जंगलको डढेलो निभाउन नसक्दा गाउँ पस्यो : दश घर खरानी, दर्जनौं पशुचौपाया मरे

जंगलको डढेलो निभाउन नसक्दा गाउँ पस्यो : दश घर खरानी, दर्जनौं पशुचौपाया मरे
प्रतिकात्मक तस्बिर

काठमाडौं : सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्।  एक दर्जन गाई, भैँसीको गोठ जल्दा त्यहाँ रहेका पशुचौपायासमेत जलेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा हिजो लागेको डढेलोबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राई लगायतको घर र गोठ जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको छ भने दर्जनौँ गोठमा बाँधिएका पशुचौपाया जलेका छन्। 

थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो गाउँ पसेपछि घरहरू सल्किएका थिए भने केही बेरमा गाउँ नै खरानीमा परिणत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन्।

‘जंगलमा लागेको आगो नियन्त्रणको प्रयास जारी नै राखेका थियौं। बिहीबार बिहान एक्कासि तीव्र गतिमा हावाहुरी आएर बनको डढेलो गाउँ पस्दा ९ घर पुर्णरुपमा नष्ट भएका छन्। तीन गाई र भैँसी गोठ समेत जल्दा गोठमा रहेका दर्जन पशुचौपाया मरेको खबर आएको छ। क्षतिको विवरण संकलन गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्। 

आगलागी बस्तीबाट नियन्त्रणमा लिइए पनि जटिल भौगोलिक अवस्थाका कारण तीन वटै सुरक्षा निकाय परिचालन गर्दा पनि नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ। 

२० बैशाख, २०८१, १४:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।