त्यही पत्रकारले अन्तर्राष्ट्रिय मिडियामा लेख्यो भने गहिराइमा पुग्ने तर उसैले नेपाली मिडियामा लेख्दा अपूरो हुने किन होला?

त्यही पत्रकारले अन्तर्राष्ट्रिय मिडियामा लेख्यो भने गहिराइमा पुग्ने तर उसैले नेपाली मिडियामा लेख्दा अपूरो हुने किन होला?

सन् २०२१ मा बाजुरा जिल्लामा रिर्पोटिङ्का लागि गएँ। रिर्पोटिङको विषय गर्भावस्थाकी महिलालाई सुत्केरी नहुन्जेलसम्म पछ्याउनुपर्ने थियो। बाजुरा नै छान्नुको कारण त्यहाँका महिला अझै पनि सुत्केरी हुन नसकेर मृत्यु हुने, सामान्य उपचार समेत नपाउने अनि धेरै सन्तान जन्माउनु पर्ने बाध्यता भएकाले नै हो।

हामीले जसलाई छानेका थियौँ उहाँ सुत्केरी हुनुभन्दा १५ दिन अघि हाम्रो टोली पुगेको थियो। झन्डै साढे तीन घण्टा हिँडेर गाउँको स्वास्थ्य चौकी पुगिन्थ्यो।

पाँचौँ सन्तानकी आमा बन्न लागेकी ती महिलाको उमेर ३० वर्ष पनि कटेको थिएन। गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म चाहिने पोषण पनि उनले पाएकै थिइनन्।

नेपालका दुर्गम भेगका महिलाले बच्चा जन्माउँदा पोषण भएको खानेकुरा त पाउँदैनन् नै उपचार समेत पाउँदैनन्। त्यही स्टोरीमा हेलिकप्टरबाट उद्धार गरिएकी महिलाबारे पनि उल्लेख गरेर समाचार तयार भयो।

‘सेभिङ नेप्लीज मर्दस’ शीर्षकको न्युज डकुमेन्ट्री अहिले पनि अल्जजिराको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

हामी जहिल्यै ठुला-ठुला कुरा सुन्छौँ, विभिन्न बहस चलाउँछौँ तर यहाँ स्वास्थ्य सेवा नपाएर महिलाहरूको ज्यान गइरहेको छ,  जीवनजल नपाएर झाडापखालाले मान्छेको ज्यान गइरहेको छ। त्यसमा ध्यान दिन सकेका छैनौँ।

एक पत्रकारले आफू कस्तो खाले पत्रकार बन्ने भन्ने उसको छनौटको कुरा हो। नीति नियमका कुरा पनि लेख्नु पर्छ। तर मिडियाले तीनै नीति निमार्ताका कारण कुनै व्यक्तिको ज्यान गइरहेको छ भने त्यो समाचार त प्रमुख समाचार बन्नुपर्छ नि। बन्दैनन्। जसको कारणले यस्तो दुरावस्था आएको छ उसको ठुला कुरा उल्टो समाचार बन्छन्।

यस्ता विषयमा धेरै समाचार लेख्दा कतिपयले पत्रकारले खाली दुःख बेचे पनि भन्छन्। अझ विदेशी मिडियामा लेख्ने पत्रकारलाई नेपालको दुःख बेचे, अनि खाली महिला, दलित जनजाति, सीमान्तकृत समुदायको विषय उठाए भनेर आलोचना पनि गर्छन्।

अस्पताल नै नभएर सुत्केरीहुँदा ज्यान गुमाउनुपर्ने अवस्था, महिनावारी हुँदा छाउगोठमा गएर सुत्दा सर्पले टोकेर मर्नुपर्ने अवस्था, बोक्सीको आरोपमा ज्यान गुमाउनु पर्ने अवस्था, जातको आधारमा हुने विभेद, जन्मिएको क्षेत्र अनुसार अत्यावश्यक सुविधाको अभाव सामान्य विषय हुन् र?

