उकेरा काेलम

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा

हेमन्त मल्ल


नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाए हेमन्त मल्लले। ३० वर्षीय सेवा अवधि सकेर प्रहरी सङ्गठनबाट निस्कँदा उनले अब्बल अनुसन्धानकर्मीको छवि बनाइसकेका थिए। लामो समय लागुऔषध नियन्त्रण एकाइमा काम गरेका उनीसँग नेपालमा भएका प्रायः सबै ठुला लागुऔषध कारोवारविरुद्धको प्रहरी अप्रेसनको अनुभव छ। प्रहरी सङ्गठनको विभिन्न कार्यालयमा जिम्मेवारी निर्वाह गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो सम्हाल्दा १२ वर्षसम्म नसुल्झिएको रानीबारी हत्याकाण्ड होस् वा अति जटिल बनेको सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याको रहस्य खोल्ने जिम्मेवारी, दुवै कुशलताका साथ सम्पन्न गरे।

तस्बिर : कृष्पा श्रेष्ठ।

उनै पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पहिलो भाग :

०००

हाम्रो परिवारको चलन सानैमा होस्टेल राख्ने थियो। पाँचै वर्षको उमेरमा मलाई पनि होस्टेल राखियो नैनितालको स्कुलमा। मेरो विद्यालय स्तरको पढाइ त्यही सकियो। अनि भर्ना भए उतैको कुमाउँ विश्वविद्यालयमा।

के पढ्ने भन्ने नै थिएन। साथीहरू जे पढ्ने त्यही पढ्ने। कुन विषय पढे के हुन्छ भन्ने थाहै थिएन। चिन्ता खाली साथीहरू नछुटुन् भन्ने हुन्थ्यो। साथीहरू अर्थशास्त्र पढ्ने भए। म पनि त्यसैमा भर्ना भएँ।

२०४३ को कुरा हो। अर्थशास्त्रको स्नातकोत्तर तहमा पढिरहेको थिएँ। मेरो कान्छो बुबाको ससुराली काठमाडौँमा। गरुड शमशेर जबरा कान्छा बुबाको ससुरा। उहाँको कान्छो छोराको व्रतबन्ध रहेछ काठमाडौँमा। त्यही जाने सूचना आयो।

त्यो बेला सडक बनेको थिएन। पटनाबाट प्लेनमा मात्र आउन सकिन्थ्यो काठमाडौँ। परिवारका सदस्यले जे भन्यो त्यही मान्ने संस्कार। काठमाडौँ जाऊँ भनेपछि नाइँ कसरी भन्नु। लखनउबाट पटनाहुँदै काठमाडौँ आए।

व्रतबन्धको पार्टी चलिरहेको थियो। कान्छो फुपा गोपालजिजंग शाह म नजिकै आएर ‘ए राजा पढ्ने मात्र हो कि जागिर पनि खाने हो’ भन्नुभयो।

जागिर ?

गोपालको बुबालाई सोधे, ‘किन बुबा ?’

उहाँले भन्नुभयो, ‘इन्स्पेक्टरको फर्म खुलिरा’छ, भर्नु पर्दैन ?’

अब मलाई के थाहा।

साथीभाइबिच सल्लाह हुँदा अब टुरिजम पढ्ने सल्लाह भएको थियो। त्यसपछि के गर्ने भन्ने नै थिएन। मैले जागिर खान्छु भनेर त सोचेकै थिइनँ। पहिला पढौँ केही भएन भने घर फर्किएर केही गरौँला भन्ने थियो।

०००

बुबा आमा र भाइ बहिनीको साथमा मल्ल भाइ र बहिनीको बिचमा ।

बुबा देवबहादुर मल्ल, आमा शान्ती मल्ल र भाई बहिनीको साथमा मल्ल ।

 

अब अलिकति मेरो परिवारको पृष्ठभूमिमा जाऊँ है त।

मेरो बूढो हजुरबुबाको नाम हरिभानसिंह मल्ल। हाम्रो पुस्ता डोटीको पन्डोनको। त्यो बेला पन्डोन डोटीमा थियो, अहिले कैलालीमा पर्छ। बूढो हजुरबुबा डोटीबाट कैलालीको भजनीमा आउनुभएको। पछि अंशबन्डामा चाहिँ मेरो बुबाको भागमा साडेपानीमा पर्‍यो। पछि त्यतै सर्यौं। 

मेरो हजुरबुबाचाहिँ सुब्बा दिलीपसिंह मल्ल। उहाँले हिरण्य शमशेरको बिर्ता पाउनुभएको थियो। बिर्ता हजार बिगाहाभन्दा बढी थियो। पूर्वमा सूर्यबहादुर थापाले पाएको पनि हिरण्य शमशेरको हो। पश्चिममा मेरो हजुरबाले पाउनुभएको थियो।

उहाँ जागिरे पनि।

भजनी माल अड्डाको उहाँ सुब्बा हुनुहुन्थ्यो। मेरो बुबाको नाम देवबहादुर मल्ल। उहाँ सानैमा नैनिताल पढ्नुभएको।

उहाँलाई इन्जिनियर हुने ठुलो मन रहेछ। तर, हजुरबुबाले कान समातेर जमिन सम्हाल्नुपर्दैन भनेर खेती किसानीमा लगाउनुभयो। इन्जिनियरिङ पढ्न नपाएकोमा उहाँ पछिसम्म थकथक मान्नुहुन्थ्यो।

पछि बुबा घरजग्गाको रेखदेखसँगै राजनीतिमा पनि लाग्नुभयो। तर, गाउँ तहभन्दा माथि आउन चाहनुभएन। उहाँ ४० वर्ष त प्रधानपञ्च हुनुभयो।

बहुदलपछि पनि दुई पटक गाविस अध्यक्ष हुनुभयो उहाँ। तर, उहाँको रहर हैन। स्थानीयले छाड्दै नछाड्ने। उहाँलाई पञ्चायतमा माननीयको प्रस्ताव पनि आएको थियो। मनोनीत गर्न मिल्थ्यो त्यो बेला। तर, मान्नु भएनछ। प्रधानपञ्च भएरै बस्नुभयो। गाउँलाई नमुना नै बनाउनुभएको थियो। त्यसैले त अहिले गाउँपालिका हुँदा पनि नाम नमुना गाउँपालिका नै छ।

०००

मल्लको बाल्यकालको तस्बिर

म कसरी हुर्किए भन्दा अहिले धेरैलाई गफ दिएको जस्तो लाग्न सक्ला। तर, गफ किन दिनु र ।

बिर्तामा हजारौँ बिगाहा जमिन थियो। म ११ वर्ष जतिको हुँदा पनि परिवारको नाममा १० वटा त गाउँ नै थियो।

मेरो बुबाको चार दाजुभाइमध्ये उहाँ माइलो। तर मचाहिँ जेठो नाति।

मेरो घर वरपर आफ्नै हात्ती र घोडाहरू थिए। चोट लाग्ला भनेर मलाई भर्‍याङबाट झर्न नि दिँदैनथे। खेल्न पाँच जना जति सहयोगी थिए। भाडा भनेको चाँदीको मात्र।

त्यही पृष्ठभूमिमा हुर्केको म। त्यसरी नै बसेको भए त बाबुसाहेब भएर अहिले कहाँ हुन्थे थाहा छैन। तर, सानै उमेरमा होस्टेल हाल्ने पारिवारिक चलनका कारण ममा बाबुसाहेबको ह्याङ रहेन। पाँच वर्षको उमेरमा नैनितालमा पढ्न गए लगत्तै धरातल बुझ्ने मौका पाएँ। म अहिले जे जस्तो छु त्यही होस्टेल बसाइँको प्रभाव हो।

नैनितालकै प्रसङ्ग कोट्याऊँ अब।

पाँच वर्षको उमेरमा मलाई नैनिताल पठाइयो परिवारबाट।

जब नैनितालको होस्टेल पुगियो धरातल बुझियो। जीवन बदलियो। त्यहाँ न त सहयोगी थिए न अन्य थप सुविधा। सबै बराबर। बाबुसाहेब हुनुको के अर्थ भयो र त्यहाँ।

