उकेरा कोलम

ब्याच नम्बर ६९ : ६ सय ६९ किलो चरेस क्यानडा पठाउन खोज्ने कुख्यात तस्कर सर्वोच्चबाट छुटेपछि


अहिले अदालतमा हुने घुसको खेल अनि आर्थिक पारदर्शीताबारे बहस भइरहेको छ। सर्वोच्च अदालतले नै गठन गरेको समितिले प्रतिवेदन पनि बुझायो।

प्रतिवेदनमा अदालतमा खेल हुने गरेको स्वीकार गर्दै सुधारका सुझावहरु दिएका समाचार आए। अदालतमा विकृति छ भनेर स्वीकार गर्नु सकारात्मक हो। तर सुधार कसरी हुन्छ त्यो महत्वपूर्ण पाटो हो।

हिजोका दिनमा पनि अदालतबाट आएका केही फैसला र आदेशहरु विवादित हुन्थे। तर तत्काल अदालतबाट नै त्यस्ता विवादित आदेश र फैसलामा संलग्न न्यायाधीशहरुमाथि कारबाही हुन्थ्यो। न्यायाधीशहरु राजीनामा दिन्थे।

हेरोइनसहित समातिएका रविन्सनलाई सफाइ दिने फैसला विवादमा आएपछि सर्वोच्चले समिति गठन गरेर छानविन गराएर उनीहरुलाई राजीनामा दिन बाध्य पारेको थियो।

अहिले पनि केही फैसला र आदेश हेर्दा चलखेलको गन्ध आउँछ। विवाद पनि हुन्छ। तर विवादमा आएका केही न्यायाधीशमाथि छानविन त हुन्छ तर कारबाही भने हुँदैन। त्यो देख्दा चाहिँ उदेक लाग्छ। ती कसरी इजलासमा बस्न सक्लान्! आउने आदेश र फेैसला कति विश्वसनीय हुने? 

१७ वर्ष अगाडिको एउटा विवादित आदेश आएको थियो जसमा तानिएका न्यायाधीश राजीनामा दिन बाध्य भएका थिए। यो अंकमा त्यही घटना लेख्दैछु।

०००
नेपालबाट हुने अधिकांश चरेस तस्करी कार्गोबाट हुन्छ। तस्करी नियन्त्रणमा कार्गो व्यवसायीले प्रहरीलाई सघाउन सक्छन् र प्रभावकारी पनि हुन्छ। तर कार्गो व्यवसायीसँग प्रहरीको सम्बन्ध राम्रो थिएन।

प्रहरीलाई सबै कार्गो व्यवसायी लागुऔषध तस्कर जस्ता लाग्ने। अनि कार्गो व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेर अनाहकमा दु:ख मात्र दिन्छन् भन्ने लाग्ने। यसले दुवैलाई केही फाइदा थिएन। अब जो कार्गोको आवरणमा लागुऔषध तस्करीमा संलग्न छन्, उनीहरुका लागि पो प्रहरीसँग तनाव हो त। जसको लागि कार्गो व्यवसाय मात्र हो, उसले त कार्गोका लागि आएका सामाग्रिबारे प्रहरीलाई जानकारी दिएर सहयोग गर्न सक्छन्।

यसका लागि त प्रहरी र कार्गो व्यवसायीको सम्बन्ध नसुधारी हुँदैन। म लागुऔषध नियन्त्रण इकाइको कार्यालय प्रमुख भएपछि कार्गो व्यवसायीहरुसँग सम्बन्ध सुधार्न कार्यक्रम सुरु गरें। छलफल गरें। त्यसले सम्बन्ध सुधारिन थाल्यो।

कार्गो व्यवसायीहरुले कुनै सामानमा शंका लाग्यो भने हामीलाई खबर गर्न थाले। अनि हाम्रो टोली गएर शंका लागेको सामानमा लागुऔषध भए/नभएको हेर्थे। कार्गो व्यवसायीको सूचनाको आधारमा धेरै लागुऔषध फेला परेको छ। कारोबारीहरु पक्राउ परेका छन्। तीमध्ये सबैभन्दा ठूलो घटना हो ६ सय ६९ किलो चरेसको।

यो २०६० चैत १० को घटना हो।

म नयाँबानेश्वरको कार्यालयमा बसिरहेको थिएँ। नयाँ बानेश्वरमा रहेको एक कार्गोका सञ्चालक 'केही सेरामिकका सामानहरु क्यानडा पठाउन भनेर आएका छन्। हामीले बक्सा उचाल्दा केही गह्रौं लाग्यो' भन्दै आए। त्यसपछि दिवस उदास केही प्रहरी लिएर कार्गो अफिसमा गए। हामीले डन्डा हालेर हेर्ने त हो। टोलीले हेर्दा बक्साको तल केही खाली ठाउँ राखेको जस्तो लाग्यो। शंका लागेपछि कार्गोका सबै बक्साहरु बोकेर कार्यालय ल्यायौं। कार्यालयमा ल्याएर खोलेर हेर्दा चरेस फेला पर्यो।

