उकेरा काेलम

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

राजनीतिक स्वार्थका लागि बेलाबखत विमानस्थल ठेक्कामा दिने गरिन्छ। सबै सरकारी संयन्त्र परिचालन गरेर राज्यकै संरक्षणमा तस्करी हुन्थ्यो। त्यो बेला त्यही चलेको थियो।

हेमन्त मल्ल


  • पाँच सय किलो चरेस तस्करीको जालो पच्छ्याउँदा-१

अघिल्लो अङ्कमा लागु औषधको अन्तर्राष्ट्रिय बजारमा सक्रिय नेपाली महिला गोपी तामाङबारे चर्चा गरेको थिए। संयोग त्यही हप्ता  उनी नेपालमै पक्राउ परिन्। 

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि टन्नै छन्। उनको समूहका सदस्यहरू बैकको कारागारमा पनि छन्।

पाकिस्तानमा बसेर नेपालीलाई यताबाट पाकिस्तान बोलाएर ड्रग्सको भरिया बनाएर विभिन्न मुलुक पठाउने उनी मुख्य पात्र हुन्। उनीबारे सन् १९९९ मै लागु औषध नियन्त्रण इकाइले सूचना पाएको थियो उनको समूहबारे। उनले कसरी काम गर्छिन् भन्ने पनि आएको नै हो । तर उनी नेपालको सुरक्षा निकायको पकडमा आएको यो पहिलो पटक हो। नाइके आफै पक्राउ पर्नु र सहयोगीबाट मात्र सूचना आउनुमा त फरक पर्छ नै। 

धादिङको तत्कालीन सत्यदेवी गाविसकी सामान्य परिवारकी सदस्य कसरी ड्रग्सको सञ्जालमा पुगिन् र पाकिस्तानमा बसेर कुन कुन समूहसँग मिलेर काम गरिन् भन्ने सञ्जाल खुलाउन सकियो भने भोलिका दिनमा यस्ता प्रवृत्तिको अपराधमा संलग्नहरूको सञ्जाल भत्काउन सहज हुन्छ।

नेपालमा अहिले पनि ड्रग्सको अन्तर्राष्ट्रिय समूहका लागि काम गर्नेहरू छन् नै। लागु औषध नियन्त्रण ब्युरोको अधिकारीहरूले गम्भीर रूपमा गोपीबारे अनुसन्धान गर्न आवश्यक छ। मलाई आशा छ पक्कै गोपीबारे गम्भीर अनुसन्धान हुनेछ।

OOO

अब चैँ डायरीमै केन्द्रित हौँ।

त्यो बेला इकाइमा रहँदा धेरै अप्रेसनहरू भए। त्यसमध्ये अपरेसन पेजर छ। यो सङ्गठित रूपमा नेपालमा आउने हेरोइन विरुद्धको अपरेसन हो। यसमा टन्नै हेरोइन र मुख्य कारोबारीहरू पक्र परेका थिए।

ठमेलमा आउने विदेशी नागरिकहरूलाई ड्रग्स बेच्ने साना कारोबारीहरू पक्राउ गर्न मैले आफ्नै परिवारका सदस्यको पनि सहयोग लिएको थिए। त्यही बेलाको अर्को महत्त्वपूर्ण केस छ लक्ष्मी कंसाकारको। नेपालमा २ सय ५० किलो अनि जर्मनमा २ सय ५० किलो चरेस समातेको केस हो यो। यसमा नेपालका कहलिएका व्यापारी अनि होटेल एभरेस्टका सञ्चालक र कर्मचारीसँगै भन्सार र प्रहरी समेत जोडिएको घटना हो। त्यो बेलामा यो निकै महत्त्वपूर्ण अप्रेसन हो।

पहिला यही केसबारे लेखौँ। अन्य केसबारे बिस्तारै आगामी डायरीमा लेख्दै गरौँला।

यो घटना १९९८ को हो।  * गृहमन्त्री खुमबहादुर खड्का। राजनीतिक स्वार्थका लागि बेलाबखत विमानस्थल ठेक्कामा दिने गरिन्छ। सबै सरकारी संयन्त्र परिचालन गरेर राज्यकै संरक्षणमा तस्करी हुन्थ्यो। त्यो बेला त्यही चलेको थियो।

