख्छन्। यस्ता टेलिभिजन सम्पादक औँलामा गन्न सकिने मात्र छन्।

भिडियोग्राफरमा धैर्यता र बाइटबारे बुझाइ भएको हुनुपर्छ। तीन/चार घण्टाको कार्यक्रमलाई तीन/चार मिनेटमा देखाइसक्नुपर्छ। यसका लागि कसले, कुन बेला, कस्तो बोल्छ भन्ने कुरा ख्याल गर्नैपर्छ। न्युजको कन्सेप्ट नबुझे भिडियोग्राफरले भिडियो त खिच्छ तर सम्पादनमा निकै दुःख गर्नुपर्छ।

यता टेलिभिजन जो वर्षाैंको मिहिनेतले संवेदनशील भएर मुद्दा उठाएका छन्, उनीहरूप्रतिको घट्दो विश्वास हुनु। उता पत्रकारिताको धर्म निर्वाह नगरेका युट्युबहरू वाहवाही हुनु। यसले हाम्रो समाज कता लैजान्छ? यस्ता युट्युबलाई प्रेस काउन्सिलले हेर्नुपर्दैन?

रिपोर्टरहरूले पनि क्यामेरा र भिडियोको कति महत्व छ र भिडियोग्राफरको पनि आफ्नै कन्सेप्ट हुन्छ स्टोरीको भन्ने बुझ्नु जरुरी छ। यदि समन्वय गरेर गर्नुपर्ने रिपोर्टिङ छ भने इस्युमा पहिले नै छलफल हुनुपर्छ।

उदाहरणका लागि तत्कालीन डीआईजी गोपालमान श्रेष्ठले रातो बत्ती बलेको बेला बाटो क्रस गरेको भिडियो खिचियो। त्यो बेला उनलाई कारबाही नै भयो समाचार प्रसारण भएपछि। यदि भिडियो नभएको भए सम्भव थियो त? प्रमाण पनि हो भिडियो र फोटो त।

भिडियोग्राफरले पर्दा पछाडि बसेर अथक मिहिनेत गरेको त हुन्छ तर के यो मिहिनेत मिडिया हाउसले देखेको छ? भिडियोग्राफरको पाखुरा चलुन्जेल काम अह्राउने पाखुरा बसेको दिन जीविका चलाउनै संकट परिरहेको हो कि जस्तो देखिन्छ सबै मिडियाको साथीहरूको हालत हेर्दा। मिडियामा वर्षाैं काम गर्नेहरू वृद्ध आश्रममा छाडिएका वृद्धवृद्धाको हालतमा मिल्काइन्छन् किन?

जसरी बाउआमाले छोराछोरीलाई हुर्काउँछन्, बढाउँछन् घाम पनि नभनी, त्यसरी नै एउटा मिडियालाई स्थापित गर्न मिडियाकर्मीले उस्तै लगनले काम गरिरहेका हुन्छन्। तर, उपदानको समेत व्यवस्था गरिँदैन। जाँडपानीमा लाखौँ उडाउने साहुहरूले कामदारलाई उपदान दिएर बिदाइ गरे हुँदैन? हात बसेपछि काम गर्न सकिँदैन तर बुढेसकालमा खान त पर्यो नि!

पछिल्लो समय यहि कारणले मिडियाप्रति अरुचि भएको त होइन? सामाजिक सुरक्षा खै? यसमा काम गर्नुपर्ने देख्छु म त मिडियाले। एकातिर निराश भएर कामदार निकाल्ने अनि अर्काेतिर युट्युबले टेलिभिजनलाई चुनौती दिने। वर्षाैं काम गरेको माध्यम धर्मराएको त होइन। कहिलेकाहिँ डर लाग्ने रैछ।

युट्युबले ‘निल्न’ खोजेको टेलिभिजन
केही दिनअघि युट्युबमा एउटा भिडियो हेरेँ। एक बलात्कृत युवती गर्भवती रहिछन्। बलात्कारपछि बच्चा बस्न गएको। यस्तो गम्भीर इस्युमा युवती, उनका बाआमा अघि राखेर युट्युबरले सोध्छ- ‘तपाईंलाई कहाँ कसरी लगेर बलात्कार गर्याे?’

