उकेरा काेलम

ब्याच नम्बर ६९ : डन पत्रिकामा आएको समाचारले हेरोइनको अन्तर्राष्ट्रिय सञ्जालसम्म पुर्यायो

समाचारलाई समेत आपराधिक घटनाको सूचनाको माध्यम बनाउँदा मेरो पहिलो अन्तर्राष्ट्रिय अप्रेसन सफल भयो। तर मेले सोचे जस्तो एक्लै भने सकिन है यसलाई टुङ्ग्याउन। अन्तिममा आएर खरेलको सहयोग लिनै पर्यो।

हेमन्त मल्ल


लागु औषध भनेको एक देशको मात्र समस्या हैन। अनि यसका कारोबारी नेपालमा मात्रै पनि छैनन्। त्यो बेलामा पनि थिएनन्। नेपालमा त्यो बेलामा पनि हेरोइन भित्रिरहेको थियो। नेपालीहरू कारोबारमा लाग्ने क्रम बढिरहेको थियो।

तर सूचनाको ठुलो समस्या। अहिले पो इन्टरनेटले जुनसुकै भूगोलको समाचार पनि सहजै जानकारी पाउन सकिन्छ। त्यो बेलामा यस्तो सम्भवै थिएन।

लागु औषध कारोबारबारे विदेशका समाचार थाहा पाउन निकै खसखस लाग्यो। उपाय निकाले। विदेशबाट आउने विमानहरूमा त्यो देशको पत्रिका त हुन्थ्यो।

विमानस्थलमा लागु औषध नियन्त्रण इकाईको एक युनिट थियो। मैले उनीहरूलाई नेपाल बाहिरबाट आउने विमानमा हुने पत्रिका एक-एक प्रति इकाईमा ल्याइदिन आग्रह गरे। सहजै भयो काम। दिनकै विदेशी पत्रिका पढ्न पाइयो।

विमानस्थलबाट आएका विदेशी पत्रिकाहरू चाख लिएर पढ्न थाले। समसामयिक विषय त हुन्थ्यो नै। विशेष चाख चैँ कतै लागु औषध कारोबारबारे कुनै समाचार छापिएको छ कि भन्नेमा नै हुन्थ्यो।

पाकिस्तान एयरलाइन्सले आफ्ना यात्रुहरूलाई डन पत्रिका पढ्न दिन्थ्यो। इकाईमा त्यो पत्रिका पनि आउँथ्यो। एक दिन पत्रिका पल्टाउँदै थिए।

एउटा समाचारमा गएर नजर अड्कियो। त्यो समाचार लागु औषधबारे मात्रै थिएन नेपालीबारे समेत थियो।

समाचार अनुसार धादिङ सत्यदेवी गाविसकी एक युवती पाकिस्तानको कराचीबाट हङकङ जानेक्रममा ११ किलो हेरोइन सहित पक्राउ परेकी थिइन्।

नेपालीहरू लागु औषध कारोबारमा संलग्न हुने गरेको फाट्टफुट्ट सूचना आए पनि यसरी संलग्नको नाम र पहिचानै खुलेको थिएन।

एउटा अन्तर्राष्ट्रिय अप्रेसन गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो मनमा। समाचार पढेपछि लाग्यो ‘ल अब यही अप्रेसन गर्छु। त्यो पनि एक्लै। कसैलाई भन्दिन।’

त्यही समाचारमा उल्लेख भएका विवरणका आधारमा अनुसन्धान अगाडि बढाउने निधो गरे। ती युवतीको नाम, ठेगाना जे जति समाचारमा आएका थिए अनुसन्धानको प्रारम्भिक स्रोत र विवरण त्यही मात्र थियो।

यो बिचमा नेपालमा रहेका विभिन्न देशका दूतावासका अधिकारीहरूसँग मेरो राम्रो सम्बन्ध भइसकेको थियो। ती युवती नेपालबाटै पाकिस्तान गएकी थिइन्। उनीबारे पाकिस्तानी एम्बेसीमा त पक्कै विवरण हुन्छ नै।  

नेपालका रहेको पाकिस्तानी दूतावासका काउन्सुलरसँग भेट्न पाए पक्कै ती युवती र उनीसँगै कुनै नेपाली गएको भए उनीहरूको विवरण पनि पाउन सकिन्छ कि भनेर सम्पर्क गरे। दूतावासबाट भेट्ने समय मिलिहाल्यो। 

दूतावासमा गएर काउन्सुलरलाई त्यो युवतीको विवरण र उनी पाकिस्तान गएको समयमा अन्य कुनै नेपाली नागरिक पाकिस्तान गएको भए उनीहरूको पनि विवरण उपलब्ध गराउन आग्रह गरे।

उनले तत्काल दूतावासका एक कर्मचारीलाई बोलाएर‘साहेबको जो जो चाहिए सब दे दो’ भनेर आदेश दिए। म ती कर्मचारीको पछि लागे।

ती युवती पाकिस्तान गएकै दिन १० जना नेपाली नागरिक पाकिस्तान गएको विवरण फेला पर्योन। अधिकांश धादिङ सत्यदेवीकै थिए। ती सबैको पासपोर्टसहितका आवश्यक सबै विवरण लिएर कार्यालय फर्किए।

कर्मचारीहरूको सङ्गतले कुन सूचना कसरी व्यवस्थापन गर्ने र कसरी ट्र्याक गर्ने भन्ने जानी सकेको थिए। मैले आफ्नो टिमका कसैसँग पनि यसबारे छलफल गरिन। एक्लै अप्रेसन सफल बनाउँछु भनेर कस्सिएको थिए म।

कार्यालय फर्किए लगत्तै विमानस्थलमा रहेका इकाईको टोलीलाई शङ्कास्पद १० जना नेपालीको नामसहितको विवरण टिपाएर 'यी मध्ये कुनै नेपाल फर्किए भने जानकारी दिनु' भने।

‘यी मध्ये कोही आए भने बाहिर जान नदिन, लगेजसम्म लिन दिनु अनि नियन्त्रणमा लिएर मलाई खबर गर्नु’ भने।

पाकिस्तान जान उनीहरूले टिकट किनेको ट्राभल एजेन्सी पुगेर सबै विवरण सङ्कलन गरे। उनीहरू कहाँका हुन् भन्ने सबै विवरण आयो।

ती युवतीसँगै पाकिस्तान जाने सबै लागु औषधको कारोबारमा संलग्न छन् भन्ने आधार थिएन। उनीहरू पाकिस्तान गएकाले कतै संलग्न हुन् कि भन्ने शङ्का मात्रै त हो।

यदि उनीहरूबारे नेपालमा रहेको रेकर्ड, पारिवारिक पृष्ठभूमि, यस अगाडि नेपालका कुनै अपराधमा संलग्न थिए या थिएनन् भन्ने जानकारी पाउन सके अलि पक्का हुन्थ्यो।

अब उनीहरूको पृष्ठभुमी लगायतका विषयहरू भेरिफाई गर्नतिर लागे। अनुसन्धान अगाडि बढ्दै थियो। एक ठाउँमा पुगेर म अड्किए। न यता जान सके न उता। गार्है पर्यो।
०००
म कहिले यता, कहिले उता गरिरहेको केशव खरेलले हेरिरहेका थिए। म कुनै अनुसन्धानका लागिरहेको छु भन्ने उनले भेउ नपाउने कुरै थिएन। तर उनी केही थाहा नपाए झैँ चुपचाप मैले गरेको काम हेरिरहेका थिए।

यता गरे पनि उनीहरूबारे नेपालको सूचना आएन। उता गए पनि आएन। लागु औषधमा संलग्नहरूबारे जानकार एक जना व्यक्ति थिए। उनलाई गएर भेरिफाई गर्नुपर्यो  भन्ने लाग्यो।

सकेसम्म खरेल लगायतकालाई भन्दै भन्दिन भन्ने थियो। तर मनमा कता–कता ती व्यक्तिलाई भेट्न जानु अगाडि एक पटक खरेललाई सोधौँ भन्ने लाग्यो र सोधे।

‘त्यता नजानुस् केस बिग्रन्छ’ उनले प्याट्टै भने।

‘अनि कसरी भेरिफाई गर्ने त ?’

उनले ‘खै को–को हुन तपाईँले पाउनुभएको नाम’ भनेर सोधे। मैले सबैको नाम भनेको त उनले खरर ती सबैको तीन पुस्ते भनिदिए।

म छक्क।

मैले पाकिस्तानी एम्बेसीबाट जुन-जुन व्यक्तिको नाम ल्याएको थिए ती लागु औषधका भरिया नै रहेछन्। खरेलले एकै पटकमा सबको इतिहास पल्टाइदिए मेरो अगाडि।

‘मलाई थाहा थियो सर कतै न कतै पुगेर अड्किनुहुन्छ भनेर। कतिखेर भन्नुहुन्छ भनेर म हेरेर बसेको थिए,’ उनले हाँस्दै भने।

अनुभव भनेको अनुभवै हो। दर्जामा म ठुलो भएर मात्र के गर्नु।
०००
केही दिनमा विमानस्थलबाट खबर आयो‘ सर तपाईँले टिपाएको नाममध्ये एक जना नेपाल फर्किए।’

ल गजब।

मैले उनलाई लगेज जम्मा गर्न दिनु। उनी जब ट्रली लिएर विमानस्थल बाहिर आउँछन् अनि रोक्नु। म नआई उसको कुनै सामान पनि नचलाउनु’ भनेर आदेश दिए। लगत्तै टोली लिएर विमानस्थल पुगे।

अन्तर्राष्ट्रिय टर्मिनलबाट बाहिर निस्किए लगत्तै सादा पोसाकका प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर राखेका रहेछन्। नाम जुनी लामा। 

ट्रलीमा भएको उनको सामान खोलेर हेर्दा हेरोइन फेला परिहाल्यो साँढे २ किलो।

निसाना सही ठाउँमा लाग्यो।

त्यही बेला विमानस्थलका ट्याक्सी चालकहरूले एक जना नाइजेरियनलाई झ्यानाकुटी पार्दै ल्याइरहेका थिए। प्रहरीलाई देखेपछि उ हतार हतार ट्याक्सी चढ्न गएको रहेछ। प्रहरीले ल्याउन नसकेपछि ट्याक्सी चालकहरूले सघाएका थिए। उसैले जुनिलाई हेरोइन बोकाएर नेपाल आएको थियो।

लामा पक्राउ परेपछि उनीबाट आएको जानकारी पाकिस्तान लगायतका देशका लागु औषध हेर्ने प्रहरी युनिटहरूमा पठाए। त्यसपछि ती १० जना नेपालीमध्ये कोही पाकिस्तानमा पक्राउ परे, कोही बैंककमा पक्राउ परे।

उनीहरूको पक्राउसँगै नेपालीहरू लागु औषधको अन्तर्राष्ट्रिय बजारमा लागु औषधको भरिया बनेर काम गरिरहेको पुष्टि भयो। 

यो हाम्रो लागि नौलो र महत्त्वपूर्ण जानकारी थियो। यो समूहबारे फलो गरिरह्यौँ। त्यसपछि त धादिगं, नुवाकोट, लम्जुङका महिला र पुरुषलाई पाकिस्तान लगेर त्यहाँ बनेको हेरोइन बोकाएर अन्तर्राष्ट्रिय बजारमा पठाउन ठुलो गिरोह नै संलग्न रहेको खुल्यो।

यसका लागि नेपालमा एक समूह र पाकिस्तानमा अर्को समूह रहेको खुल्यो। नेपालमा रहेकाहरूले जिल्लाका युवती र युवालाई पाकिस्तान पठाउने र त्यहाँबाट हेरोइन बोकाएर इन्डोनेसिया, भारत, बैंकक पठाउने गरेको खुल्यो।

उनीहरू त्यहाँ पुगेर हेरोइन बुझाएर अनि नेपाल फर्किने गरेको खुल्यो। त्यो बेलामा नेपालीलाई लागु औषधको भरिया बनाउन मानसिंह घले, काइँली भन्ने गोपिनी तामाङ लगायतकाहरु संलग्न थिए। उनीहरू लागु औषध कारोबारमा सक्रिय भइसकेका थिएनन्। अन्तर्राष्ट्रिय समूहको सहयोगी मात्र थिए त्यो बेला।

पछि त मानसिंह घले र काइँली नै लागु औषध कारोबारका नाइके भए। उनीहरूले नेपालीलाई लागु औषधको भरिया बनाएर आफैँ कारोबार गर्न थाले। घले केही वर्ष अगाडि इन्डोनेसियामा मारिए। काइँली भने अझै जीवितै छिन्। लागु औषध कारोबारमा सक्रिय पनि। उनले लागु औषधको भरिया बनाएका धेरै नेपाली अहिले पनि बैंकको जेलमा छन्।

जे होस् त्यो अप्रेसन इकाइलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने अप्रेसन बन्यो। यो सबै डन पत्रिकाको समाचारका कारणनै सम्भव भएको थियो। यदि त्यो दिन पत्रिका नपढेको भए पाकिस्तानबाट ती युवतीबारे सूचना आउने कहिले हो कहिले। सूचना आउँदा उनीसँग गएकाहरू नेपाल फर्किसकेका हुन्थे। उनीहरूमध्ये कोही पक्राउ नै पर्दैनथे। 

यसरी समाचारलाई समेत आपराधिक घटनाको सूचनाको माध्यम बनाउँदा मेरो पहिलो अन्तर्राष्ट्रिय अप्रेसन सफल भयो। तर मेले सोचे जस्तो एक्लै भने सकिन है यसलाई टुङ्ग्याउन। अन्तिममा आएर खरेलको सहयोग लिनै पर्यो।
०००

त्यही अप्रेसनसँग जोडिएको अर्को घटना पनि भनिहालौँ। पाकिस्तान गएका नेपालीहरूको विवरण लिँदा एक जना नाइजेरियाली नागरिकको पनि विवरण ल्याएको थिए। पासपोर्टको फोटोकपी ल्याएको व्यक्ति थिए अब्दुल लतिफ तेजानि।

उनलाई अमेरिकीहरूको मोस्ट वान्टेड सूचीमा राखेका थिए। केही काम लाग्ला अनुसन्धानमा भनेर उनको पनि पासपोर्टको कपी ल्याएको थिए। 

उनी नाइजेरियन नागरिक भए पनि अर्काको नामको राहदानी प्रयोग गरेर हिँडिरहेको शङ्का थियो। उनी बेलाबखत नेपालमा पनि आउने गरेको र नेपालबाट पाकिस्तान जाने गरेको शङ्का थियो अमेरिकीहरूलाई। उनीहरुलेसोधेका पनि थिए। तर केही विवरण थिएन हामीसँग। 

उनको राहदानीको विवरण पाएपछि मैले त्यो अमेरिकी ड्रग युनिटमा पठाए।

उनीहरू निकै खुसी भए। हैरानै बनाएको रहेछ अमेरिकीहरूलाई लागु औषध कारोबारमा। नेपालबाट गएको सूचनाको आधारमा खोजी तीव्र बनाउँदै उनीहरूले पाकिस्तानमा छापा मारे। तर उनी फेला परेनन्। 

उनी पक्राउ नपरे पनि उनी पछिल्लो समय कुन नामको पासपोर्ट बोकेर हिँडिरहेका छन् भन्ने खुलासा त भयो नि। त्यो सूचनापछि अमेरिकी ड्रग युनिटमा काम गर्ने अमेरिकी अधिकारीहरूसँग इकाइसँगै मेरो पनि राम्रो सम्बन्ध भयो। नेपालको लागु औषध युनिटले पनि अन्तर्राष्ट्रियकरण सूचना सङ्कलन गर्न सक्ने रहेछ है भन्ने विश्वास भयो।

यो विश्वासले पछि नेपालमा लागु औषध सम्बन्धी धेरै अप्रेसन गर्न सहयोग पुग्यो। 
०००
हेरोइन कारोबारमा जुनी जेल परे। 

म डिआइजी भइसकेको थिए। एक दिन कार्यालयमा मलाई भेट्न आइपुगे जुनी। उनी आएर भने‘सर मलाई चिन्नुभयो ?’

मैले नचिन्ने कुरै थिएन। उनले कैद सजाय काटेर रिहा भएका रहेछन्। त्यसपछि उनी मेरो नियमित सम्पर्कमा रहे। अहिले पनि उनी सम्पर्कमै छन्। बेलाबखत कुरा भइरहन्छ। त्यसपछि भने उनी लागु औषध कारोबारमा लागेनन्। सुध्रिएका छन् उनी पुरै।

क्रमश:

(नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....