चौथो अंग : पत्रकार डराएर बस्ने जात होइन, दरबार हत्याकाण्डको खोजविन गरे हुँदैन?

चौथो अंग : पत्रकार डराएर बस्ने जात होइन, दरबार हत्याकाण्डको खोजविन गरे हुँदैन?

केही समयअघि एक ठूलै पत्रिकामा एउटा लेख आयो। लेखको सार थियो, ‘पृथ्वीनारायण शाहले मकवानपुर जितेपछि मधेसको दासत्व सुरु भयो।’ फेरि त्यही व्यक्तिले सोही पत्रिकामा लेख्नुभयो, ‘जंगबहादुरले पश्चिमका ४ जिल्ला अंग्रेजबाट ल्याएपछि थारुहरूको अधोगति सुरु भयो।’ यो तथ्यपरक छ त?

लेखकले पृथ्वीनारायण शाहले जित्नुभन्दा अघि दासत्व थियो थिएन खुलाउनु भएको छैन। अनि जंगबहादुरले ४ जिल्ला ल्याएपछि थारुहरूको उच्च स्थान थियो थिएन पनि खुलाउनु भएको छैन।

सुरुआतदेखि नै हो नेपाली मिडियालाई टिक्न गाह्रो। पञ्चायतकालमा सरकारी पत्रिकाबाहेक अन्यको मिडिया कति समय टिक्छन् भन्ने नै थाहा हुँदैनथ्यो।

यस्तो आधारहीन कुरा पत्रिकाहरूमा किन छापिन्छ? भन्न त पत्रिकाले ‘लेखकको विचार निजी हुन्, लेखककै जिम्मा’ भनेर पन्छिन्छ तर पत्रिकामार्फत तथ्यभन्दा मनगढन्ते कुरा प्रकाशित भएको जिम्मेवारी सम्पादकले नलिए कसले लिने? नयाँ विचार आए भन्दैमा जे पनि छाप्न मिल्छ?  

कुनै नयाँ तथ्य आएको छ भने बहस सिर्जना गरेर पक्ष विपक्षलाई लेख्न लगाए भो, नत्र एकोहोरो इतिहास बंग्याउने लेखहरू आइरहनुको कारण के हो? हो, पत्रिकालाई अर्धसाहित्य अथवा हतारको साहित्य भनिन्छ तर आधारहीन कुरा मिडियाले छाप्दा इतिहास तथ्यभन्दा पनि भावना हुन जान्छ होइन? इतिहास तथ्य हो कि भावना? इतिहासमा जे हो त्यही लेख्ने हो न कि कसैलाई मनमा लागेको कुरा।

नेपालीको क्रयशक्ति नबढेर पढ्ने बानी नै भएन

म एक सालमा जन्मेको हो काठमाडौंको नक्सालमा। मेरा माइला बुबा शेषराज रेग्मी विद्वान हुनुहुन्थ्यो। घरमा गोरखापत्र आउँथ्यो। पढ्नलाई भारतको बनारस पुगियो।

माइला बुबाले, ‘हेर केटा पत्रिका पढ्नु पर्छ, दिनकै सकिंदैन भने हप्ताको दुई दिन आउने भए पनि पढ्नै पर्छ’ भन्नुहुन्थ्यो। त्यही पढ्दा पढ्दै पत्रिका पढ्ने बानी बस्यो मेरो। स्नातकोत्तर सकेपछि २०२३ सालमा मेरो लेख गोरखापत्रमा छापिन थाल्यो।

पछि विद्यावारिधि गर्न भारत बस्दा ‘टाइम्स अफ इण्डिया’ नियमित पढ्थें। यसले दुई कुरा फाइदा थियो, एउटा अंग्रेजी सुध्रिने अर्काे ‘करेन्ट अफेयर’बारे जानकारी हुने। 

पत्रिकालाई अर्धसाहित्य अथवा हतारको साहित्य भनिन्छ तर आधारहीन कुरा मिडियाले छाप्दा इतिहास तथ्यभन्दा पनि भावना हुन जान्छ होइन?

पञ्चायतकालमा खासै पत्रिका थिएनन्। ‘समीक्षा’, ‘गोरखापत्र’ र ‘नयाँ सन्देश’ पत्रिका पढ्थें। मेरो दाजु अमरेशचन्द्र रेग्मी झन् धेरै पत्रिका पढ्नुहुन्थ्यो। सानैमा अखबारको बीचमा हुर्किएको म पछि अखबारकै सम्पादक पनि भएँ।

‘नेपाल एन्टी क्वेरी’ भन्ने पत्रिका निकाल्थें मैले। एउटा साथी थियो उधारोमा काम गरिदिन्थ्यो। अहिले यो पत्रिका बन्द भइसक्यो। 

सुरुआतदेखि नै हो नेपाली मिडियालाई टिक्न गाह्रो। पञ्चायतकालमा सरकारी पत्रिकाबाहेक अन्यको मिडिया कति समय टिक्छन् भन्ने नै थाहा हुँदैनथ्यो। मदनमणिजीले भन्नुहुन्थ्यो, ‘समीक्षा चलाउन २०० बिघा जग्गा सकें।’

उहाँले विज्ञापन पाउनु भयो जस्तो लाग्दैन। पत्रिका बेचेको पैसाले घर खर्च चलाउनु भयो जस्तो पनि लाग्दैन।

पञ्चायतकालकै बेलामा ‘सुरुचि’ पत्रिकाको सम्पादक हुनुहुन्थ्यो शिव अधिकारी। उहाँले ३५ सालमा मेरो अन्तर्वार्ता लिनु भएको थियो। उहाँले त्यतिबेला सोध्नुभयो, ‘संविधान परिवर्तन गर्नुपर्छ कि पर्दैन?’ भनेर। अनि मैले भनेको थिएँ, ‘यो संविधान बदल्नु पर्छ।’ यति बोल्न पनि ठूलो हिम्मत चाहिन्थ्यो त्यो बेला। 

अहिले परिस्थिति फेरियो। संविधानको धारा धारामा बहस गर्न पाइन्छ। पत्रपत्रिका पनि धेरै प्रकाशित छन्। मिडियाका माध्यम फेरिए। धेरैजसो इन्टरनेटमा आउँछन्। तर अझै पनि नेपालीको क्रयशक्ति बढ्न सकेन अनि पढ्ने बानी भएन। 

राष्ट्रप्रमुखको सपरिवार मारिनु सानो घटना थिएन। देशका प्रधानमन्त्री र राष्ट्रप्रमुखको सुरक्षाको लागि हजारौं संख्यामा रहेको सेनाले जिम्मेवारी लिएनन्।

धेरै जसो मिडिया अर्धशिक्षित र अशिक्षितले चलाएका हुन् कि जस्तो देखिन्छ। लेख्न, पढ्न जानेर मात्रै शिक्षित भइँदैन। विषयवस्तुको उठान, त्यसलाई पर्गेल्न सक्ने क्षमता, तथ्यको नजिक पुग्ने, इतिहासको चेत राख्ने जस्ता गुण पत्रकारमा हुनुपर्छ। यिनै गुणको अभाव हो कि जस्तो देखिन्छ पत्रकारमा। 

तर पत्रकारिता हाम्रो जस्तो देशको लागि आवश्यक चिज हो। महँगा महँगा पुस्तक किनेर पढ्न नसक्नेहरूलाई थोरै पैसामा पत्रकारले आफ्नो क्षमताले भ्याएसम्म सूचना दिएका छन्। सूचनाकै लागि भए पनि हामीले मिडिया पढ्ने, हेर्ने, सुन्ने गर्नै पर्छ।

पाठक चनाखो भए भने पत्रकारले धेरै खोज्ने हुन्। राज्यको चौथो अंग भनेर दावी गर्ने मिडियाले राज्यमा भएको घटनाको तथ्यपरक समाचार पस्कन सक्नै पर्छ।

पत्रकार भएर प्रश्न सोध्न डराउने होइन 

२०५८ सालमा दरबार हत्याकाण्ड भयो। राष्ट्रप्रमुखको सपरिवार मारिनु सानो घटना थिएन। देशका प्रधानमन्त्री र राष्ट्रप्रमुखको सुरक्षाको लागि हजारौं संख्यामा रहेको सेनाले जिम्मेवारी लिएनन्।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधानसेनापति प्रज्वल शमशेर जबरालाई कुन पत्रकारले प्रश्न सोध्न सके?पत्रकारले यस विषयमा खोजविन गर्नुपर्ने होइन?

खोज पत्रकारिताको ठूलठूला कुरा गर्ने पत्रकारले खै त राष्ट्रप्रमुखको परिवारको हत्या हुँदा खोजविन गर्न सकेको? भएको के हो पत्ता लगाउन नसक्लान् तर त्यतिबेलाका प्रधानमन्त्री र प्रधानसेनापतिलाई पत्रकारले प्रश्न सोधिरहनुपर्ने होइन?

