उकेरा कोलम

ब्याच नम्बर ६९ : चरेस, सुन र डलर तस्करीको जालो

म प्रहरीमा भर्ना भएदेखि नै सुन, हुण्डी अनि डलर तस्करीमा जुन व्यक्तिको नाम सुनेको थिएँ, अहिले पनि यो धन्दामा उनै व्यक्तिहरुको नाम जोडिन्छ।


प्रायः संगठित अपराधको अनुसन्धानमा एकै पटक सबै पक्ष खुल्दैनन्। एक पाटोको अनुसन्धान सकिए पनि अनुसन्धान भने जारी नै रहन्छ। यस्तो अनुसन्धान लामै जान्छ।

पक्राउ परेको निश्चित समयभित्र मुद्दा अदालतमा बुझाउनुपर्ने बाध्यताले खण्ड-खण्ड अनुसन्धान हुने गर्छ। कतिपय कुराहरु थप अनुसन्धान गर्नुपर्ने, पाएका प्रमाणका विस्तृत अनुसन्धान गर्नुपर्ने हुन्छ। प्रारम्भमा नखुलेका कुराहरु पछि खुल्दै पनि जान्छन्। नयाँ व्यक्तिहरु पक्राउ पर्छन्। नयाँ प्रमाण फेला पर्छ। यस्तै हो अनुसन्धान प्रक्रिया।

लक्ष्मी कंशाकारको केसमा पनि यही भयो।

पक्राउ परेकाहरुको संलग्नता र उनीहरुको भूमिका खुलाएर मुद्दामा गए पनि उनको कोठाबाट फेला परेका कागजपत्र केलाउने, त्यससँग सम्बन्धित देखिएकाहरुसँग सोधपुछ गर्ने, दोस्रो देशसँग जानकारी लिने विषयमा पत्राचार गर्ने काम भइरहेको थियो।

उनको कोठामा फेला परेका कागजपत्र केलाउँदा जर्मनीबाट केही पैसा हङकङ आएको देखियो। हङकङका केही खाता नम्बरहरु फेला पनि परे। यसो हेर्दा त्यो पैसा लागुऔषधको हो भन्ने हाम्रो अनुमान थियो।

हङकङमा लागुऔषधको अनुसन्धान गर्ने निकायलाई ती खाता नम्बर पठाएर आवश्यक जानकारीहरु माग्यौं। उताबाट सहयोग पनि भयो।

जर्मनीबाट आएको पैसा जुन खातामा जम्मा भएको थियो, त्यो नेपाली नागरिकको नाममा रहेको खुल्यो। जो जसको नाममा खाता थियो, उनीहरु सुन र डलर तस्करीमा नाम जोडिँदै आएकाहरु नै थिए।

यसले जर्मनीबाट जम्मा भएको पैसा लागुऔषधको हो भन्नेमा थप आधारहरु देखिए। हाम्रो अनुसन्धान सही ट्रयाकमा जाँदै थियो।

यता राजनीतिक पहुँचको आधारमा विमानस्थलमा तस्करी खुल्नु, त्यही बेलामा विमानस्थलका विमानका कर्मचारी, होटलका कर्मचारीसहित मिलेर सामानै साटेर विमानबाटै जर्मनीमा चरेस पठाउने अनि केही पैसा जर्मनीबाट हङकङको बैंकमा रहेको नेपाली नागरिकको खातामा आउनुले यो तीनै कामको एक आपसमा लिंक त भयो। तर पुुष्टिका लागि प्रमाणहरु त चाहिन्थ्यो। अभियोजन गर्न अनुमान र निष्कर्ष भएर मात्रै हुँदैन। बलियो प्रमाण चाहिन्छ।

०००
नेपालमा लागुऔषध तस्करी, सुन तस्करी अनि डलर तस्करी अझै रोकिएको छैन। बेलाबखत डलर तस्करी र सुन तस्करीमा एकै समूह संलग्न रहेको खुल्ने गरेको छ नै।

तर, अहिलेसम्म लागुऔषध, सुन र डलर तस्करीलाई एकै जालोको रुपमा लिएर अनुसन्धान नहुँदा यी तीन गम्भीर अपराध अलग–अलग झैं देखिने गरेका छन्।

तर, यो अलग–अलग समूह मिलेर गर्ने अपराध होइन। एकै समूहका हुन् यी। एकै समूहका व्यक्तिहरुले फरक–फरक जिम्मेवारी लिएका मात्र हुन्।

जस्तो जर्मनीकै केसको अनुसन्धानमा देखिएको जालो भनौं।

यताबाट चरेस जर्मनी पुग्छ। जर्मनीमा चरेस पुगेपछि जसले मगाएको हो, उसले हुण्डीमार्फत त्यो पैसा जर्मनीबाटै भुक्तानी गर्नुपर्ने देशको खातामा पठाउँछ। त्यो बेलामा भुक्तानीमा प्रयोग भएको खाता हङकङमा थियो।

हुण्डीवालाले जर्मनीको भुक्तानीको पैसा हङकङको खातामा हालिदिन्छ। खातावालाले त्यही पैसाले सुन किनेर नेपाल पठाउँछ। अब नेपालमा थुप्रिएको अवैध पैसा हुण्डी या डरल तस्करी भएर फेरि हङकङ पुग्छ।

म प्रहरीमा भर्ना भएदेखि नै सुन, हुण्डी अनि डलर तस्करीमा जुन व्यक्तिको नाम सुनेको थिएँ, अहिले पनि यो धन्दामा उनै व्यक्तिहरुको नाम जोडिन्छ। हुण्डी पक्राउ पर्यो भने त्यही पुरानै व्यक्ति जोडिन्छन्। सुन तस्करी भयो, पुरानै व्यक्ति जोडिन्छन्।

नेपालमा बेलाबखत सरकारी योजनामै तस्करीका लागि विमानस्थल ठेक्कामा लगाइन्छ। विमानस्थल ठेक्कामा लाग्दा आउने नाम पनि उही पुरानै हो।

ठेक्कामा लगाउँदा सरकारमा रहेकाहरु संलग्न हुने नै भए। भन्सारका कर्मचारी, प्रहरीमात्रै हैन, विमानस्थलभित्र व्यापार गर्ने भनेर खोलिएका पसलका सञ्चालकहरु पनि त परेका छन् नि डलर तस्करीमा।

सुन, डलर अनि हुण्डी तस्करीमा दोहोरिइरहनेहरुको नाम यस्तो गम्भीर अपराधमा पोलिन थालेको ३० वर्षभन्दा बढी भइसक्यो। केही व्यक्ति पक्राउ परेका छन्। तर धेरैजसोको सहयोगी पक्राउ परे पनि मुख्य तस्करहरु पक्राउ परेका छैनन्।

यसले नै देखाउँछ, त्यो जालो कति शक्तिशाली छ भन्ने। यो ३० वर्षको बीचमा उनीहरु आर्थिक रुपमा कति सम्पन्न भइसके होलान् अनुमान गर्न सकिन्छ।

उनीहरुको जालो त्यो बेलामा त भत्काउन सकिएन भने अहिले त झन् कठिन छ। तर आँट गर्ने हो भने जालो भत्काउन नसकिने भने होइन।

०००
जर्मनी केसकै बारेमा उल्लेख गरौँ अब।
हङकङमा रहेका तीन वटा खाताबारे हामीले यताबाट अनुसन्धान अगाडि बढायौँ। हुण्डीको पैसा मात्र भएको भए हङकङको सुरक्षा निकायसँग हामीले समन्वय गर्न कठिन हुन्थ्यो। किनकी हामी त लागुऔषध अपराध हेर्ने हो नि त।

तर, त्यो लागुऔषधकै पैसा भएको कनेक्सन देखिएपछि हामीले त्यही रुपमा अनुसन्धान अगाडि बढायौँ। हामीलाई उताबाट राम्रै सहयोग भयो। विवरणहरु आइरहेका थिए।

अपराध भएको स्थान नेपाल भयो। नेपालबाट चरेस जर्मनी पुगेको थियो।

जर्मनहरुले आफ्नै तरिकाले अनुसन्धान गरे। मुख्य कारोबारी नेपालमा रहेको र नेपालमा पक्राउ परेकाले डिटेल अनुसन्धान हामीले गर्यौ।

लक्ष्मी कंशाकारबाट चरेस तस्करीसँगै हुण्डी, डलर र सुन तस्करीसम्मलाई जोड्न खोजेको त हामीले हो नि।

तर, समस्या बनिदियो नेपालको कानुन।

उता खाता रहेका व्यक्तिहरुको सबै डिटेल पठाउन अनि खाता सिल गरेर अनुसन्धान अगाडि बढाउन नेपालको कोर्टको आदेश चाहियो। तर नेपालको कानुन अनुसार आदेश पाउन सकिँदैन।

अहिले पनि उस्तै समस्या छ।

अन्य देशमा कुनै अपराधको अनुसन्धान सुरु भएसँगै त्यसलाई अदालतले मुद्दाको रुपमा स्वीकार गर्छ। त्यसैले अनुसन्धान गर्दागर्दै कुनै कोर्टको आदेश चाहियो भने सहजै पाइन्छ।

तर, नेपालमा जबसम्म अदालतमा अभियोगपत्र दर्ता हुँदैन, तबसम्म अदालतबाट हुनुपर्ने आदेशहरु जारी गराउन सकिँदैन। प्रहरीमा अनुसन्धान भइरहेको विषयमा अदालतबाट आदेशहरु अझै जारी गराउन सकिँदैन। बाहिर अदालतको आदेश नभई मान्दैन।

विशेष संगठित अपराधको अनुसन्धान यति समयमै सकिन्छ भन्ने हुँदैन। लागुऔषध नियन्त्रण इकाइबाटै सुरु भएको अनुसन्धान आठ वर्षसम्म पनि लागेको छ। तीन हप्ता अगाडिको काइली तामाङको केस हेरौं त कति वर्ष लाग्यो उनी पक्राउ पर्न।

यो बीचमा अनुसन्धान गर्दा अन्य देशको पनि सहयोग चाहिन्छ। विवरणहरु मगाउनुपर्ने हुन्छ। त्यसका लागि उनीहरुले अदालतको आदेश माग्छन्। अदालतको आदेश गयो भने उनीहरुले दिन्छन् पनि। तर नेपालमा अनुसन्धान भइरहेको विषयमा अदालतबाट आदेश लिन सकिँदैन।

त्यसले धेरै गम्भीर अपराधको अनुसन्धान बीचैमा तुहिएको छ।

र, सुन, डलर र चरेस तस्करीमा संलग्नहरुको एकअर्कासँग सम्बन्ध छ भनेर प्रमाणित गर्न सकिने त्यो घटना पनि अदालतबाट आदेश जारी हुन नसक्दा अनुसन्धान पूर्ण हुन सकेन। कोको संलग्न देखिए भन्ने हामीलाई जानकारी त भयो तर त्यसलाई कानुनी रुपमा अनुसन्धानको दायरामा ल्याउन नसक्दा संलग्न देखिएकाहरुलाई पनि एक्सपोज गर्न सकिएन।

त्यो बेला जो जसको नाम पोलिएको थियो, अहिले पनि सुन तस्करी, हुण्डी अनि डलर तस्करीमा उनीहरुकै नाम आइरहन्छ।

यो जालो नतोडेसम्म तस्करी विरुद्धको अनुसन्धान सफल हुन सक्दैन। जालो भत्कँदैन।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधवार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....