उकेरा काेलम

ब्याच नम्बर ६९ : दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

प्रहरीको काम तर्क–वितर्क गर्ने हैन। आदेश मान्ने हो। जा भनेपछि जाने, हान भनेपछि हान्ने

हेमन्त मल्ल


म मात्रै हैन, ब्याचका प्रायः सबैको हालत उस्तै थियो– हैरान, परेसान।
अहिलेको तालिममा क्लास वर्कमा बढी जोड दिइन्छ। त्यो बेला फिल्ड वर्क र अनुशासनमा बढी जोड दिइन्थ्यो।

गुरुबाहरू सल्लाको रुख हल्लाएर पात झार भन्नुहुन्थ्यो। अब सल्लाको पात कसरी झार्नु ? रुख बोकेर ल्याइज भन्ने। 

सकिन्छ कि सकिन्न भन्ने सोच्ने नै हैन। आएको आदेश अनुसार ‘हस सर’ भन्ने। र, जाने हो।

रुख हल्लाएर बस्ने। पात झर्यो भनेर सोध्ने। ‘झर्दैछ सर’ भन्ने हो।

फर्केर आइज नभनेसम्म रुख बोक्ने, हल्लाउने बस्ने। गुरुजीले ‘ल भयो आइज’ भनेपछि फर्कने।

मनमा ‘बेकारमा सम्भवै नभएको काम के लगाएको होला’ भन्ने त लाग्थ्यो। पछि बुझियो– त्यो त आदेश पालना गराउने बानी बसाल्न रहेछ। 

कमाण्डरबाट आएको आदेश सम्भव छ कि छैन भनेर विचार गर्न थाल्यो भने आदेशको पालना हुन सक्दैन। परिणाम पछि हेर्ने हो, पहिला त आदेश पालना हुनुपर्यो, जस्तै : भीड नियन्त्रणमा लाठी ठोक भन्दा को–को छन् भनेर हेर्न थालियो भने भीड कसरी नियन्त्रण हुन्छ र ? ठोक भनेपछि ठोक्ने हो। 

त्यही बानी पार्न पात झार्न र रुख बोक्न लगाएको रहेछ।

बिहान उठ्ने समय र तयार हुने समय किन यति छोटो भन्ने लाग्थ्यो। त्यो समय व्यवस्थापनको प्रशिक्षण रहेछ। प्रहरीको जिम्मेवारी नै जुनसुकै बेला जहाँ जान पनि तयार भइहाल्नुपर्याे नि त। पहिल्यै प्रशस्त समय दियो भने त बानी कसरी लाग्नु।

प्रशिक्षणमै सीमित समय दियो भने छोटो समयमा सबै काम गर्ने बानी लाग्छ नि त। 
सुत्न उस्तै अप्ठ्यारो। मेसमा खान खान पनि उस्तै गाह्रो। त्यो जानजान गरिएको रहेछ भन्ने पछि बुझियो। ती सबै तालिमको व्यावहारिक प्रशिक्षण रहेछ।

तालिमको क्रममा मुस्ताङमा

०००
तालिममा मसँगै ४५ जना थियौं। उपेन्द्रकान्त अर्याल, राजेन्द्र सिंह भण्डारी, नारायणप्रसाद बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रकाश साउद, रमेशशेखर बज्राचार्य, विज्ञाराज शर्मा, गणेशराज राई, वीरेन्द्र बाबु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, प्रताप सिंह थापा, विश्वराज सिंह शाही, सुशीलवर सिंह थापा, केशवबहादुर शाही, केशवप्रसाद अधिकारी, गोपालप्रसाद भण्डारी, श्यामबहादुर खड्का, रवि प्रताप राणा, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, प्रेमबहादुर चन्द, ज्ञानोदराज वैद्यलगायत ब्याची थिए।

कोही काठमाडौंकै रैथाने, कोही काठमाडौं बाहिरबाट आएकाहरू। अँ, दुई जना महिला पनि हुनुहुन्थ्यो। तर, ती दुवैले पछि जागिर छाडे। र, विदेश गए।

मेरो ब्याचबाटै उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भए। अन्य साथीहरू कोही एआइजी, कोही डिआइजी त कोही त एसएसपीमै पनि अवकास पाए। बढुवामा तलमाथि हुँदा यस्तो भएको थियो। 
बढुवाका खेलहरू आगामी अंकमा लेखौला। अहिले तालिमकै विषयमा लेखौं।

०००
म मात्रै हैन, तालिमको प्रारम्भमा सबै साथीहरू अन्योलमै थिए। मलाई मात्रै हैन, भाग्न मन लाग्ने अरु पनि रहेछन्। 

तर, भागेर जाने कहाँ ? लाज हुन्थ्यो नि। परिवारको इज्जतको कुरा पनि भयो। नाकै काटिन्छ कुलको भन्ने भयो। 

त्यो बेलाको इन्सपेक्टर (प्रहरी निरीक्षक) भनेको अहिलेको जस्तो हैन। धेरै सम्मान थियो समाजमा। तालिमकै दौरान प्रहरी निरीक्षक ठूलो पद रहेछ भन्ने बुझियो। 

तालिममा छिरेको तीन महिनापछि तालिम केन्द्र बाहिर पठाउन थाले। ६ महिनापछि त गस्तीमा पठाउन थाले। खैरो रंगको तालिम पोशाक थियो। त्यही लगाएर पेट्रोलिङमा हिँडियो। 

साथीहरूबीच घुलमिल हुन थाल्यो। तालिम रमाइलो लाग्दै गयो। पेट्रोलिङ र ड्युटीको अनुभवका लागि तालिम केन्द्र बाहिर निकालेर घुमाउन थालेपछि बाहिरी वातावरण पनि देख्न पाइयो। 
गुरुबा वसन्त कुँवर तालिममा मात्र कडा। मिलनसार हुनुहुन्थ्यो। विस्तारै मन बस्दै गयो तालिममा। धन्न भागिएन।

०००

तालिमको क्रममा ब्याचीहरुसँग

तालिम दौरानमा ब्याचीबीच लफडा हुन्छ नै। मारपिट भएका धेरै घटना सुनियो तालिमको बेला। तर, मेरो ब्याचमा त्यस्तो केही भएन। ढाँटेको हैन है। सामान्य विवाद त हुन्थ्यो। तर, १५ महिनाको बसाईमा मनै दुखाउनुपर्ने लफडा भएन। 

हाम्रै पालामा तालिम केन्द्रमा हप्तामा एक दिन बार खोल्न थालियो। मस्त पिउने दिन। त्यो बेला म मदिरा खाँदैनथे। साथीहरू खान्थे। मदिरा खाएको बेलामा पनि कहिल्यै लफडा भएन। हाम्रो ब्याचपछिको ब्याचमा बार खुलेको दिन मारपिटै भएपछि बन्दै गर्नुपरेको रहेछ।

ब्याचीविचको मित्रता पछिसम्म कायमै रह्यो। एकै घरका सदस्य जस्तो हुने रहेछ १५ महिनासँगै बस्दा। जो जुन दर्जामा पुगे पनि तँ–तँ चल्ने। एसएसपी तहसम्म सबै साथीहरूबीच निकै मिल्ती थियो। पछि केही साथीहरूको सम्बन्ध चिसो भयो। यसका कारण धेरै छन्। पछि विस्तारमा खोतलौला। 

०००
ब्याचका सबैसँग मेरोचाहिँ राम्रो दोस्ती थियो। पछिसम्म पनि सम्बन्ध उस्तै रह्यो। सबैले माया गर्थे मलाई। केशबहादुर शाहीसँगचाहिँ धेरै नजिक भइयो। उनी मेरो नातेदार पनि परे। नातामा उनी हजुरबा, म नाति। उनले पनि भारतमै पढेको। भाषा पनि मिल्यो। स्वभाव पनि मिल्ने। दोस्ती जम्यो। अहिले पनि उस्तै छ हाम्रो दोस्ती। विन्दास !

तालिमको बेलामा अर्को गार्हो काम जुत्ता टल्काउने र कपडा प्रेस गर्ने नै हो। जुत्ता टिलिक्कै टल्कनपथ्र्यो दाँतको छाँया देखिने गरी। जुत्तामा ब्रस गरेर ‘इँ’ गर्दै दात देखाउँदा देखिएन भने सजाय पाइहालियो। मलाई ब्रस गर्न नआउने। केशबहादुर शाही च्याम्पियन। उनले बुट पलिस गरिदिन्थे मेरो पनि।

मेरो भागमाचाहिँ कपडा प्रेस गर्ने पर्यो। प्रेस गर्न पनि गार्हो नि। धार निस्कनपथ्र्यो तर्बुजा नै काट्ला जस्तोगरी। कतै दाग बस्न नहुने। अब सामान्य आइरनले त धार निकाल्न सम्भवै छैन। फलामको आइरनमा कोइला हालेर प्रेस गर्ने हो मरीमरी।

त्यो समयमा इलेक्ट्रिक आइरन दिन गाह्रो थिएन। बुट पलिस त्यसरी टिलिक्कै पार्नुपर्ने पनि हैन नि। यो पनि तालिमको भाग रहेछ। दिएको काम फाइन गर्ने अभ्यास। त्यसले पछिसम्म फाइदै गर्यो।