जाडोको बिदामा तीन महिनाको लागि घर आउँथे। त्यसपछि होस्टेल फर्किने हो। यसले मलाई जीवन सिकायो। व्यक्तिको धरातल बुझायो।

जग्गामा हदबन्दी लाग्यो। मौजा घट्दै गयो। हजुरबुबा, बुबा सामाजिक काममा धेरै मन गर्ने। विद्यालय, प्रहरी चौकीका लागि जग्गाहरू बाँड्नुभयो। आफ्नालाई जग्गाहरू पनि दिनुभयो। जग्गा घट्न थाल्यो। तर, जागिरै खानुपर्ने बाध्यता भने थिएन।

०००

तालिममा ब्याच ६९ का सहकर्मीसँग

प्रसङ्ग जागिरकै।

व्रतबन्धको पार्टीमा कान्छो फुपाजु गोपालजिजंग शाह ‘म भोलि लिन आउँछु है’ भनेर जानुभयो। कहाँ जाने, के गर्ने मलाई थाहा हुने कुरै भएन। लौ जागिर खाने, लैजाने भए भन्ने मात्रै लाग्यो।

भोलिपल्ट बिहान उहाँ लिन आउनुभयो। अहिलेको प्रहरी प्रधान कार्यालय रहेकै ठाउँमा थियो प्रहरी हेडक्वाटर। उहाँले मलाई सरासर आइजिपी बस्ने भवनमा लग्नुभयो। त्यो बेला आइजिपी हुनुहुन्थ्यो हेमबहादुर सिंह। परिचय गराउनुभयो। इन्स्पेक्टरको फर्म भर्न ल्याएको भन्दा उहाँ पनि खुसी हुनुभयो।

त्यो दिन त्यसै फर्कियौँ।

दोस्रो दिन पनि उहाँ नै लिनु आउनुभयो। हेडक्वाटर लगेर फर्म भराउनुभयो। फर्म भर्दा मनमा कता कता साथीहरू छुट्ने भए भन्ने पिर थियो। तर, फुपाले भनेको नाइँ भन्न सक्ने अवस्थामा थिइनँ।

फर्म भरे बुझाएपछि नैनितालै फर्किए।

यता भर्ना छनोटमा भाग लिँदा पढाइ छुट्ला कि भन्ने पिर थियो मनमा। तर, प्रोफेसरहरू साह्रै मजाका। नेपालमा अफिसर हुन फर्म भरेको थाहा पाएपछि प्रोत्साहित गरे।

‘क्लास छुट्छ भनेर चिन्ता नगर्नु, अफिसरमा नाम निकाल्नु’ भनेर हौस्याए। मलाई पनि राम्रै काम गरिएछ भन्ने लाग्यो।

छनोट चरणको परीक्षाका लागि तोकिएको मितिमा नैनितालबाट काठमाडौँ आएँ। दौडने, कुद्ने, स्वास्थ्य परीक्षण अनि अन्तर्वार्ता सबैमा सहभागी भएर नैनितालै फर्किएँ।

सम्पर्क मिति दिइएको थियो फागुन। नैनितालबाट फर्किए। प्रहरी प्रधान कार्यालय गएर गेटमा टाँसिएको पत्र हेरेँ। नाम देखियो, ‘हेमन्त मल्ल।’

जागिर करको थियो। तर, त्यो दिन नाम देख्दा साह्रै खुसी लाग्यो। फुरुङ्ग भएँ।

घर परिवारमा कसैलाई भनेको नै थिइनँ।

तालिममा  मल्ल

नाम निस्किएको समाचार सुनाउने साधन आवा (आकाशवाणी) मात्र थियो। आवा गर्न त्रिपुरेश्वर पुग्नुपर्ने। हतार हतार प्रहरी हेडक्वाटरबाट त्रिपुरेश्वरको आवा कार्यालयमा पुगेर बुबाको नाममा सन्देश टिपाएँ, ‘मेरो नाम प्रहरी निरीक्षकमा निस्कियो।’

र, परिवार दङ्ग परेको दृश्य सम्झँदै फर्किएँ।

 

 

क्रमश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस....