उकेरा काेलम

ब्याच नम्बर ६९ : बराल सरको संगतले अनुसन्धानको सीप सिकें

'अहिले त तल्लो तहका पनि फुत्त बालुवाटार पुग्छन्, फुत्त बूढानिलकण्ठ पुग्छन्, फुत्त भैंसेपाटी पुग्छन्। त्यो बेलामा यस्तो त कल्पनामा पनि आउँदैनथ्यो। सर्वेसर्वा आइजिपी'

हेमन्त मल्ल


तस्बिर : कृष्पा श्रेष्ठ।

हेडक्वाटरको भण्डारमा थियो दरबन्दी। हाँडीगाउँबाट चटक्क प्रहरी निरीक्षकको दर्ज्यानी चिह्न भएको खैरो ड्रेस लगाएर लमक–लमक हिँड्दै आएँ। अहिलेजस्तो ठूलो थिएन हेडक्वाटर। सानो थियो। आइजिपी बस्ने एक तलेको भवन थियो। अरु तीन–चार वटा साना घरहरू।

हाजिर भएँ। र, भण्डारमा काम सुरु गरे।

अब भण्डारको काम प्रहरीका लागि आउने सामानको लेखाजोखा त हो। कति सामान आयो, कति कहाँ गयो लेखेर बस्नुपर्ने। यस्तो काम बडो झ्याउ लाग्ने पहिल्यैदेखि। कार्यालय आयो। दिनभर कोठामा बस्यो, रजिस्टरमा विवरण राख्यो। प्रहरी भएझैँ अनुभवै भएन क्या मलाई।

भण्डारमा काम सुरु गरेको डेढ महिनामै कता भागौ कताझैं भयो। अन्तै जान पाए नि हुन्थ्यो भन्ने भयो।

त्यही बेलामा कार्यमा प्रहरी निरीक्षक चाहिएको रहेछ। डेढ महिनामै भण्डारबाट कार्यमा सरुवा भयो।
०००
त्यो बेलाको कार्य विभाग हैन, महाशाखा थियो। इन्चार्ज एसएसपी दर्जाको। उसको तल एसपी, डिएसपी अनि प्रहरी निरीक्षक।  एसएसपी सोमकान्त शर्मा हुनुहुन्थ्यो। एसपी राधव विक्रम राणा। डिएसपीमा रुद्र आचार्य अनि प्रहरी निरीक्षकमा म। 

हेडक्वाटरमा अहिलेको जस्तो भीड कहाँ थियो र। आइजिपी एक जना एआइजी अनि एक जना डिआइजी। महाशाखामा एसएसपीहरू। अहिले हेडक्वाटरमा काम गर्नेले आफ्नो विभागका सबैलाई चिन्दैनन्। एसएसपीसम्मलाई चिन्छन् कि ! एसपीसम्मलाई त चिन्दैनन्।

ब्याच नम्बर ६९: गोपालजिजंग शाहको प्रश्नले पुर्‍यायो प्रहरीमा

त्यो बेलामा त हामी प्रहरी जवानसम्मलाई चिन्थ्यौं। परिचय भएका प्रहरी जवानहरूसँग अहिलेसम्म पनि सम्बन्ध छ। भाइचारा थियो सबमा। एकलाई पर्दा सघाउन सबै तयार हुने। एकै परिवारको सदस्य बराबर थियो सम्बन्ध। २०४५ मा भूकम्प आउँदा त्यही थिए म। त्यसको त्रासद र रमाइलो दुवै सम्झना छ। पछि विस्तृत लेखौला।
०००
त्यो बेलामा 'राउन्ड दि क्लक'मा ड्युटी हुन्थ्यो। कार्य निकै पावरफुल। भिन्न–भिन्न जिम्मेवारी भएको महाशाखाहरू थिए। तर, कार्यबाट आएको टोली भनेपछि सक्कियो। कार्यकाले जे भन्यो त्यो आइजिपीको आदेश हो भन्ने थियो।

मेरो जिम्मेवारीचाहिँ देशमा भएका घटनाबारे अनुगमन, त्यसको विवरण संकलन अनि रिपोर्टिङ गर्ने थियो। रिपोर्टिङ गर्नुपर्ने माथिल्लो ओहदाकाले हो। तर, आइजिपीको कोठामा जाने भनेपछि सात्तो जाने।

हेमबहादुर सरको छवि पनि उस्तै थियो क्या। बाघेजुँगा पालेको। डल्लेडल्ले। भारी स्वर।

खाली त्यो बेलाको मात्र प्रशंसा भयो भन्ने लाग्न सक्छ। तर, ढाँटेर के काम। साच्चिकै त्यो बेलामा आइजिपी भनेको अहिलेको जस्तो हो र! ‘मै हुँ’ भन्ने पनि थरथर हुन्थे आइजिपीको अगाडि पर्नुपर्यो भने।

गृह मन्त्रालय भन्नेसमेत थाहा हुँदैनथ्यो। कामै पर्दैनथ्यो हाम्रो अनि किन चाहियो। अहिले त तल्लो तहका पनि फुत्त बालुवाटार पुग्छन्, फुत्त बूढानिलकण्ठ पुग्छन्, फुत्त भैंसेपाटी पुग्छन्। त्यो बेलामा यस्तो त कल्पनामा पनि आउँदैनथ्यो। सर्वेसर्वा आइजिपी। उनले जे भन्यो त्यही हुन्थ्यो पनि।

