जुम्लामा आफूलाई लखेटेको भनिएपछि ज्योति : 'ज्ञानेन्द्र शाहीका भक्तहरूले भ्रम फैल्याए'

जुम्लामा आफूलाई लखेटेको भनिएपछि ज्योति : 'ज्ञानेन्द्र शाहीका भक्तहरूले भ्रम फैल्याए'

काठमाडौं : गायिका ज्योति मगरका कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति हुने गरेको छ। उनको गायन भन्दा पनि स्टेजको प्रस्तुतिलाई दर्शकले खुब मन पराउने गरेका छन्। त्यसैले त खचाखच दर्शक उनको प्रस्तुति हेर्न स्टेज पुग्ने गर्छन्। 

तर, ज्योतिको स्टेज प्रस्तुतिका क्रममा कयौं यस्ता घटनाहरू पनि भएका छन् जहाँ उनीमाथि ढुङ्गा तथा बोतल प्रहार भएका छन्। 

आइतबार जुम्ला पुगेकी उनीमाथि युवाहरूको जमातले हंगामा मच्चाएपछि झडप भएको थियो। झडप हुँदा प्रहरीले लाठी चार्ज गर्नु परेको थियो। झडपमा ज्योतिले ढुंगामुडा खाएको समाचार बाहिरिएपछि उनले स्पष्टीकरण नै दिएकी छन्। 

‘भएको के हो भने, १० हजार भन्दा बढीको मासको उपस्थिति थियो। मैले गीत गाउँदै गर्दा दर्शकहरू नाच्न र झुम्न थाल्ने। त्यसैक्रममा यहाँ भएका साना–साना बच्चा र महिलाहरू च्यापिन थालेपछि प्रहरीहरू भिडमा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्नुभयो, नाच्न नपाएपछि केटाहरूले प्रहरीलाई ढुंगा हान्न थाले र एकछिन माहोल बिग्रेको हो,’ उनले सामाजिक संजालमा लेखेकी छन्। 

उनका अनुसार करिब आधा घन्टा म्युजिक अफ गरेपछि फेरि माहोल साम्य भएको थियो।

उनले आफूले १० हजार दर्शकमा गीत गाउँदा कसैले ढुङ्गा हान्छ भने खान तयार रहेकोसमेत बताएकी छन्। 

उनी भन्छिन्, ‘यदि म माथि ढुंगामुडा भएको भए नि म त खुशी नै हुन्थे, किन था छ? बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो। दश हजार बढी दर्शकले पैसा तिरेर मलाइ हेर्न आउँछ भने त म त खुशी-खुशी ढुंगा नि खाइदिने हो।’

केही सञ्चारमाध्यममा दर्शकले लखेटेको समाचार लेखेपछि उनी आक्रोशित बनेकी छन्। उनी यतिमा रोकिएकी छैनन्। उनले आफ्नो बारेमा भ्रम फैलाउनेहरू र रमाउनेहरूलाई 'बिचरा' संज्ञा दिएकी छन्। 

उनी थप्छिन्, ‘अहिले आइरहेको समाचार मेरा हेटरहरूले फैल्याइरहेको भ्रम हो। उनीहरूले अरू त केही गर्न सक्दैनन्। भ्रम फैलाउने र भ्रममै रमाउने हुन्  बिचराहरू! अहिले स्टाटस र भिडियो क्लिप सेयर गरिरहेका कतिपयको प्रोफाइल हेरेको, कोही कोही आरिस गर्ने कलाकार र आरिस गर्ने सो कल्ड समाजसेवी देखेँ।’

उनले यो भ्रम फैल्याउने कार्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीका कार्यकर्ताहरूले गरेको आरोप लगाएकी छन्। 

‘कोही कोही चै उहीँ बिचरा ज्ञानेन्द्र शाहीजीका भक्तहरू, बाँकी थाहा नपाउने इनोसेन्ट पिपुल जो जे भने नि होला कि भनेर विश्वास गर्नेहरू।’

२४ बैशाख, २०८१, १४:३८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।