उकेरा काेलम

ब्याच नम्बर ६९ : सुन लिएर हवल्दार भागेपछि…

म खटिएकै बेलामा हो। एक जना प्रहरी हवल्दार ड्युटीबाटै भाग्यो। अब ड्युटीबाटै भागेपछि त शंका हुने भयो नि। अनुसन्धान गर्दैजाँदा त ऊ सुन लिएर भागेको रहेछ। पाँच किलो होला सुन। पछि पक्राउ पर्‍यो।

हेमन्त मल्ल


कम्बोडियामै थिएँ, यता प्रमोसन निस्किएछ। मेरो ब्याचका सबै जना प्रमोसन भएर डिएसपी भए। म सहित चार जना बढुवामा छुटेछौं। ४५ जनाका ब्याचीमा ४१ जना डिएसपी। हामी चार जना प्रहरी निरीक्षक नै।

मसँगै केशव अधिकारी, निरबहादुर गुरुङ र पूर्णसिंह खड्का छुट्यौं। पहिलो पटक भएको प्रमोसन थियो नि। त्यस्तो छुट्नै पर्ने कारण केही थिएन। पासआउट हुँदा राम्रो नम्बर थियो। प्रहरी निरीक्षकको रुपमा पनि राम्रै काम गरेको हो।

प्रमोसनमा छुटेको खबर सुन्दा नरमाइलो लाग्यो। दिक्क लाग्नु त मानवीय स्वभावै पनि हो। बरु घरकालाई दिक्क लाग्ला कि भन्ने पिर भयो। तर श्रीमती अति पोजेटिभ। हरेक परिणामलाई सकारात्मक रुपमा कसरी लिने उनीबाट धेरै सिकेको छु।

जीवनमा ठेस लाग्नु, लड्नु सामान्य घटनाक्रम हुन्। लडें भनेर हिँड्न छाड्यो भने त यात्रा सक्किगयो नि। ठेस पनि लाग्छ, दुख्छ पनि। तर यात्रा जारी राखे नै अगाडि बढ्न सकिन्छ। हो, मैले मेरी श्रीमतीबाट यस्तै रचनात्मक सुझाव पाएँ।

अब बिग्रनु बिग्रिसक्यो। चिन्ता लिएर हुनेवाला केही थिएन। भोलिका लागि आजैबाट हो तयारी गर्ने। दिक्क मानेर बस्यो भने त आफूलाई पनि हानि गर्छ, परिवारलाई पनि चिन्तित बनाउँछ।

यसो हेर्छु, मेरो स्वभाव मेरो बुबासँग मिल्छ जस्तो लाग्छ। मेरो बुबालाई मैले कहिल्यै चिन्तामा देखिनँ।

मलाई एउटा घटना याद छ। लेखिहालौं।

धान पाकेर आज–भोलि नै काट्नुपर्ने भएको थियो। एकाध बिघामा हैन धान। टन्नै थियो। एक दिन बेलुका तररर असिना-पानी पर्यो। अब धान जति सबै झार्छ भनेर आमा आत्तिनु भयो।

बुबा टर्च बोकेर बाहिर निस्कनुभयो। केही समय हेर्नुभयो अनि भित्र फर्किनुभयो। असिना-पानी रोकियो। ल ढुक्कै भयो भन्ने भयो। फेरि एक छिनपछि त उही पाराले असिना पर्न थाल्यो। बुबा फेरि टर्च बोकेर बाहिर जानुभयो।

अनि सरासर कोठामा फर्किएर गम्लङ्ग ओढ्ने ओढेर सुत्नुभयो। अब असिना पर्यो त पर्यो। चिन्ता लिएर रोकिने हैन। जे होला, भोलl देखा जायगा भनेर सुत्नुभयो।

यो स्वभाव ममा पनि छ। त्यो जिनबाट आएको हो जस्तो लाग्छ।

मेरो बढुवा छुट्दा मोतिलाल बोहोरा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो। उहाँसँगको भेटमा मैले कहिल्यै मेरो बढुवा किन छुट्यो भनेर सोधिनँ। सिनियरहरु कसैलाई पनि सोधिनँ। किनकी, कुनै कारण नै थिएन बढुवामा छुट्न। अनि कारण थाहा पाएर पनि हुने केही थिएन।

तर, प्रमोसनमा छुटेपछि प्रहरी संगठनलाई हेर्ने अनि अगाडि बढ्ने योजनाबारे मेरो दृष्टिकोण चाहिँ बदलियो।

प्रमोसन बिग्रिँदा गुनासो गरेर बस्ने कि कुनै काममा फोकस हुने? काममा फोकस हुँदा राम्रो हो नि।

म छरिएको थिए संगठनको काममा। के गर्ने? कसरी गर्ने? के हो मेरो प्राथमिकता भन्ने पहिल्याउन सकेको थिइनँ। त्यो घटनाले मलाई संगठनमा फोकस गरायो।