व्यक्तिको ज्यान अनि आधारभूत सुविधा पाउने अधिकारबाट वञ्चित हुनुभन्दा ठुलो अरू के हुन्छ? जबसम्म यस्ता कुप्रथा हट्दैनन्, महिलाको स्वास्थ्यमाथि हेलचक्र्याइँ भइरहन्छ तबसम्म राष्ट्रिय होस् या अन्तराष्ट्रियतहमा समाचार त बन्छन् नै। उपचार नपाएर एउटा व्यक्तिको मात्रै पनि ज्यान जान्छ भने त्यो समाचारको विषय हो।

गाउँ नबुझी समाज बुझिँदैन

मैले पत्रकारिता सुरु गरेको २०६३ साल देखि हो। २०६२-०६३ मा  भएको जनआन्दोलनमा कक्षा १२ मा पढ्दै थिएँ। त्यतिबेला दिनभरि आन्दोलन हेर्ने, कहाँ, के भयो भनेर घण्टैपिच्छे समाचार सुन्ने काम भयो।

१९ दिने जनआन्दोलन नजिकबाट चियाएपछि पत्रकारितामा रुचि जाग्यो। नेपाल एफएममा इन्टर्नसिप गर्ने मौका पाएँ। केही समय त्यहाँ इन्टर्नसिप गरेपछि एन्टेना फाउन्डेसनको डोको रेडियोमा आबद्ध भएँ।

डोको रेडियोमा काम गर्दा ४० जिल्लामा पुग्ने अवसर पाएँ। त्यहाँ काम गर्दा गाउँ- गाउँमा भएका समस्याबारे अनुभव भयो। हामीले महत्त्व दिएका विषय त्यति महत्वका हैन रहेछन् भन्ने अनुभव भयो।

त्यस्तै बिबिसीमा ‘कथा मिठो सारङ्गी’को कार्यक्रम चलाइयो। रेडियो म्यागेजिनमा प्रोड्युसर र प्रिजेन्टर भएर काम गरियो।

रेडियोमा काम गरेपछि मलाई फिल्ड परिवर्तन गर्न मन लाग्यो। त्यसपछि डकुमेन्ट्री र न्युज लेखनमा लागेँ। भूकम्प गएको बेलामा विदेशी मिडियाका प्रतिनिधिहरू नेपालमा सक्रिय थिए। उनीहरूसँगको समन्वयमा काम गरियो। ‘फ्रान्स २४’ टेलिभिजनमा मेरो बाइलाइन आएपछि अन्तर्राष्ट्रिय मिडियामा काम गर्न मन लाग्यो। अहिले विभिन्न मिडियामा फ्रिलान्सीङ रिपोर्टिङ गरिरहेको छु।

मैले गरेका रिपोर्टिङ धेरैजसो सामाजिक विषयमा केन्द्रित  छन्। मलाई त्यस्तै विषयमा रुचि छ। लामो समय हामी राजनीतिक विषयमा केन्द्रित भयौँ। गणतन्त्र आइसक्यो। अझैँ पनि राजनीतिक विषयमै रुमल्लिनु ठिक हो र!

राजनीतिक परिवर्तन भएपछि सामाजिक विषयले प्राथमिकता पाउन थाल्यो। तै पनि अझैँ यस विषयमा समाचार कक्षमा गम्भीर बहस भएको कमै पाउँछु। समाचार कक्ष अझैँ पनि राजनीति वरिपरि नै घुमिरहेको छ।

आफूले गर्न लागेको स्टोरीमा छलफल गर्ने र स्टोरी एंगल फरक तरीकाले सोचिएन भने प्रभावकारी समाचार लेख्न सकिन्न। यसका लागि पर्याप्त छलफल हुनैपर्छ।

भूकम्प गएको बेला रिपोर्टिङ कै क्रममा १०-१२ जना श्रीमान् नभएका एकल महिला देखेँ। उनीहरूको मुख्य समस्या उनीहरूलाई घरको आर्थिक, सामाजिक अवस्थाबारे थाहै थिएन।

कम्पमा परेर ज्यान गएका श्रीमान् अनि पुरिएको घरसँगै घरको आर्थिक कारोबार, कानुनी कागजपत्र सबै कता पुगे कता। श्रीमानको के कस्तो व्यवहार थियो उनीहरूलाई थाहै थिएन।

युद्ध, विपद् अनि महामारीमा जहिले पनि धेरैजसो पीडामा पर्ने महिलाहरू नै हुन्। घरको व्यवहार पुरुषले हेर्ने हुँदा पुरुषको अनुपस्थितिमा उनीहरूलाई कहाँ गएर के गर्ने भन्ने नै थाहा हुँदैन।

सामाजिक संरचनाले व्यक्तिको जीवनमा कसरी प्रत्यक्ष असर पार्ने रहेछ भन्ने त्यो बेलामा अनुभव भयो।

अनि भूकम्पकै कारण एकल बन्न पुगेका महिलाको सङ्ख्या कति छन् त भनेर खोज्दै गएँ। करिब २ हजार जति एकल महिला रहेछन्। दुई महिनामा यो स्टोरी सकियो। नेपाली टाइम्सले यो स्टोरी छाप्यो।

सन् २०१५ मा भूकम्प गएपछि विदेशी रिपोर्टरहरूसँग काम गर्न पाएँ। यसले उनीहरूले कसरी स्टोरी प्लान गर्छन्, कसरी फरक एंगलबाट सोच्छन्, छलफल कसरी गर्छन् भन्ने प्रत्यक्ष अनुभव गर्न पाएँ। त्यसैको प्रभाव थियो यो स्टोरी पनि।

अघि पनि भनेँ, पत्रकारिताको तरीका फरक हुन जरुरी छ। शहरमा बसेर नेताको मात्रै कुरा सुन्ने अनि सुनाउने पत्रकारिताको न धर्म हो न कर्म नै हो।  

केही पत्रकारले  युट्युब मार्फत भएपनि गाउँ-गाउँ पुगेर स्टोरी गरेका छन्। तर केही सिनियर भनिएका पत्रकारहरू त अझै कोठा भित्र रमाइरहेका छन्।

पत्रकारको जिम्मेवारी माथिको कुरा तल सुनाउने मात्रै हैन, तलको कुरा माथि सुनाउने पनि हो। नीति निर्मातालाई गाउँको समस्या थाहा नहुन पनि सक्छ। पत्रकार शहरै रुमल्लिएर बस्ने हो भने गाउँका आवाज कसले ल्याउँछ शहरमा? तलको कुरा कसले माथिसम्म पूर्याउँछ?

अहिले अवस्था केही बदलिएको अनुभव हुन्छ गाउँतिर जाँदा। १५ वर्ष अघि गाउँ पुग्दा सुत्केरी हुन नसकेर महिलाको मृत्यु हुनु सामान्य मानिन्थ्यो। किनभने त्यो सबैको घरमा घटेको घटना हुन्थ्यो। अहिले स्वास्थ्य केन्द्र जानुपर्छ भन्ने चेतना बढेको छ।

छाउपडी प्रथा सामान्य नै मानिन्थ्यो। तर अहिले हल्का लाजको विषय भएको छ यो। यसरी गाउँमा हल्का चेतना त पस्यो तर सेवा पुगेन। यसले समस्या समाधान गरेन, जहाँको त्यहीँ राख्यो।

अहिले पनि बाटैमा सुत्केरी हुनुपर्ने बाध्यता, आङ खस्ने समस्या, तीन-चार घण्टामा स्वास्थ्यचौकी पुगिने अवस्था छ। यी पत्रकारको समाचारको विषय हैन र?

