चौथो अंग : न त इक्युपमेन्ट दिन्छन्, न बेलैमा तलब, फोटो पत्रकारले धन्न काम गरिरहेका छन्

चौथो अंग : न त इक्युपमेन्ट दिन्छन्, न बेलैमा तलब, फोटो पत्रकारले धन्न काम गरिरहेका छन्

नेपाल वायुसेवा निगमको कर्णाली र गण्डकीमा बोइङ जहाज थियो सन् २००६ मा। आकाश भैरवको लोगो प्रयोग गर्छ निगमले। त्यतिबेला पनि  निगमको जहाज बिग्रिरहने हुन्थ्यो।  एउटा बोइङ बिग्रेको थियो। निगमका इन्जिनियर विभाग प्रमुखले सपनामा आकाश भैरवले कालो र सेतो बोका चढाएर पूजा गरे जहाज नबिग्रने बताएछन्। यो कुरा इन्जिनियर प्रमुखले आफू मातहतको निकायमा भने। अर्थ ब्यूरो प्रमुखले मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज बिग्रन नदिन कालो र सेतो बोका काटिँदै छ फोटो खिच्न सक्ने भए जाऊ भन्नुभयो।

जोसका साथ गइयो। निषेधित क्षेत्रमा बलिपुजा हुँदै थियो। संकटकालमा सहजै विमानस्थलभित्र छिर्न नपाइने भए पनि म मिलाएर गएँ। सुरक्षाकर्मी नभएको मौका पारेर पूजा भएको स्थानमा पुग्न पनि सफल भएँ। फोटो खिचियो। फोटो खिचेर निस्किँदा त्यहाँमध्येका एक कर्मचारीले याद गरिरहेका रहेछन्। उनी लगायत टोलीले र्याखर्याख मात्रै पारेन मोबाइल र क्यामेरा दुवै लगे अनि मलाई प्रहरीको जिम्मा लगाइयो।

त्यही प्रहरीलाई सबै कुरा भने अनि उसैको मोबाइल प्रयोग गरेर आफू निस्कने नसक्ने अवस्थामा रहेको बताए। पछि जरिवाना तिराए। म जरिवाना तिरेर निस्किएँ।

आफू त निस्किएँ तर क्यामेरा र मोबाइल आएन। पछि लिन जाँदा धेरै गाली खाइयो। सबै फोटो डिलिट गरेर क्यामेरा दिएका रहेछन्। रिकभर गर्ने उपाय त थियो। तर हुन्छ या हुन्न पक्का थिएन। रिकभर गर्दा एउटा फोटो फेला पर्यो। त्यो फोटो सहित समाचार प्रकाशित भएपछि हंगामा नै भयो। बलि पूजा गर्ने कर्मचारीलाई कारबाही पनि भयो।

यसो हेर्दा निषेधित क्षेत्रमा पत्रकार नजानु पर्ने हो। तर म गएँ। त्यो बापत जरिवाना पनि तिरेँ। तर त्यहाँ नहुनुपर्ने कुरा भइरहेको थियो। जहाज बिग्रनु र भगवान सपना आएर बलि दिए जहाज बिग्रँदैन भन्नु चरम अन्धविश्वास नै भयो नि त। कतिपय राम्रा कामको लागि निषेधित क्षेत्र पनि तोड्नु पर्ने हुन्छ। त्यसैले म गएको थिएँ।

फिल्डमा उत्रेर काम गर्नुपर्ने हुँदा महामारी आओस् की निषेधित क्षेत्र होस् भिड्न तयार भइहाल्नु पर्ने पेसा रहेछ पत्रकारिता। जति भिड्न र खट्न सक्यो उति राम्रो हुने पेसा हो। खट्ने सञ्चार गृहका लागि मात्रै हैन, आफ्नै लागि पनि हो। सञ्चार गृह त फेरिन सक्छ तर आफूले गरेको कामको पोर्टफोलियो त आफैँसँग रहन्छ। त्यसैले सञ्चार गृह माध्यम हो, प्रमुख काम त पत्रकारको न हो।

एउटा तस्विरले धेरै फरक पार्छ...

मैले पत्रकारिता सुरुवात गरेको सन् २००२ बाट हो। जनप्रहार साप्ताहिक थियो। क्यामेरा देख्ने बित्तिकै फ्याटफ्याट फोटो खिच्ने भएकाले जनप्रहार पत्रिकाको लागि काम गरेको थिएँ। छोटो समय काम गरेँ त्यहाँ। त्यसपछि पार्ट टाइम देशान्तर र पुरा समय राजधानी दैनिकमा काम गरेँ।

त्यतिबेला राजधानी दैनिकमा सिनियर फोटो पत्रकारहरू व्यवस्थापनसँग अलि टसलमसल परेको बेला थियो। मैले काम गर्ने मौका पाएँ। बिहानदेखि बेलुकासम्म धेरै फोटो खिचियो। त्यसपछि अन्य मिडियामा खेलकुदको फोटो खिँचे। त्यतिबेला क्रिकेटको अहिले जस्तो क्रेज थिएन। प्राय फोटो पत्रकारको नजर पर्दैनथ्यो। मैले भने क्रिकेटकै फोटो खिँचे। गल्फको पनि खिचियो। 

सशस्त्र द्वन्द्व चरम अवस्थामा पुगेको थियो। आन्दोलनहरू भइरहन्थे।  त्यति बेलाका फोटो पत्रकारले गोली र ढुंगा छल्दै फोटो खिच्नु त सामान्य नै थियो। र पनि फोटो पत्रकारमा प्यासन थियो। निरन्तर फोटो आइरहेकै थिए।

फोटो पत्रकारले इभेन्ट कभर त गर्ने नै भयो, फोटो स्टोरी पनि बनाउने हो। फोटोकै कारणले कसैको जीवन परिवर्तन पनि हुन सक्छ।

सिन्धुपाल्चोकतिर गएको बेला मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई दाम्लोले बाँधेर राखेको अवस्थाको फोटो खिचियो। यो फोटोले धेरैको ध्यान तान्यो। ती व्यक्तिको उद्धार भयो। कुनै संस्थाले उनलाई पशुको जिन्दगीबाट उद्धार नै गर्यो।

त्यस्तै अर्को फोटो पनि खिचेको छु। केही समय अघि चन्द्रागिरिमा पुराना ओलम्पियन खेलाडीको फोटो खिच्ने कुरा भयो। फोटो खिचेर गाडीमा फर्कँदै थियौँ। राती भइसकेको थियो। कीर्तिपुरबाट आइयो। एक स्कुटीले दुईवटा ह्वीलचेयरलाई गुडाउन सहयोग गर्दै आएको देखेँ। फोटो गाडीबाटै खिँचे। बल्खुमा आएपछि सोधेँ। उहाँहरू त अपाङ्गता भएका व्यक्तिको क्रिकेट खेलाडी हुनुहुँदो रहेछ। अन्तरदेशिय खेल भइरहेको रहेछ।

मिडियामा खासै आएको थिएन समाचार। सम्पादक पनि साथैमा भएकाले भोलिपल्ट हुने फाइनलमा फोटो, रिपोर्टर र सम्पादक खेल हेर्न जाने कुरा भयो। फोटोहरू छापियो। कसैको नजरमा नपरेको खेल सरकारको नजरमा पनि पर्यो। खेलाडीले एक-एक लाख पाए पनि। यसको अर्थ हामीले कुनै इश्युबेस फोटो खिच्यौँ भने कसैको जीवन बद्लिन्छ पनि। समाचारको आफ्नै ठाउँमा महत्त्व छ। तर तस्विरले धेरै कुरा बोल्छ। त्यसकारण जहिले पनि फोटो पत्रकारले एक्सट्रा फोटो खिच्ने हो। कसैले ख्यालै नगरेको कुरालाई प्राथमिकता दिने हो। 

फोटो पत्रकारका फोटोले धेरैको जीवन परिवर्तन गर्न सक्छ। कुनै पनि काम गरिसकेपछि प्रभाव परोस् भन्ने त लाग्छ नै। फोटो खिच्ने त हो नि भनेर हुन्न। फोटो पत्रकारमा समाचारको ज्ञान पनि हुनुपर्छ। न्युजसेन्स बढाउने बित्तिकै धेरै फरक काम गर्न सकिन्छ।

