ब्याच नम्बर ६९ : पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

ब्याच नम्बर ६९ : पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

विवाहपछि म लाहान गए श्रीमतीसहित।

त्यो बेलाको प्रहरी कार्यालय। त्यो पनि इलाका प्रहरी। के नै हुन्थ्यो र। न मनोरञ्जनका केही साधन। न घरेलु परिवेश। सवितालाई अत्यासै लाग्यो।

उनलाई प्रहरी क्वाटरको परिवेशमा घुलमिल हुन समस्या भयो। सानै देखि होस्टेलमा बसेको। परिवेश अर्कै। घरको माहौल अर्कै। प्रहरी क्वाटरको माहौल मिल्ने कुरा पनि भएन। 

उनको समस्या म बुझ्थे। सजिलो बनाउने प्रयास गर्ने त हो। तर सबै कुरा कहाँ मिल्छ र। त्यता फिल्म हल थिए। धन्न बेलाबखत फिल्म हेर्न जान्थिन् र माहौल अलिकता भए पनि सहज हुन्थ्यो।

०००

२०४७ असार २८ को हो मेरो लाहानको पोस्टिङ। त्यसको एक वर्षपछि २०४८ साउन ७ गते सरुवा निस्कियो। प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भयो।

त्यो सरुवासँगै मेरो उपत्यकाबाहिरको पोस्टिङ पनि टुङ्गियो। लाहानमा १८ महिना अनि सिराहामा ६ महिना। यही हो मेरो ३० वर्षीय प्रहरी यात्रामा काठमाडौँ बाहिर पोस्टिङ। 

लाहानबाट काठमाडौँ फर्किएपछि डिआइजीका रूपमा अवकाश पाउँदासम्म मेरो पोस्टिङ काठमाडौँ बाहिर भएन।

म काठमाडौँ फर्कँदा हेमबहादुर सिंह सरले अवकाश पाइसक्नु भएको थियो। उहाँले २०४९ असार जेठमा अवकाश पाउनुभयो। उहाँपछि प्रहरी महानिरीक्षक हुनुभयो रत्न शमशेर जबरा।

हेडक्वार्टरमा काम गर्दागर्दै संयुक्त राष्ट्र सङ्घीय मिसन अन्तर्गत कम्बोडिया लैजान प्रहरीको माग आएको छ भन्ने सुने। त्यो बेला सेनाबाट मिसनमा गएको थाहा थियो। प्रहरीबाट थाहा थिएन। 

प्रहरी प्रधान कार्यालयबाट इच्छुकहरूको नाम सङ्कलन भयो। त्यो बेला अहिले जस्तो कडा थिएन मिसन जान। परीक्षा दिनुपर्थ्यो। तर परीक्षा कडा थिएन। अङ्ग्रेजी भाषा जान्नेले प्राथमिकता पाउँथे। त्यो बेला प्रहरी महानिरीक्षकको पनि चयनमा प्रभाव पर्थ्यो। यसले काम गर्न सक्छ जस्तो लाग्यो भने आइजिपीले समेत टोलीमा पार्न सक्थे। 

मिसन जान पाउने भनेपछि मैले पनि नाम टिपाए। परीक्षामा सहभागी भएँ। छनौट भयो।

कम्बोडिया जाने टोलीमा हाम्रो ब्याचबाट म सँगै दुर्जकुमार राई, विश्वराजसिंह शाही, केदार साउद लगायतकाहरु परेका थिए। १९९२ जुन(२०४९ जेठ) तिर मिसन जाने पक्का भयो।

०००

युएन मिसन सुरक्षाकर्मीको लागि राम्रो आर्थिक स्रोत पनि हो। तर त्यो बेलामा जाने बेलासम्म मिसनमा पैसा कति हुन्छ भन्ने थाहा थिएन। आर्मीकाहरु लेबनान जान्थे। उनीहरू त्यहाँ ६ महिना बस्दा एक–डेढ लाख ल्याउँथे भन्ने सुनिएको हो। त्यो बेलामा एक डेढ लाख पनि ठुलै पैसा हो नि।

मलाई एक वर्षको बसाइँमा त्यति नै पैसा आउने होला भन्ने लागेको थियो। अरूलाई पनि यति नै पैसा आउँछ है भन्ने थाहा थिएन। कसैलाई सोधिएन पनि। कसैले भनेन पनि।

मेरो अब्जर्भ गर्ने बानी पहिल्यै देखिको हो। कसले के गरिरहेको छ? वरिपरिको माहौल अवलोकन गर्न मन पर्छ मलाई। अहिले पनि त्यो बानी हराएको छैन।

मिसनमा जाँदा मलाई र दुर्जकुमार राईलाई जुनियर केटाहरू र हतियार रेखदेखको जिम्मा परेको थियो। मैले केटाहरू जम्मा गर्नुपर्थ्यो। मिसनमा चाहिने हतियार यतैबाट बोकेका थियौँ। दुर्जको काम चैँ हतियार हेर्ने। 

त्रिभुवन विमानस्थलबाट युएनको प्लेन चढेका थियौँ। त्यो बेला मिसनमा ८०  जना थियौँ। भारत–नेपाल गर्दा प्लेन चढे पनि लामो हवाई यात्रामा गएको थिइन। मेरा लागि यो नौलो अनुभव नै थियो।

हाम्रो टोलीमा भएका अधिकांश जुनियरहरु त पहिलो पटक प्लेन चढ्दै थिए। प्लेन उडेपछि एयर होस्टेजहरु प्लेनमा यता–उता हिँड्न थाले। केटाहरू के गर्दा रहेछन् भनेर यसो हेरेको त एयर होस्टेज जता हिँडे ८० टाउको फरक्क त्यतै। फरक्क फर्कने के एकै पटक। बढो रमाइलो लागेको थियो त्यो दृश्य।

हामी बैंकक जानुपर्ने थियो। मौसमका कारण तोकिएको समयमा पुग्न सकेनौ। यताबाट भारत हुँदै बङ्गलादेशको ढाका अनि बेलुका अबेर बैैंकक पुग्यौँ।

बैंककमा हामी सबैलाई होटेलमा राखिएको थियो। फाइभस्टार होटेल। धेरैका लागि पहिलो अनुभव हुने नै भयो। 

बेलुका कोठामा गएर आराम गरियो। बिहान होटेलमा जम्मा हुनुपर्ने समय सबैलाई भनेको थिए। उनीहरूलाई जम्मा पार्ने जिम्मेवारी मेरो थियो। होटेलमा तल आउँछु त केटाहरू छैनन्।

एयरपोर्ट जानुपर्ने समय भइसक्यो, केटाहरू आउँदैनन् त! बिस्तारै बिस्तारै केटाहरू जम्मा हुन थाले। किन ढिला भनेको त लिफ्टले हैरान खेलाएछ उनीहरूलाई। 

उनीहरूका लागि लिफ्टको पहिलो अनुभव थियो। लिफ्टमा भएको एरो थिच्न जानेनछन्। ठुलो थियो होटेल। एरो थिच्दा कता–कता पुगेछन् उनीहरू त। हस्याङफस्याङ गर्दै आएका थिए।

लिफ्टको अनुभव भएकाहरूले उनीहरूलाई सिकाउनुपर्ने यादै भएन।

अर्को समस्या आइलाग्यो। यति लामो बिल पो आयो। होटेलमा बसेको बिल त युएनले तिर्थ्यो। के को बिल रहेछ भनेर हेरेको त केटाहरूले होटेलको रुममा भएको बियर, चकलेट सब बजाइदिएछन्। 

कोठामा राखेको खानैका लागि हो, पैसा पर्दैन भन्ने लागेछ।

०००

कम्बोडिया पुगेपछि खटाउने स्थान तोक्नु अगाडि केही दिन होटेलमै राखेको थियो युएनले। हामी पुगेको दोस्रो दिन ब्रिफिङ थियो। 

सबैलाई कोठामा राखेर ब्रिफिङ सुरु भयो। ब्रिफिङमा त्यहाँको अवस्था, गर्नुपर्ने कामहरूसँगै आउने पैसा पनि भने। पहिलो महिना दिनको एक सय ६० डलर।

बाफ रे बाफ एक सय ६० डलर! 

दोस्रो महिनादेखि दिनको एक सय ४५ डलर। अरे बाफ रे!

