बुवाको गीतको लय चोरी भएपछि बले भन्छन्- ‘कुरा उठाउँदा गुरुङ समाजको आडमा धम्की दिइयो’

बुवाको गीतको लय चोरी भएपछि बले भन्छन्- ‘कुरा उठाउँदा गुरुङ समाजको आडमा धम्की दिइयो’

काठमाडौं : एक दशकअघि रेकर्ड भएको राजेन्द्र लम्साल र नारायण रायमाझीले गाएको गीत ‘छोडेर आए म’को हुबहु ‘हावा सरर’लय मिलेको छ।

यस गीतको लय हुबहु मिलेपछि गायक राजेन्द्र लम्सालका छोरा सागर लम्सालले आपत्ति जनाएका छन्। उनले आफ्नो बुवाको लय सिर्जना तथा स्वरमा आएको गीत चिज गुरुङले लय भरेको ‘हावा सरर’मा मिलेपछि आपत्ति जनाएका हुन्।

उकेरासँगको कुराकानीमा लम्सालले गीत मिलेको विषयमा कुरा निकाल्दा गुरुङले धम्की दिएको बताए।

उनले भने, ‘मैले गीतको लय हुबहु मिलेको रैछ नि भनेर कुरा राख्दा उहाँ(चिज गुरुङ)ले अब गुरुङ समाजले जे गर्छ-गर्छ भन्ने धम्की दिनुभयो।’

एक महिनाअघि गायक चिज गुरुङको आफ्नै युट्युब च्यानलमार्फत ‘हावा सरर’ बोलको गीत रिलिज भएको थियो।

राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाएको ‘छोडेर आए म’ गीतमा कृष्ण उजाड पौडेलले संगीत भरेको छन्।  ‘हावा सरर’ बोलको गीतको लय ‘छोडेर आए म’सँग ठ्याकै मिलेको सुनिन्छ।

हुबहु मिलेको जानकारी गराउँदा ‘तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्, मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ’ भन्ने जवाफ आएको बताए।

यता संगीतकार चिज गुरुङले आफूहरूले यसबारे छलफल गरिरहेको भन्दै उकेरासँग भने, ‘अहिले यसै विषयमा छलफल भइरहेको छ। तपाईंलाई भरे जानकारी गराउँछु।’

कलाकार लम्सालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सर्जकको हक हितका बारेमा नबोलेको समेत आरोप लगाएका छन्।

उनले भने, ‘गीत चोरिएको बारेमा स्रष्टाका पक्षमा बोल्ला भन्ने आशा राखेको थिएँ। तर यो विषयमा प्रतिष्ठान मौन छ। मैले यसबारेमा प्रतिष्ठानका अग्रजहरूलाई जानकारी गराइरहेँ, तर थाहा छैन प्रतिष्ठानले कहिले सुन्ने हो?’

२५ बैशाख, २०८१, १२:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।