उकेरा कोलम

ब्याच नम्बर ६९ : साथीको हराएकी श्रीमती खोज्दै गडगडे पुग्दा चरेस तस्कर भेटिइन्

कोठामा सर्च गर्दा विदेशी नागरिकलाई थोरै चरेस बोकाएर विदेश पठाउन सुटकेसमा फल्स बटम बनाएर राखेको चरेस फेला परे। पछि जोख्दा पाँच किलो देखियो। अर्को गजबको प्रमाण फेला पर्‍यो सिङगिङ बलको एयरवे बिल।


  • पाँच सय किलो चरेस तस्करीको जालो पच्छ्याउँदा-३

पाँच सय किलो चरेसको तस्करी। त्यो पनि नेपालमा मात्रै हैन जर्मन समेत जोडिएको। विमानस्थलका कर्मचारी, एभरेस्ट होटलका कर्मचारी समेत संलग्न रहेको। मूल नाइके एक महिला भन्ने मात्र सूचना छ। उनको सामान्य हुलिया आएको छ बाँकी केही छैन।

पक्राउ परेकाहरूबाट आएको हुलियामा मंगोलियन अनुहार, होचो उचाइ अनि जिङ्ग्रिङ्ग कपाल भन्ने मात्र छ। त्यो बाहेक केही छैन। उनी पक्राउ नपरेसम्म यो सञ्जालको जालो भत्काउन सम्भव थिएन।

जुन समयमा यो तस्करी भएको थियो त्यो बेलामा अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित तस्करी खुल्ला भएको थियो राज्यकै संरक्षणमा। यसबारे अघिल्लो अंकमा नै उल्लेख गरिसके।

राज्यको जिम्मेवार निकायमा रहेकाहरूले नै विमानस्थल ठेक्कामा दिएका थिए। त्यसैले यो ठेक्का प्रणाली टुटाउन र यसमा संलग्नहरूसम्म पुग्न ती महिला पक्राउ नपरी सम्भव थिएन।

गडगडे भन्ने त थाहा भयो। तर कहाँ हो यो भन्ने जानकारी थिएन। खोज्दै जाँदा नगरकोटको मुनीको एउटा गाउँ भन्ने आयो।

कतै त्यतै पो भेटिन्छन् कि भनेर जान टिम तयार भयो। केशव बराल सर गाडी चलाउने हुनुभयो। म र सहयोगी केशव खरेल गाडीको पछाडि बस्यौ।

000

खोज्दै जाँदा गडगडेमा पुगियो। पुग्न न पुगियो। अब कतातिर जाने। यस्तो हुलियाको कोही छ भनेर बढी सोधखोज गर्न थाल्यो भने शङ्का गर्न सक्छन्।

अपरिचित ठाउँ। प्रहरी भनेर पहिल्यै शङ्का गरे भने पनि बिचमै प्लान फेल खाइहाल्छ। यसो यताउता हेर्‍यौ। झुरुप्प घरहरू भएको ठाउँ देखियो। त्यता केही उपलब्धि भइहाल्छ कि भनेर केशव खरेल र म गाउँतिर लाग्यौ।

अब त्यो त गाउँ हो। गाउँको परिवेशमा मान्छेहरू भेटिन सक्ने र गफ गरेर बस्न सक्ने ठाउँ कि चौतारो कि पधेँरो हो। हामी खोज्दै गयौँ।

पहिल्यै पधेरो भेटियो। एक हुल गाउँका महिलाहरू पानी भर्न आएका रहेछन्। उनीहरू बसेर गफ गरिरहेका थिए। पानी खाने निहुँले निजकै गयौँ।

अब त्यहाँ कसरी कुरा सुरु गर्ने मैले ठम्याउन सकेको थिइन।

केशवले प्याट्ट। सबैले सुन्ने गरी भने' यो उमेरमा आएर श्रीमती भागी। घरमा बच्चाहरूको बिजोग छ, यतातिर आएकी छ भन्थे।'