पैसा सुनेर हामी सबको दिमाग खराब। त्यो बेलामा एक डलर बराबर ५० रुपैंया जति नेपाली रुपैंया थियो होला। दिनको त्यत्रो पैसा आउने भनेपछि त सबको दिमाग खराब हुने भइहाल्यो नि।

सब एक वर्ष बस्दा कति पैसा आउने रहेछ भनेर हिसाब गर्न थाले।

फेरि अर्को घोषणा भयो‘फर्म भरेर एडभान्स लिनुहोला।’

एडभान्स लिन गएको त १८ सय डलर।

क्यास १८ सय डलर पाएपछि त सबलाई थाल खाऊँ कि भाउ खाऊँ भइहाल्यो। केटाहरू कम्मरवाला ब्यागमा पैसा राखेर यता र उता गरिरहेका थिए। केटाहरू हावामा उडिराथे। संसारै किनिन्छ अब जस्तो क्या।

म, सागर थपलिया अनि नवराज ढकाल सरले क्यासेट पनि लाग्ने, सिडी पनि चल्ने प्लेयर किन्नुपर्यो भनेर बजारतिर गयौँ। भाउ सोधेर एउटाको ४ सय २७ डलरमा किन्ने फिक्स गर्यौ।

त्यही बेला हाम्रै एक जना प्रहरी आएर ‘ सर यसमा चक्का पनि बज्छ?’ भनेर सोधे।

'अँ बज्छ' भनेपछि उसले एउटा किनेर लग्यो। उ होटेलको कोठामा पुगेपछि त त्यो किन्न लाइनै लाग्यो। ६–७ जनाले भटाभट उठाए।

होस् भनेर हामी नकिनी फर्कियौँ।

दुई चार दिन त होटेलको माहौलै अर्कै। केटाहरूले पैसा भएको ब्याग छाडेका हैनन्। उनीहरूलाई त त्यो पैसाले के गरौँ, के गरौँ भएछ।

त्यो न हाम्रो गल्ती हो न उनीहरूको। त्यत्रो पैसा कहिले देखेका थियौँ र नआत्तिनु। मेरै कुरा गरौँ न। घर-जग्गा त टन्न थियो। तर एकै पटक देखेको पैसा भनेको त्यही हजार–२ हजार त हो। अब एकै पटक १८ सय त्यो पनि डलर पाएपछि अलमल त हुने नै भयो।

तर बिस्तारै माहौल बदलिँदै गयो।

०००

सामान किन्न डलर साटेर कम्बोडियाको स्थानीय पैसा लिँदा झोलामा बोकेर आउनुपर्थ्यो। एक डलरको ३ हजार जति आउँथ्यो। पैसा साटेर ल्याएर कोठामा सुटकेसमा राख्ने त हो।

अचम्म के भने द्वन्द्वको समस्या भए पनि त्यहाँ चोरीको समस्या थिएन। हाम्रो कोठामा कहिल्यै ताला लगाउनु परेन। कोठा खुल्लै हुन्थ्यो। पैसा त्यही हुन्थ्यो। सामान हुन्थ्यो। काम गर्ने स्थानीहरू थिए। उनीहरूले कहिल्यै बदमासी गरेनन्।

यसो बजारमा निस्किएर कतै कुर्नुपर्यो भने नजिकैको स्थानीयले बोलाइहाल्ने। अनि टक्क बियर खोलेर खानेकुरा दिइहाल्ने। साह्रै सहयोगी थिए।

०००

राष्ट्र सङ्घले निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी लिएको थियो। त्यसका लागि विभिन्न देशका प्रहरी लगेको थियो। नेपालसँगै घाना, इटली लगायतका देशका प्रहरी थिए।

जिम्मेवारी दिँदा कम्बोडियाको प्रेवाइहियर प्रदेशमा पर्यो। मेरो काम चैँ अनुसन्धान अधिकृत। प्रहरी प्रमुख कृष्ण मोहन श्रेष्ठ हुनुहुन्थ्यो।

मेरो काम कम्बोडियन प्रहरीमा पर्ने उजुरी र त्यसको अनुसन्धानको अनुगमन गर्ने र अनुसन्धानमा सुझाव दिने थियो।  

त्यो बेला राजनीतिक विवादका कुरा आउँथ्यो। सरकारी पार्टीले साना पार्टीको कार्यालय तोडफोड गर्यो, पार्टीका कार्यकर्तालाई धम्क्यायो भन्ने जस्ता गुनासा आउँथे। हो, हैन भनेर हेर्नुपर्ने।

तर बसेको ठाउँबाट जहाँ पायो त्यही जान भने डर थियो। माइन धेरै थियो त्यो बेलामा। कतै जाँदा पड्किएला भन्ने डर। त्यसैले हामी प्रदेश हेडक्वार्टर भन्दा बाहिर धेरै निस्किएनौँ।

