ब्याच नम्बर ६९ : नेपालका आठ व्यापारिक घरानाका सदस्यलाई मुम्बइका डन छोटा राजनले फोन गरेपछि...

ब्याच नम्बर ६९ : नेपालका आठ व्यापारिक घरानाका सदस्यलाई मुम्बइका डन छोटा राजनले फोन गरेपछि...

भारतमा सङ्गठित गिरोह चलाउने दाउद इब्राहिम हुन् या छोटा राजन, वा बब्लु श्रीवास्तव। यिनीहरूको प्रभाव नेपालमा हुने अपराधमा कुनै न कुनै रूपमा परिनै रह्यो।

दाउद या राजन नेपाल आए या आएनन् ठ्याक्कै भन्न सकिन्न। तर बब्लु नेपालमा धेरै पटक आएका छन्। नेपालबाट नागरिकता समेत बनाएका उनी नेपालकै एयरपोर्टबाट आवतजावत गर्थे। उनी सिंगापुरमा पक्राउ परेर भारत सुपुर्दगी गर्दा हाम्रै त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए।

म त्यो बेला प्रहरी निरीक्षकको रूपमा त्रिभुवन विमानस्थलमा खटिएको थिए। उनीहरू कसरी गए थाहै भएन। जब सिंगापुरमा समातिए अनि मात्र नेपालको एयरपोर्ट हुँदै श्रीमतीसहित गएका रहेछन् भन्ने खुल्यो।

सिंगापुरमा उनको साथबाट अरुणकुमार अग्रवालको नामको नेपाली राहदानी फेला परेको थियो। बब्लुलाई उतै नियन्त्रणमा राखियो। उनको श्रीमतीलाई भने जहाँबाट गएको त्यही फर्काउँदा नेपाल आइपुगिन्।

उनी विमानस्थलमा उत्रिएपछि जाँच र सोधपुछ गर्न म आफैँ गएको थिए। उनीसँग हाम्रो लागि काम लाग्ने केही कागजपत्र पाइन्छ कि भनेर सुटकेस खोल्न खोजेको उनले मानिनन्। उ

नलाई लिन विमानस्थलमा मिर्जा दिलसाद बेग आएका थिए। सुटकेसमा लगाएको ताल्चाको चाबी हरायो भन्ने बहाना गरिरहेकी थिइन्। तर मिर्जाले सहजै'चाबी हराए ताल्चा फुटाए भयो त' भनेर सहयोग गरे।

सुटकेसमा हेर्दा चाहिने केही फेला परेन। उनै सिंगापुरमा खोतलखातल गरिसकेका रहेछन्। उनलाई अनुसन्धानका लागि राख्नुपर्ने केही केस थिएन। उनलाई मिर्जाले विमानस्थलबाट लिएर गए।

अपराध अनुसन्धानका सिलसिलामा भारतीय अन्डर वर्ल्ड डन भनेर चिनिनेहरूसँग यस्तो प्रशं जोडिन्छ नै। दाउद कुनै प्रशंगमा पनि जोडिएनन्। तर छोटा राजनसँग जोडिएका घटनाहरू धेरै छन्।

त्यसमध्ये केन्द्रीय कारागारभित्रै युनुस अन्सारीको हत्या प्रयास भएको घटनाबारे त यस अगाडि नै लेखि पनि सकेको छु। एक पटक लागु औषध अनुसन्धान कार्यान्वयन इकाई कार्यालयमा काम गर्नेक्रममा पनि टेलिफोनमा कुराकानी भएको थियो। यो प्रशंग पनि लेखिसकेको छु।

यो चैँ तेस्रो प्रशंग हो मेरो छोटा राजनसँग जोडिएको। नौ वर्ष जति अगाडिको हो घटना। यो प्रशंग धेरै जनालाई थाहा पनि छैन। सुरक्षाका कारणले गर्दा सार्वजनिक पनि गरेनौँ। अनुसन्धान भने भएको थियो।

त्यो बेलामा म केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख थिए। एकजना आफन्तले अलि आत्तिए जस्तो गरेर फोन गर्दै भने’ एक जनासँग भेट्नुपर्यो।’ मैले सहजै कार्यालयमा ल्याए हुन्छ नि भनेँ।

भोलीपल्ट ती आफन्त महाराजगन्जमा रहेको सिआइबीको कार्यालयमा अन्य दुई जनालाई लिएर आए। उनीहरूको नाम चैँ खुलाउँदिन, सुरक्षाका कारण। ती दुवै नेपालका परिचित ठुलै व्यापारिक घरानाका सदस्य थिए।

उनीहरू अलि डराए जस्तो देखिएका थिए। के काम रहेछ भन्ने भयो। सोफामा राखेर कुराकानी सुरु गरेँ। दुबैजनाले अलि सहज नमानेको जस्तो लाग्यो।