मैले कुरा बुझी हाले।

पँधेरोमा भएका महिलाहरूले चासो राखिहाले। उनीहरूसँग कुराकानी बढ्दै गयो। ' कठै यो उमेरमा पनि के छाडेर हिँडेको होला' भन्न थाले।

उनीहरूले कस्ती देखिन्छिन् भनेर सोधे।

हुलिया भन्यौ' मंगोलियन अनुहार छ। कद होचो-होचो हो। कपाल अलि जिङ्ग्रिङ्ग पाराको छ।'

हुलिया भनेपछि केही महिलाले मुखामुख गर्न थाले। खासखुस गर्न थाले। उनीहरूसँग केही सूचना छ भन्ने पक्का भयो। खरेल श्रीमती हराएको श्रीमान् झैँ नियाउँरो अनुहार बनाएर बसेका थिए। हेर्दै दया लाग्ने।

कुनै सल्लाहविना एक्कासि गाउँलेहरूसँग कुरा गर्ने बहाना खोज्दा उनी एक्लैले यो स्टोरी फुराएका थिए। सल्लाह भएको थिएन। अब श्रीमती हराएको साथीको श्रीमती खोज्न गएको साथी परे म। मैले पनि अनुहार त नियाउँरो बनाउनै पर्‍यो।

सकेसम्म निराश अनुहार बनाउने प्रयास गरे।

एक जना महिलाले भनिन्' तपाइकै श्रीमती हो हैन त थाहा छैन तर त्यस्तै महिला केही पहिला हाम्रो गाउँमा आएकी थिइन्।'

केही सूचना आउँदै छ है भन्ने भयो।

खरेलले भने 'केही जानकारी भए पाउन।'

उनीहरूले पँधेरो तलतिर देखाउँदै भने' त्यो तल एक जना महिला जग्गा किन्न आएकी थिइन्। त्यसको हुलिया त्यसै थियो। डल्ली-डल्ली। नेवार जस्तो अनुहार थियो। कपाल त्यस्तै थियो।'

जग्गा किन्न आएको भनेपछि महिला त्यो गाउँको हैन भन्ने त खुल्यो। तर जग्गा बेच्ने वा अरू कुनै व्यक्तिसँग त ती महिलाबारे जानकारी हुन सक्थ्यो नै।

कसलाई थाहा होला भनेर सोध्दा उनीहरूले एक जना स्थानीयको नाम दिँदै भने' तल घरको भाइलाई पर्खाल लगाउने जिम्मा दिएकी थिइन्। त्यही भाइलाई थाहा होला।'

जसले पर्खाल बनाउने जिम्मा लिएका थिए उनी नगरकोटमा रहेको तारा गाउँ होटेलको स्टाफ रहेछन्।

नाम आएपछि उनीहरूलाई धन्यवाद दिएर हामी गाडी भएतिर फर्कियौँ। बराल सर हामीलाई पर्खेर बस्नुभएको थियो। हामी दुवैको अनुहार खुलेको थियो। उहाँले केही काम भयो भनेर थाहा पाइहाल्नभयो।

000

त्यही दिन जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई तारा गाउँ होटेलमा काम गर्ने केटाको नाम टिपाएर उसलाई केही विषयमा बुझ्नुपर्ने भएकाले इकाइको कार्यालयमा ल्याउन भन्यौ। विषय के हो केही भनेनौ।

प्राय केसमा कसैलाई झिकाउनुपर्‍यो भने हामीले भन्ने यस्तै हो। केसबारे केही जानकारी गराउँदैनौ। कहिलेकाहीँ सूचना चुहिने डर हुन्छ। केही केसमा चैँ जो खोजेको हो। उ निर्दोष हुन पनि सक्छ।

ती युवा इकाइको कार्यालयमा आइपुगे। उनलाई ती महिलाबारे सोधपुछ गर्दा उनी बस्ने ठाउँ खुल्यो। हुलियाबारे सोधपुछ गर्दा लगभग मिल्यो। श्रीमान् विदेशी रहेको नि खुल्यो। नाम आयो लक्ष्मी कंशाकार।

