चौथो अंग : कपि इडिटरलाई सम्पादकबाटै खतरा छ, सम्पादकले रणनीतिक तरिकाले समाचारमा आफ्नो विचार घुसाउँछन्

चौथो अंग : कपि इडिटरलाई सम्पादकबाटै खतरा छ, सम्पादकले रणनीतिक तरिकाले समाचारमा आफ्नो विचार घुसाउँछन्

कपि इडिटर यस्तो पद हो जसले रिपोर्टर र सम्पादक दुवैलाई मिलाउन सक्नुपर्छ। कहिले रिपोर्टर गनगन गर्ने कहिले सम्पादकले हात बाँध्ने गर्दा कपि इडिटरले सोचे जसरी काम गर्न पाएका हुँदैनन्।

दुई वटा उदाहरण दिन्छु, सार्वजनिक संस्थानका अमुक कर्मचारीलाई धेरै ग्लोरिफाइ गरेको समाचार आयो। त्यो समाचार जाने कुरा भएन। गएन पनि। भोलिपल्ट मेरो बिदा थियो। समाचार लेख्ने रिपोर्टरले मलाई फोन गरे। एक घण्टासम्म भएको संवादमा उनले त्यो समाचार ‘किन जानुपर्थ्यो, सम्पादकले नमानेको भए तपाईँजस्तो कपि इडिटरले मनाउन सक्नुपर्थ्यो’ भनेर धेरै नै गनगन गरे।

अधिकांश रिपोर्टरहरू आफूले लेखेका जस्ता समाचारमा पनि जानुपर्छ भन्ने धारणा बोक्छन्। समाचारको भाँति अनुसार लेखिएको त गइनै हाल्छ। तर, कसैलाई लछार्न अथवा अनावश्यक उचाल्नकै लागि लेखिएको समाचार त जाँदैन नि! यो कुरा रिपोर्टरले बुझ्न जरुरी छ।

त्यस्तै एकजना सम्पादक मन परेको रिपोर्टरको समाचार छ भने ‘ल भैगो है, उसको इस्यु मैले बुझेको छु, नहेरी हाल्देउ’ भन्नेसम्मका थिए। रिपोर्टरले चिया खानेबेला आफ्नो समाचारको गफ लगाउने अनि सम्पादकले बाइपास गरेर कपि इडिटरलाई हेर्नै नदिनेसम्म हुन्छ।

कपि इडिटरलाई सम्पादकबाटै खतरा
२०५७ सालमा हो मैले पत्रकारिता शुरू गरेको। ‘युगसंवाद’मा केही समय काम गरेपछि कान्तिपुरमा काम गरियो। कान्तिपुरले त्यतिबेला रिपोर्टर भइसकेपछि नाम पनि चल्ने, बाइलाइन जाने बानी लाग्ने हुँदा डेस्कमा काम गर्न शुरूदेखि नै ग्रुमिङ गर्नुपर्छ भन्ने रहेछ। त्यही बेला परियो।

म उप–सम्पादक भएर डेस्कको काम गर्ने भएँ। त्यतिबेला अहिलेको जस्तो कम्प्युटर थिएन। समाचार सम्पादन गर्दा रिपोर्टरले हातले लेखेका समाचारलाई कापी जाँचेको जसरी रातो कलमले सकेसम्म मिलाउने प्रयास गरिन्थ्यो।

उपत्यका बाहिरका समाचार फ्याक्समा आउँथे कति बुझिन्थे कति बुझिँदैनथे। एक वर्षपछि त कम्प्युटर आयो अनि सम्पादन गर्न पनि सजिलो हुँदै गयो।

खासमा म अहिले मेरो व्यक्तिगत कुरा भन्दा पनि समग्र कपि इडिटिङको कुरा गर्छु। समाचार कक्षमा रिपोर्टरलाई हाम्रो डेस्क राम्रो छैन भन्ने परेको हुन्छ। रिपोर्टरले बाइपास गर्न खोज्ने, रिपोर्टरको त्यही कुरामा सम्पादक सहयोगी भइदिनाले पनि रिपोर्टरको भनाइलाई पुष्टि गर्छ।

त्यसैले त लाग्छ, कपि इडिटरलाई सम्पादकबाटै खतरा छ। तर, केही समाचार सम्पादक यस्ता पनि छन्, जसले सम्पादककै स्टोरी पनि हेर्नुपर्छ केही अपुग हुनसक्छ भन्छन् र हेर्न लगाउँछन्।

खास पत्रकारिता समूहको काम हो। गेट किपर नहुँदा समाचार माझिँदैन। जुन मिडिया हाउसमा गेट किपर बलियो छ, त्यस मिडियाका समाचारको भाषा, शुद्धाशुद्धीको स्तर नै फरक हुन्छ। ठूला समाचार कक्षमा समाचार सम्पादकले मात्रै यो कुरा बुझ्यो भने समाचार कक्ष धेरै नै माथि जान्छ। नेपालका केही ठूला मिडिया यसरी नै माथि गएका हुन्।

हुन त समाचारमा विचार लाद्न हुन्न भन्छन् तर, आदर्श र व्यवहार फरक कुरा हो। हामीले हाम्रै समाचारहरू अलि गहिरिएर हेर्यौँ भने पनि त्यसमा विचार देखिन्छ नै।

एकजना प्रजातान्त्रिक झुकाव हुनुभएका सम्पादकले आफ्नो विचार रिपोर्टरले थाहा नपाउने गरी राख्नुहुन्थ्यो। उहाँको जोडबल भने ‘कुनै पनि दलगत संगठनमा बस्नुहुन्न’ भन्ने नै थियो। रिपोर्टरसँग साथीजस्तो व्यवहार गर्ने खालका सम्पादक पनि छन्। पत्रकार महासंघको जुन पाराको राजनीति छ, त्यसमा जानुहुँदैन भन्ने सम्पादक पनि हाम्रैमा छन्।

त्यस्तै अर्काथरी सम्पादक हुन्छन्, जो एकदमै कम बोल्छन् तर आफ्नो विचार रणनीतिक तरिकाले घुसाउँछन्। हाम्रा मिडियाका कन्टेन्टलाई ३० वर्षको राखेर तुलना गरौँ न, कस्को पालामा कस्तो समाचार आए कुन विचारधारालाई बढी प्राथमिकता दिइएको थियो प्रष्टै हुन्छ नि! सम्पादक मात्रै होइन रिपोर्टर पनि आफ्नो विचारधारा नछाड्ने हुन्छन्। यो एक प्रकारले समाचार कक्षसँग गरेको मौन विद्रोह पनि हो।

एउटा उदाहरण दिन्छु, प्रजातान्त्रिक विचारधाराका रिपोर्टरहरू हुनुहुन्थ्यो दुई जना। २०६२ सालमा राजा ज्ञानेन्द्रले शाही कु गरेपछि प्रतिनिधि सभाको बैठक चित्रलेखा यादवले कहिले प्रज्ञा प्रतिष्ठानमा त कहिले चौरमा बोलाउँथिन्। दुई रिपोर्टरले विघटित प्रतिनिधि सभा नलेखी ‘आज बसेको प्रतिनिधि सभा बैठक’ भनेर लेख्ने गर्थे। भलै त्यसलाई डेस्कमा बस्नेले ‘विघटित’ बनाउँथे। जति बनाए पनि उहाँहरू लेख्न छाड्नु हुन्थेन।

खास कपि इडिटर सेतु त हो रिपोर्टर र सम्पादकको। तर, कहिलेकाहिँ चेपुवामा पर्ने गर्छन्। सम्पादक जुन विचारधाराको आउँछन्, सोही अनुसार कुन एङ्गल दिने भन्ने कपि इडिटरलाई थाहा भइहाल्छ। प्राय सम्पादकहरूले ओरिन्टेशनकै दिनमा आफ्ना विचार कुटिल तरिकाले दिएका हुन्छन्। सम्पादक अनुसार आफूलाई ढाल्नसक्ने टिक्ने भए नत्र नटिक्ने भए। यो त समाचार कक्षको सामान्य कुरा नै भयो।

एकेडेमिक ज्ञान नै भएन नेतृत्वकर्तामा
जसरी राम्रो इश्यु भए रिपोर्टरलाई आफैँ हुक गरौँ भन्ने हुन्छ, कपि इडिटरलाई पनि आफैं हेर्न पाए हुन्थ्यो भन्ने भइहाल्छ। तर, कहिलेकाहिँ सल्लाहमा नचल्दा डुब्न सकिन्छ। सम्पादक र समाचार सम्पादकबीच शीतयुद्ध चल्दा समेत मारमा पर्ने त कपि इडिटर नै हुन्। केही त्यस्ता गलत समाचारहरू यसै आएका होइनन्।

कपि इडिटरलाई ‘अनसिन हिरो’ त भनिन्छ। तर, उनीहरूका आफ्नै खाले दुःख छन्। एक्सपोजर त पाउँदैनन् नै, क्षमता अभिवृद्धिका लागि पनि कुनै तालिम हुँदैन। यसमा न मिडिया हाउसले सोच्यो, त तालिम दिनेहरूले नै।

सम्पादकहरूमा पत्रकारिताको एकेडेमिक क्वालिटी नहुँदा पनि समाचार कक्षहरूमा समस्या परेको देखिन्छ। स्वभाविक रूपमा त्यसको असर समग्र समाचार कक्षमा पर्ने नै भयो।

उदाहरणका लागि जुन पृष्ठभूमिको हो, त्यो पृष्ठभूमिको व्यक्तिलाई सम्बन्धित रिपोर्ट गर्न दिउँला। तर, सामान्य पत्रकारिताको नियम थाहा छैन भने के हुन्छ? पत्रकारिता कि त पढ्नुपर्यो कि त तालिम लिनुपर्यो। यो कुरा सम्पादकले सोच्नु पर्यो।

रणनीतिक रूपमा कपि इडिटरको उत्पादन नगर्नाले अहिले कपि इडिटिङमा जनशक्ति अभाव हुँदै गइरहेको छ। मिडिया आफैंले हो नि उत्पादन गर्ने। तर, त्यस्तो देखिएन। अहिले त एजेन्सी अनि विज्ञापनदाताले जस्तो पठाउँछ, त्यस्तै समाचार प्रकाशित भएको देख्छु। यो चाहिँ अलि भएन।

मिडिया हाउसले जनशक्तिलाई कम आँक्दा जनशक्ति पलायन त भए नै, कम तलब दिँदा पनि वैकल्पिक काम गर्नुपर्ने भयो। पहिले सरकारी काम छाडेर कुनै निजी मिडियामा काम गर्न आउँथे पत्रकार। अहिले परिस्थिति ठ्याक्कै उल्टो छ।

यसले पनि प्रष्ट पार्दैन र, हामीले कस्तो बनाएछौँ मिडिया भन्ने कुरा। सम्पादक, रिपोर्टर र लगानीकर्ता ढोकाबाट हिँड्न छाडेर झ्यालबाट हिँड्न थालेपछि हुने नै यही हो।

अन्त्यमा, 
पत्रकारितालाई यसै चौथो अंग भनिएको होइन। सबै अंगलाई प्रश्न सोध्ने सशक्त माध्यम भएपछि आफूलाई दर्शक, स्रोता अनि पाठकले प्रश्नै सोध्नु नपर्ने गरी काम गर्नुपर्छ।

हिजोको सत्ताको खरो आलोचक भएका हाम्रा मिडिया आज पनि रचनात्मक आलोचक नै हुनुपर्छ। हिजोका राजनीतिक विद्रोहीहरू आज सत्तामा आएका छन्। उनीहरूको जयजयकारमा गर्ने होइन, मिडिया सधैँ प्रतिपक्ष हुनुपर्छ। यो मिडियाको धर्म हो र कहिल्यै भुल्नु हुँदैन।

जनशक्ति पलायन यो क्षेत्रको मात्रै समस्या होइन, सबै क्षेत्रको हो। तर यसलाई अनदेखा गरेर जसरी मिडियाले पत्रकारमाथि अत्याचार गरिरहेको छ, यसले भोलि मिडियाले ठूलो मूल्य चुकाउनुपर्छ।

रिपोर्टर, कपि इडिटर, सम्पादक र लगानीकर्ताले आफ्नो दायित्व सम्झने हो भने सायदै यी समस्या, समस्या रहँदैनन्।

(लामो समय कान्तिपुर दैनिकमा समाचार सम्पादक भएर काम गरेका भण्डारी अहिले विभिन्न पुस्तक सम्पादनमा सक्रिय छन्। उनैसँग ‘नेपाली मिडियाका समाचारमा विचारको प्रभाव’ विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

फागुन २९, २०८० मंगलबार १२:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।