उकेरा काेलम

ब्याच नम्बर ६९ : चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

७ बजेको थियो होला, आइजिपी हेमबहादुर सिंह सरासर मेरो कोठामा आउनुभयो। ट्रयाकसुटमै हुनुहुन्थ्यो उहाँ।  मै बसेको कुर्सी तानेर बस्दै भन्नुभयो, ‘फोन लगाओ।’

हेमन्त मल्ल


१२ घण्टाको दरले ड्युटीका लागि हरेक दिन तीन जनाको पालो पर्थ्यो। २०४५ भदौ ५ गते मेरो ड्युटी परेको थियो अप्रेसनमा। ड्युटीको समयमा सुत्न पाउने कुरै भएन। तर, ड्युटी कोठामा आराम गर्न फोल्डिङवाला खाट भने थियो।

आराम गर्न मन लागे नजिकै सेट राखेर पल्टियो। पल्टिए पनि झ्याप्पै सुत्न नपाइने। सेटमा के–के सूचना आइरहेको हुन्थ्यो कान थाप्नै पर्यो। सेटतिर ध्यान हुँदा अर्धनिद्रामा भइन्थ्यो सधैं।

बिहानतिर झ्याप्प आँखा लाग्ला जस्तो भएको थियो खाट चुइँचुइँ गर्न थाल्यो। भुइँतलामा थियो कार्यालय। फोल्डिङवाला खाट राख्दा मिलेनछ जस्तो लाग्यो। तर, मजाले हल्लाउन पो थाल्यो।

बेलुका सईहरू पनि राउण्ड ड्युटीमा हुन्थे। त्यो दिन ड्युटीमा भएको सई दौड्दै बरण्डामा पुग्यो। ऊ गोली दौडिए जसरी दौडिएको थियो। अनि ‘भुइँचालो आयो’ भनेर कराउन थाल्यो।

बल्ल चाल पाए खाट हल्लिएको कारण।

झ्याल नजिकै खाट थियो। फुत्त झ्यालबाट बाहिर निस्कँदा बरण्डामा पुगिन्थ्यो। निस्किए।

उभिन गाह्रो भयो। मजाले हल्लाइरहेको थियो। 

नजिकै १ नम्बर गण थियो। यसो हेरेको गणको भवन ढल्लाझैं गरी हल्लिरहेको थियो। 

गणमा रहेका प्रहरीको कुदाकुद, भागाभाग। किचिएरै मर्लान् जस्तो भयो।

केही प्रहरी गणको चौरमा सामेल भइरहेका, केहीचाहिँ गेटतिर कुदिरहेका। गेटतिर किन गइरहेका छन् भनेको त हाँडीगाउँतिर जान रहेछ।

गणमा बस्ने प्रहरीका परिवार हाँडीगाउँमा डेरामा बस्ने रहेछन्। त्यो बेलाको अधिकांश घरहरू काँचो माटो र इँटाको त थियो। त्यत्रो भूकम्प आएको छ। परिवारलाई केही भयो कि भनेर बेतोडले दौडिरहेका थिए।
गेटतिर दौडादौड गरेको दृष्य अहिले पनि आँखामा आउँछ। 
०००

कहाँ केन्द्रविन्दु को ? कति रेक्टर स्केलको हो भन्ने तत्काल सूचना संकलन गर्न सम्भव थिएन। भुइँ हल्लिन छाडेपछि उसैगरी झ्यालबाट फुत्त कोठामा छिरें। वाकिटकीको साउन्डको आवाज बढाएँ। कतै घरभित्रै मान्छेहरू किचिएका कतै, के भएको रिपोर्टहरू आइरहेका थिए।

भूकम्प गएकोचाहिँ बिहान पौने ५ बजेतिर रहेछ। ६.७ रेक्टर स्केलको भूकम्प गएको  थियो। केन्द्रविन्दु पूर्वी नेपाल। उदयपुरको मुर्कुचीलाई थियो केन्द्रविन्दु। काठमाडौंमा क्षति भयो। काँचो माटोका घरहरू धेरै भत्किए।

भक्तपुर र धरानमा धेरै क्षति भयो।

सबै सूचना संकलन गरेर रिपोर्ट तयार पारें।

७ बजेको थियो होला, आइजिपी हेमबहादुर सिंह सरासर मेरो कोठामा आउनुभयो। ट्रयाकसुटमै हुनुहुन्थ्यो उहाँ। 

म कुर्सीबाट उठें। र, उहाँलाई सलाम गरें।

उहाँले मै बसेको कुर्सी तानेर बस्दै भन्नुभयो, ‘फोन लगाओ।’

आइजिपी आउनुभएको थाहा पाएर डिआइजी रणबहादुर चन्द पनि मेरो कोठामा आउनुभयो।

उहाँले जिल्लाको नाम भन्नुहुन्थ्यो। म डायल गर्थे।

कहाँ के–के भयो ? आफैंले कुरा गर्नुभयो। के–के गर्ने पनि आफैंले निर्देशन दिनुभयो। 

जानकारी लिँदा र निर्देशन दिँदा एक घण्टाजति अप्रेसनको कोठामा बस्नुभयो।
०००
बिस्तारै रिपोर्टहरू आउन थाले। भूकम्पले ठूलै क्षति पुर्याएछ। ७ सय २१ होला मृतकको संख्या। ६० हजार जति त घर भत्किएको थियो।

कुन–कुन जिल्लामा के–के भयो, त्यो सबै त याद छैन। तर, धरान र भक्तपुरमा सबैभन्दा धेरै क्षति पुयाएकोचाहिँ याद छ। 

भक्तपुरमा धेरै घर भत्किएको थियो २०४५ को भूकम्पमा।
००० 

राजा वीरेन्द्र शाहले देशवासीको नाममा सम्बोधन गर्दै ‘दुःखको बेला सबै नेपाली मिलेर उद्धार कार्यमा योगदान पुर्याउनु’ भनेको याद छ। 

राष्ट्र प्रमुखको सम्बोधनको सकारात्मक प्रभाव पर्छ नै। सम्बोधनपछि उद्धारमा खटिएका प्रहरीलाई स्थानीयले साथ दिएका थिए। २०७२ कै भूकम्पमा उपकरण र साधनको अभावमा धेरै गाह्रो भयो नि उद्धारमा। अब त्यो बेला त के नै साधन थियो र प्रहरीसँग। कुटो, कोदालो, साबेल जे–जे भेटिन्छ, त्यसैले उद्धारमा खटिने त हो।

अप्रेसनमा सूचनाहरू आइरहेका थिए। ‘केन्द्रीय दैवीप्रकोप उद्धार समिति’को बैठक बस्यो।  त्यसले विभिन्न समिति गठन गरेको जानकारी आयो। भूतपूर्व प्रधानमन्त्रीहरूको टोलीसमेत खटिएका थिए। सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल लगायतकाहरूको टोली नै थियो।

दिउँसो आइजिपी सिंहले अप्रेसनको टिमसहित सिनियर प्रहरीहरूको बैठक राखेर एसएसपीको कमाण्डमा भूकम्पसम्बन्धी राहत, उद्धारको कमाण्ड पोस्ट बनाउनुभयो। त्यसपछि अप्रेसनको काम अलि होलो भयो। हामीले आएका सूचना संकलन गर्ने अनि समितिलाई बुझाउने गर्न थाल्यौं।

घर परिवारतिरको चिन्ताचाहिँ भएन। किनकी उता भुइँचालोको कुनै प्रभावै परेको थिएन।
०००
पहिला र अहिलेको एउटा पाटोचाहिँ उल्लेख गर्छु, जुन मलाई पटक्कै चित्त बुझ्दैन।

कुनै आपत्विपत् आयो कि भिभिआइपी, भिआइपीहरू लाइन लागेर अनुगमनमा जाने प्रचलन देखिन्छ अहिले। २०७२ को भूकम्पको बेलामा सिन्धुपाल्चोक लगायतका भूकम्प प्रभावित जिल्लाहरूमा उच्च तहका अधिकारीहरूको लाइनै लागेको थियो।

दुःखमा साथ दिन गएकोझैं देखिन्छ। तर, यस्तो बेलामा भिआइपीहरू प्रभावित क्षेत्रमा नजाँदा नै राहत र उद्धारको काम गर्न सकिन्छ। 

आपत्विपतमा खटिने सेना र प्रहरी त हुन्। अहिले सशस्त्र पनि छ। अब भिआइपीहरू अनुगमनमा आएपछि उद्धारमा खटिनुपर्ने सुरक्षा जनशक्ति उनीहरूको सुरक्षामा खटिनुपर्छ। यसले आपतकालीन अवस्थामा अति महत्त्वपूर्ण जनशक्ति खेर जान्छ नि।

नआउनुस् भनेर भन्न सकिन्न। यो त उच्चपदस्थले आफैं बुझ्नुपर्ने विषय हो नि। आएपछि त सुरक्षाकर्मी सुरक्षामा खटिन्छ नै। 

२०४५ को भूकम्पमा प्रभावित क्षेत्रको अवलोकन भनेर भिभिआइपीको लाइन लागेको थिएन है।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....