उकेरा कोलम

ब्याच नम्बर ६९ : उनको त्यो तस्बिर

३० वर्ष भयो हाम्रो विवाह भएको। तर विवाहको प्रसङ्ग आयो कि अहिले पनि गाली खान्छु त्यही तस्बिरका कारण। ‘पहिलो पटक त्यस्तो नराम्रो तस्बिर पनि पठाउने हो’ भन्दै जिस्काउँछिन् उनी अहिले पनि। 

हेमन्त मल्ल


पढाई पुरा भइसकेको थियो। अब जागिर पनि भइहाल्यो। उमेर पनि विवाहका लागि ठिक्क। तर घरमा विवाहबारे कुरा चलिसकेको थिएन। विवाहका लागि कर गर्दैनथे परिवारले। 

भेट भएको बेलामा बहिनीहरू ‘सवितालाई चिठ्ठी पठाउनु न’ भनेर जिस्काउँथे।

नाम थाहा थियो। तर देखेको हैन, भेटेको छैन। कता चिठ्ठी पठाउने?

म झैँ उनी पनि सानैमा लखनउ पढ्न गएको। कहिल्यै भेट भएन हाम्रो।  तर घरमा बेलाबेला कुरा हुन्थ्यो उनको। फुपूको छोरीहरू कुरा गरिरहन्थे। 

फुपूको छोरी कल्पनाले कर गर्न छाडेकी थिइनन् पत्र लेख्न। उनी भेट्यो कि कर गरिहाल्ने‘चिठ्ठी पठाउनुस् न’ भन्दै। 

चिठ्ठी पठाउन उनैले लखनउको कलेजको ठेगाना पनि ल्याइदिएकी थिइन्। तर हिम्मतै आइरहेको थिएन।  

साह्रै कर गरेपछि एक दिन लाग्यो ‘ अब त फायर खोल्नुपर्छ।’

तर मिस फायर पो हुने हो कि ! 

कल्पनाले यसरी चिठ्ठी लेख्ने भनेर सिकाएपछि हिम्मत आयो र लेखे ‘प्रिय सबिता’....

०००

बाल्यकालमा हेमन्त मल्ल र सविता मल्ल(रातो घेरामा)

 मेरो मामा घर तनहुँको दोरदोर। त्यहाँबाट उहाँहरू बसाई सरेर बर्दियाको कर्णाली चिसापानीमा आउनुभएको थियो। चिसापानीका चौतरिया ठकुरी हुन मेरो मामाहरू। 

सविताको परिवार पनि बर्दियाको नै। बस्ने चैँ नेपालगन्ज। उनको परिवार शाह। त्यताका राणा, शाह र ठकुरीहरू आफन्त परिहाल्थे। 

मेरो आमा र सविताको आमाबिच राम्रो सम्बन्ध थियो। म सानै थिए। आमा माइत जानुभएको बेलामा सवितालाई देख्नु भएछ। उनको घरमा गएको बेलामा उहाँले भनिदिनुभएछ‘ तिम्रो छोरी र मेरो छोरा ठुलो भएपछि बिहे गरिदिनुपर्छ है।’

सानोको कुरा यस्तै त हो। सानैमा भन्दैमा कहाँ जुर्छ र!

आमाहरूले कुरा गर्नुभयो सकियो। 

उनी पढ्न लखनउ गइन्। म नैनिताल। सानोमा भेट भयो होला तर यादै भएन। हामी दुवैको बिदाको समय पनि नमिल्ने। त्यसैले कहिल्यै भेट पनि भएन हाम्रो।

अहिलेको पुस्तालाई अनौठो लाग्छ सक्छ। भेटै नभएकोसँग पनि प्रेम? चिन्दै नचिनेकोसँग पनि प्रेम? तर हुने रहेछ। मलाई त्यस्तै भयो।

बाल्यकालमा भनेको कुरा दिमागमा कतै न कतै बस्ने रहेछ। मेरो दिमागमा सविता बसिसकेकी रहिछिन्।

बहिनीहरूले सम्झाइरहँदा उनी कस्ती होलिन् भन्ने लाग्थ्यो मनमा। तर भन्न सक्दिनथे। त्यसैले बहिनीको करको बहानामा भए पनि पत्र लेखे।

०००

चिठ्ठी त लेखियो तर के–के लेखियो भनेर ठ्याक्कै सम्झना छैन। सकेसम्म मिठो लेख्ने कोसिस गरेको थिए। बिचबिचमा प्रेम सायरी राखेको थिए। भावुक बनाउन प्रेम व्यक्त गर्ने शब्दहरू राखेको थिए। ती पत्र कता पो परे अहिले। नत्र पढ्न मजा आउँथ्यो।

बहिनीले चिठ्ठीसँगै फोटो पनि पठाउनु है भनेकी थिइन्। त्यो बेला धेरै फोटो खिचेकै थिइन। प्रहरी तालिममा हुँदा ट्युनिक पोसाक लगाएर खिचेको एउटा फोटो रहेछ।  यसो हेरेको उछिट्टिएका गालाका हड्डी,  च्याँसे, दुब्लो। कल्पनाले ‘यही फोटो हुन्छ’ भनेपछि खाममा त्यही राखिदिए। 

३० वर्ष भयो हाम्रो विवाह भएको। तर विवाहको प्रसङ्ग आयो कि अहिले पनि गाली खान्छु त्यही तस्बिरका कारण। ‘पहिलो पटक त्यस्तो नराम्रो तस्बिर पनि पठाउने हो’ भन्दै रिसाउँछिन् उनी अहिले पनि। 

यसो सम्झियो भने हाँसो पनि लाग्छ फोटो सम्झिएर। प्रेम प्रस्ताव राख्न झुरै तस्बिर पठाएको थिए नि। बहिनीहरूले राम्रो फोटो पठाउनुपर्छ भनेको भए त बाहिर गएर स्टुडियोमा खिचाएर भए पनि पठाउँथे। उनीहरूले जे हुन्छ भने, त्यही पठाए। तर त्यही फोटोले झन्डै फायर मिस भएनछ।

पत्र पुग्न समय लाग्छ भन्ने थाहा नभएको हैन। तर चिठ्ठी पठाएपछि एक खालको छटपटी हुने रहेछ। चिठ्ठी पुग्यो कि पुगेन होला? कस्तो लाग्यो होला? कतै तस्बिर हेरेरै छ्या भन्ने पो हो कि भन्नेमनमालाग्ने । हुन्न भन्ने पो हो कि भन्ने डर पनि थियो।

कहिलेकाहीँ त बहिनीहरूले उक्साएकै भरमा चिठ्ठी लेखेर गल्ती पो गरियो कि भन्ने पनि लाग्थ्यो। तर अब पठाइसकियो। कुर्नु बाहेक अर्को विकल्प थिएन। 

तीन महिना पुग्दा पनि चिठ्ठी आएन। लौ फायर मिस भयो भन्ने पक्कापक्की भयो। बहिनीहरू चैँ ‘चिठ्ठी आउँछ नआत्तिनु न’ भन्थे।

मनमा प्रेम थियो। आस मरिसकेको चैँ थिएन।

तीन महिनापछि भारतबाट चिठ्ठी आयो। चिठ्ठी पल्टाउन हतार भयो। गाली पो गरेको छ कि ?  डर भयो मनमा।

चिठ्ठी बिस्तारै खोलेर हेरे। फोटो रहेछ। ढुक्क । 

फायर ठिक ठाउँमा लागेछ।

चिठ्ठी पढ्नु अगाडि तस्बिर निकालेर हेरे। खाली खुट्टा थियो उनको। जिन्स पेन्ट र टिसर्ट लगाएको, कालो चस्मा पनि। 

उनलाई पहिलो पटक देखेको थिए। फोटो हेरेर लाग्यो‘पत्र पठाएर ठिक गरेछु।’

०००

चिठ्ठीसँगै आएको सविता शाहको पहिलो तस्बिर

 बेलुका घरमा फर्किएपछि चिठ्ठी पढे। हुन्छ पनि लेखेको छैन, हुन्न पनि लेखेको छैन। बढो डिप्लोम्याट थियो उत्तर। तर चिठ्ठी त आयो। चिठ्ठी पठाउनु , त्यसमा फोटो राख्नु भनेको 'हुन्छ' भनेकै त हो भन्ने लाग्यो।

बहिनी आएको बेलामा सवितालाई चिठ्ठी पठाएको हो ? भनेर सोधिहाल्थे। म पनि चिठ्ठी पठाउन थाले। लामा–लामा चिठ्ठी लेख्न थाले मैले। उताबाट पनि उस्तै लामा चिठ्ठी आउँथे। चिठ्ठीपछि बिस्तारै फोनमा कुराकानी हुन थाल्यो। नजिकिँदै गयौँ हामी।

०००

दुई वर्ष यसरी नै बित्यो हाम्रो। २०४७ तिर उनी नेपाल आइन्। हाम्रो पहिलो भेट काठमाडौँमा भएको थियो। फोटोको जस्तो देखेको थिए उनी त्यस्तै थिइन्।

उनी फर्कँदा म अलि बदलिएको थिए। अब त्यो बेला तालिम कट कपाल छोटो थियो। उनी आउँदा तालिम कटबाट पुलिस कटमा पुगिसकेको थियो कपाल। हल्का मोटाएको थिए। 