बक्साको तल्लो भागमा प्लाइउड राखेर चरेस राखेका रहेछन्। सबै चरेस निकालेर जोख्दा ६ सय ६९ किलो निस्कियो। ६ सय ६९ किलो चरेस क्यानडाका लागि त धेरै ठूलो हो। हामीले कार्गो सञ्चालकलाई धन्यवाद दियौं। कार्गो पठाउन लागेको क्यानडाको ठेगाना लियौँ अनि कार्गो पठाउन आउनेको नाम र ठेगाना पनि लियौं। त्यसैको आधारमा २ जना पक्राउ परे अशोककुमार सुवेदी र मोहनकृष्ण रिसाल।

सुवेदीले कार्गोमा चरेस थियो भन्ने थाहा नभएको दावी गरेका थिए। उनले चिनजानका मोहनकृष्ण रिसालले सेरामिकका सामान पठाउन भनेकाले कार्गो गर्न गएको बताए। उनकै बयानको आधारमा रिसाललाई पक्राउ गर्यौंय। उनले पहिला आफूले त सेरामिकको सामान मात्र पठाउन लगाएको त्यसमा चरेस थियो भन्ने थाहा नभएको भनेर छल्न खोजेका थिए। तर छल्न गाह्रो थियो।

सुवेदीले रिसालबारे धेरै पोल खोलिसकेका थिए। उनले मोहनकृष्णले देखाएको कोठाबाट सेरामिकका सामान राखेको बाकस ट्रकमा राखेर कार्गोको कार्यालयमा लगेको खुलाएका थिए। त्यो कोठा देखाउन लैजा भन्यौं। उनले पशुपति एरियामा पुर्या्ए। पशुपतिको एक घरको कोठामा पुग्यौं।

सेरामिक राखेको बाकस निकालेको कोठा कसले भाडामा लिएको हो भनेर खोज्दा नाम आयो दिलबहादुर गुरुङ। उनी डिबी गुरुङको नामले बढी परिचित थिए। कहलिएका चरेस तस्कर। तर उनी भागिसकेका थिए।

गुरुङको कोठाको तलासी लिँदा कार्गो प्राप्त गर्ने व्यक्तिको ठेगाना लेखिएको कागज फेला पर्योा। पक्राउ परेकाहरुको बयान त भयो नै, चरेस तस्करीमा जोड्न त्यो कागज पनि थप प्रमाण हुने भयो।

गुरुङ खोज्न सई जीवलाल पाण्डे खटिएका थिए। पाण्डे प्रहरी जवानमा भर्ना भएका थिए। प्रहरी निरीक्षक भएर अवकाश पाए। काम गर्ने क्रममा उनी प्रोफाइलिङको एक्सपर्ट भइसकेका थिए। कुनै सामान देखायो भने सहजै त्यसभित्र लागुऔषध छ या छैन भनिदिन्थे। भागिरहेका गुरुङलाई उनले अनेक उपाय लगाएर ठमेल क्षेत्र आउनुपर्ने बनाएछन्। डिबी त्यही पक्राउ परें। 

एक त पटके त्यसमा पनि अनुभवी चरेस तस्कर, सहजै स्वीकार त के गर्थे र! तर नगली सुख पनि थिएन। उनले काठमाडौंको चावहिलमा चरेस लिएर पशुपतिको कोठामा राखेर सेरामिकको सामान पठाउने भनेर कार्गोबाट क्यानडा पठाउन लागेको स्वीकारे।

हामीले अनुसन्धान गरेर सरकारी वकिलकोमा बुझायौं। जिल्ला अदालतले प्रमाण हेरेर तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। २०६१ पुसमा गुरुङसहित तीन जना जेल गए। डिबीलाई डिल्लीबजार कारागारमा राखियो।

जेलभित्रैबाट आफू उम्कन डिबीले चलखेल गरिरहेका थिए। केही समयपछि डिबीले जिल्ला अदालतको आदेश विरुद्ध तत्कालीन पुनरावेदन अदालत पाटनमा गैरकानुनी थुनामा राखेको भन्दै निवेदन दिए।

२०६१ चैत ४ गते पुनरावेदन अदालतले जिल्लाकै आदेश सदर गर्यो । डिबी पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च अदालत गए। उनको पुनरावेदन सर्वोच्च अदालत पुगेपछि एक जना व्यक्ति जेलमा उनलाई निरन्तर भेट्न आइरहेका थिए।

धेरै पटक यी दुवैबीच भेटघाट हुन थालेपछि डिबीले त्यही व्यक्तिमार्फत सर्वोच्चबाट धरौटीमा जेलबाट बाहिर निकस्ने खेल खेलिरहेको शंका लागिरहेको थियो। 
जे शंका गरेको त्यही भयो। २०६२ साउन ९ गते ९ लाख धरौटीमा गुरुड्ड जेलमुक्त भए।

साढे ६ सय किलो चरेस। त्यसमा पनि जापान, क्यानडा लगायतका देशमा निरन्तर तस्करी गर्दै आएकालाई फितलो प्रमाणमा टेकेर धरौटीमा छाडेपछि बबाल त हुनु नै थियो। बबाल सुरु भइहाल्यो। 

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....