हामीले खोजेको महिला उही हुनेमा हामी बढी नै विश्वस्त थियौँ। तर नहुन पनि सक्छ। ती युवालाई ती महिला बस्ने घरबारे समेत थाहा भएकाले अब खोज्न त्यति कठिन भएन।

000

मध्यबानेश्वरमा रत्न राज्य स्कुलबाट बानेश्वर आउँदा ओरालो छ नि त्यताबाट बायाँतिर जाने बाटोबाट केही भित्र गएपछि युवाले भनेको घर आयो। टोली नै बोकेर गएका थियौँ। ओर्लिएर एक टिम गेटमा बसे। हामी भित्र पस्यौ। तलै बस्ने रहेछन्।

कोठामा २ जना फेला परे।

एक्कासि घरमा अपरिचित व्यक्तिहरू आइपुग्दा उनको अनुहारको रङ बदलियो। पहिलो पटक महिलालाई देख्दा नै यही हो भन्ने पक्का भइहाल्यो।

प्रहरीलाई पो खोजी गरिरहेको महिला उही हुन् भन्ने थाहा थिएन। तर उनलाई त जर्मनमा चरेस फेला परेको। नखिपोटमा रहेको घरमा छापा मारेर चरेस लगेको, एयरपोर्टको लोडर अनि एभरेस्ट होटलका कर्मचारी पक्राउ परेकोबारे ती महिला त थाहा थियो।

त्यहाँ सुटकेस पनि थिए। हामी ती महिला र अर्को विदेशीलाई नियन्त्रणमा लिएर सोधपुछमा लाग्यो। अर्को टिम कोठाको सर्चमा लाग्यो।

कोठामा सर्च गर्दा विदेशी नागरिकलाई थोरै चरेस बोकाएर विदेश पठाउन सुटकेसमा फल्स बटम बनाएर राखेको चरेस फेला परे। पछि जोख्दा पाँच किलो देखियो। अर्को गजबको प्रमाण फेला पर्‍यो सिङगिङ बलको एयरवे बिल।

उनले जुन सिङगिङ बल भनेर जर्मनमा पठाउन किनेको थियो त्यसैको बिल फेला परेपछि त पुष्टि गर्न थप सहज भयो नि।

यता त्यत्रो चरेस फेला परेको छ। हामी को होला तस्कर भनेर धुइँपत्ताल खोजी रहेका छौँ। उनीहरू भने ढुक्क भएर अझ अर्को खेप चरेस विदेश पठाउने तयारीमा रहेछन्। आत्मबल हेरौँ त। त्यसले उनीहरू नै अनुभवी तस्कर हुन् भन्नेमा अन्योल भएन।

केटा चैँ डच नागरिक रहेछन्। दुबैजनालाई नियन्त्रणमा लिएर कार्यालय ल्यायौँ। कोठामा फेला परेका डकुमेन्टबाट महिला लक्ष्मी कंशाकार हो भन्ने पुष्टि भयो नै।

उनीहरूले सुर्यविनायकमा कार्पेट फ्याक्ट्री खोलेका रहेछन्। कतै फ्याक्ट्रीमा पनि चरेस प्याक हुन्छ कि भनेर तलासी लियौँ। तर कारखानामा चैँ चरेस फेला परेन।

लक्ष्मी पक्राउ पर्दासम्म उनीहरू संलग्न रहेको चरेस तस्करी पाँच सय पाँच किलो भइसकेको थियो। नेपालमा २ सय ५५ किलो फेला परेकाले उनीहरूमाथि लाग्ने अभियोग त २ सय ५५ किलोको थियो।

चरेस तस्करीमा लक्ष्मी त पक्राउ परिन्। यसमा एभरेस्ट होटेलको संलग्नता, उनीहरूलाई सघाउने समूहको खोजीको चुनौती थियौ नै। यही केसको अनुसन्धान गर्दागर्दै सुन तस्करी, हुन्डी र लागु औषध कारोबारबिचको कनेक्सन एकै हो भन्ने देखियो। र यसमा केही ठुला व्यापारीको कनेक्सन समेत देखियो जो त्यो बेला सुन तस्करीमा जोडिएका थिए।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधवार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....