चौथो अंग : टिक्ने हैन बिक्ने कन्टेन्टतिर लहसिए मिडिया, भ्युजको लोभमा न्युज मर्न थाल्यो

चौथो अंग : टिक्ने हैन बिक्ने कन्टेन्टतिर लहसिए मिडिया, भ्युजको लोभमा न्युज मर्न थाल्यो

राजनीतिक दलमा पुस्तान्तरण भएन भनेर नेपाली पत्रकारितामा सधैं चर्चा हुन्छ। तर नेपाली पत्रकारिता क्षेत्रमा चैँ पुस्तान्तरण भएको छ त ? 

अधिकांश मिडियामा हेर्ने हो भने अझै पनि ब्रेकिङ ‘इस्यु ’ मा रिपोर्टरको बाइलाइनसँगै आफ्नो नामको फुर्को जोड्ने, भीभीआईपीको अन्तर्वार्ता लिनुपरे आफैं लिने प्रवृत्ति अग्रज पत्रकारहरूमा कायमै देखिन्छ।

यसले राजनीतिक दलले मात्र होइन नेपाली पत्रकारिता क्षेत्रका अग्रजहरूले पनि नयाँ पुस्तालाई विश्वास गरेको या पुस्तान्तरणका लागि राजी भएको त देखिएन। 

जिम्मेवारी हस्तान्तरण अनि सीप पुस्तान्तरणको अवस्था हेर्ने हो भने अग्रज पुस्ताले नयाँ पुस्तालाई ‘ग्रुम’ गर्न नेपाली पत्रकारिता क्षेत्र चुकेको देखिन्छ। नयाँ पुस्ताले क्षमता अनुसार सहजै स्पेस पाउन सकेका छैनन्। 

जसरी नेताहरूलाई आफू पछिको पुस्ता निर्माण नगरेको, कार्यक्षमता अनि उमेरजन्य अवस्थाका कारण सक्रिय हुन नसके पनि पदको लोभमा नछाडेको आरोप लाग्छ नि नेपाली पत्रकारितामा पनि, त्यो देखिदैन र ? 

‘अडियन्स’जता मिडिया पनि ‘त्यता’

सन् २००६ देखि हो मैले मिडियामा काम गर्न थालेको। सुरुवातमा कालिका एफएममा अंग्रेजी गीत बजाउने काम गर्थेँ। पछि हिन्दी गीत बजाउने कार्यक्रममा कार्यक्रम प्रस्तोता भएर काम गर्न थालेँ। ‘तिम्रो स्वर बोल्ड छ’ भनेपछि समाचार भन्न थालियो। रिपोर्टिङ त मैले गरेको थिइनँ। पछि कान्तिपुर एफएममा काम शुरु गरेँ। रेडियोपछि टेलिभिजनको यात्रा शुरु भएको हो। 

नेपाली टेलिभिजन पत्रकारिताको इतिहास उति लामो छैन। नेपाल टेलिभिजनले एक हिसाबको पत्रकारिताको अभ्यास गर्यो। पछि निजी टेलिभिजनहरू खुल्न थाले। निजीले टेलिभिजनले अलग खालको पत्रकारिताको अभ्यास गर्यो। 

भिडियोमा आउने भनेकै टेलिभिजन थियो। अहिले त भिडियो समाचारको एकाधिकार टेलिभिजनमा मात्र रहेन। 
भिडियोको प्लेटफर्महरू धेरै विस्तार भएका छन्। तर अहिले आएका सबै भिडियो जसले समाचार दाबी गरिरहेका हुन्छन्। ती पत्रकारिताको आचारसंहिता अनुसार छन् त ? सोसल मिडियामा आउने भिडियो क्लिपै हो त टेलिभिजन पत्रकारिता ?अहिले समस्या देखिन्छ। 

दृष्यमा के देखाउनु हुन्छ अनि के देखाउनु हुन्न भन्नेसम्म ज्ञान नभएकाहरू हाबी भएका छन् यूट्युबमा। त्यसको मार पत्रकारिता गरिरहेकाहरूले भोगिरहेका छन्। 

पाठकलाई पनि कसैको प्रेररणदायी अन्तर्वार्ता टेलिभिजनमा १ घण्टा समय दिएर हेर्ने धैर्यता भए जस्तो देखिँदैन अहिले। लामो प्रक्रिया पूरा भएर बनेको समाचारभन्दा घर झगडाको भिडियोमा अडियन्स झुमेको देखिन्छ। 

समाज नै प्रतिक्रियात्मक देखिन्छ हाम्रो। त्यसैअनुसार कन्टेन्ट आउने नै भयो। जसले गर्दा अहिले जुनसुकै माध्यमका नेपाली मिडिया पनि जता अडियन्स त्यतै लहसिएका हुन् कि जस्तो देखिन्छ। टिक्ने हैन, अहिले बिक्ने कन्टेन्टतिर मिडिया लहसिएका छन्। 

लाइक, कमेन्ट, शेयर र भ्युजतिर लागेपछि न्युज न्युज बन्दैन। भ्युजको लोभमा न्युज मरिरहेका छन्। 

दर्शक-पाठकहरू पनि अलमलमा देखिन्छन्। पाठक रुमल्लिए पनि हामी रुमल्लनबाट जोगिन सक्नुपर्ने हो। रुमल्लिएका पाठक र दर्शक अनि स्रोतालाई यो हो बाटो भनेर पछ्याउनुपर्ने हो मिडियाकर्मीले। 

तर हामी मिडियाकर्मी पनि अल्छी भयौँ। समाचारका स्रोत यति धेरै छन् कि कुन ‘रिलायबल’ हो कुन होइन भन्ने छुट्टयाउन पनि गाह्रो हुन थालेको छ। 

बजारले के खोज्छ भन्नेतिर हैन खास समाचार के हो भन्ने पछ्याउनुपर्ने हो। तर त्यो देखिन्न। कुन खाध्यान्न मात्र हैन सामग्री पनि स्वस्थकर र अस्वस्थ हुन्छ नै। हाम्रा कन्टेन्ट त सीधा मानसिक स्वास्थ्य र समाजको व्यवहारमा प्रभाव पार्ने हुन्छ। तर सामग्रीको स्वास्थ्यमा जति ध्यान जानुपर्ने हो जान सकेको देख्दिनँ। 

बजारले खोजेको कन्टेन्ट मात्र दिन थाल्यौँ भने त पत्रकारिता मर्छ। भ्युजको पछि मात्र दौडँदा दुर्घटना हुन्छ। अहिले भइरहेको यही हो। 

भ्युज मात्र हेर्ने हो भने त पोर्न मुभीतिर बढी छ नि होइन ? त्यसो हो भने किन न्युज देखाएर बस्नु त ? यसले पनि न्युजको महत्व भ्युजमा पनि हुन्न भन्ने देखाउँछ नै। भ्युज हैन विषय प्रधान हो। तर अहिले प्रतिस्पर्धा भ्युजमै छन्। जुन कारण अस्वस्थ सामग्री, अस्वस्थकर विचार हाबी भएका छन् समाचारमा। त्यसको प्रभाव समाजमा पनि देखिइसक्यो। 

मिडियाका कार्यक्रम सतही भएकै हो 

माध्यम बढेसँगै समाचारको त बाढी नै आइरहेको छ। टक शोहरू पनि उत्तिकै छन्। केही मिडियाले साच्चैको लोभलाग्दो कार्यक्रम पनि बनाइरहेका छन्। तर यस्तो आहा भन्ने कार्यक्रमहरू निकै कम छन्। 

अहिले स्पोन्सरबिना कार्यक्रम चल्नै नसक्ने अवस्थामा पुगिसकेका छन्। जस्तोः तपाईंले कुनै भिडियो कार्यक्रम बनाउनुभयो भने त्यसमा ठूलो खर्च लाग्छ। भिडियो खिच्नेदेखि रिपोर्टिङ, सम्पादन र प्रस्तोतासम्ममा खर्च हुन्छ। 

एउटा कार्यक्रम बन्न धेरै जनाको लगानी हुन्छ। त्यसका लागि खर्चको वैधानिक स्रोत त चाहिन्छ नै। नेपालमा अहिले स्पोन्सरको उस्तै अभाव छ। 

विदेशतिर राम्रो रिपोर्टरले गरेको स्टोरी छ भने तपाईंले उहाँको कामलाई सपोर्ट गर्नुहुन्छ भने, उहाँलाई सहयोग गर्नुस् भनेर खुलेआम भनिएकै हुन्छ। हाम्रोमा यो सम्भावना छैन। स्वस्थ सामग्रीलाई प्रोत्साहन गर्ने दायित्व समाजको पनि हो। तर हाम्रो समाज त्यता जिम्मेवार देखिएको छैन। 

अहिले अन्य माध्यमजस्तै टेलिभिजन पत्रकारिता पनि खस्किएको छ। सत्य यही हो। सत्य लुकाएर लुक्दैन। यसमा स्रोत साधनको कमीसँगै पत्रकारहरूमा मिहिनेत गर्ने बानीमा आएको परिवर्तन पनि कारण हो। 

लगानी नभएपछि मिहिनेत कम हुन्छ। मिहिनेत कम भएपछि गुणस्तरीय हैन, सतही नै कार्यक्रम बन्छन्। त्यसैले होला अहिले सतही कार्यक्रमकै दबदबा छ। 

धेरैले टक शोमा सतही प्रश्न बढी भए भन्ने गुनासो गरेको पनि सुनिन्छ। यसलाई एक पक्षबाट मात्रै हेर्नुहुँदैन। पहिलो टक शो लिने अधिकांशले विषयवस्तुको एकदमै कम ज्ञान भएको देखिन्छ। दोस्रो अन्तर्वार्ता दिने पनि उस्तै विज्ञ मात्र हुँदैनन्, तेस्रो अडियन्सले पनि गहिरो कुरा गर्ने भन्दा सतही कुरा गर्ने नै रुचाउने गरेका छन्। 

कार्यक्रम सञ्चालकले अलि गम्भीर विषयमा विज्ञसँग बहस गरेको कार्यक्रममा भ्युज आउँदैन। सतही कार्यक्रम जसमा हलुका प्रश्न अनि हलुकै जवाफ मात्र हुन्छन् त्यही भाइरल भइदिन्छ। अनि कार्यक्रम सञ्चालकमा पनि दबाब बढ्छ। 

अनि देशको अर्थतन्त्र, पार्टीको लाइनबारे भन्दा तपाईंको र फलानो नेताको सम्बन्ध कस्तो हो भन्ने प्रश्नहरू हाबी हुन्छन्। भएको यही हो। 

समाज पनि फलानोले यसो भन्यो ढिस्कानोले यसो भन्यो भन्नेमा धेरै अल्झेको छ। पत्रकारिता पनि त्यस्तै फलानो र ढिस्कानोमै अल्झियो। 

संख्या हेर्दा मिडिया मोटाएको देखिन्छ। टन्नै छ संख्या। तर मिडियाको स्वास्थ्य हेर्दा भने यो प्राकृतिक रूपमा मोटाएको भन्दा पनि सुन्निएको पो हो कि जस्तो लाग्छ मलाई त। 

हामीले नै हो सुधार्ने

पत्रकारिता क्षेत्रको अहिलेको मूल समस्या जनशक्ति अभाव नै हो। पत्रकारिता प्यासन हो। यो प्यासन शब्द भन्नलाई भनिएको हैन। जोसँग प्यासन हुन्न नि त्यो टिक्न सक्दैन। 

पत्रकारिता पढ्दा मात्र क्षमता र दक्षता बढ्ने हैन, पढाइसँगै यसका व्यवहारिक पक्षहरू पनि धेरै छन् जसबारे पत्रकार जानकार हुनुपर्छ। यसका लागि तालिम चाहिन्छ। 

तर नेपालमा पत्रकारहरूलाई दिने तालिमै कम छ। जति तालिम चल्छन्, ती क्षमता बढाउने भन्दा पनि औपचारिकता निभाउने खालको बढी भयो। 

अहिले प्यासनसहित जनशक्ति पनि मिडियामा कम आउन थाले। दक्ष जनशक्तिको संख्या कम छ। जति छन् तानातानमा छन्। 

एकै पत्रकार धेरैतिर तानातानमा पर्दा म त खतरै पत्रकार हुँ भन्ने भ्रम पनि बढेको देखिन्छ केही पत्रकारमा। सेवा सुविधाको अभावले पनि प्यासन भएकाहरू मिडियामा नआएका हुन्। केही आए पनि टिक्न सकेनन्। 

जबसम्म पत्रकारमा प्यासन हुन्न, अनि लगानीकर्ताले सेवा सुविधामा ध्यान दिँदैनन् तबसम्म पत्रकारिता योभन्दा राम्रो हुने संकेत देखिँदैन। 

मिडियामा लगानी बढाउनैपर्छ। पत्रकारहरूको सेवा सुविधामा पुनर्विचार हुनैपर्ने अवस्था छ। अहिले गर्नुपर्ने खोजी पत्रकारिता हो तर यस्तोमा कताबाट खोजी पत्रकारिता फस्टाउँछ ! 

मोबाइल बोक्ने बितिक्कै पत्रकार, युट्युबमा भिडियो हालेकै भरमा चर्चित। अनलाइन दर्ता गर्नासाथ सञ्चालक, आचारसंहिता भनेको के हो भन्ने थाहा नभए पनि पत्रकार। थाहा हुनेले नमाने पनि पत्रकार। भद्रगोलै छ। 

अहिलेको समस्या नै यही लहलहैमा मिसिने हो कि मिडियाको कर्म निर्वाह गर्ने भन्ने नै हो। 

नेपालको न्युज रुममा सिकाउने संस्कारसमेत हराउँदै गएको देखिन्छ। अग्रज पुस्ताले नयाँ पुस्तालाई हिजोमा दिन जसरी ग्रुम गरेको देखिन्थ्यो अहिले त्यो देखिन्न।

अग्रज पुस्तासँग चुनौतीको सामना गरेको अनुभव छ। नयाँ पुस्तासँग अहिलेको नयाँ प्रविधिको ज्ञान छ। यी दुवैको मिलन भयो भने पत्रकारितामा तीव्र सुधार सम्भव छ। 

कोही बाहिरबाट आएर सुधार गर्ने पनि हैन। पत्रकारिता क्षेत्रको सुधार गर्ने, गलत बाटोमा हिँडेको छ भने सही ट्रयाकमा ल्याउने यही क्षेत्रकाले नै हो। यसमा अग्रज र नयाँ पुस्ताबीचको सहकार्य भने आवश्यक पर्ने देख्छु। 

(कालिका एफएम, कान्तिपुर टेलिभिजनमा काम गरिसकेकी थापा अहिले एपीवान टेलिभिजनमा आबद्ध छिन्। उनैसँग टेलिभिजन पत्रकारिताबारे उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानी)  

चौथो अंगका पुराना श्रृंखला 

 
 

२३ साउन, २०८०, १८:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।