उकेरा काेलम

ब्याच नम्बर ६९ : ...अनि भाग्ने योजना बनाएँ

तालिमे भनेको फुटबलजस्तो हुने रहेछ। तालिम केन्द्रमा जो आउँछन्, हानेर जान्छन्। गाली उस्तै।

हेमन्त मल्ल


जागिर, त्यो पनि प्रहरी निरीक्षकको। म त फुरुगैं। आकाशवाणीबाट सन्देश पाएर बुबा–आमा पनि खुसी हुनुभयो भन्ने लाग्यो। घरमा सन्देश पठाएपछि हाँडीगाउँतिर आएँ। काकाको घर थियो त्यहाँ।

०००

भर्नाको फर्म भरेपछि कुद्ने, दौड्ने, शारीरिक परीक्षण अनि अन्तर्वार्ता भएका थिए। त्यो पास भएपछि सिधै जागिर भन्ने लागेको थियो। तर, हैन रहेछ।

छुट्टै तालिम लिनुपर्ने रहेछ। त्यो पनि १५ महिनाको। अनि तालिम केन्द्रमै बस्नुपर्ने।

सानैदेखि होस्टलमा हुर्किएकाले घर छाडेर बाहिर बस्नु मेरा लागि ठूलो कुरा भएन। बरु घरमा बस्दा उकुसमुकुस हुन्थ्यो। तालिम केन्द्रमा बस्नुपर्ने भयो भन्ने चिन्ता थिएन।

तर, के–के तालिम गराउने हुन् भन्नेचाहिँ तनाव हुने रहेछ।

तालिम लिनुपर्ने ठाउँ अहिलेकै महाराजगन्जको तालिम केन्द्र थियो। त्यो बेला यसको नाम ‘सदर प्रहरी तालिम केन्द्र’ थियो। अहिले ‘प्रहरी प्रशिक्षण प्रतिष्ठान’ छ।

०००

तालिमको क्रममा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा साथीहरूसँग अगाडिको लहरको छेउमा।

भर्ना मिति २०४३ चैत ३ गते हो। ब्याच नम्बरचाहिँ ६९। ब्याचमा ४५ जना भए पनि फ्रेस २५ जना रहेछौं। बाँकीचाहिँ विभागीय।

तालिम केन्द्र प्रवेश गरेको ठ्याक्कै मिति बिर्सिएँ। नाम निस्किएको त्यस्तै एक हप्तापछि होला तालिम केन्द्र गएको। तालिममा जान गुन्टा कसें। लागे महाराजगन्जतिर।

के–के प्रक्रिया थिए सबै सकाएर कोठामा गएँ। यसो हेरेको ठिकै थियो कोठा। गुन्टा खोलेर चाहिने सामान निकालें। तालिमे साथीहरू एक–एक गर्दै आउन थाले।

०००

पहिलो दिन बेलुकातिर चौरमा सामेली हुने आदेश आयो।

चौरमा पुग्दा हातमा लौरो लिएर बसेका थिए केही। सबैलाई क्रमगतरूपमा मिलाएर राखियो।

नाम भन्ने काम भयो।

गुरुबा हुनुहुन्थ्यो वसन्त कुँवर। उहाँको ब्रिफिङको पालो आयो।

बाफ रे बाफ ! कस्तो गाली !

यस्ता फोहोरी शब्दहरू त कहिल्यै सुनेको थिइनँ हो मैले।

 ‘लौ कहाँ फसियो’ भन्ने लाग्यो पहिलो दिनमै।

दोस्रो दिन कपाल काट्ने ठाउँमा लगियो। भटाभट भोगटे कट। ऐनामा हेर्दा आफैंलाई चिनिनँ। 

०००

तालिमको क्रममा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा साथीहरूसँग (गालामा हात राखेको)।

बिहान ५ बजे उठ्नुपर्ने। थोरै समय हुन्थ्यो बिहानी नित्यकर्म गर्न। भने अनुसार भएन भने गाली भेटिहाल्ने। जुरुक्क उठेर ब्रसमा मन्जन हालेर शौचालय दौडिहाल्यो।

शौचालय यसो बारेको थियो। फल्याक राखेको। दाह्री पनि काट्नै पर्यो। पहिला शौचालय जाने, अनि ब्रस गर्ने, दाह्री काट्ने गर्यो भने समय नभ्याउने। दिसा गर्दागर्दै ब्रस गर्ने अनि दाह्री पनि त्यही काट्ने। दौडेर कोठामा आएर पिटीको लागि तयार भयो मैदान दौडियो।

पिटी सकिँदा ७ बज्थ्यो। चिया, जेरी र स्वारी खायो अनि परेड खेल्न गयो। १२ बजेसम्म परेड खेलेपछि खानाको पालो। खाना खाएपछि आराम गर्न आधा घन्टा समय पाइन्थ्यो। साथीहरू गफ गरेर बस्थे, म सुत्थें।