००० 

६ महिना त्यही पोस्टिङ भयो। अति दुर्गम गाउँ। बढो दुख पाइयो। 

बस्ने घर हाम्रो तराईतिरको जस्तै खम्बा गाडेर बनाएको। तल खाली। माथि फल्याक ठोकेको। फल्याकको बिचमा खाली ठाउँ छाडिएको थियो। बस्दा केही सामान खस्यो भने सिधै तल लिन जानुपर्ने।

गर्मी ठाउँ भएकाले हावा आओस् भनेर त्यसरी घर बनाउने रहेछन्। त्यही माथि झोलुङ्गे बनायो सुत्यो।

शौचालय हाम्रो गाउँ–घरको पहिला हुने शौचालय जस्तै। बोराले बारेको। यति धेरै लामखुट्टे लाग्ने कि, शौचालय जाँदा पनि धूप बालेर गएन भने जिउँ भरी लामखुट्टे नै लामखुट्टे।

त्यो बेला म चुरोट खान्थे। शौचालयमा बस्दा चुरोट सल्काएर लामखुट्टेतिर धुवाँ फूँ फूँ गरेर भगाउनुपर्थ्यो। 

त्यहाँ पानी पनि नपाउने। पानी, तेलहरू हेलिकप्टरबाट आउँथ्यो।

अनुसन्धानको क्रममा कतै गस्तीमा निस्कियो र हेलिकप्टरको आवाज सुनियो भने त्यसलाई पच्छ्याएर जहाँ रोकिन्छ त्यही पुग्नुपर्ने। निर्देशनै त्यस्तै थियो। त्यसको कारण चैँ हेलिकप्टरमा आउने पानी, तेल लिन जानुपर्ने।

केही दिनको बसाइँपछि केटाहरूले नेपालको बँदिया जस्तै कुखुरा पाउने पत्ता लगाए। अनि चिउरा पनि पाइयो। अनि हाम्रो दैनिक खाना त्यही।

०००

त्यहाँ ६ महिना बसेपछि युएनले नेपाल प्रहरीको टोलीको काम मन पराए। त्यसपछि हामीलाई कम्बोडियाको सि-पोर्ट स्याहानेकभोलमा सरुवा भयो।

तीन वटा जिल्ला भएको सानो प्रदेश रहेछ त्यो। राम्रो सहर थियो। त्यहाँ चुनाव गराउनुपर्ने जिम्मेवारी थियो हाम्रो।

प्रिफाइभले बनाएको कार्यालय थियो। समुन्द्र किनारमै थियो अफिस। त्यहाँ हामी १० जना नेपाली थियौँ। नवराज ढकाल साप, दुर्ज कुमार राई पनि थिए। दुर्ज चैँ जिल्ला प्रमुख, नवराज सर चैँ प्रदेशको प्रशासन हेर्नुहुन्थ्यो।

त्यहाँ गाडिहरूँ टन्नै थियो। २ जना प्रहरी भयो कि एउटा गाडी पाइहाल्ने। रमाइलो भयो त्यहाँको बसाई।

०००

एक वर्षको बसाई सक्काएर नेपाल फर्कँदा म सँग २२ लाख थियो। त्यो बेला २२ लाख रुपैंया भनेको धेरै हो। त्यसले जग्गा किने। अहिले म जहाँ बसेको छु यो घर त्यही बेलाको कमाइको हो। 

कति प्रहरीले त मिसनबाट फर्किएर जागिर पनि छाडे। केही बिग्रिए पनि । केहीले त्यसैको सहयोगमा जीवन सुधारे पनि।

मेरो चैँ प्रहरी निरीक्षकको कमाइले अवकाश जीवनलाई सहज बनाइरहेको छ। अब जति पैसा भए पनि नपुग्ने पनि हुन्छन् तर प्रहरीको एक वर्गलाई भ्रष्ट हुनबाट युएनको मिसनले जोगाएको छ। कुनै प्रहरी त चार–चार पटकसम्म मिसन गएका छन्। मिसनको आम्दानीले जीवन सहज हुँदा उनीहरू भ्रष्टाचारबाट टाढै बस्न सकेका छन्।

०००

म कम्बोडियामै हुँदा यता प्रहरी निरीक्षकको बढुवा निस्कियो। तर म सहित चार जना साथी छुट्यौ। सुन्दा बढो नरमाइलो लाग्यो। पहिलो बढुवामा छुटेपछि आफ्नो कामप्रतिको दृष्टिकोणै बदलियो।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

२६ फागुन, २०७७, २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।