अहिले सुत्केरी हुन लाग्दा अस्पताल लानुपर्छ भन्ने चेतना त बढ्यो तर अस्पताल वा स्वास्थ्य केन्द्र छैन। स्वास्थ्य केन्द्र वा अस्पताल भए चिकित्सक छैनन्। चिकित्सक भए स्वास्थ्य उपकरण छैन। यो सामान्य विषय हुन् र! यस्तो अवस्थामा सुधार नहुनुमा तलको समस्या माथिसम्म ल्याउन पत्रकारले नचाहनुले पनि हैन र!

अहिले केही मिडियाले प्याकेजमा, सिरिजमा स्टोरी लेख्न थालेका छन्। तर जो पिछडिएका छन् उनीहरूको समस्या अझैँ पनि मिडियामा विषय बनिसकेको छैन।

भुईँ मान्छेको कुरा सुनाउन अझ निरन्तर रिपोर्टिङ गर्न बाँकी नै राखेका छौँ हामीले। पत्रकारले जबसम्म गाउँ बुझ्दैनन् तबसम्म उनीहरूले नेपाल बुझ्दैनन्। यो पक्का हो। 

इस्यु पिकअप आफैँ गर्ने हो

यो विषयमा समाचार गर भनेर दिइने असाइनमेन्ट एउटा पाटो भयो तर रिपोर्टरको विशेष गुण भनेकै आफैँ ‘इस्यु पिकअप’ गर्न सक्नु पनि हो।

आफूभन्दा माथिकाले भन्छन् अनि लेख्छु भनेर बस्ने हैन, यो विषयमा समाचार बन्न सक्दैन र भनेर सोच्ने पनि हो। अह्राएको काम मात्रै गर्ने होइन है भन्ने कुरा अन्तर्राष्ट्रिय मिडियामा काम गरेपछि बुझ्दै गएँ। सिक्दै गएँ।

सन् २०१६ मा मुगु जिल्लामा आङ खस्ने महिलाहरूको विषयमा रिपोर्टिङ गर्न गएको थिएँ। रिपोर्टिङ सक्काएपछि केही समय रारा ताल नजिकै बस्ने भनेर गइयो।

रारा ताल नजिकै एउटा कार्यक्रम भइरहेको रहेछ। मलाई जिज्ञासा लाग्यो, हेर्न जाँदा केही व्यक्तिहरूले गर्भपतन गर्नु पाप हो भनेर महिलाहरूलाई तालिम दिइरहेका रहेछन्। बुझ्दा तिनीहरू ‘प्रो लाइफ एक्टीभीष्ट’हरू रहेको खुल्यो। यो क्रिश्चयन धर्मको एउटा समूह थियो।

नेपालमा भएका अन्य धर्मले पनि गर्भपतनलाई उत्ति राम्रो त मान्दैनन् तर यसरी महिलाहरूलाई तालिम दिँदै मिसन नै बनाएर हिँडेको भेटेको थिइन। सिएननका लागि एक विदेशी पत्रकारसँग मिलेर यो समाचार लेखियो।

यस्ता समाचार लेख्दा सम्बन्धित देशको राजनीतिक कुरा पनि बुझ्नु पर्ने हुन्छ। अमेरिकामा डेमोक्रयाट्सलाई गर्भपतन गराउनु/नगराउनु उसको मुद्दाको विषय होइन। तर रिपब्लिकनका लागि यो विशेष मुद्दा हो। डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बेला अमेरिकी फन्डबाट गर्भपतन गर्न नपाउने नियम नै बनाएको थियो।

हेर्दा सामान्य लाग्ने समाचार पनि ठुला हुन सक्छन्। ठुला लागेका समाचार आम व्यक्तिको चासोको विषय नहुन पनि सक्छ। त्यसैले पत्रकारले आम मान्छेलाई छुने र प्रत्यक्ष सरोकार हुने समाचारमा केन्द्रित हुन जरुरी छ।

फ्याक्ट चेक आफैँ गरौँ

म फ्रिलान्सीङ भएको हुँदा ९० प्रतिशत भन्दा बढी इश्यु आफैँ लिन्छु, प्रस्ताव गर्ने हो। उनीहरूले हुन्छ भन्न पनि सक्छन्, भयो पर्दैन भन्न पनि सक्छन्। 

हालसालै नेपाली युवाहरू रुसी सेनामा गएको कुरा आयो। यसमा रिपोर्टिङ गर्दा ७ सय भन्दा बढी भेटिए तर १५ हजार भनेका थिए। त्यो भेरिफाइ भएको कुरा थिएन। मैले यो स्टोरी लेखेँ।

कोभिडको समयमा गर्भावस्थाका महिलाले स्वास्थ्य परीक्षणको सुविधा नपाएर धेरैको मृत्यु भएको रिपोर्टिङ गरेको थिएँ। सुदूरपश्चिमको एक अस्पतालको डाक्टरको नाम चाहिँ गलत भएछ। मलाई गार्जियनले इमेल लेख्यो यो नाम गरेको डाक्टर त त्यो अस्पतालमा काम नै गर्दैन भनेर। थर मिलेको अर्को डाक्टर हो भनेर सोधियो। मलाई साहै लाज भयो। त्यति पनि हेर्न सकिन भन्ने लाग्यो।

हेर्दा सानो गल्ती जस्तो लाग्छ तर हुँदै नभएको मान्छेको नाम लेख्नु त ठुलै हो भन्ने लाग्यो।

त्यसैले प्रारम्भमा रिपोर्टर आफैँले फ्याक्ट चेक गर्ने हो। एकदमै समय लगाएर तथ्यमा पुग्ने हो।

नेपाली मिडियामा स्रोत-साधनको कमी छ। रिपोर्टरहरूले समय दिएर स्टोरी गर्न पाएका हुँदैनन्।  त्यसैले त फ्याक्ट चेकमा चुकिरहेका छन्।

मिडियाको विश्वसनीयता घट्दै गइरहेको यो समयमा फ्याक्ट चेकमा अझ धेरै मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ।

अहिले पत्रकारलाई चुनौती पनि छ। गाउँमा क्यामेरा बोकेर गयो भने हाम्रो दुख बेचेर पैसा कमाउन आएका भनेझैँ गरेर लखेट्ने नै भएका छन्। पत्रकारले किन यो स्टोरी गर्दैछौँ, के कारणले आएको हो भनेर बुझाउनुपर्ने आवश्यकता परिसक्यो।

नेपाली मिडियामा राम्रा इश्युहरु त आएका छन् तर विषयवस्तुको संवेदनशीलता हेरेर गहिराइमा पुग्ने एकदमै कम छन्। छिपछिपे हुन्छ समाचारका कन्टेन्ट।

त्यही पत्रकारले अन्तर्राष्ट्रिय मिडियामा लेख्यो भने गहिराइमा पुग्न सक्ने तर त्यही पत्रकारले नेपाली मिडियामा लेख्दा अपूरो हुने किन होला?

लेखे अनुसार पारिश्रमिक नपाउने वा समयको कारणले पो हो की! तीन महिनासम्म पारिश्रमिक नपाएका पत्रकारहरू चल्न चैँ कसरी चलेका छन्? कसरी खर्च चल्छ उनीहरूको? यो गम्भीर प्रश्न हो।

पत्रकार सधैँ रिपोर्टर हो। रिपोर्टर जब खारिँदै जान्छ, ऊसँग स्रोतहरू धेरै हुन्छन्। तर सम्पादक हुने लाइनमा गएपछि, समाचार नै लेख्न छाडेपछि मिडिया अघि बढ्दैन। रिपोर्टर हुनुको मजा सम्पादक हुँदा छैन पनि।

(दि गार्जियन, अल्जजिरा, सिएनएनबिएमजे, बिबिसी र नेपाली टाइम्सका लागि काम गर्ने अधिकारी फ्रिलान्सर पत्रकार हुन् उनीसँग ‘अन्तर्राष्ट्रिय मिडियामा नेपाली रिपोर्टरको अनुभव’ विषयमा आधारित रहेर उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला 

४ बैशाख, २०८१, १८:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।