चौथो अंग : पत्रकार भएपछि अलि अल्टर भएर सोच्नुपर्‍यो, विज्ञप्तिको समाचार छापेर त के पत्रकारिता गर्नु!

चौथो अंग : पत्रकार भएपछि अलि अल्टर भएर सोच्नुपर्‍यो, विज्ञप्तिको समाचार छापेर त के पत्रकारिता गर्नु!

एक दशकअघि नागरिक दैनिकमा खर्च अभावका कारण रक्त क्यान्सरको उपचार नपाएका बालबालिकाको फिचर स्टोरी गरेँ। त्यो स्टोरीको शीर्षक ‘फूल्न चाहन्छन् यी कोपिला’ भन्ने थियो। बालबालिकालाई लाग्ने अधिकांश क्यान्सर उपचारपछि निको हुन्छ। तर लाखौँ खर्च गरेर उपचार गर्नुभन्दा अभिभावकहरू मन बाँधेर अर्को सन्तानको योजना बनाउने रहेछन्।

उपचार गर्न भन्दा अर्को जन्माउन कम खर्च लाग्ने भयो। यो रोगको खर्च महँगो छ। सबैले ८-१० लाख खर्च गर्न पनि सक्दैनन्। जसले गर्दा प्राय : निको हुने रोगबाट समेत बालबालिकाको ज्यान जाने भयो।

स्वास्थ्य उपचार यति महँगो भइसक्यो कि जो कोहीले उपचार गर्नै नसक्ने स्थिति छ। अहिले पनि स्वास्थ्य बिमा छैन। जसले गर्दा मृत्युको विकल्प छैन। पैसा नभएकै कारण निको हुने रोगबाट मर्न बाध्य हुनुपर्ने स्थिति छ।

स्वास्थ्य उपचार महँगो भएको हामी सबैलाई थाहा छ तर स्वास्थ्य बिमा जस्तो महत्त्वपूर्ण विषयमा जसरी बहस हुनुपर्ने हो त्यसरी हुन सकेन। यसका विभिन्न कारणहरूमध्ये स्वास्थ्य विषयमा पत्रकारिता गरिरहेकाहरूले प्राथमिकता नदिनु पनि हो।

स्वास्थ्य पत्रकारिता विषयमा हैन प्रशासनमा बढी अल्झेको छ। कुन रोग लाग्दा कति खर्च लाग्छ, त्यो व्यहोर्न सक्ने नेपाली कति छन्, कति चिकित्सकले कति बिरामी हेर्न सक्ने हो? एक चिकित्सक बराबर कति बिरामी, स्वास्थ्य उपकरण कति, कस्तो कस्तो छ भन्ने पक्षमा गहिरो गरी रिपोर्टिङ नै भएको छैन। हेर्नुपर्ने विषय त यी हुन् नि।

स्वास्थ्यको रिपोर्टिङ खाली खरिद, सरुवा बढुवा र टिप्समा अल्झियो। यसको अर्थ यी विषयमा लेख्नै हुन्न भनेको होइन। लेख्ने त हो तर स्वास्थ्य पत्रकार भइसकेपछि उपचार गर्दाका सकस, खर्चको बहस, सरकारको नीतिले पारेको प्रभाव, चिकित्सक–बिरामी अनुपात, कति जनसङ्ख्यालाई कति चिकित्सक चाहिने, कुन रोग फैलँदा कस्तो व्यवस्था गर्नुपर्ने हो भन्ने विषय पनि आउनु पर्ने हो नि। 

समाचार कक्षले पनि स्वास्थ्य पत्रकारितालाई टिप्स पत्रकारिताको रूपमा बुझ्छन्। यसो डाक्टरसँग कुरा गर्यो अनि कुन रोग लागे के गर्ने भनेर सरर लेख्यो। न आलोचना गर्नुपर्यो न अनुसन्धान। सम्बन्ध पनि नबिग्रने। यही कारणले पनि केही पत्रकारले स्वास्थ्य जस्तो गम्भीर विषयलाई टिप्सकारिता नै बनाइरहेका छन्।

कोभिडको संक्रमणकालपछि भने यो केही हदसम्म हट्यो। त्यो बेलामा स्वास्थ्यसँग जोडिएका गम्भीर समाचारहरू आए। तर पनि जसरी स्वास्थ्य पत्रकारिता भइरहेको छ मेरो दृष्टिमा त्यो स्वास्थ्य पत्रकारिता नै हैन।

प्रेस विज्ञप्ति नै मुख्य स्रोत !

म ग्रामीण विकास पढ्दै थिएँ, किशोर नेपाल भेट हुनुभयो। उहाँले काठमाडौँ बसेर ग्रामीण विकास पढेर हुँदैन, गाउँ बुझ्न गाउँ जानुपर्छ भन्नुभयो। उहाँले मत अभिमत नामको टेलिभिजन कार्यक्रम चलाउनुहुन्थ्यो। गाउँ-गाउँ गएर बहस गराउने कार्यक्रम भएकाले  त्यसमा म पनि काम गर्ने भएँ।

केही समय त्यहाँ काम गरेपछि उहाँले फेरि ‘यो साता’ भन्ने पत्रिका निकाल्नुभयो। त्यही पत्रिकामा मैले रिपोर्टिङ गर्न थालेँ। पछि  शुक्रवार साप्ताहिकमा जोडिएँ।

मेरो पत्रकारिताको सुरुवात अनुवादबाट भयो। त्यसपछि मनोरञ्जन लेख्न थालेँ। बिस्तारै अपराध, सामाजिक इस्यु, स्वास्थ्य, खेलकुदमा लेख्न थालेँ। अहिले मुख्य  स्वास्थ्य विषयमा रिपोर्टिङ गरिरहेको  छु।

हामीले अहिले जुन शैलीमा स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गरिरहेका छौँ त्यो पत्रकारिता नै हैन जस्तो लाग्छ मलाई।  कुन रोग लागे के खाने, कस्तो हुने, के उपचार हुन्छ, हल्काफुल्का लेख्यो सक्कियो। अनि स्वास्थ्य मन्त्रीका निर्देशन, को कहाँ सरुवा भयो भन्ने खालका प्रशासनिक विषय समाचार बन्थे।

कोभिडकालको केही समय त लास गन्ने काम मात्रै भयो। स्वास्थ्य रिपोर्टिङ सकेसम्म नयाँ रिपोर्टरलाई जिम्मा दिने हुँदा कोभिडकालमा स्वास्थ्य पत्रकारितामा संकटै आयो। के लेख्ने, अनि कसरी लेख्ने भन्नेमै अलमल भयो।

धेरै अफवाहहरू फैलिए, नेपाललाई भ्याक्सिनको प्रयोगशाला बनाउन लाग्यो भन्नेसम्मका कुरा आए। जडीबुटीबाट कोरोनाको उपचार गर्ने औषधी बनेको विषयसम्म समाचार बने। विश्वका शक्तिशाली देशले खर्बौँ लगानी गरेर रिसर्च गर्दा नबनेको औषधी नेपालमा सामान्य बोतलमा राखेर देखाउँदा पनि पत्याएर समाचार बन्नुले स्वास्थ्य पत्रकारितामा संलग्नहरूको विषयगत ज्ञानकोस्तर देखायो।

समाचार कक्षले बिस्तारै कन्टेन्ट व्यवस्थापन गर्दै लग्यो। त्यसपछि कति बिरामी बराबर कति चिकित्सक, कति बेड भएको अस्पतालमा कति आइसियु र भेन्टिलेटर चाहिने, रोग फैलँदा कसरी काम गर्ने भन्ने विषयहरू आउन थाले। कोरोनाभन्दा अगाडि यति गम्भीर रूपले खास रिपोर्टिङ भएको मलाई याद छैन। कोरोनाको सङ्क्रमण सक्कियो। अनि फेरि पुरानै शैलीका समाचार आउन थाले।

अहिले पनि हाम्रो स्वास्थ्य पत्रकारिता मन्त्रालय अथवा कुनै स्वास्थ्य संस्थाबाट निकाल्ने विज्ञप्तिमा बढी निर्भर देखिन्छ।सोधखोज गर्ने, अनुसन्धानमा आधारित, मेडिकल जर्नलहरू पढेर त्यसमा नेपाल सम्बन्धी विषय खोजेर लेख्ने कामै भएको छैन। कुनै अन्तर्राष्ट्रिय मिडियामा आयो भने अनुवाद चैँ गर्ने तर ओरिजिनल डकुमेन्ट पढेर नलेख्ने। यस्तो गरेर कति समय धानिएला?

जुनसुकै संकट भए पनि  संकटपछि सिर्जिने सबैभन्दा ठुलो समस्या नै स्वास्थ्यमा हो। त्यसलाई हल गर्नेगरि समाचार लेखे न त्यसको प्रभाव पर्ने हो! लेखिएको विषयमा त प्रभाव परेकै देख्छु।

हाम्रोमा कहिलेकाहीँ चिकित्सकले बिरामी मार्यो प्रकारका समाचार पनि आउँछन्। सकेँसम्म चिकित्सकले जुनसुकै बिरामीलाई बचाउनै उपचार गरेका हुन्छन्। तर

चिकित्सकले बिरामी मार्ने भन्ने नै हुँदैन। अन्तिमसम्म काम गरिरहेका हुन्छन् तर उपचारकोक्रममा मर्न सक्छन्।  उपचारमा केही गडबडी भयो भने उसलाई निगरानी गर्ने निकायलाई के आधारमा यो उपचार गरियो त्यो भन्नुपर्छ। हाम्रोमा विशेषज्ञ चिकित्सक धेरै छन् जसको उपचार सर्वोत्कृष्ट छ।

तर कसैले चिकित्सकले बिरामी मार्यो भन्ने दाबी गरेकै भरमा उपचार पद्धति नै नबुझी झ्याप्प छापिहाल्ने काम चैँ खास पत्रकारिता हैन। कसैले दाबी गर्यो भने विस्तृतमा नबुझी हुन्न। विस्तृतमा बुझ्दा उपचारकाक्रममा कुनै लापरबाही देखियो भने लेखे भइहाल्छ। तर उपचारकोक्रममा चिकित्सकको लापरबाहीले फलानाको मृत्यु भएको दाबी टाइपको समाचार हुन सक्दैन। यो स्वास्थ्य पत्रकारिताको सबैभन्दा ठुलो कमजोरी हो।

अझ चिकित्सक समेत कुटिएका छन्। एक छिन सोचौँ त, कुनै चिकित्सकले शल्यक्रिया गर्दा दायाँ बायाँ भयो भने कुट्छन् कि भनेर डराउन पर्यो भने कसरी काम गर्न सक्छन्! उपचारमा जोखिम त हुन्छ नि। शल्यक्रिया गर्दा केही एबनर्मल केस भयो भने त्यसलाई हटाउने उपाय पनि छन्। कहिलेकाहीँ त्यो उपाय अपनाउँदा अपनाउँदै पनि ठिक हुँदैन। अनि लौ मेरो मान्छे मार्यो भनेर कुट्ने?

चिकित्सक कुटिनुमा स्वास्थ्य पत्रकारिताको पनि कमजोरी छ। हामीले उपचारमा हुनसक्ने जोखिमबारे कहिल्यै गम्भीर सामाग्री नै लेखेनौँ। त्यसबारे समाज जानकारै छैन। अनि आइपर्ने यस्तै घटना हुन्।

चिकित्सकहरूले चिकित्सक कुट्नेलाई सिधै जेल हाल्ने कानुनको माग गरे। त्यो बेलामा अन्यलाई कुटे कुटपिटको मुद्दा तर चिकित्सक कुटे सिधै जेल भन्ने विवाद पनि आयो। यो विवाद अहिले पनि जारी नै छ।

हामीले राज्यका संयन्त्रहरू यत्ति पङ्गु बनायौँ की कसैले कसैको कुरा नै पत्याउँदैन। यस्तो माग गर्नुको कारण यही हो।

उदाहरणका लागि चितवनमा किशोरी सालीन मृत अवस्थामा फेला परिन्। उनका बाबुले छोरीको यौनांग भित्र घाउ भएको दाबी गरे। बाहिरको घाउ त देखियो होला तर यौनांग भित्रको घाउ कसरी देखे बाउले? कसैले प्रश्नै गरेनन्।

घटना दुःखद हो।  छोरी गुमाएको बाबुलाई अनेक शंका लाग्नसक्छ। तर उनलाई लागेको शंका सत्य जसरी समाचार बनाउनु त भएन नि। त्यसैको आधारमा बलात्कारपछि हत्या भन्ने समाचार फैलियो। पोस्टमार्टम रिपोर्टमा बलात्कार देखिएन। अब अझैँ शंका गर्ने?

बलात्कार भएको हो या हैन त्यो कसैको दाबीबाट पुष्टि हुन सक्दैन। त्यसका लागि चिकित्सकीय परीक्षणै हुनुपर्छ। यति त बुझ्नुपर्यो नि। यौनांग भित्र घाउ छ भनेर कसैले दाबी गर्दा पत्रकारले खरखर टिप्ने हैन कसरी थाहा भयो भनेर सोध्ने हो नि।

पत्रकार भएपछि अल्टर भएर सोच्नुपर्यो नि। अलिकति दिमाग त घुमाउनु पर्यो नि। विज्ञप्तिको समाचार छापेर त के पत्रकारिता गर्नु र!

समस्या एकातिर रिपोर्टिङ अर्कोतिर

सरकारले नर्सहरू विदेश पठाउने भनेर सम्झौता गर्छ। पत्रकार सम्मेलन गरेर जानकारी दिइन्छ। नेपालबाट यसरी नर्स बाहिर जान थाले भने यहाँको स्वास्थ्य संस्थामा जनशक्ती अभाव हुन्छ या हुन्न? उत्पादन भएका आधा भन्दा बढी नर्स बाहिर गए भने यो देशको स्वास्थ्य संस्थाको हविगत के होला? पत्रकारले प्रश्न सोध्दैनन्।

नेपालमा नर्सको सङ्ख्या कति छ? हरेक वर्ष कति नर्स उत्पादन हुन्छ अनि हाम्रो स्वास्थ्य संस्थामा कति माग छ भन्ने लेखिँदैन। मन्त्रीले बेलायतसँग १० हजार नर्स लैजाने सम्झौता गरेपछि राम्रो निर्णय भनेर समेत समाचार आए। १० हजार नर्स बाहिरिँदा यहाँ केही असर पर्छ कि पर्दंन भन्ने समाचार आएन।

अमेरिकामा ५ वर्ष पछि नर्सहरूको सङ्ख्या २५ प्रतिशतले गिरावट आउँदैछ। उनीहरूले हाम्रा जस्ता देशहरूबाट नर्सका परिवारलाई नै ग्रिन कार्ड दिएर लैजाँदै छन्।

त्यस्तै यहाँ उत्पादन हुने ५० प्रतिशत भन्दा बढी युवा चिकित्सक बाहिर गए, उतै काम गर्ने गरी। बाँकी पनि प्रक्रियामा छन्। यसले हाम्रो जनसङ्ख्या अनुसारको अनुपातको चिकित्सक नै हुँदैनन्।

स्वास्थ्यकर्मी अभावबारे  न सरकार बोल्छ न पत्रकारले लेख्छन्।  नीति निर्माताले यसलाई वास्तै गरेका छैनन्। नीति निर्मातालाई झकझक्याउन सक्ने पत्रकारले पनि इश्यु पिकअप गरेर लेख्न सकेका छैनन्।

नर्सहरू बाहिरिनुको विविध कारणमध्ये यहाँको न्यूनतम पारिश्रमिक पनि हो। त्यसबारे बल्ल कुरा उठ्न थालेको छ। यो अहिले उठ्नुको कारण उनीहरूको पलायनले पनि हो। जब नर्सहरू अवसर खोजेर अन्त जान थाले, यहाँ अभाव हुन थाल्यो अनि उनीहरूको श्रम शोषणको कुरा उठ्न थाल्यो।

नर्सहरू श्रम शोषणमा पर्नुको प्रमुख कारण चिकित्सक पनि हुन्। चिकित्सकको सफलतामा नर्सको भुमिका पनि हुन्छ। नर्सले समयमा औषधी खुवाएन भने, ब्लड प्रेसर राम्रोसँग नापेन भने चिकित्सकले मात्र बिरामी निको बनाउन सक्छन्? 

चिकित्सकहरूले आफ्नो सेवा सुविधा हेरे तर  नर्सको सेवा सुविधामा चासै दिएनन्। चिकित्सकहरू नबोलेर पनि हो नर्सहरू श्रम शोषणमा परेका। उनीहरु बोल्ने हो भने यति निरिह पारिश्रमिक हुने थिएन नर्सहरुको। 

यसमा पत्रकारिताको पनि दोष छ। हामीले कहिल्यै नेपालमा नर्सहरूमाथि भएको श्रम शोषणबारे ध्यानै दिएनौँ। हाम्रो ध्यान  नर्सको समस्यातिर जाँदै गएन।

अझै पनि अस्पतालका सफाइकर्मीको विषय उठ्न सकेको छैन। उनीहरूले फोहोर व्यवस्थापन गरेर न हो अस्पताल सफा हुने। त्यो फोहोर सफाइ गर्दा उनीहरूको स्वास्थ्यमा देखिने समस्याको रिपोर्टिङ त परको कुरा उनीहरूको सेवा सुविधाबारे समेत पत्रकारले चासो राख्दैनन्।

स्वास्थ्यका समाचार पढ्दा समस्या एकातिर छ रिपोर्टिङ अर्कैतिर भइरहेको छ जस्तो लाग्छ।

स्वास्थ्य पत्रकारको पढाइ नै पुगेन

हाम्रा स्वास्थ्य संरचना हेर्यौ भने आपत्कालिक अवस्थामा स्वास्थ्य समस्या पर्यो अथवा महामारी फैलियो भने ट्याक्कल कसरी गर्ने भन्ने त परको कुरा यो समयमा यो रोग फैलन्छ भन्ने पूर्व जानकारी हुँदा समेत योजनै नबनाई बसेको देखिन्छ।

मलाई अचम्म लाग्छ,स्वास्थ्य मन्त्रालय डाक्टर थन्काउने ठाउँ हो? अस्पतालको  व्यवस्थापक चिकित्सक हो?

जसरी मिडिया साहु र सम्पादक एकै हुँदा लगानीकर्ता भएको सम्पादकले ‘कम्प्रमाइज’ गर्नुपर्ने हुन्छ, अस्पतालमा पनि त्यही हुँदैन र?

राम्रो सर्जन, राम्रो काउन्सीलर, राम्रो उपचार गर्नेलाई मन्त्रालयमा थन्काउने की उपचार गर्न दिने हो? कति बिरामीले उपचार पाइरहेका छैनन्। यहाँ स्वास्थ्य संयन्त्रमा चिकित्सकलाई जगेडा बनाएर राखेका छन्। सामान खरिद हुने ठाउँ अनि प्रशासनिक निकायमा अनुभवी चिकित्सक राखिएको छ। यो त अल्झाउने काम मात्र भयो।

अस्पतालमा निर्देशक चिकित्सक नै बनाए पनि उ मुनी प्रशासन हेर्ने अर्कै कर्मचारी राख्दा हुन्न?

निजी अस्पतालले पनि निर्देशक राख्छ तर व्यवस्थापक अर्कै राख्छ। व्यवस्थापक त अर्को राख्नु पर्यो नि।

अर्को, जनस्वास्थ्यको कुरा हेर्ने काम पनि चिकित्सककै भइरहेको छ। जनस्वास्थ्य पढेकाले कुन क्षेत्रमा कुन रोग फैलियो, कतिलाई फैलियो, कहाँ उपचार गर्ने, कुन तहका बिरामी छन् यो सबै अनुसन्धान गरेर उपचारका लागि चिकित्सक खटाउने हो। चिकित्सक आफैँले यो काम गर्ने होइन।

स्वास्थ्य मन्त्रालयमा जनस्वास्थ्य पढेका व्यक्तिहरू नभएका होइनन्, छन् तर कुनै योजना भएको देखिँदैन।

यो समाचार बन्ने विषय हैन? किन गम्भीर विषय समाचार बन्दैनन् त? यसको एउटा कारण पढ्न नसक्नु पनि हो। स्वास्थ्य क्षेत्र प्राविधिक क्षेत्र पनि हो। यो क्षेत्रबारे जान्न अध्ययन जरुरी हुन्छ।

तर पत्रकारलाई विषय विज्ञ बनाउने गरी समाचार कक्षले उत्पादन गर्नै सकेको छैन। जति भएका छन् आफैँ पढेर भएका छन्।

नेपालका कुनै पनि मिडियाले रिर्पोटरलाई दक्ष बनाउँछु भनेर लगानी गरेकै देखिँदैन।

योजना बनाएर काम गर्ने मिडिया हाउस नै भएनन्। लगानीकर्तालाई समाचार कक्षबाटै कोही प्रधान सम्पादक बनाउनु पर्यो भने मान्छे नै भेट्दैनन्। कारण योजना बनाएर उत्पादन नगरेर त हो।

व्यवस्थापनले सम्पादकहरू परिवर्तन गरिरहेको देखिन्छ। तर  ‘ट्राई एन्ड फेल’ भइरहेको देख्छु म त। व्यवस्थापकले जता हल्लायो उतै हल्लिने भए सम्पादक।

मिडिया हाउसको अहिले आम्दानी घटिरहेको देखिन्छ। यसको अनेक कारण होलान्। तर मलाई चैँ मुलकारण उनीहरूले न्युज मार्केटिङ गर्नै जानेनन् भन्ने लाग्छ।

बजार बदलिइसक्यो। तर कन्टेन्ट सेल गर्ने शैली बदलिएन। समाचार पनि वस्तु समान हो। यसको विक्रीका लागि गुणस्तरसँगै मार्केटिङ पनि चाहिन्छ।

बदलिएको बजारको शैली अनुसार कन्टेन्ट सेल गर्न नजानेपछि आम्दानी कसरी बढ्छ? नेपाली पाठक कता छन्? त्यता हेर्नुपर्ने हो नि। तर हेरेको देखिँदैन। समाचार कक्षको नेता सम्पादक हुन्। सम्पादकले जस्तो रणनीति बनायो त्यस्तै उत्पादन हुने हो। यसमा कमजोरी देखिन्छ। यसको कारण सीमित स्रोत र साधन पनि हो जस्तो लाग्छ।

आलोचना मात्रै भयो जस्तो लाग्यो। मिडियाको  कामै छैन त भन्ने पनि लाग्न सक्ला। तर त्यसो होइन, माध्यम फेरिएला तर मिडिया मर्दैन। केही पपुलिष्टले मिडियाको खोइरो खने पनि आखिर उनीहरू पनि वैकल्पिक मिडिया बोकेर त हिँडेका छन् नि।

मिडियाको क्रेडिबिलिटि घटेको हो की जस्तो लाग्छ तर पानीको फोका हो। यसले खास फरक पर्दैन। किनभने आज पनि तथ्यसहितको समाचारको प्रभाव परेकै छ।

( यो साता, शुक्रवार साप्ताहिक, नागरिक दैनिकमा काम गरेका आचार्य अहिले कान्तिपुर दैनिकमा आबद्ध छन्। उनी विशेष स्वास्थ्य विषयमा रिपोर्टिङ गर्छन्। उनीसँग प्रजु पन्तले स्वास्थ्य पत्रकारिताकाबारे केन्द्रित भएर गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला 

२२ फागुन, २०८०, १९:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।