मलाई यो मेनस्ट्रिम पुलिसिङबाट बाहिर जान पाए हुन्थ्यो भन्ने लाग्यो। मेनस्ट्रिम पुलिसिङ भनेको चाहिँ दैनिक काम। हेडक्वाटरमा दरबन्दी भए उही प्रशासनिक काम। चौकी या जिल्ला पुगे शान्ति सुरक्षा, कहिलेकाहीँ अपराधीको खोजी, नत्र भीड नियन्त्रण।

मैले कम्बोडियामै मनमनै निश्चय गरें, ‘अब नेपाल फर्किएपछि यो मेनस्ट्रिम पुलिसिङ गर्दिनँ। निश्चित काम गर्छु, छरिन्नँ।

०००

एक वर्षको मिसनको अवधि सकिएपछि नेपाल फर्किएँ। दरबन्दी हेडक्वाटरमै थियो।

२०५१ पुस ७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काज सरुवा भयो। त्रिभुवन गौचरण सुरक्षा गार्ड थियो नाम।

विमानस्थल काज निस्किएको यो दोस्रो पटक थियो। पहिलो पटक चाहिँ २०४५ सालमा हो। तर दुवै पटक काज सरुवाको कारण चाहिँ सुन तस्करी।

अहिले अलि कम सुनिन्छ सुन तस्करी। नत्र त ३५ किलो सुन तस्करीसम्मका घटना देखेकै हो। सुन तस्करी त पञ्चायतकालदेखि नै हुन्थ्यो। पञ्चायतकाका माननीयले सुन बाकेर आउँदा तौल बढी भएर हिँड्नै नसकेको किस्सा अहिले पनि सुनिन्छ नि।

२०४५ तिर अध्यागमनमा प्रहरी बस्थ्यो। अध्यागममा खटिएका प्रहरी अधिकृत सुन तस्करीमा मुछिएपछि पूरै टिम नै बदलियो। म त्यहाँ पहिलो पटक काजमा गएको थिएँ।

ठ्याक्कै घटनाबारे विस्तृत चाहिँ थाहा भएन। ल विमानस्थल जानु भन्ने आदेश आयो। टिम किन बदलिएछ? भनेर सोध्दा सुन तस्करीमा मुछिए रे भन्ने सुनें।

हामी खटिँदा अहिले डोमेस्टिक विमानस्थल भएको ठाउँमा इन्टरनेसन एयरपोर्ट थियो। प्रहरीको ड्युटी त्यतैतिर हुन्थ्यो।

म खटिएकै बेलामा हो। एक जना प्रहरी हवल्दार ड्युटीबाटै भाग्यो। अब ड्युटीबाटै भागेपछि त शंका हुने भयो नि। अनुसन्धान गर्दैजाँदा त ऊ सुन लिएर भागेको रहेछ। पाँच किलो होला सुन। पछि पक्राउ पर्‍यो।

२०५१ पुस ७ मा काज निस्कनुको कारण पनि सुन तस्करी नै थियो।

यो बेलामा  डिएसपीको चालक सुन तस्करीमा मुछिएको थियो। चालक पक्राउ परेपछि फेरि प्रहरीको सबै सेट नै परिर्वतन भयो। म फेरि विमानस्थल गएँ।

मलाई कतिखेर यो विमानस्थलबाट सरुवा हुने होला भन्ने मात्र ध्यान थियो। अनुसन्धानको जिम्मेवारी पनि थिएन मेरो। बढुवा निस्कने बेला भइरहेको थियो। बढुवा निस्किएर कता जाने होला? प्रहरीमै रहेर पनि फरक काम के गर्न सकिएला भन्ने लागिरहन्थ्यो।

०००


विमानस्थलमा काजमै हुँदा २०५२ जेठ ९ मा मेरो बढुवा निस्कियो। ब्याचीहरु बढुवा भएको २८ महिनापछि हो मेरो बढुवा निस्किएको। अहिले त बढुवा निस्कने भयो रे भनेपछि दौडादौड सुरु हुन्छ। प्रहरी संगठनमा विस्तारै राजनीतिक हस्तक्षेपहरु बढ्न थालेका थिए। तर बढुवाका लागि नेताहरुको ढोकामा कुरेर बस्नैपर्ने अवस्था आइसकेको थिएन।

मैले कहिल्यै मेरो अब बढुवा कहिले हुन्छ भनेर सोधखोज गरिनँ। आदर्शका कुरा जस्तो लाग्ला। सत्य यही हो। मैले मेरो प्रहरी जीवनमा कहिल्यै यो सरुवा र बढुवाबारे चासो राखिनँ। अहिले आएर यसो फर्केर हेर्दा चासो राखेको भए हुन्थ्यो कि जस्तो पनि लाग्छ।