विमानस्थल पुरै सेटिङमा चलेको थियो। ड्रग,सुन अनि डलर तस्करी भइरहेको थियो। अब सरकारमा रहेकाहरूकै योजनामा उनीहरू निकट व्यक्तिहरू परिचालन गरेर हुने यस्तो तस्करीमा प्रहरी, भन्सारका कर्मचारीदेखि लिएर राज्यका सबै संयन्त्र परिचालित भएका हुन्छन्। त्यो बेला विमानस्थलमा त्यस्तै भइरहेको थियो। यस्तो बेलामा राज्यको योजनामा सहमत नहुनेहरू समस्यामा पर्छन्। त्यो बेला तस्करीबाट जम्मा भएको पैसा सांसद खरिद बिक्रीमा समेत प्रयोग भएको थियो।

OOO

त्यो बेला इकाई को प्रमुख हुनुहुन्थ्यो केशव बराल एसएसपी हुनुहुन्थ्यो। ठमेलमै थियो अफिस। जर्मनमा नेपालबाट सिङगिङ बलको रूपमा पुगेको कार्टुनमा २ सय ५० किलो चरेस बरामद भएको सूचना आयो। सामान सिपमेन्टबाट गएकाले कुरिएर, भन्सार प्रज्ञापन पत्र लगायतकाहरु खोज्दा भेटिन सक्थ्यो।

२ सय ५० किलो चरेस विमानस्थलहुँदै जर्मन पुग्नु भनेको सामान्य घटना थिएन। नेपालमा सरकारले नै विमानस्थल तस्करीका लागि आफू निकट तस्करहरूलाई ठेक्कामा दिएको कुरा जर्मनको चासोको विषय भएन। विमानस्थलबाट त्यत्रो चरेस भित्रिएर जर्मन पुग्नु उनीहरूका लागि गम्भीर विषय हुने नै भयो।

हाम्रो लागि पनि यो महत्त्वपूर्ण घटना थियो। चरेसको मात्रा ठुलो हो नि २ सय ५० किलो भनेको। त्यो विमानस्थलबाटै गएको खुलेकाले अब त्यसमा सामान्य आङ्कलन गर्न सकिने सङ्गठित काम हो भन्ने नै हो। विमानस्थलमा बस्ने अध्यागमन, भन्सार अनि प्रहरीको मिलेमतो नभई त्यत्रो चरेस विमानसम्म पुग्न सम्भव थिएन।

जर्मनमा चरेस फेला पारेको बाकस नेपालबाट जाँदा सिङगिङ बल भनेर गएको थियो। तर त्यसमा सिङगिङ बल थिएन। पुरै चरेस थियो। त्यो देख्दा त यता नेपालमा भन्सारदेखि लिएर सबै मिलेको देखियो नि पहिल्यै। अब सिधै चरेसै पास भएर जान त सामान्य रूपमा सम्भवै छैन।

घटनाक्रमको आधारमा कसरी चरेस जर्मन पुग्यो भन्ने सामान्य आङ्कलन गर्दै अब अप्रेसन कसरी चलाउने भन्ने योजना बन्यो। पहिला भन्सारबाट त्यो सामान कुन कार्गोबाट पठाएको हो त्यो खुलायौँ। त्यो दिन भन्सारमा कुन कुन कर्मचारी ड्युटीमा थिए नामहरू लियौँ।

पहिला कार्गोमा गयौँ। कार्गोवाल नै छक्क पो पर्छन्। उनले पठाएको सामानमा चरेस छ भनेर उनले मान्दै मानेन। जति केरकार गर्दा पनि सिङगिङ बलै पठाएको हो भन्छ। सामान प्याक गर्दादेखि लिएर विमानस्थलको भन्सारसम्म पूर्याउँदा समेत पटक(पटक बक्सा चेक गरेको अनि सिङगिङ बल राख्दा कहिकतै सानो चरेस लुकाउन समेत नमिल्ने बनाएकोमा त्यत्रो २ सय ५० किलो चरेस राख्न त सम्भवै नभएको अडानै लिए।

प्राय अपराधमा जोडिइसकेपछि गल्छन् नि। तर कार्गोवाला गलेनन्। कन्फिडेन्स पो देखिन्छन्। कुराकानी गर्दा व्यक्तिको हाउभाउ, उसको बोल्ने शैली, बोल्दा उसको अनुहारको भाव, बोली, ओठ कतिको सकेको छ भनेर हेर्ने हो भने पनि व्यक्तिले ढाँटेको छ कि छैन भन्ने केही सिनारियो त आउँछ।

