सभामुखको भूमिका तटस्थ र निष्पक्ष नभएको कांग्रेसको निष्कर्ष

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नभएको कांग्रेसको निष्कर्ष
फाइल तस्बिर

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ। तर, सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने बैठकले ठहर गरेको छ।’

उनले थपे, ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौँ।’

यस्तै सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको मागमा आफूहरू अडिग रहेको उनले बताए।

कांग्रेसले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको निष्कर्षसमेत निकालेको छ। कांग्रेसले हिजो वैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ।

जेठ ४, २०८१ शुक्रबार १०:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।