तर, मैले प्रहरी संगठनमा बस्दा जुन इमेज पाएँ, अहिले यो अवकाशको जीवनमा पनि जुन इज्जत पाएको छु, यो देख्दा सरुवा–बढुवामा चासो नराखेर बढो राम्रो काम गरियो भन्ने लाग्छ।

दोस्रो पटक डिएसपीको बढुवा निस्कँदा मसँगै छुटेका तीन जना साथी पनि बढुवा भए।

हामी सबै डिएसपी भयौं। खुसी लागिहाल्छ। परिवार पनि खुसी भयो। अलि ढिला भयो त के भयो भन्ने भयो सबैमा।

मुख्य चिन्ताको कुरा के भने, मलाई यो हेडक्वाटरको पुलिसिङबाट बाहिरिनु थियो जसरी पनि। हेडक्वाटरमा फाइल बोकेर यता र उता गर्दागर्दा दिक्क हुन थालेको थिएँ।

यसरी त के जागिर खानु हो भन्ने भइसकेको थियो। तर जाने कहाँ? प्रहरीभित्र डिएसपीले पाउन सक्ने कुन चाहिँ जिम्मेवारी पाए रमाउन सक्छु भन्ने आफैंले पहिल्याउन सकिरहेको थिइनँ।

सिरहामा केशव बराल सरसँग काम गर्दा अपराध अनुसन्धान रमाइलो लागेको थियो। तर त्यत्ति गहिराइमा गएर काम गरेको त हैन। सूचना कसरी लिने? अपराधी कसरी खोज्ने भन्नेबारे बराल सरको ट्रिक बढो रमाइलो लागेको थियो मलाई।

तर, कुन प्रकारको अपराध अनुसन्धान ठिक हो भन्ने थाहा त थिएन। साँच्चै भन्ने हो भने अनुसन्धानबारे त्यति राम्रो ज्ञान थिएन। तर त्यस्तै काम गर्न पाए चाहिँ नतिजामुलक केही काम गर्न सकिन्छ कि भन्ने लाग्थ्यो।

मलाई यस्तो खालको काम गर्न मन छ भनेर सिनियरलाई गएर भनिनँ। मनको कुरा मनमै रहिरह्यो। डिएसपीहुँदा पनि हेडक्वाटरमै बस्नुपर्ने हो कि भन्ने डर लागिराखेको थियो।

एकाएक मेरो सरुवा लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाईमा भएको सूचना पाएँ। अहिले लागुऔषध नियन्त्रण ब्युरो भनिन्छ छ नि, हो यसको जन्मदाता कार्यालय त्यही हो।

लागुऔषध भनेको त त्यही गाँजा त हो। तराईतिर खेती नै हुन्थ्यो। त्यसबाट चरेस बन्छ भन्नेसम्म थाहा थियो। खुला सीमाबाट भारततिर गाँजा बेच्छन् भन्ने थाहा थियो। तर त्यसैबारे मात्रै अनुसन्धान गर्ने भन्ने सुनेपछि छक्क त परिने नै भइयो। अब गाँजा व्यापारीको पछि लाग्नुपर्ने भयो भन्ने लाग्यो पहिलो पटक सुन्दा।

मेरो नाम लागुऔषध इकाइमा कसरी पर्यो भन्ने खुल्दुली मनमा लागिरह्यो। बढुवासँगै काठमाडौंको कार्यालयको पाउनु राम्रै हो नि त।

पछि कसको कारण मेरो सरुवा त्यहाँ भएको रहेछ भन्ने थाहा भयो।

त्यो बेला गृहमा श्रीमान् श्रेष्ठ हुनुहुन्थ्यो। उहाँलाई म श्रीमान् काका भनेर सम्बोधन गर्थें। मैले उहाँसँग प्रहरी संगठनको बारेमा केही कुरा गरेको थिइनँ। उहाँलाई मेरो एकोहोरो काम गर्ने स्वभाव थाहा थियो।

उहाँले नै कतै ‘यसको स्वभावले मेनस्ट्रिम पुलिसिङ गर्न सक्दैन, यो टिक्दैन’ भनेर इकाईमा सरुवा गराइएको रहेछ।

इकाईमा सरुवा गर्न गृहको त चल्थ्यो किनकी इकाईमा प्रहरी दरबन्दी भए पनि त्यो गृह मातहतको थियो। दरबन्दी मात्र प्रहरी प्रधान कार्यालयको।

कार्यालय नयाँ थियो। 

नयाँ कार्यालय भनेपछि केही गर्न सकिन्छ भन्ने भयो मलाई। नयाँ भनेपछि त टिम पनि आफू अनुकुल बनाउन सकियो। कसरी काम गर्ने योजना बनाउन पनि सकियो।

ठमेलमा थियो त्यो बेला कार्यालय। अनि लागुऔषधको अनुसन्धान गर्न म तयार भएँ।

क्रमश:

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....