चिठ्ठी अनि फोनको कुराकानीले हामी दुबैलाई परिचित गराइसकेको थियो। एक अर्कालाई मन पराउन थालेका थियौँ। 

आमाले हामी बच्चाउँदा जिस्केर बोलेको कुरा यथार्थ हुने बाटोमा हाम्रो सम्बन्ध लम्किँदै थियो। हामी विवाहका लागि मानसिक रूपमा तयार भइरहेका थियौँ।

०००

यता घरमा हाम्रो सम्बन्धबारे कसैलाई थाहा थिएन। घर गएको बेलामा मैले नै उनीसँगको सम्बन्धबारे कुरा चुहाए। घरका सबै खुसी नै भए। आमा धेरै खुसी हुनुभयो।

विवाहका लागि दुवै परिवार राजी भयो। हामी पनि खुसी।

विवाहको प्रक्रिया अगाडि बढाउन दुवै जनाको चिना देखायो परिवारले। आपत् ,दुवैको चिनै मिलेन। उल्टो परेछ चिना त।

चिना हेरेपछि त चिनै मिल्दैन, विवाह गर्न हुन्न भन्न थाले।

अब यता मन मिलिसक्यो। चिना नमिलेर के भयो र!  चिनासिना वास्तै गरिएन। भने 'चिना नमिले पनि विवाह गर्ने।' उनको घरमा पनि त्यत्ति कर गरेनन्।

उनी पनि राजी भइन्।

०००

तर हामी दुवैको स्वभाव अहिले पनि मिल्दैन। न रुचि मिल्छ। खाना मिल्छ अनि स्वभाव पनि मिल्दैन।

लुगाको छनौट नै फरक छ हाम्रो। मलाई भारतीय र नेपाली खाना मन पर्छ। उनलाई दाल–भात भनेपछि मनै नपर्ने। खाँदै नखाने। सवितालाई चिनिया खाना मन पर्छ। 

उनी घुम्न रुचाउने। म भने घरमै बस्न रुचाउने। उनी एक्लै भए पनि फिल्म हेर्न जाने। एकै ठाउँमा बस्नै नसक्ने। हाम्रो सोचाई पनि फरक छ। उनी हेर्दा बोल्ड देखिन्छन्। तर अति सेन्सेटिभ । 

सायद हाम्रो चिनाले त्यही देखाएको थियो होला।

रुचि, स्वभाव नमिलेर के नै फरक पर्‍यो र मन मिलेपछि।

विवाह भयो हाम्रो।

क्रमश :

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : जब डेनमार्कको टोली नै नेपाल आयो

कुनै केसको अनुसन्धानमा आन्तरिक निर्णयको आधारमा पनि हुन्छ। अनि देशअनुसार अनुसन्धान पद्धतीका प्रक्रियाहरू अनौठा पनि हुन्छन्। कुनै- कुनै प्रक्रिया देख्दा त हामी नै छक्क पर्छौँ।....

चौथो अङ्गमा प्रकृति अधिकारी : शिक्षा पत्रकारिता लेनदेनमा फस्यो, पत्रकार ‘हण्डी’  खाने भए

शिक्षा डाइरेक्टरहरू कार्यक्रममा जान्थे। शिक्षा डाइरेक्टरले नै प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाउँथे। भोलिपल्ट श्री ३ सरकारको 'स्पिच' भनेर गोरखापत्रमा छापिन्थ्यो। शिक्षा डाइरेक्टर र प्रधानाध्यापकको स्पिच....

मोहन जसले कीर्तिपुरका तीन शहीदकाे शव लुकाए

जङ्गबहादुरलाई यही चित्त बुझेन। माछा सुकाउनाले आफ्नो दरबारमा ‘झिँगा’ आएको भन्दै ती पुजारीहरूको बस्ती नै स्थानान्तरण गरिदिए। विष्णुमतीको किनारमा पठाए। देउला पुजारीहरूको थातथलो राणाको भयो।....

मिडियाकर्मी सरिताश्री ज्ञवालीको प्रसव पीडा र खुसी : पहिलोपालि लात्ती हानेको अनुभव गर्नै पाइन 

मिडियाकर्मीको यात्रा सुरु गर्दै उनले नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम ‘म्युजिक प्लस’मा काम गर्न थालिन्। उनको परिवारले मिडिया क्षेत्र त्यति रुचाएको थिएन। परिवारले अमेरिका पढ्न जाने....

१९ हजार बालबालिका बेहोस बनाउने डाक्टर

तर नआत्तिनुस्, यो कुनै गलत काम होइन। उनी एनेस्थेसियोलोजिष्ट हुन्। अर्थात् चिकित्सा विज्ञानको यस्तो विधा जसले बिरामीलाई बेहोस बनाउने काम गर्छ।  हुन त चिकित्सकले बेहोसीको....