उकेरा काेलम

ब्याच नम्बर ६९ : खरेलले भने- सर तपाईं त अर्कै खालको हुनुहुँदोरहेछ

हेमन्त मल्ल


सबै प्रहरी कर्मचारीलाई सरुवा भएर आउने र जानेमाथि सरोकार हुँदैन। तर कुनै कार्यालयमा लामो समय काम गरेको र व्यावसायिक व्यवहार भएकाहरुमा भने आफू कार्यरत प्रहरी कार्यालयको साखको बढो माया हुन्छ।

उनीहरु नयाँ आएका आफूभन्दा कनिष्ठ हुन् वा वरिष्ठ हुन् दुवै खालका प्रहरीबारे बढो चासो राख्छन्। उनीहरुको मन जोडिएको हुन्छ कार्यालयमा। कतै स्वामित्व ग्रहण गर्छन्।

लागुऔषध नियन्त्रण ब्युरोमा खटिँदा मभन्दा जुनियर प्रहरी कर्मचारीले मेरै जासुसी गर्नुको कारण कारण पनि उनीहरुको मनमा रहेको त्यही कार्यालयप्रतिको अपनत्व र जिम्मेवारीवोधकै परिणाम थियो।

उनीहरुले मेरो बारेमा सकेसम्म धेरै जानकारी संकलन गरिरहेको, मेरो पारिवारिक पृष्ठभूमि, रहनसहन, मेरो साथी सर्कलबारे बुझिरहेका छन् भन्ने थाहा भएपछि म उनीहरुसँग झन् नजिक भएँ।

उनीहरुले आफ्ना कुराहरु खुलस्त राख्न थाले। उनीहरुले बुझ्न चाहेको तर नसकेको पक्षबारे थाहा नपाए जसरी आफैं भन्न थाले।

उनीहरु विस्तारै खुल्दै आए।

पहिला सोधेको विषयबारे ‘एस’ या ‘नो’ जवाफ दिनेहरु अलि विस्तृत बताउन थाले। मलाई कार्यालयको स्टक्चरसँगै अप्रेसन स्टक्चरबारे समेत जानकारी पाउनु थियो। उनीहरु विस्तारै त्यतातिर पनि प्रवेश गर्न थाले। म विश्वस्त भएँ, अब उनीहरुले मलाई पत्याए।

त्यस्तै कार्यालय गएको २०–२२ दिनपछि केशव खरेल विस्तारै मेरो कोठामा आए। नजिकै सोफा थियो क्यार। त्यसमा टुसुक्क बसेर मतिर हेर्दै भने, ‘सर तपाईं त अर्कै खालको हुनुहुँदोरहेछ।’

म मुसुक्क हासें अनि सोधे, ‘खरेलसा’प कस्तो हो, मैले त अर्कै पो भनेको?

उनले भने, ‘यहाँ त आउँछन्, हाट्टहुट्ट गर्छन्, जान्छन्। तर तपाईं त्यस्तो खालको अफिसर हुनुहुँदो रहेन छ।’

मन आनन्द भयो। उनीहरुले मलाई पत्याए।

कार्यालयको संरचनाबारे बुझ्न त्यति समय लाग्दैन। समय लाग्ने भनेको अनुसन्धान पद्धति र प्रक्रियाबारे नै हो।

मलाई मुख्य चासो लागुऔषध बरामद गर्दा उनीहरुले कसरी योजना बनाउँछन्?, कसरी परिचालित हुन्छन्?, सूचना कसरी ल्याउँछन्? भन्नेमा थियो।

दैनिक काम हुने प्रहरी कार्यालयमा पहिल्यै यहाँ यस्तो भयो भनेर सूचना आउने हो। त्यो सूचनाको आधारमा अनुसन्धानमा खटिने, संलग्न देखिएका पक्राउ गर्ने, फरार भए खोज्ने। यस्तै त हो।

लागुऔषध नियन्त्रण इकाइमा सूचना संकलनको प्रक्रिया मैले पहिला काम गरेको प्रहरी युनिटको भन्दा भिन्न थियो। लागुऔषधमा सूचना आफैंले खोज्ने हो, कहाँ लागुऔषधको कारोबार भएका छन् या हुन सक्छन्?, को–को संलग्न हुन सक्छन्? मुख्य कारोबारी को हो?, सहयोगी को–को हुन्? बिक्रेता को हो?, खरिदकर्ता को हो? सबै सूचना संकलन गरेर मात्र अप्रेसन हुन्छ यस्तोमा।

सिक्नुपर्ने मुख्य सिपै यस्तै त हो अनुसन्धानमा।

विस्तारै खरेल सहितको टिम मसँग खुल्न थालेपछि मैले उनीहरुलाई यस्ता खालको प्रहरी अप्रेसनमा मलाई पनि सहभागी गराउन आग्रह गर्न थाले। उनीहरु सकारात्मक नै थिए।

खरेल प्रहरी निरीक्षक थिए, म डिएसपी। प्रायः प्रहरीमा माथिल्लो ओहदाका प्रहरी कर्मचारीले अप्रेसनको कमान्ड गर्छन्। लागुऔषधमा त्यस्तो हुँदैन रहेछ। लागुऔषधमा फिल्डबारे जो जानकार हो उही अप्रेसन कमान्डर। त्यहाँ दर्जाको काम थिएन, अनुभवको काम थियो।

एक–दुई अप्रेसनमा सहभागी भएपछि अब खरेलले मलाई सिकाउन थाले है भन्ने अनुभव गर्न थालें। खरेलको मुख्य क्षेत्र चाहिँ सूचना संकलन थियो। उनी आपराधिक र राजनीतिक सूचना संकलनमा पोख्त रहेछन्।

यो बीचमा म अन्तर्राष्ट्रियस्तरका अप्रेसनहरुमा समेत सहभागी भएँ। ती अप्रेसनहरुमा सहभागी भएपछि थाहा पाएँ, खरेल अन्तर्राष्ट्रियस्तरका पोख्त अनुसन्धानकर्ता रहेछन्। उनलाई संगठनले किरानामा राखेको केही समयमै अनुभव भयो मलाई।

जो संगठनप्रति अति बफादार भएर काम गरेका हुन्छन्, उनीहरुमा अलि बढी इगो हुन्छ। काम नगर्नेहरु आफूले गर्दै नगरेको काम समेत मैले नै हो भन्छन्। तर खरेलजस्ता स्वभावका प्रहरी ‘मैले गरेको कामबारे मैले भन्ने हैन, संगठन आफैंले मूल्यांकन गर्ने हो’ भन्ने सोचका हुन्छन्।

तर, हाम्रोमा आफ्नो बखान आफैँले गर्ने संस्कार छ। माथिल्लो तहबाट कसले कस्तो काम गरिरहेका छन् भने निष्पक्ष अनुगमन गर्ने अधिकृतहरु कमै हुन्छन्।

खरेलसँगको संगतले अनुसन्धानसम्बन्धी टिप्स र ट्रिकहरु सिक्दै गएँ।

क्रमश:

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 

‘एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्‍यागिङ गर्दा रहेछन्। यो कुरा एमबिबिएस पढ्न कलेज भर्ना भएपछि मात्रै थाहा पाएँ,’ २०७४ सालदेखि सिभिल अस्पतालमा कार्यरत छाला तथा....

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको....

हिजोका कुरा : १४ वर्षको उमेरमै हेडमास्टर

जितपुर त्यति बेला पश्चिम जाने मुल बाटो थियो, अहिलेको राजमार्गहरू जस्तै। मदनकृष्ण श्रेष्ठ गाउँ, टोलमा गीत गाउँदै, भजन गाउँदै हिँड्थे। ८ वर्षका मात्र थिए उनी....

ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

मैले जानेको कुरा अर्कोलाई सिकायो भने त ऊ मभन्दा जान्ने भइहाल्छ, म तल पर्छु भन्ने भ्रम धेरै छ प्रहरीमा। वास्तवमा यो सोच गलत हो। आफूमा....

चौथो अंग : ...बरु भेडा चराउन सजिलो

पछि सरकारी ओहोदा र जिम्मेवार तहमा बसेका व्यक्तिले गरेका गलत काम बाहिर आउन थाल्यो। यसरी लुकाएर राखिएका गलत काम खोजेर सार्वजनिक गर्ने कामलाई खोज पत्रकारिता....