कार्गोमा ती केही देखिएन। कि उ निक्कै चलाख, यस्तो काममा पोख्त हुनुपर्‍यो। कि उसले सत्य बोलेको हुनुपर्‍यो।

उसलाई निगरानीमै राखेर थप सूचनाहरू खोज्न थाल्यौँ।

यस बिचमा अर्को सूचना आयो’ जुन समूहले सिङगिङ बल कार्गो गरेका थिए उनीहरूले ललितपुरको नख पोटमा घर भाडामा लिएका छन्।‘

सूचना महत्त्वपूर्ण थियो। सूचना अनुसार घरमा पनि पुगियो। तर घरमा कोही थिएन। कोठाहरूको बिलासिँदाबिलासिँदै एउटा कोठामा जर्मनमा जुन बक्सा भेटेको ठ्याक्कै त्यही बक्सा भेटियो। सङ्ख्या पनि पाँचै।

पक्का भयो यो घर त्यही समूहले चलाएका रहेछन् भन्ने।

बक्सा नियन्त्रणमा लियौँ। घरमा आउनेहरूबारे वरपरकासँग हुलिया सोध्यो। बक्सा फेला पार्नु बाहेक थप उपलब्धि भएन। सामान्य हुलियाहरू मात्र आए।

बक्साको आकार प्रकारले त त्यसमा पनि पक्कै चरेस छ भन्ने लाग्नु सामान्य नै भयो नि। बक्सा खोलेर हेरियो। त्यहाँ चरेस थिएन। सिङगिङ बल थियो।

बाफ रे। चरेसमा संलग्न समूह कति चलाख रहेछ अनि त्यो कार्गोवाला किन त्यति विश्वस्त थियो कि उसले पठाएको बासकमा चरेस हैन सिङगिङ बलै थियो भन्ने त बल्ल पो खुल्यो।

कार्गोवालाले पठाएको सिङगिङ बल भएको बाकस जर्मन हैन नखिपोटमा आयो। त्यो बाकसको ठाउँमा उस्तै अर्कै बाकस जर्मन पुग्यो जहाँ चरेस थियो।

जुन तहको तस्कर समूह संलग्न छन् यसमा भन्ने प्रारम्भमा अनुमान गरिएको थियो नि नखिपोटको घटनापछि हामीले सोचेभन्दा सङ्गठित,बलियो र चलाख समूह यसमा संलग्न छ भन्नेमा अन्योल भएन। जति सङ्गठित समूह हुन्छ अनुसन्धान त्यति नै जटिल हुने नै भयो।

OOO

घटनाले देखायो विमानस्थलसम्म पुग्दा बाकसमा सिङगिङ बलै थियो। भन्सारबाट विमानमा पुग्दा कसरी बल चरेस भयो?

कसैले उस्तै आकारको पाँच वटा बक्सा भन्सारभित्र लगेर बक्सा साटेर सिङगिङ बल भएको बक्सा विमानस्थल बाहिर अनि चरेस भएको बक्सा विमानमा पूर्याएको देखियो।

अब यस्तो क-कसले गर्न सक्छन्?

पहिलो शङ्कामा भन्सारका कर्मचारी पर्ने नै भए। दोस्रो भन्सारको सामान विमानसम्म लैजाने लोडर। तेस्रोमा प्रहरी।

यसमा अलि जटिल पाटो चरेस भएको बक्सा कसरी भन्सारसम्म लगेर बक्सा साटे अनि सिङगिङ बल भएको बक्सा कसले कसरी विमानस्थलबाट बाहिर निकालेर नखिपोट पूर्यायो भन्ने खुलाउनु थियो।

नख पोटमा स्थानीबाट एउटा क्लु भने आएको थियो’ बेलाबेलामा त्यो घरमा होटेलको गाडी आउँथ्यो।

त्यो घर अनि होटेलको गाडिको सम्बन्ध के? के चरेस कारोबारी होटेलको कामदार हुन सक्थे ?

घर र होटेलको गाडिको सम्बन्ध खुलाउन सके मात्र अनुसन्धानका बाँकी बाटो खुल्ने देखियो।

क्रमश:

(नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

*सच्याएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Birendra Johari

आहा ! कति इन्फर्मेटिभ र सिक्न मिल्ने अनुभव रहेछ । बाकी अंश पनि पढन आत्तुर भैसक्यो ।


सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....