डाइलाइसिसको अवैध औषधी प्रयोग गरेको देखिएपछि नेफ्रोकेयरमा छापा, सरकारी वकिलको कार्यालय पुग्यो छानबिन प्रतिवेदन
काठमाडौं : डाइलाइसिस सम्बन्धी अवैध औषधिको प्रयोग भएको सूचनाको आधारमा औषधी व्यवस्था विभागले काठमाडौंको जोरपाटीस्थित ‘नेफ्रोकेयर हेल्थ सभिसेज् नेपाल प्रालि’ नामक डाइलाइसिस सेन्टरमा छापा मारेर छानबिन प्रक्रिया अगाडि बढाएर मुद्दाका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ।
उकेरालाई प्राप्त जानकारी अनुसार विभागले २०८२ चैत १९ मा ‘नेफ्रोकेयर हेल्थ अभिसेज् नेपाल प्रालि’को स्टोरमा सिलबन्दी गरेर छानबिन गरेको थियो। छानबिनमा त्रुटि देखिएपछि मुद्दा प्रक्रियामा परामर्शका लागि विभागले आवश्यक कागजपत्र जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ।
विभागले यो विषयमा अनुसन्धान गर्दा ‘कैफियत (बदमासी) देखिएको समेत स्रोतले उकेरालाई जानकारी दियो। डायलाइसिस सम्बन्धी औषधी प्रयोगमा कैफियत (बदमासी) देखिएपछि यो विषयमा मुद्दा चलाउने वा नचलाउने भन्नेबारे सरकारी वकिलको कार्यालयमा औषधी व्यवस्था विभागले कागजात पेस समेत गरिसकेको विभागका एक कर्मचारीले उकेरालाई जानकारी दिए।
‘कैफियत देखिएरै मुद्दा चल्ने र नचल्नको लागि...सबै डकुमेन्टहरू सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ,’विभागका एक आधिकारिक कर्मचारीले भने,‘हाम्रोतर्फबाट पठाइसक्यौँ। मुद्दा चल्ने वा नचल्ने भन्ने विषय सरकारी वकिलले भन्छ।’
सरकारी वकिलको कार्यालय मुद्दा चलाउन उपयुक्त हो वा हैन भन्ने विषयमा राय दिएपछि थप कार्वाहीको प्रक्रिया अगाडि बढाउने विभागका ती कर्मचारीले जानकारी दिए।
काठमाडौंको जोरपाटीस्थित ‘नेपाल मेडिकल कलेज’कै भवनमा ‘नेफ्रोकेयर हेल्थ अभिसेज नेपाल प्रालि’ छ। तर मेडिकल कलेजले डाइलाइसिस सेन्टर सञ्चालनका लागि ठाउँ मात्र दिएको हो वा अस्पताल समेत संलग्न छ भन्ने पक्ष भने खुलेन।
भाडामा दिएको हो वा अन्यबारे जानकारीका लागि नेपाल मेडिकल कलेजका ‘चेयरमेन’ र ‘मेनेजिङ डाइरेक्टर’सँग सम्पर्क गर्ने प्रयास गर्दा सम्भव भएन।
उकेरालाई प्राप्त जानकारी अनुसार ‘नेफ्रोकेयर हेल्थ अभिसेज नेपाल प्रालि’ले विभागमा दर्ता नभएका पाँच भन्दा बढी किसिमका औषधी आपूर्ति गरेर प्रयोग गरेको सूचनापछि छापा मारिएको थियो।
सूचना गम्भीर भएकाले विभागले छापा मारेर स्टोरमा सिलबन्दी गरेको थियो। सो सिल अझै खुलेको छैन। जानकारस्रोतका अनुसार सो प्रालिले एक किसिमको एचएस कोडको भन्सार मूल्य तिरेर झुक्क्याउँदै विभागमा दर्ता नै नभएको अर्कै किसिमको औषधिजन्य सामग्री नेपाल भित्र्याएर प्रयोग गरिरहेको थियो।
उकेराको खोजमा ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर १८ सैंबु ठेगाना राखेर ‘नेफ्रोकेयर हेल्थ अभिसेज नेपाल प्रालि.’ २०८१ माघ ३ मा आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा दर्ता भएको देखिन्छ।
‘मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरू, अस्पताल वा चिकित्सक वा दन्त चिकित्सकबाहेक अन्य स्वास्थ्य सेवाकर्मीहरूबाट सञ्चालित मानव स्वास्थ्य सम्बन्धी क्रियाकलापहरू’ कारोबारका लागि यो कम्पनी दर्ता भएको देखिन्छ।
यो कम्पनीले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजलगायत विभिन्न स्वास्थ्य संस्थामा मिर्गौलाको समस्या भएका बिरामीमा डाइलाईसिस् दिने काम गर्दै आएको थियो।
वैशाख २७, २०८३ आइतबार २२:०८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।