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा

०००
राजनीतिक हस्तक्षेपले प्रहरी संगठनलाई कमजोर बनाए पनि कानुन कार्यान्वयनमा यसको प्रभाव भने अझै बलियो नै छ। निजामती प्रशासन जस्तो सम्हाल्नै नसक्ने गरी प्रहरी संगठन भत्किसकेको छैन। 

त्यसको कारण अनुशासन नै हो। आदेश पालक, चेन अफ कमाण्ड फलो गर्ने पद्धतिले हो प्रहरी संगठन जोगिएको। भोलि पनि यसलाई जोगाउने भनेको यही चेन अफ कमाण्ड पद्धतिले नै हो। यो भत्कियो भने संगठन भत्कियो। सम्हाल्न सकिन्न।

तर, अहिले प्रहरी संगठनभित्र अनुशासनका समस्या देखिन थालेको छ। दिएको आदेश नमान्ने, तर्क–वितर्क गर्ने क्रम सुरु भएको देखिन्छ। त्यो तालिमको कमजोरी हो।

भीडदेखि डराउने, दिएको आदेश नमान्ने प्रवृत्ति बढ्यो भने प्रहरी संगठन भत्कन्छ। प्रहरीको काम तर्क–वितर्क गर्ने हैन। आदेश मान्ने हो। जा भनेपछि जाने, हान भनेपछि हान्ने। आदेश जे हो त्यही गर्ने।। त्यसको परिणाम के हुन्छ पछि देखाजायगा भन्ने बनाउनुपर्छ तालिमले।

जिम्मेवार आदेश दिने हुन्छ। आदेश दिनेले पक्कै पनि परिणाम सोचेको हुन्छ नि। आदेश पालकले पनि परिणाम सोच्न थाल्यो भने संगठन भुत्तो हुन्छ। तर, आदेश दिनेले दिएको आदेशको जिम्मेवारी भने लिनुपर्छ। आदेश दिने तर जिम्मेवारी नलिने भयो भने चेन अफ कमाण्ड रहँदैन। भत्कन्छ। 

०००

तालिमको क्रममा मुस्ताङमा

बल्ल १५ महिनाको तालिम सकियो। अब ड्युटी गर्न जानुपर्छ भन्ने मनमा आउनासाथ निकै डर पो लाग्यो। बाहिर गएर के गर्ने होला ? अन्योल हुने रहेछ। डर लाग्ने क्या।

तलब खुवाउन तालिमकै बेलामा दरबन्दी कायम भइसकेको थियो। तलब महिनाको १४ सय रूपैयाँ थियो। मेरो दरबन्दीचाहिँ जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा राखिएको रहेछ। 
प्रहरी तालिम केन्द्रमै पास आउटको भव्य कार्यक्रम आयोजना भयो। मेरो परिवारका सबै गाउँमै भएकाले बुबा–आमा कोही आउनुभएन। काकी आउनुभएको थियो, मैले प्रहरी निरीक्षकको दज्र्यानी चिह्न लगाएको हेर्न।

मेरो पालो आयो। तालिमे पोशाकको ठाउँमा औपचारिक ड्रेस सर्ट र पाइन्ट लगाएको थिएँ। दुवै खैरो नै थियो त्यो बेला। 

दर्ज्यानी चिह्न लगाउँदा उभिँदा धड्केको मुटुको धड्कन अहिले पनि सुनेझैं लाग्छ।

निकै नर्भस भएको थिएँ म। हातखुट्टा काम्ने रहेछ लगलग। बेहोसै हुँलाझैं पो भयो त। सायद अरुलाई पनि यस्तै हुन्छ होला।

बेहासैचाहिँ भइएन। काँधमा चट्ट खुकुरी क्रसको दज्र्यानी चिह्न लाग्यो। तनक्क तन्किएर स्यालुट हानेर फर्किए लाइनमा।

ब्याच नम्बर ६९ : ...अनि भाग्ने योजना बनाएँ

०००

हाँडीगाउँमा काकाको घरै थियो मेरो बस्ने ठाउँ। गुन्डा कसेर काकीसँग हाडीगाउँतिर लागे। 

तालिमको दरबन्दी सरेर प्रहरी प्रधान कार्यालयको भण्डारमा कायम भएको रहेछ। अबको प्रहरी यात्रा त्यहीबाट सुरु हुँदै थियो। 

प्रहरी निरीक्षकको पोशाक लगाएर हेडक्वाटरमा ड्युटी गर्न गएको सम्झँदा मनमा कुतकुती लागिसकेको थियो। वरिपरिकाले कसरी हेर्लान् है मलाई ? त्यो बेलाको प्रहरी निरीक्षक पो त।

तर, के–के जिम्मेवारी आउने होला भनेर डर पनि लागिरहेकै थियो।

माथि नै भनिहाले,  मुटुको गति उस्तै थियो– धुकधुक...धुकधुक...।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस....