कृष्ण मल्लको हिजोका कुरा : ‘चक्रव्यूह’का भयानक अशोक शर्मालाई प्रत्यक्ष देख्दा निराजन डराउनुभो, रानीले सम्झाउनैपर्‍यो

कृष्ण मल्लको हिजोका कुरा : ‘चक्रव्यूह’का भयानक अशोक शर्मालाई प्रत्यक्ष देख्दा निराजन डराउनुभो, रानीले सम्झाउनैपर्‍यो

फिल्म ‘बासुदेव’, ‘माया प्रिति’, ‘विजय पराजय’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका अभिनेता हुन् कृष्ण मल्ल। सिन्धुपाल्चोकको कोदारीमा ६८ वर्षअघि जन्मिएका उनले नाटक यात्राबाट फिल्ममा प्रवेश गरेका थिए। सानैबाट रेडियो नाटक सुनेका उनलाई काठमाडौं आएपछि नाटकतिरै लागे। आफैँले श्री समूह खोलेर २०३५ सालअघि नाटक देखाए।

२०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि उनी पनि सहभागी भए। त्यस बेला पृथ्वी जयन्तीको अवसर पारेर टेलिफिल्म ‘पृथ्वी नारायण शाह’ निर्माण गरेर उनको टिमले टेलिभिजनमार्फत प्रसारण गरेको थियो। त्यस समय नाटक, टेलिफिल्म तथा फिल्मप्रति राज परिवारको चासो थियो।

एक पटक सिटी हलमा राज परिवारले प्रिमियरमा सहभागी जनाउँदा अशोक शर्मालाई देखेपछि राजकुमार निराजन डराएर भागेको प्रसङ्ग समेत उनको मानसपटलमा ताजै छ। २०४१ सालतिर उनले नाटक खेल्ने सिलसिलामै शर्मिला मल्लसँग विवाह गरे। त्यसबारे रोचक किस्सा पनि उनले उकेराका नियमित स्तम्भ ‘हिजोका कुरा’ यसरी फुकाएका छन्।

बाल्यकाल
म जन्मिएको सिन्धुपाल्चोक कोदारी भन्ने ठाउँमा हो। त्यहाँ मैले बाल्यकाल बिताएँ। गाउँकै श्रीकृष्ण माविमा पढेको हुँ मैले। म सात/आठ वर्षको हुँदा एक जना विदेशी म्याडमले मेरो बुवालाई एक्लो छोरोलाई के सरकारी स्कुलमा पढाइरहनु भएको, काठमाडौंको आनन्दकुटीमा पढाउनुस् भनेर सुझाव दिइछन्।

उनको सुझावपछि बुवाले मलाई स्वयम्भूस्थित आनन्दकुटी बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो। त्यहाँ पढ्न थालेपछि मलाई त्यति मनमा उत्साह जागेन। घरि-घरि भागेर डेरामा आउथेँ। फेरि बुवाले मलाई स्कुल लगेर छोडिदिनुहुन्थ्यो। यहि क्रम चलिरहेको हुनाले फेरि बुवाले मलाई गाउँ नै लैजानुभयो।

मैले गाउँबाटै एसएलसी दिएको हो। त्यो बेलामा एसएलसी परीक्षा दिनका लागि काठमाडौं आउनुपर्थ्यो। चौतारामा एसएलसीको सेन्टर थिएन। त्यतिबेला हाम्रो ब्याचमा १२ जना केटै केटाले एसएलसी दिएका थियौँ। यो वि.सं. २०२८ सालतिरको कुरा हो। हाम्रो स्कुलबाट एसएलसी दिँदा केटीहरू एक जना पनि थिएनन्।

मैले एसएलसी सेकेण्ड डिभिजनमा पास गरेँ। त्यसपछि नेपाल युथ कलेजमा आइ एमा भर्ना भएँ। यो कलेज अहिले छैन। त्यतिबेलाको नेपाल युथ कलेज र पब्लिक कमर्स कलेज मर्ज भएर पब्लिक कमर्स कलेज भएको छ। आइ ए गर्दा भने केटीहरू अलि-अलि देखिन्थेँ।

ब्याचलर भने त्रिचन्द्र कलेजमा भर्ना भएँ। यहाँ चाहिँ देशैभरका विद्यार्थी हुने भएकाले केटा-केटी लगभग बराबरै थिए। यसअघि मैले पढेको स्कुल र कलेजमा कमै मात्रामा केटीहरूले पढेको देखेको थिएँ। त्यो समयमा अहिले प्रचार गरिएजस्तो केटीहरूलाई पढाउनु हुन्न भन्ने चाहिँ थिएन है!

‘रुपक’बाट अभिनयमा रुचि
मैले थाहा पाउँदा रेडियो नेपालबाट हरेक शनिबार ‘रुपक’ नामक कार्यक्रम आउँथ्यो। अहिले पनि कतिलाई त्यो कार्यक्रमको बारेमा थाहा होला। यो ३५ सालअघिकै कुरा हो। यो कार्यक्रम सुनेर झन् उत्साहित हुन्थेँ। तर, गाउँमा कसैले पनि नाटक गर्दैनथे। तर, रेडियोमा आउने ‘रुपक’ नामक कार्यक्रम भने त्यसबेला अधिकांशले सुन्थेँ। मलाई असाध्यै राम्रो लाग्यो।

त्यसैको उर्जाले होला त्रिचन्द्र कलेजको एनिभर्सरीमा मैले नाटक देखाउन पाएँ। ब्याचलर दोस्रो वर्षका सिनियरहरूलाई अनुरोध गरेँ। उहाँहरुले एकेडेमीबाट निर्देशक झिकाउनुभो। त्यसपछि ‘भोलि के हुन्छ’भन्ने नाटक कलेजमा मञ्चन गरियो। विजय बहादुर मल्लको नाटक थियो त्यो। त्यसमा एउटा मोहन भन्ने पात्र छ। त्यो पात्र भिलेनमा थियो। कतिपयले त्यो पात्रलाई मोहन शम्शेरको पात्र पनि भन्थे। त्यो नाटकको मोहन भन्ने पात्र मैले निर्वाह गरेपछि चर्चा बटुलेँ। मेरो वाही वाही भयो।

उनीहरूको समर्थनले मलाई झन् उत्साह जाग्यो। त्यहि समयमा फेरि जिए भन्ने गोदावरी एल्मुनाइले ‘इन्टरकलेज नाटक फेटिभल’ गथ्र्यो। त्यहाँ मैले ‘मरूभूमि’नामक नाटक मञ्चन गरेँ। यसबाट मैले बेस्ट एक्टरको उपाधि जितेँ। अर्गानाइजेसले इन्टर कलेज फेस्टिभलको आयोजनामा गरेको थियो। त्यो बेलासम्म मेरो ब्याचलर पनि सकिसकेको थिएँ।

अनि यता टियुमा मास्टरमा भर्ना भए। भर्ना मात्र भएँ, पहिलो सेमेस्टरको विभिन्न कारणले परीक्षा दिइनँ। त्यहि बेलामा ठ्याक्क के भयो भन्नु हुन्छ भने सत्यमोहन जोशी एकेडेमीको सदस्य सचिव हुनुहुन्थ्यो। एकेडेमीमा ‘पहाड चिच्याइरहेछ’भन्ने नाटक मञ्चन गर्न लागिएको रहेछ। वर्षमा एकचोटी नाटक हुन्थ्यो त्यहाँ, त्यो पनि राजालाई देखाउने।

सत्यमोहन जोशी लगायतको टिमले मलाई बोलाएर अभिनय गराउने कुरा भयो। त्यसपछि मैले एकेडेमीमा ज्वाइन गरे। यो नाटक हेर्नका लागि तत्कालिन राजा विरेन्द्र वीर बिक्रम शाहदेव आउनुभएको थियो। सत्यमोहन जोशीले लेख्नुभएको नाटक ‘जब घाम लाग्छ’ भन्ने प्रस्तुत गरियो। त्यो नाटक हेरेपछि सबैबाट थप तारिफ पाएँ।

त्यहाँ काम गर्दा दैनिक १० रुपैयाँ दिइन्थ्यो। पछि एकेडेमीमै सेक्सन अफिसरमा समेत सत्यमोहन सरले जागिरको लागि अफर गर्नुभएको थियो। के परिस्थिति प¥यो, कुरो बिग्रियो र मैले जागिर खाइनँ।

अहिलेका पूर्वमन्त्री सरदसिंह भण्डारीलाई अभिनय 
मैले अभिनय मात्र गरिनँ। केहि नाटकमा निर्देशकको भूमिका पनि निर्वाह गरेँ। ३६ सालमा मैले ‘अँध्यारामा बाँच्नेहरू’नामक नाटक निर्देशन गरेको थिए। उक्त नाटक कम्पिटिसनमा भाग लिनका लागि थियो। यस नाटकमा प्रदीप लोहनी र पूर्वमन्त्री सरदसिंह भण्डारी लगायतले अभिनय गरेका थिए।

मैले सरदसिंहलाई धेरै नाटकमा अभिनय गराएको छु। सरदसिंह मेरो कलेजदेखिको साथी हो। यो नाटकले दर्शकको मन जित्यो। यहि नाटकबाट मलाई उत्कृष्ट निर्देशक घोषित गरेर गोल्ड मेडल प्रदान गरिएको थियो। मैले हरेक सफलता हासिल गर्दै गएपछि एकेडेमीको जागिर खान मन लागेन। कलायात्रामा पाइरहेको सफलतामा नै रमाइरहेँ।

नाटकमा सफलता पाइरहेको बेला गायक नारायण गोपालले मलाई राष्ट्रिय नाचघरमा ‘क्रसमा टाँगिएको जिन्दगी’ नाटकका लागि अफर गर्नुभयो। यो नाटकमा खेलिरहेका कलाकार बाहिरिएपछि मलाई अफर गरिएको थियो। दैनिक रुपमा मञ्चन भइरहेको नाटकबाट अघिल्ला रात ती कलाकारले छोडेछन्।

छोडेपछि नारायण गोपालले मलाई अफर गरे, त्यो पनि स्क्रिप्टसहित। भोलिपल्टबाट नाटक खेल्नुपर्ने, अघिल्लो दिन स्क्रिप्ट हात पर्यो। त्यै पनि मैले दैनिक ज्यालादारीमा काम गरेँ, १५ रुपैयाँमा। यो २०३६ सालकै कुरा हो।

अरुले मेरो कान फुक्न थाले। ‘१०-१५ रुपैयाँमा काम गरेर हुँदैन, राष्ट्रिय पञ्चायतमा काम गर्नु’ भन्न थाले। त्यतिबेला मैले तीन महिना जागिर खाएर छोडेँ।

त्यतिबेला फिल्म सुटिङमा अलिक सहज
त्यो समयमा धेरै सुटिङ हुँदैनथे। ४५ साल अघिसम्म वर्षमा एउटा फिल्म बन्थ्यो। फिल्म निर्माण गर्दाको समयमा खासै प्रेसर हुँदैनथ्यो। सुटिङका लागि गाडी चाहिँदा जो कसैले दिन्थेँ। घरमा सुटिङ गर्छौं भन्दा आउनु भनेर दिइहाल्थे। त्यतिबेलाका प्रोडक्सन म्यानेजरहरू पनि अलिक चलाख हुन्थेँ र थिए पनि। यो फिल्म ‘माया प्रिति’को बेलाको कुरा हो।

त्यो फिल्ममा समावेश गीतको सिनमा ओपन हुने जिप कुदाउनुपर्ने थियो। आफूले चिनेजानेका कसैसँग पनि थिएन। प्रोडक्सन हेर्ने धिमाल जी थिए, नाम चाहिँ ठ्याक्कै बिर्सें मैले। उहाँ र म जिप खोज्न गयौं। डुल्दा डुल्दै पुल्चोकमा राणा परिवारको घरमा रहेको थाहा पाइयो।

त्यो घरमा पुगेपछि प्रोडक्सन म्यानेजर धिमालजीले ‘ओ राजा’ भनेर बोलाए। भित्रबाट कोही राणाजी आए अनि सोधखोज गर्न थाले। त्यसपछि धिमालजीले दिमाग चलाए र भने, ‘हजुर डिपी थापा हुनुहुन्छ नि, उहाँले तपाईंलाई जसरी पनि नमस्कार गरेर, हजुरसँग एउटा जिप छ। त्यो जिप चाहि लिएर आउनु भन्नुभएको छ।’

धिमालजीको कुरापछि ती राणाले अहिले बाहिर जान लागेको भनेर भनेँ। धिमालजीले हामी चढेर गएको कार छोडेर उनको जित लिएर आए। त्यसरी सुटिङ गरिएको थियो।

त्यो बेला पैसा पनि खोजेपछि पाइन्थ्यो। लोकेसनका लागि कुनै समस्या थिएन। रिलमा खिचेको भएता पनि असाध्यै मेहनत गरिन्थ्यो। वर्षमा एउटा फिल्म गर्नका लागि लामो समय लगाइन्थ्यो। अहिलेको जस्तो जताततै दौडिएर काम गरिँदैनथ्यो।

नाटककै कलाकार फिल्ममा 
त्यतिबेला नाटककै कलाकारहरूले अभिनय गर्थे फिल्ममा। फिल्म ‘बासुदेव’कै कुरा गरौँ। नाटकमा नै काम गरिरहेका कलाकारहरूलाई अभिनय गराइन्थ्यो। हरिहर शर्मा, सकुन्तला शर्मा, म लगायत अधिकांश नाटकबाट आए आएका कलाकारहरूले फिल्ममा काम गर्यौं।

त्यतिबेला अलिक उमेर ढल्किएका नाटकबाट आएका कलाकारहरू थिए भने अहिले त युवापुस्ता नै फिल्ममा आएका छन्। जस्तै दयाहाङ राई, सौगात मल्ल लगायत नाटकबाट नै फिल्ममा आएका कलाकारहरू हुन्। अरु-अरु कलाकारहरू पनि छन्। त्यतिबेलाको पनि स्कुलिङ भनेको नाटकघर नै थियो र अनुशासन भन्ने हुन्थ्यो। अहिले त त्यो अनुशासन भन्ने खासै पाउदिनँ।

जब अशोक शर्मालाई देखेर निराजन डराए
नेपालका राजपरिवारलाई फिल्म हेर्न मन लागेको खण्डमा दरबारमा नै मगाउने गर्थे। राजा विरेन्द्रका परिवारले धेरै नेपाली फिल्महरू मगाएर दरबारमा हेर्नुभएको छ। उहाँहरूले नेपाली फिल्मप्रति असाध्यै चासो राख्नुहुन्थ्यो।

एक पटक के भयो भने मेरो टेलिफिल्म ‘चक्रव्यूह’मा अशोक शर्माको रोल भयानक थियो। उनको त्यसमा नाम दीपक थापा। मैले दीपक थापा कुनै इन्टेन्सनले राखेको होइन।

तर, धेरैले त्यतिबेला दीपक बोहोरा र कमल थापा दुवैलाई जोडेर भिलेन बनायो भन्ने हल्ला थियो। कतिपयले त्यसको प्रतिमूर्तिका रूपमा अशोक शर्मालाई उभ्यायो पनि भने मलाई।

४५ सालतिर भृकुटी मण्डपमा टेलिभिजनको पनि एउटा स्टल थियो। त्यहाँ अधिकांश कलाकारहरूको उपस्थिति रहेको थियो। त्यतिबेला राजा विरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन लगायत आउनुभएको थियो। उहाँहरूलेसबै कलाकारहरूलाई नमस्कार गर्दै हालखबर सोध्नुभयो।

यता निराजन भने अशोक शर्मालाई देखेपछि डराएर लुक्दै भाग्नुभयो। निराजन भागेपछि ऐश्वर्यले म परिचय गराइदिन्छु आउ भन्नुभयो। उहाँ त कलाकार हो नि भन्ने कुरा गर्नुभएको थियो। जुन म हेरिरहेको थिए। मलाई के लाग्यो भने राजपरिवारका मान्छेहरूले पनि टेलिभिजन हेर्दा रहेछन्। उनीहरूले कलाकार सबै चिन्दा रहेछन् भन्ने लाग्यो।

त्यसको केहि समयपछि राजारानी सहित सिन्धुपाल्चोक मन्दिरमा पूजाअर्चना गर्न जानुभएको रहेछ। राजा विरेन्द्र र रानी ऐश्वर्यले सिन्धुपाल्चोक पुगेर मन्दिर दर्शन गर्न क्रममा सबैसँग बसेर परिचय गर्नुभएछ। परिचय गर्दा  कसैले मेरो बुवालाई कृष्ण मल्लको बुवा भनेर भनेर चिनाइदिनुभएछ।

‘ए उहाँ हिरो कृष्ण मल्लको बुवा हो?’ भन्नुभएछ। राजा रानीले कृष्ण मल्लको बुवा भनेपछि केहीबेर गफ गर्नुभएछ। मेरो बुवालाई राजपरिवारको मुखबाट छोराको नाम सुनेपछि औधि खुशी हुनुभएको रहेछ। मेरो भन्नुको मतलब राजपरिवारका हरेक मान्छेले कलाकारहरूलाई चिन्थेँ, माया गर्थे। उनीहरूमा कलाप्रति छुट्टै मोह थियो।

मेरो बुवाको चाहाना छोरो सरकारी जागिरे होस् या विदेश जाओस भन्ने थियो। तर, राजारानीले चिनेपछि उहाँले मलाई कहिल्यै त्यसो भन्नुभएछ। प्रशंसै गर्नुभयो।

शर्मिलासँग विवाह 
शमिलासँगको मेरो भेटघाट फिल्मभन्दा अघि नै भएको हो। ‘अध्याँरो उज्यालो’ भन्ने नाटकमा गर्नका लागि नायिका चाहिएको थियो। त्यतिबेला उनको विज्ञापन आएको थियो एभरेष्ट टुथपेस्टको। त्यसमा मैले निकै याद गरेको थिएँ। उनी पनि मेरो नाटकहरू हेर्न आउने गरेकी रैछिन् त्यसबेला।

खासमा उनी मबाट प्रभावित भएको चाहिँ रेडियो नाटक ‘रुपक’बाट रैछ अनि मैले उनलाई नाटकका लागि अफर गरेँ। परिच्छित ढुङ्गाना भन्ने हुनुहुनुथ्यो। उनलाई मैले बोलाउनका लागि पठाए। त्यहि नाटकमा काम गर्ने क्रममा नै हाम्रो भेटघाट बाक्लिन थाल्यो। त्यतिबेला डेटिङ जाने कुरा हुँदैनथ्यो।

हामी सबै साथीभाई एकै ठाउँमा हुन्थ्यौँ। त्यो एकान्तमा भेट्ने बोल्ने कहिलै पनि भएन। सोही समयमा एक दिन फिल्म ‘कान्छी’को लागि उनी सेलेक्ट भइनँ। केहि महिनाका कै लागि हाम्रो भेटघाट ब्रेक भो। बोलचाल हरायो। अहिलेको जस्तो फोन भाको भए छिनछिनमा कुरा हुन्थ्यो होला, त्योबेला थिएन।

फेरि नीर शाहले फिल्म ‘बासुदेव’को लागि अफर गर्नुभयो। उनलाई फिल्ममा अनुबन्ध गरेपछि म पनि यस फिल्मको हिरो थिए। त्यसपछि फेरि हाम्रो भेटभाट भयो। अनि फिल्म सुटिङ सकिएपछि ४१ सालमा फागुन १ गते बिहे गर्यौं। त्यो पनि पशुपतिमाथि डाँडामा रहेको मन्दिरमा। त्यसपछि एक-एक कप चिया खाइयो होला, त्यतिकैमा बिहे भयो। सारै सस्तो बिहे भएको हो हाम्रो।

वैशाख २१, २०८१ शुक्रबार १२:५१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।