सिनियारिटीको बडो सम्मान। अहिले एकै ब्याचका सिनियर भनेको केही पनि हैनजस्तो गर्छन्। त्यो बेलामा एकै पदमा पनि एक महिनाको सिनियर भनेपछि छुट्टै सम्मान हुन्थ्यो। बस नभनी बस्दैनथ्यौं। त्यो निरंकुशता हैन है फेरि, रेस्पेक्ट थियो।
०००
कहाँ के घटना भयो भनेर रिपोर्टिङको जिम्मेवारी सिनियरहरूकै थियो। तर, म त्यहाँ पुगेपछि त्यो काम मेरो भागमा आयो। सिनियरहरू सकेसम्म आइजिपीको अगाडि पर्न नपरे हुन्थ्योझैं गर्ने। दोहोरो सवाल–जवाफै गर्न नसकिने।

हेमबहादुर सरको एउटा समस्या थियो। उहाँको अक्षर चिन्न बडो सकस पर्ने। घटनाको रिपोर्टिङ रजिस्टरमा लेखेर लैजाने हो। त्यसमा के–के गर्ने भनेर ठूलो अक्षरमा लेख्नुहुन्थ्यो। अक्षर डाक्टरको प्रेस्किप्सन जस्तो ठम्याउनै नसकिने। 

अब निर्देशन अनुसार घटना विवरण दरवारको जाहेरी शाखा लगायतमा पठाउनुपर्ने हुन्थ्यो। अक्षर बुझिएन भनेर दोहोर्याएर सोध्न जाने आँट कसको ?

ब्याच नम्बर ६९ : ...अनि भाग्ने योजना बनाएँ

उहाँसँग मेरो पहिल्यै चिनजान छ भन्ने थाहा पाएपछि दैनिक रिपोर्टिङको जिम्मेवारी आयो।

म गएपछि उहाँ हिन्दीमा कुरा गर्नुहुन्थ्यो। कोठामा छिरेपछि ‘हाँ क्या करने आए हो’ भनेर सोध्ने।

घटना विवरण रजिस्टरमा लेखिएको हुन्थ्यो। जाहेर गर्नेले पढाएर सुनाउने रहेछन्। मैले त रजिस्टरै दिन थाले। उहाँ आफैं पढ्नुहुन्थ्यो।

अनि रजिस्टरमा नोट लगाइदिन्थे। नबुझे ‘हजुर कुछ समझ मे नही आया’ भन्थे म त।

‘इधर लाओ’ भन्दै सम्झाउनुहुन्थ्यो।

सोझो मान्छे रिसायो भने नमजाले रिसाउँछन् नि। तर, उहाँ उस्तै भद्र। इमानदार। सम्झँदा पनि आनन्द आउने व्यक्तित्व। 
०००

पूर्व आइजिपी सिंह (लौरो बोकेको) र पूर्व एआइजी बराल

 कार्यमै काम गरिरहेको थिएँ। एक दिन हेमबहादुर सरले बोलाएर भन्नुभयो, ‘अब तुम सिराहा जाओ। वहाँ बहुत अच्छा इन्चार्ज है। कुछ सिखकर आओ।’ 

आइजिपीको आदेश भएपछि सक्कियो।

गुन्टा कसेर लागे जिल्ला प्रहरी कार्यालय, सिराहातिर।

त्यो बेला जिल्ला प्रमुख डिएसपी हुन्थे। सिराहा कार्यालय प्रमुख हुनुहुन्थ्यो– केशव बराल।

अहिले कसले के गर्ने भन्ने कार्यविभाजन हुन्छ। त्यो बेला निश्चित जिम्मेवारी हुँदैनथ्यो। जे आइलाग्यो त्यही गर्नुपर्ने। संरचना सानो थियो। जनशक्ति पनि कम थियो। त्यसैले इन्चार्जले जे गर भन्छन्, हस भन्यो, दगुर्यो।

हेमबहादुर सरले ‘अच्छा आदमी है, कुछ सिककर आना’ भनेको याद थियो।

बराल सरले के–के गर्नुहुन्छ बडो ध्यान दिन थालें।

त्यो बेलामा सिराहामा डकैतीको निकै समस्या। उहाँले धेरै डाँकाविरुद्धको अप्रेसन गर्नुभयो। प्रहरीको अपराध अनुसन्धान बिग्रने प्रमुख कारण घटना, आरोपी अनि प्रमाणको सम्बन्ध स्थापित हुन नसक्नु हो नि।

त्यसमा बराल सर पोख्त। 

सूचना संकलन विधिबारे पनि उस्तै राम्रो। कोसँग कसरी व्यवहार गर्ने, स्थानीयसँग कसरी घुलमिल हुने भन्ने सीप सिकें। 

ब्याच नम्बर ६९ : दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

मलाई हिन्दी भाषा आउँथ्यो। त्यहाँ मैथिली भाषा बोल्ने। त्यही बस्दा मैथिली नि सिकें। त्यसपछि स्थानीयसँग कुरा सजिलो भयो। 

उहाँ (केशव बराल)ले एआइजिपी पदबाट अवकास पाउनुभयो। पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पनि हुनुभयो। उहाँसँग मेरो अहिले पनि उत्तिकै प्रेमिल सम्बन्ध छ।

उहाँको संगतले सिकेको अपराध अनुसन्धानको कला मेरो ब्याकअपमा बसेको थियो। त्यसले मेरो ३० वर्षीय प्रहरी यात्रामा निकै सघायो। मेरो पुलिसिङमा बराल सरको प्रभाव छ। अपराध अनुसन्धानको मेरो पहिलो गुरु उहाँ नै हो। संगठनमा रहँदा जति अपराधको सफल अनुसन्धान भयो त्यसमा उहाँको प्रभावको ठूलो भूमिका छ।

सिराहामै थिए।
त्यही बेला पञ्चायतविरुद्ध आन्दोलन सुरु भयो। विरोध प्रदर्शन हुन थाले। रामराजाप्रसाद सिंहको समूहले बम पड्काउन थाल्यो। नयाँ चुनौती आइलाग्यो।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस....