- पाँच सय किलो चरेस तस्करीको जालो पच्छ्याउँदा-२
यस अगाडिको अङ्कमा जर्मन पुगेको २ सय ५० किलो चरेसको अनुसन्धानको विषयमा उल्लेख गरेका थिए। नखिपोटमा रहेको घरमा पुगेर त्यो शृङ्खला टुङ्गिएको थियो।
उकेरा कोलम
ब्याच नम्बर ६९ : एभरेस्ट होटेलको गाडिमा २ सय ५० किलो चरेस ओसारियो
मंगोलियन अनुहारकी, कपाल जिङ्ग्रिङ्ग परेको, होचो कद अनि विदेशीसँग विवाह गरेर बसेको। चरेसको मूल नाइके भनिएकी युवतीबारे आएका सूचना यही थिए। तर यतिकै भरमा कसरी खोज्ने ?
यो एपिसोड त्यही प्रसङ्गबाट सुरु गरौँ।
OOO
जुन प्रकारले चरेस विमानस्थल हुँदै जर्मनसम्म पुगेको थियो त्यसले यो सङ्गठित अपराध हो भन्ने देखाउँथ्यो नै। विमानस्थलभित्रै सेटिङ मिलाएर भित्रै चरेस र सिङगिङ बल भएको बक्सासँग चरेस भएको बक्सा साटिनुले यसमा राज्यका निकायहरूमा रहेकालाई प्रभाव पार्न सक्ने समूहका सदस्य संलग्न छन् भन्ने पनि भयो।
तर निष्कर्ष निकालेर मात्र अपराध अनुसन्धान हुन्न। यो त अनुसन्धानका लागि लिड लाइन मात्रै हुन्। त्यही लिड समातेर अनुसन्धान अगाडि बढ्ने हो। प्रारम्भमा जे जस्तो सिनारियो देखिन्छ अनुसन्धान निष्कर्षमा पुग्दा त्यो पुष्टि हुन्छ नै भन्ने हुन्न। तर अधिकांश केसमा पहिला फेला परेको लिड लाइन समातेर अनुसन्धान गर्दा 'यस्तो हुनसक्छ' भनेर निकालेको अनुमानित निष्कर्ष पुष्टि हुन्छ पनि।
घटनाको प्रारम्भमा कुनै न कुनै रूपमा विमानस्थलका कर्मचारी वा विमानस्थलभित्र पहुँच हुने कसैले सो समूहलाई सघाएको देखिएपछि एक समूह त्यतातिर केन्द्रीय भयो। अन्य समूह सम्भावित क्षेत्रमा निगरानी र घटनाको विश्लेषणमा केन्द्रित थियो।
नखिपोटको घरको सूचना आउनु अगाडि नै हामीले विमानस्थलका २ जना लोडरलाई पक्राउ गरेका थियौँ। उनीहरू कुनै न कुनै रूपमा चरेस तस्करीमा संलग्न छन् भन्ने आशङ्काका आधारमा नियन्त्रणमा लिएका थियौँ।
नियन्त्रणमा लिनु अगाडि विमानस्थलमा यस्तो बदमासी गर्ने को को हुन सक्छन् भनेर सोधखोज गर्दा केही तत्कालीन आरएनएसीको लोडरको नाम आयो। पहिला पक्राउको आधार यही थियो।
पहिला त पक्राउ परेका ती लोडरले केही बताउनै मानेनन्। बिस्तारै फकाएर कुराकानी गर्दैजाँदा एक लोडरबाट नखीपोटको घरबारे जानकारी फुत्किएको थियो। त्यही सूचनाको आधारमा नखिपोट पुग्दा घर फेला पर्यो। त्यहाँ उस्तै बक्साभित्र सिङगिङ बल अनि थप २ सय ५० किलो चरेस पनि भेटियो। यसले कुन रूपमा चरेस कारोबार भइरहेको रहेछ भन्ने खुल्यो।
OOO
एकपछि अर्को सूचनाहरू आइरहेका थिए। यही बिचमा नखिपोटको घरमा जाने भ्यानको नम्बर आयो बा अ प २६४। गाडी नम्बरको आधारमा अब त्यो कसको स्वामित्वमा छ भन्ने खुलाउन गाह्रो थिएन। यातायात कार्यालयमा गाडीको विवरण खुलाइ पठाउन पत्र पठाइयो।
हाम्रो दिमागमा भने त्यत्रो चरेस कारोबारको मुख्य नाइके को होला भन्ने नै घुमिरहेको थियो। प्राय सङ्गठित अपराध गर्नेहरूले सूचना र पहिचानको गोप्यताको लेयर बनाएका हुन्छन्। समूह अनुसार कामको विभाजन गरिएको हुन्छ।
एक समूहकाले अर्को समूहकालाई नचिन्ने हुन्छ। सूचनामै ग्याप गरिएको हुन्छ। त्यसैले कोही समात्दैमा सबै खुलिहाल्छ भन्ने हुन्न सङ्गठित अपराधमा।
केही लोडर पक्राउ परेका थिए जसलाई त्यति धेरै जानकारी थिएन। उनीहरूको काम भन्सारमा आएको बक्सा गाडीमा आउने बक्सासँग साटिदिने नै थियो। उनीहरूले सामान लोड गर्न सामान लैजानेक्रममा बक्सा साटिदिन्थे।
प्रहरी अनुसन्धानमा हुने एक कमजोरी उल्लेख गरे यहाँ।
पक्राउ गरेर ल्यायो। हिरासतमा राख्यो अनि जहिले चाहिन्छ बयानमा लागि बोलायो फेरि हिरासत पठायो । प्रायले गर्न व्यवहार यही हो।तर यस्तो व्यवहारबाट पक्राउ परेकासँग हुने थप सूचना या सहयोग पाउन सकिन्न।
त्यसमा लागि ब्यक्तिगत सम्बन्ध बनाउन सक्नुपर्छ। घनिष्ठ सम्बन्ध भनेको हैन। मानिस हो। उसको पनि मनै त हो। यसो अनोपचारिक संवाद अनी राम्रो व्यवहार गर्दा प्रहरीको के नै जान्छ र। मेराे अनुभवमा फर्मल भएर गरिने सोधपुछ भन्दा इन्फरमल भएर गरिेने कुराकानीबाट नसोचेको सूचना आउँछ।
कसैले कुरा गर्दागर्दै कति लुकाउनु भनेर भनिदिन्छन्। कसैले महत्वपूर्ण जानकारी हुनसक्छ भन्ने नजानेरै कुरैकुरामा महत्वपूर्ण सूचना चुहाउँछन्। यो बयानमा मात्र सम्भव हुन्न। कहिलेकाँही एक कप चियाले नसोचेको सहयोग गर्छ। एक मिठो बोलीले मन पगालेर सूचना निकाल्न सकिन्छ। लाठिले नखुलाएको मुख एक मुस्कानले खुलाउन सक्छ।
हामी चैँ पक्राउ गरेर ल्याएकाहरूलाई आफ्नो कोठामा बोलाएर चिया खुवाउने, उनीहरूको घर परिवार लगायतका बयानमा आवश्यक नपर्ने कुराहरू गर्ने, हाम्रा पनि कुराहरू सेयर गरेझैँ गर्ने गर्छौँ। यसरी कुरा गर्दै जाँदा उनीहरूले बिर्सिएको कुनै घटना, नाम या कुनै प्रसङ्ग सम्झन पनि सक्छन्।
उनीहरूका लागि त्यो सामान्य हुनसक्छ। तर प्रहरी अनुसन्धानका लागि त्यो महत्त्वपूर्ण लिड लाइन हुन सक्छ।
यसरी गरिएको चिया गफमा चरेसको मूल नाइके भनिएको युवतीबारे केही थप सूचना खुलिरहेका थिए। मंगोलियन अनुहारकी, कपाल जिङ्ग्रिङ्ग परेको, होचो कद अनि विदेशीसँग विवाह गरेर बसेको भन्नेसम्मको सूचना आयो।
नाम र ठेगाना नखुले पनि कमसेकम यति हुलिया भए पनि खुल्यो नि।
OOO
मूल नाइकेसम्म कसरी पुग्ने भनेर दिमाग घुमाउँदा घुमाउँदै नखिपोटको घरमा चरेस बोक्न जाने गाडी खुल्यो। भ्यान थियो एभरेस्ट होटेलको। गाडिको प्रयोजन थियो विमानका यात्रुका लागि खाना पुर्याउने।
धेरै पाटो क्लियर हुँदै गयो।
विमानका यात्रुका लागि खाना पुर्याउने जिम्मा त्यो बेलामा एभरेस्ट होटेलले पाएको थियो। यस्तो अनुमति पाएको गाडीहरूले विमानस्थलमा सहजै आवत-जावत गर्ने अनुमति पाइहाल्थे। चरेस कारोबारीहरूले यही सुविधाको उपयोग गर्न होटेलको गाडी उपयोग गरेका थिए।
चरेस तस्करी गर्ने सबै तयारी भएपछि ट्याक्क उस्तै प्रकार र तौलको २ वटा बक्सा बनाउने। सिङगिङ बल भएको बक्सा कार्गोमा लगेर दिने। त्यो बक्सा विमानस्थलमा पुगेपछि तत्कालीन आरएनएसीका लोडरले निगरानीमा राख्ने।
यता त्यस्तै बक्सामा चरेस हालेर प्याक गर्न विमानस्थल जानु अगाडि भ्यान नखिपोटमा गएर चरेस राखेको बक्सासहित खानाको प्याकेट बोकेर विमानस्थल जाने। खानाहरू विमानमा दिने अनि त्यही बेला विमानमा सामान लोड गर्न आएका लोडरले सिङगिङ बल भएको बक्सा उनीहरूलाई दिन्थे अनि होटेलका स्टाफले चरेस भएको बक्सा लोडरलाई।
अनि उनीहरू सिङगिङ बल भएको बक्सा बोकेर फेरि नखिपोट फर्किएर बक्सा त्यही छाडेर होटेल फर्कने गरेको खुल्यो। यति खुलेपछि होटेलका कर्मचारी पक्राउको बाटो खुल्यो। केही कर्मचारी पक्राउ पनि परे।
OOO
लोडर पक्राउ परे। सामान विमानस्थलभित्र लैजाने पनि समातिए। केहीको खोजी जारी थियो। तर जति गरे पनि मूल दोस्रो या पहिलो तहकाको न नाम खुल्छ न विवरण!
सहयोगी मात्र पक्राउ परेर यो केसको अनुसन्धान त टुङ्गिँदैनथ्यो।
यसो लोडरसँग गफ गर्नुपर्यो भनेर एक जनालाई कोठामा बोलायौँ। चिया मगाए। उनको पुरा नाम त थाहा भएन। थर चैँ गिरी थियो।
उनीसँग मसँगै केशव खरेल, कृष्णगोपाल पनेरु लगायतकाहरु पनि हुन्थे। उनीसँग चरण चरणमा गफ भयो। बोलोयो। चिया खायो अनी रमाइला गफहरु गर्यो। लक्ष्य त महिलाबारे केही खुलीहाल्छ कि भन्ने नै थियो नि।
यताउताको गफ गर्यो अनी त्यही महिलाबारे कुराकानी केन्द्रित गर्यो। छुस्स-छुस्स एक-एक लाइनको सूचना आइरहेको थियो।
उनले ठ्याक्कै यही हो भनेर भन्न त सकेनन्। तर उनीसँग गफ गर्दा चिन्दाचिन्दै सूचना लुकाएको जस्तो लागेन।
उनले प्राय: ती महिलालाई विमानस्थलतिर देखेका रहेछन्। उनी बस्ने चैँ भक्तपुर।
गिरीले एक दिन गफैगफमा भने'उनलाई मैले एक पटक सूर्यविनायकमा भेटेको थिए।'
यो हाम्रो लागि नौलो जानकारी 'थियो। हाम्रो कान ठाडो हुने नै भयो। तर उनले दिएको सूचना महत्वपूर्ण हो झै ब्यवहार पनि गर्नु भएन। अलमलिन या ढाट्न सक्छन् नि। हामीले सामान्य झै गरेर अनी भन्दै गफ अगाडि बढायौ।
उनी भन्दै गए 'मलाई अरू त याद छैन। एक पटक सूर्य विनायकमा बस चढ्ने बेलामा उनलाई भेटेको थिए। दिदी कता जान लागेको भनेर सोध्दा गडगडे जान लागेको भनेको याद छ।'
ट्वाक्कै पक्राउ गरिहाल्न सक्ने सूचना थिएन यो। तर अलमल भइरहेको बेला यति सूचना पनि महत्त्वपूर्ण हुने नै भयो। पहिलो घरको सूचनाले कसरी चरेस विमानस्थलमा लैजान्छन् भन्ने खुलायो। २ सय ५० किलो चरेस फेला पर्यो। यो गडगडेले पनि केही उपलब्धी गराउन सक्छ कि!
धेरैलाई गडगडे भन्ने ठाउँ थाहा नहुन सक्छ। पहिलो पटक सुन्दा त मलाई पनि थाहा थिएन। बुझ्दै जाँदा त नगरकोटको तलको ठाउँ रहेछ।
हामी गडगडे जान तयार भयौ। केशव बराल सर गाडी चलाउने हुनुभयो। म र खरेल पनि एकै गाडीमा बस्यौ।
ठाउँको नाम त आयो। तर देखेर पनि चिन्ने चैँ कसरी ?
मंगोलियन अनुहार, होचो उचाइ अनि जिङ्ग्रिङ्ग कपाल। यति त थियो चिन्न सकिने हुलिया। यति हुलियाको भरमा भेटिएला त।
क्रमश:
(नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)
२०७८ वैशाख २९ गते २१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।