अहिले पनि यसको फाइल पल्टाएर, व्यक्तिहरू भेटेर ‘के भएको हो?’ भनेर खोजविन गर्नुपर्दैन? पत्रकारहरूले त्यतिबेला प्रधानसेनापतिलाई प्रश्न सोध्न सकेनन्। 

प्रमाणसहित लेख आएको छ छैन भनेर लेख्ने कस्ले हो? लेखक जिम्मेवार हुन्छ भन्दैमा अन्टसन्ट त छाप्ने होइन होला नी?

अन्य देशमा तत्काल खोजी नभए पनि पछिसम्म अनुसन्धान तथा खोजविन गरिरहन्छन् पत्रकारले। हाम्रा कति पत्रकारले यसबारेमा अहिले पनि अनुसन्धान गरिरहेका होलान्?

इतिहास यति चाँडै बिर्सन मिल्छ? पत्रकारले यस्ता कुराको खोजविन गरिरहनुपर्छ। भोलि फेरि यस्तै घटना दोहोरियो भने के हुन्छ? पत्रकार डराएर बस्ने जात होइन दरबार हत्याकाण्डको खोजविन गरे हुँदैन? 

त्यस्तै पत्रकारहरूमा इतिहासको चेतको अभाव देखियो। अघि सुरुमै भने लेखकको लेखको जिम्मा पत्रकारले लिंदैनन्। अनि बहसको अर्काे पाटो रहन्छ, तथ्यहिन लेखको जिम्मा लेखक एक्लैको हो त? 

एउटा उदाहरण, एक जना लेखकको ‘जयप्रकाश मल्लको पतन भएपछि जनजातिको पतन सुरु भयो’ भनेर लेख आयो। मल्लहरू मिथिलाको ठाकुर हुन् भन्ने अर्काे तथ्य पनि छ।

यदि सम्पादकमा यो चेत हुन्थ्यो भने, जयप्रकाश मल्लको पतन पछि जनजातिको पतन भएको हो कि होइन? अन्य इतिहासकारहरू जसले प्राथमिक स्रोतको आधारमा रहेर पुस्तक छापेका छन् अथवा अनुसन्धान गरेका छन् उनीहरूलाई लेख्न लगाउँथे। यो देखिएन।

प्रमाणसहित लेख आएको छ छैन भनेर लेख्ने कस्ले हो? लेखक जिम्मेवार हुन्छ भन्दैमा अन्टसन्ट त छाप्ने होइन होला नी? लेख अनुसार विशेषज्ञलाई देखाउने पो हो की? अथवा बहस सिर्जना गरेर अन्य लेखकलाई लेखाउने पो हो की? 

मैले पत्रकारहरूमा देखेको समस्या भनेको हो महत्वकांक्षा भएन। अनि मिडिया व्यावसायिक भन्दा पनि लापरबाही भए। पत्रकारमा असल नियतको महत्वकांक्षा हुन जरुरी छ जसले किन पत्रकारिता गरिरहेको छु भन्ने उद्देश्य पहिचान गर्छ। अनि ‘मिसन’ पत्रकारिता सुरु हुन्छ। विकृति व्याप्त छन्। विकृतिलाई अन्त्य गर्ने पत्रकारिताको मिसन हुनैपर्छ। 

धेरै जसो मिडियाले राम्रै पनि गरेका छन्। मिडियाको नियमित आम्दानीको स्रोत छैन। किनेर पढ्ने नेपालीको बानी र क्रयशक्ति छैन। र पनि पत्रकारहरूले आफ्नो क्षमता अनुसार काम गरेका छन्।

आम पाठकबाट सूचना किनेर पढिदिने, पत्रकारलाई अझ बढी खोजविन गर्न प्रोत्साहित गर्ने काम हुनै पर्छ। यसको लागि मिडिया साक्षरता फैलाउन जरुरी त छ नै सो अनुसार पत्रकारको क्षमता पनि अभिवृद्धि गर्नुपर्ने देखिन्छ। 

त्रिभुवन विश्वविद्यालयमा लामो समय इतिहास, पुरातत्व, संस्कृति लगायतका विषयमा प्राध्यापन गराएका रेग्मीले ‘नेपाल एन्टी क्वेरी’ आफैंले सम्पादन तथा प्रकाशन गरेका थिए। उनले ‘नेपालको धार्मिक इतिहास’, ‘लिच्छवि संस्कृति’, ‘ब्राम्हणहरूको इतिहास’, ‘प्राचीन नेपालको एक इतिहास’ लगायतका पुस्तक पनि प्रकाशित गरेका छन्। उनैसँग उकेराका लागि ‘इतिहासकारको दृष्टिकोणमा नेपाली पत्रकारिता’ शीर्षकमा प्रजु पन्तले गरेको कुराकानी।

 

चौथो अंगका पुराना श्रृंखला 

५ भदौ, २०८०, १४:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।