कुरैकुरामा उनीहरूले सकेसम्म एक्लै कुरा गर्न पाए हुने जस्तो गरेपछि उनीहरूले चाहे अनुसारकै वातावरण बनाए कोठामा।

‘हामीलाई छोटा राजनको नाममा कल आइरहेको छ’ भने। एक छिन त के भनिरहेका छन् भन्ने भयो नै।

नेपालमा दाउद इब्राहिम अनि छोटा राजनको सहयोगीहरू नदेखिएका हैनन्। तर उनीहरूले नेपालमा रकम असुली गरेको घटना सार्वजनिक भएको थिएन। नेपाल उनीहरूको ग्याङका सदस्यहरूका लागि भारतका केही समस्या परे आएर बस्ने देश भएकाले यता प्रशासनको आँखा पर्नेगरि अपराध गरेका थिएनन्। सुरक्षाका लागि प्रयोग गर्ने ठाउँमा आपराधिक रेकर्ड बस्नेगरि काम गर्दैनन् यस्तो समूहले।

त्यसैले पहिला त मलाई कसैले छोटा राजनको नाम लिएर धम्क्याइरहेको होला जस्तो लाग्यो। किनकि कहिलेकाहीँ पैसाका लागि अन्यले पनि नाम लिएर थर्काउने गरेका घटनाहरू आइरहेका हुन्थे।

उनीहरूसँग कुराकानीको अडियो रेकर्ड पनि रहेछ। त्यो रेकर्ड सुने। कुराकानीको शैली सामान्य थियो, धम्की दिएको थिएन। मजाले भूमिका बाँधेर सामान्य रूपमा परिचित जस्तै गफ गरिरहेको सुनियो।

छोटा राजन भनेपछि धम्काउनु पनि परेन नि! छोटा राजनको फोन भन्दा कसको सातो जाँदैन र!

पहिला एक पटक राजनसँगै कुरा गरेको थिएँ मैले। अडियो सुन्दा आवाज राजनकै हो कि जस्तो लाग्यो, तर एकिन भएन।

कुराकानीकै शैली रकम असुलीका लागि सहज वातावरण बनाउने प्रयास गरिरहेको हो कि जस्तो लाग्यो। पहिलो मजाले फकाएर कुरा गर्ने, नमाने तर्साउने अनि नेपालमा भएका आफ्नो सञ्जालका व्यक्तिलाई सम्पर्कमा ल्याएर पैसा लिने। यस्तै शैली हो कि जस्तो लाग्यो।

छोटा राजन हुन पनि सक्छन्, नहुन पनि सक्छन्। जे भए पनि व्यापारिक परिवारको सुरक्षा जोखिम त देखियो। तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई घटनाको अवस्थाबारे जानकारी गराएर उनीहरूको परिवारको सुरक्षाको प्रबन्ध मिलाएँ। उनीहरूलाई सुरक्षित गराएपछि अनुसन्धान सुरु भयो।

पहिला त कल गर्ने राजनै हुन् या हैनन् भन्ने पक्ष नै हेर्नुपर्ने थियो। त्यो बेलामा सिआइबीको साइबर क्राइम हेर्थे डिएसपी नरेश मल्लले। अहिले एसपी भइसके। उनलाई बोलाएर घटनाबारे जानकारी गराउँदै सिक्रेट रूपमा अनुसन्धान र आवाज परीक्षण गर्न भनेँ।

उनले इन्टरनेटमा भएको राजनको आवाजको विभिन्न नमुनाहरू निकालेर कल रेकर्डमा भएको आवाजसँग मिलाएर हेरे। धेरै हदसम्म आवाज मिल्यो।

कल गर्ने व्यक्ति राजन हुनसक्ने सम्भावना बढेपछि भारतको सुरक्षा एजेन्सीका अधिकारीहरूसँग सम्पर्क गरेर घटनाको संवेदनशीलता बताउँदै उनीहरूसँग रहेको छोटा राजनको आवाजको नमुना मगायौँ। उनीहरूले सहजै उपलब्ध गराए।

भारतीय सुरक्षा एजेन्सीले पठाएको आवाजको नमुना र यता नेपालमा व्यापारिक घरानालाई फोन गरेर कुरा गरेको आवाजको नमुना म्याच भयो। फोन गर्ने राजनै रहेछन् भन्ने पक्का भयो।

छोटा राजनलाई भारतीय सुरक्षा एजेन्सीले नै प्रोटेक्सन दिएर दाउद इब्राहिम विरुद्ध प्रयोग गरिरहेको दाबीहरू पनि सार्वजनिक नभएका हैनन्। तर सन् २०११ मा मीड डे पत्रिकाका क्राइम इडिटर ज्योतिर्मय डेको हत्यापछि राजनको खोजीमा भारतीय सुरक्षा एजेन्सीहरू धेरै सक्रिय देखिएका थिए।

सञ्चार जगतबाट पनि प्रेसर बढिरहेको थियो राजन पक्राउ गर्न। तर उनी फेला परेका थिएनन्। भारतमा व्यापारीहरू धम्क्याएर रकम असुल्ने घटना त सार्वजनिक भई नै रहेको थियो। तर नेपालमा उनीहरूको धन्दा देखिएको थिएन।

अब नेपालको व्यापारिक घरानाका सदस्यलाई नै फोन आएको भनेपछि उनीहरू यता पनि सक्रिय हुन खोजेको देखियो नै। सुरक्षाका दृष्टिकोणले अवस्था गम्भीर हुने नै भयो।

एक व्यापारिक घरानालाई मात्र कल आएको हो या अन्य व्यापारिक घरानालाई पनि कल आइरहेको छ भनेर नरेशलाई अनुसन्धान गर्न लगाएँ। एक व्यापारी मात्र भए एक कोणबाट अनुसन्धान गरे भयो। अन्यलाई पनि कल आएको रहेछ भने त उनीहरू भारतसँगै नेपालमा पनि सक्रिय भएको पुष्टि हुन्छ। अनुसन्धान जटिल रूपमा अगाडि बढाउनुपर्ने हुन्छ।

अनुसन्सन्धानमा सिआइबी आएका ती व्यापारिक घरानासँगै अन्य आठ व्यापारिक परिवारका सदस्यलाई समेत राजनले कल गरेर उस्तै शैलीमा कुराकानी गर्ने गरेको देखियो। धम्की नदिने तर आशय त्यहीँ।

उनीहरू प्रहरीकोमा आइसकेका थिएनन्। त्यसैले नरेशलाई उनीहरूको घर या कार्यालय जहाँ भेट्न सकिन्छ आफैँ भेटेर कुराकानी गर्न भने। उनले त्यसै गरे।

पहिलो व्यापारिक घरानाका सदस्यलाई जुन तहको सुरक्षा चुनौती देखियो अन्यको हकमा त्यो हदसम्मको सुरक्षा चुनौती देखिएन। तै पनि जोखिम नहोस् भनेर निगरानी राखियो तर सुरक्षाकर्मी नै भने खटाइएन।

छोटा राजनले नेपाली व्यापारीहरूलाई फोन गरेको सूचनाका आधारमा उता भारतीय सुरक्षा एजेन्सीहरूले पनि चासो राखे।

हाम्रो अनुसन्धानबाट जे जस्ता कनेक्सनहरू देखिएका थिए ती सबै उनीहरूलाई उपलब्ध गरायौँ। किनकि हामीसँग भन्दा त राजनबारे उनीहरूसँग धेरै सूचना हुनसक्छ।

राजनलाई जसरी हुन्छ निष्क्रिय गराउनु जरुरी थियो। हामीले यता सुरक्षा अवस्थाबारे अवलोकन गरिरहेका थियौँ। अनुसन्धान पनि भई नै रहेको थियो।

त्यसको एक महिना जतिपछि छोटा राजन इन्डोनेसियाको बालीमा पक्राउ परेको सूचना आयो। छोटा राजनको साथबाट मोहन कुमारको नामको पासपोर्ट प्रयोग भएको लगायतका सूचना आयो। राजन पक्राउ परेको सुन्दा एक प्रकारले ढुक्क पनि भयो।

हामीले भारतीय सुरक्षा एजेन्सीहरूलाई राजनबारे जति सूचनाहरू पाएका थियौँ अनि फोन नम्बर लगायतका सूचना दिएका थियौँ।

हाम्रै सूचनाका आधारमा उनीहरूले राजनको लोकेसन पत्ता लगाएर पक्राउ गराए या अन्य कुनै स्रोतबाट सूचना आयो त्यो खुलेन। हाम्रो सूचनाको आधारमा पक्राउ गरेको हो भनेर सोध्ने कुरा पनि भएन।

राजनलाई भारतले इन्डोनेसियाबाट सुपुर्दगी गराएर भारत ल्याएपछि यता ढुक्क भयो। पछि व्यापारिक घरानाको सुरक्षा सामान्य बनायौँ। पछि भारतीय मिडियामा अस्ट्रेलियाबाट आएको जानकारीका आधारमा राजन बालीमा पक्राउ परेको दाबीहरू सार्वजनिक भए। हाम्रो सूचनाका आधार होस् या अस्ट्रेलियाको सूचनाको आधारमा होस् समातिनु पर्ने राजन समातिए। यता पनि ढुक्क भयो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

२४ फागुन, २०८०, २१:४६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।