फोटो स्टोरी फोटो पत्रकार आफ्नै लागि हो

नेपालका सिनियर फोटो पत्रकारहरूले एउटा बेन्चमार्क बनाएका छन्। अहिले सक्रिय फोटो पत्रकारहरूले त्यो बेन्चमार्क भत्काउने प्रयास गर्नुपर्ने थियो। तर पहिलेको जति पनि फलो गर्न नसकेको हो की जस्तो देखिन्छ।

फोटो स्टोरी र फोटो फरक हुन्छ। फोटो पत्रकारले खिचेको फोटो र फोटोग्राफरले खिचेको फोटोमा फरक हुनै पर्छ। तर त्यस्तो हुन सकेको छैन।

अधिकांश फोटो पत्रकारले फोटोग्राफर जसरी फोटो खिच्छन्। जसले गर्दा फोटोमा समाचारै हुँदैन। फोटोग्राफरले खिचेकोमा मतलब भएन तर फोटो पत्रकारले खिचेको त केही दम हुनुपर्यो नि।

अहिले इक्युपमेन्ट पनि धेरै छन्। अनि सुविधा पनि धेरै छन्। तर फोटो खिच्ने कलामा फोटो पत्रकारले मिहिनेतै गर्नुपर्ने देखिन्छ।

फोटो त धेरै खिचिन्छ तर केही फोटो यस्ता हुन्छन् जसले फोटो पत्रकारलाई जीवन्त बनाउँछन्। त्यसमा फोटो स्टोरी पनि पर्छ। फोटो स्टोरी आफ्नै लागि हो। तर अहिले झ्यापझ्याप फोटो खिचेर १० फोटो भन्दै फोटो फिचरलाई फोटो स्टोरी भन्न थाले।

फोटो स्टोरीलाई त समय लाग्छ। एउटा उदाहरण दिन्छु। चरीमाया तामाङले बेचबिखनमा परेका महिलाको उद्धार गर्दै आउनुभएको थियो। मलाई त्यहाँ उद्धार भएका महिलाहरूको फोटो स्टोरी गर्न मन लाग्यो। लगातार ७ दिन सम्म धाएँ। तीन दिन मैले उहाँहरूले जे-जे काम गर्नुहुन्छ त्यही सहयोग गरेर बसेँ। तरकारी केलाउनेसम्मको काम गरेर बसेँ। जब उहाँहरू साथी जस्तो हुनुभयो त्यसपछि मेरो क्यामेरामा उहाँहरूको ध्यान गएन। अनि मैले उहाँहरूलाई पनि असर नपर्ने र फोटो स्टोरी पनि हुने गरी फोटो खिँचे।

प्राय फोटो स्टोरी गर्नेले धेरै समय बिताउँछन् एकै स्थानमा। बिताउनै पर्छ। फोटो पत्रकारमा धैर्यता हुनै पर्छ। धैर्यता भएन भने गतिलो काम हुन्न। झ्यापझ्याप फोटो त जसले पनि खिच्न सक्छ नि।

लेख्न त सबैले सक्छन्। तर लेख्न सक्ने हुँदैमा सबैले राम्रो समाचार लेख्छन् भन्ने हुन्न। फोटो पनि त्यस्तै त हो। अहिले त सबैको गोजीमा मोबाइल छ। फोटो खिचिरहेका हुन्छन् पनि। फोटो खिच्दैमा फोटो पत्रकार त हुँदैनन् नि। तर अब सामान्य व्यक्तिले खिच्ने फोटो र फोटो पत्रकारले खिच्ने फोटो उस्तै भएपछि भने के मतलब भयो र!

म दुई कार्यकाल फोटो पत्रकारहरूको साझा सङ्गठन पिजे क्लबको अध्यक्ष भएर काम गरेँ।  हामीले धेरै गर्न नसके पनि फोटो प्रतियोगिता आयोजना गरियो। यसले फोटो पत्रकारलाई धेरै राम्रो गर्यो। यस्ता अवसरहरू फोटो पत्रकारहरूले नछुटाएको राम्रो।

सञ्चार गृहको लागि कार्यक्रमको फोटो खिचेर दिनहुँ व्यस्त भएँ पनि १० वर्ष पछि मैले के गरेँ भनेर फर्केर हेर्दा ‘ज्या’ भन्ने हुनु भएन। यसमा नयाँ पुस्ताले ध्यान दिनुपर्ने देखिन्छ।

सञ्चार गृहमा समस्या छन् तर सुध्रनुको विकल्प छैन

ठूला मिडियामा काम गर्दा फोटो-भिडियो विभाग छुट्टै हुन्थ्यो। कान्तिपुर छँदा धेरै जना फोटो पत्रकारहरूसँग काम गर्न पाएँ। सिनियर फोटो पत्रकारहरूले कसरी काम गर्छन्, कस्तो एंगल दिन्छन् भन्ने नजिकबाट हेर्न पाएँ।

अहिले साना मिडिया धेरै भए। तर फोटो पत्रकारले न्युज रुममा सिक्ने अवसर पाएका छैनन्। साना मिडियामा एक-दुई जना मात्रै हुन्छन् जसले आफैँ सिके मात्रै हो। अरूबाट सिक्न पाएका छैनन्। सञ्चार गृहले पनि फोटो पत्रकारलाई तालिम लगायतको कुरामा केन्द्रित नै गरेका छैनन्। न त इक्युपमेन्ट दिन्छन्, न बेलैमा तलब आउँछ। धन्न काम गरेका छन्।

रिपोर्टरलाई कलम र डायरीसमेत दिने सञ्चार गृहहरूले फोटो पत्रकारका लागि भने सबै सामान आफैँ किन भन्छन्। न्यूनतम् पाँच लाख आफैंले लगानी नगरी फोटो पत्रकारै हुन सकिन्न। थोरै मिडियामा मात्रै कम्पनीकै क्यामरा छन्। आधारभूत आवश्यकताबाट नै वञ्चित छन् फोटो पत्रकार।

कोभिडकालमा म काम गरेको मिडियामा पत्रकारको तलब ५० प्रतिशत घटाउने एकलौटी निर्णय व्यवस्थापनबाट हुँदा विरोध गरियो। त्यति बेलाका सम्पादकले छाडेर समाचार प्रमुख सम्पादक बन्नुभयो।

उहाँ सम्पादक बन्नुभयो की साहुको कारिन्दा छुट्टाउनै गाह्रो भयो। सम्पादक भनेको साहुसँग समेत फरक मत राखेर समाचार र पत्रकारको लागि लागिपर्ने मान्छे हो भनेर बुझेका हामी जस्तालाई फेरिएको सम्पादकले सम्पादक भनेको साहुको कारिन्दा नै हो भनेर पुष्टि गर्न लागिपर्नु भयो। जस्लेगर्दा सँगै हिँडिरहने सहकर्मीलाई अनुपस्थित भनेर स्पष्टीकरण मात्रै सोधिएन कि लकडाउनका बेला सरुवा गरेर धनगढीमा हाजिर हुन उर्दी जारी गरियो।

सम्पादक यतिबिधि साहुसँग मिल्छन् भन्ने मैले सोचेकै थिइन। तर नसोचे पनि आफैंले भोगियो। क्या नमीठो लाग्यो। कुनै ब्यक्तीकाकारण पदकै अवमूल्यन भएको अनुभव भयो।

अहिले केही मिडियामा यस्तै समस्याहरू आइपरेका छन्। सञ्चार गृहको व्यवसाय धराशायी छ, पत्रकारले नबुझ्ने होइनन् तर पत्रकारको पनि मानमर्यादा राख्ने गरी छलफल भएर निर्णय हुनुपर्नेमा आफूखुसी निर्णय गरेपछि तनाव त हुन्छ नै।

यद्यपि एकाध सञ्चार गृहमा समस्या भएता पनि यो समस्या सधैं रहँदैन। अनि आफ्नो मयार्दा भुल्ने सम्पादक पनि सधैं रहँदैनन्। राम्रा सम्पादक पनि छन्। अहिलेको पुस्ताले प्यासनका साथ काम गर्ने हो, अहिले देखिएको समस्याले भाग्ने होइन।किनभने सञ्चार गृहलाई सुध्रनुको विकल्प छैन।

(जनप्रहार, देशान्तर, राजधानी, कान्तिपुर, दैनिकी, नागरिक दैनिक र अन्नपूर्ण पोष्टमा काम गरिसकेका कार्की पिजे क्लबको अध्यक्ष समेत भइसकेका छन्। हाल सिएमआरमा आबद्ध कार्की नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन्। उनीसँग फोटो पत्रकारिताको अनुभवबारे प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला 

२४ पुस, २०८०, २०:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।