यो पत्रकारिताको धर्म हो? युट्युबर पत्रकार होइनन्। तर, सूचना विभागमा दर्ता भएर प्रेस कार्ड बोकेर हिँडेकाले समेत यस्तो हर्कत गरिरहेका छन्।

केही मिडिया हाउसहरूमा आन्दोलन भइरहेको छ। पत्रकार महासंघले यसको नेतृत्व लिनुपर्ने हो तर महासंघ साहुसँग मिलेर दलाली गरिरहेको छ। त्यसमाथि पर्दा पछाडि बसेर काम गर्नेलाई महासंघले भोट हाल्ने बेलाबाहेक अघिपछि वास्ता गरेको देखिँदैन।

यता टेलिभिजन जो वर्षाैंको मिहिनेतले संवेदनशील भएर मुद्दा उठाएका छन्, उनीहरूप्रतिको घट्दो विश्वास हुनु। उता पत्रकारिताको धर्म निर्वाह नगरेका युट्युबहरू वाहवाही हुनु। यसले हाम्रो समाज कता लैजान्छ? यस्ता युट्युबलाई प्रेस काउन्सिलले हेर्नुपर्दैन?

समाचारको नाउँमा संवेदनहीन भएर पत्रकार आचारसंहिता मिच्न पाइन्छ? मैले सबै युट्युबरलाई भनेको होइन, केही यस्ता कार्यक्रम छन् जो पत्रकार आचारसंहिता पालना गरेर ल्याएका छन्। यो त राम्रो छ नि! तर जो आचासंहिताभित्र छैनन्, तिनलाई कारबाही त हुनैपर्छ।

टेलिभिजनमा आउन छाडेर युट्युबतिर किन आर्कषित भइरहेका छन् क्यामेरापर्सनहरू? यसमा व्यवस्थापक तथा लगानीकर्ताले ध्यान दिनैपर्छ। भिडियोग्राफरहरूलाई आफ्नो मिहिनेतले जति सिक्यो उति। नयाँ तालिमको व्यवस्था छैन। सामाजिक सुरक्षा छैन। यस्तै हो भने भिडियोग्राफरको अभाव हुनसक्छ। यसका लागि साहुहरूले नैतिकवान् भएर काम गर्नुपर्ने देखिन्छ।

अहिले नेपाली मिडियामा केही समस्या परेको देखिन्छ। केही मिडिया हाउसहरूमा आन्दोलन भइरहेको छ। पत्रकार महासंघले यसको नेतृत्व लिनुपर्ने हो तर महासंघ साहुसँग मिलेर दलाली गरिरहेको छ। त्यसमाथि पर्दा पछाडि बसेर काम गर्नेलाई महासंघले भोट हाल्ने बेलाबाहेक अघिपछि वास्ता गरेको देखिँदैन।

मिडियामा काम गर्नेहरूलाई  सामाजिक सुरक्षाको ग्यारेन्टी गराउन सके नेपालमा मिडिया सशक्त हुन्थ्यो। यतातर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ।

(कान्तिपुर टेलिभिजनका एशोसिएट सिनियर क्यामेरापर्सन श्रेष्ठ २१ वर्षदेखि टेलिभिजन भिडियोग्राफी गर्दै आइरहेका छन्। उनैसँग ‘पर्दा पछाडिका मिडियाकर्मी’ शीर्षकमा प्रजु पन्तले गरेको कुराकानी।)

* श्रेष्ठको आग्रहमा शिर्षक परिवर्तन गरिएको छ

चौथो अंगका पुराना श्रृंखला 

२६ भदौ, २०८०, १८:०७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।