सुत्नमा गजबको बानी छ मेरो अहिले पनि। यसो ढल्कन पायो कि निदाइहाल्छु। ब्युँझन पनि समस्या हुन्न। आधा घन्टापछि कक्षा हुन्थ्यो। बेलुका ९ बजेभित्र खाना खाएर बेडमा पुग्यो। बत्ती निभायो, सुत्यो।

ड्युटीको प्रशिक्षणका लागि बेलुका पालैपालो ड्युटी पनि खटिनुपर्थ्यो।

०००

गाउँमा बुबा देवबहादुर मल्लसँग।

सानैदेखि होस्टलमा बसे पनि आफ्नो काम आफैं गर्ने बानी भने थिएन। महिनाको हजार रूपैयाँ खर्च घरबाट आउँथ्यो। १ रूपैयाँ भारू दियो भने कपडा धुने आइहाल्थे। खाना होटलमा खाने।

होस्टलको कोठामा मुड चल्यो भने चिया खाइन्थ्यो। कोठामा चिया पकाउने भाडा र स्टोभ मात्र थियो। तर, चिया कमै खाइन्थ्यो।

तालिमे भएपछि त आफ्नो सबै काम आफैं गर्नुपर्ने। कपडा आफैंले धुनुपर्ने, बेडसिट मिलाउनुपर्ने के–के हो के–के। हत्तु भएँ।

पहिलो भाग 

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा

नैनीतालमा सानैदेखि बसेकाले साथीभाइ सबै परिवारका सदस्यजस्ता भएका थिए। तालिममा सबै नयाँ। भिन्न–भिन्न स्वभावको। घुलमिल हुन गाह्रो हुने नै भयो।

भाषाले पनि उस्तै दुःख दियो मलाई। नेपाली त बोल्थें। तर, लेख्न आउँदैनथ्यो। हिन्दी र नेपाली देवनागरी लिपी त हो नि भन्ने लाग्न सक्छ। तर, लेख्न निकै गाह्रो छ। अहिले पनि उस्तै गाह्रो लाग्छ नेपाली लेख्न।

अर्को समस्या नेपालको राष्ट्रिय गानसमेत आउँदैनथ्यो। अब भारतमा कसले ‘श्रीमान् गम्भीर...’ गाउँथ्यो र ! स्कुलमा गाउने ‘जन गण मन...’ त हो।

म स्पोर्टसमा त्यति राम्रो हैन। तर, मेरो परिवारका तीन जना (श्रीमती, छोरा र छोरी) च्याम्पियन। तीनै जनाले भारतको राष्ट्रिय प्रतियोगिता खेलेका छन्। म भने शारीरिक तागत लगाउने काममा सधैं पछाडि। स्पोटर्समा राम्रो थिइनँ।

०००

नैनीतालमा साथीहरूसँग।

 जागिर खाएकाले बुबा–आमा खुसी हुनुभयो भन्ने लागेको थियो। तर, बुबा रिसाउनु पो भएको रहेछ। तालिम सुरु भएको त्यस्तै दुई महिनापछि बुबाको चिठी आयो। नसोधी जागिर खाएकोमा निकै चित्त दुखाउनुभएको थियो।

त्यो बेला अहिलेजस्तो सजिलो थिएन सोध्न। त्यसमा पनि आफन्तले भनेर प्रहरीमा जागिर खान आएकाले यस्तो रिसाउनु नै होला भन्ने लागेको थिएन। तर। चित्त दुखाउनुभयो नमजाले।

चिठीको भाषा ठ्याक्कै बिर्सिएँ। तर, भाव छोराको पढाइ सकाएपछि गाउँमा आफूसँगै राख्ने मनसाय राख्नुभएको थियो उहाँले।

०००

तालिमे भनेको फुटबलजस्तो हुने रहेछ। तालिम केन्द्रमा जो आउँछन्, तर्साएर जान्छन्। गाली उस्तै। ऐनामा अनुहार हेर्यो आफूले आफैंलाई नचिन्ने भइसकेको थिएँ।

उता परिवार पनि रिसायो। जागिर खानैपर्ने बाध्यता पनि थिएन।

प्रहरी तालिम केन्द्रमा होस्टेलका साथीहरू खुब मिस हुन थाले। बदमास थिए नैनितालमा होस्टलमा बस्ने साथीहरू। तर निक्कै माया गर्थे।

सबैको आ–आफ्नो कोठा थियो। तर ओढ्ने ओछ्याउने सबै बोकेर मेरो कोठामा आएर बस्थे। बन्दुक बोकेर हिँड्ने साथीहरू पनि थिए।

कहिलेकाहीँ हत्तु बनाउँथे। होस्टलमा बस्न नसकेर होटेलमा समेत बसे।

तर खुब माया गर्थे। 

तालिममा मनै रमाएन।

दिमागमा भाग्ने बाहेक अरू सोचाई नै आउन छाड्यो।

तर, भाग्ने कसरी?

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस....