उकेरा कोलम

ब्याच नम्बर ६९ : जापानको आपराधिक समूह याकुजाका तीनजना कार्यालयमै भेट्न आए

भनेकै दिन याकुजाका तीन जना आए। उनीहरू सामान्य भिजिटरको रूपमा आएका थिए। गर्न मिल्ने केही थिएन। विमानस्थलमा आफूले बोकेको रकम खुलाउन पाइन्थ्यो। प्रति व्यक्ति ३० हजार अमेरिकी डलरको दरले ९० हजार अमेरिकी डलर डिस्क्लोज गराए।


नेपालको लागु औषधको बजार हेर्दा सानो देखिए पनि यो जताततै फैलिएको छ। अन्तर्राष्ट्रिय आपराधिक समूहका सदस्यहरू समेत नेपालमा सक्रिय भएका थिए कुनै बेला।

नेपालका लागु औषधको कारोबारमा धेरै भारतीय नागरिक पक्राउ पर्छन्। नेपालमा पोल्यान्ड, नाइजेरिया, पाकिस्तान, पोर्चुगल, फिलिपिन्स, इरानी, सिंगापुर, थाइल्यान्ड, युक्रेनजस्ता देशका नागरिक समेत पक्राउ परेका छन्।

जर्मनी, बेलायत, रसिया, अस्ट्रिया, डेनमार्क, आइभरीकोस्ट, तान्जेनियन, बेल्जियम, आयरल्यान्ड, युएई, दक्षिण कोरिया, अफगानिस्तान, चीन, बर्मा, कम्बोडियाका कारोबारी पनि समातिएका छन्।

यसरी समातिनेहरू प्राय भरियाहरू हुन्। उनीहरू नेपालमा आउँछन् र गाँजा–चरेस बोकेर जाने हो। साना–साना समूहमा बाँडिएका कारोबारीहरूले उनीहरूलाई परिचालन गर्ने गरेका हुन्छन्।

नेपालमा जापानको ठुलो आपराधिक समूह याकुजाका सदस्य समेत पक्राउ परेका छन्। त्यो घटना रमाइलो छ। त्यसैले यो अङ्कमा त्यसैमा केन्द्रित भएको छु।

०००

अचम्म लाग्न सक्छ, तर सत्य हो। कुनै समय जापानको लागु औषधको ८० प्रतिशत बजार नेपाली गाँजा र चरेसले ओगटेको थियो। त्यो बजार भत्काउन नेपालले जापानलाई ठुलो गुन लगाएको थियो। सदस्यहरू पक्राउ गर्नेदेखि लिएर सिन्डिकेट भत्काउन समेत लागु औषध नियन्त्रण इकाइले गर्नुसम्म काम गरेको थियो।

त्यही क्रममा हो नेपालमा याकुजाको शाखाहरूमध्ये एक शाखाको तीन जना सदस्य नेपालमा पक्राउ परेको।

यो त्यस्तै १८ वर्ष अगाडिको घटना हो।

जापान फर्कन त्रिभुवन विमानस्थल पुगेका तीन जना जापनिज नागरिक साढे तीन किलोका दरले साढे १० किलो चरेस सहित समातिए। अलग–अलग समातिएका थिए उनीहरू।

सामान्य कारोबारी होलान् भन्ने लागेको थियो त्यो बेला। थप अनुसन्धान र मुद्दा प्रक्रियाका लागि उनीहरूलाई इकाइको कार्यालयमा ल्याइयो।

अनुसन्धान गर्दै जाँदा उनीहरू एकै समय नेपाल आएको देखियो। उनीहरू एकै होटेलमा बसेका थिए र सँगै विमानस्थल गएका थिए। यसले उनीहरू एकै समूहका हुन् भन्ने पुष्टि भयो।

तीन जनाले अलग–अलग चरेस बोक्नुको कारण चैँ नेपालको कानुन हेरेर रहेछ। कति बाठा भने नेपालमा पक्राउ परियो भने के गर्ने भन्ने योजना समेत बनाइसकेका थिए। साढे तीन किलो मात्र चरेस भनेर मुद्दा लागेको भयो थोरै कैद सजाय हुन्थ्यो। नेपालको कानुनमा १० किलो भन्दा कम चरेस बरामद भए कम सजाय छ नि छ।

त्यसैका लागि उनीहरूले अलग–अलग चरेस बोकेका रहेछन्। तर हामीले तीनै जना एकै समूहका हुन् भन्ने पुष्टि गरेर तीनै जनालाई साढे १० किलोको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढायौँ।

सबै चरेस जोडेर मुद्दा प्रक्रिया अगाडि बढाउँदा पक्राउ परेकामध्ये एक जना बढो नराम्रोसँग रिसाएको थियो हामीसँग। तिमिहरूले धोका दियौँ भन्थ्यो।

सङ्गठित अपराधको अनुसन्धान गर्दा घटनाको अगाडि र पछाडिसमेत हेर्ने बानी हुन्छ। उनीहरूको जालो, कहिलेदेखि उनीहरू नेपालमा आएका हुन् भन्ने लगायतका सबै सम्भावित पाटोको अनुसन्धान हुन्छ।

यिनीहरूबारे पनि सबै कोणबाट अनुसन्धान सुरु भयो। उनीहरूबारे थप केही जानकारी आउँछ कि भनेर नेपालमा रहेको जापानी दूतावासमा जानकारी गरायौँ।

जानकारी पाए लगत्तै त्यहाँका अधिकारी आए। उनीहरू त डराए ती तीन जनासँग। तिमिहरूले हाम्रो राम्रो हेरचाह गरेका छैनौ। जापान फर्किएपछि ठिक पार्छौ भनेर धम्क्याउने रहेछन्। दूतावासका कर्मचारी पनि डराउने।

उनीहरू कुनै सङ्गठित आपराधिक समूहका सदस्य हुन् कि भनेर जापानको नेशनल पुलिस एजेन्सीलाई पनि उनीहरूको डिटेल टिपाएका थियौँ।

०००

जापानीहरूको स्वभाव निकै नम्र हुन्छन्। कुनै अपराधमा समाते पनि उनीहरू गल्ती स्वीकार गरिहाल्ने स्वभावका हुन्छन्। तीन जनामध्ये २ जना त नम्र नै थिए। एक जना चैँ अलि बढी नै उग्र।

उसको स्वभावैले यी लागु औषधका सामान्य भरिया हैनन् कि भन्ने शङ्का लागिरहेको थियो।

एक दिन कार्यालयमा जाँदा दिवस उदासले तीन जनामध्ये नाइके हो कि भनेर शङ्का गरेकोलाई आफ्नो कोठामा ल्याएर सोधपुछ गरिरहेका थिए। लामो दाह्री थियो उसले। थर्काएर बयान दिइरहेको थियो।

म कोठाबाट निस्किएर सोधपुछ भएको ठाउँमा गएर नजिकै बसे। दुवैको वार्तालाप सुनिरहेको थिए। भित्रैबाट यो सामान्य भरिया हैन भन्ने लागिरहेको थियो।

प्याट्टै सोधिदिए‘त कुन समूहको सदस्य होस्?’

उसले पनि फ्याट्टै जवाफ दियो ‘इनागावा-काई’

म त झसङै भए।

लागु औषध नियन्त्रणको बारेमा जापान जाने-आउनेक्रममा मैले याकुजा समूहबारे केही अध्ययन गर्न पाएको थिए। यिनीहरूले अपराधको जालो फैलाउन विभिन्न शाखाहरू बनाएका थिए। त्यही अनुसार कामको बाँडफाँड गर्थे।

शाखामा पहिलो चैँ यामागुजी-गुमी। दोस्रो इनागावा-काई। तेस्रो सुविसु-काई। जो पक्राउ परेका थिए उनीहरू दोस्रो शाखाका सदस्य भनेपछि झसङ हुने भइहाल्यो नि। चरेस तस्करीमा त्यो तहको आपराधिक समूहका सदस्य नेपालमै सक्रिय छन् भन्ने लागेको थिएन।

दिवसले कुरा गरिरहेका थिए। मैले यसो उसको हातको औला हेरे। कुनै औला काटिएको थिएन। याकुजामा कुनै गल्ती भएको छ भने गल्ती स्विकार्न औला काट्ने प्रचलन थियो।

उनीहरूले जिउँमा केही प्याट्रनहरु खोपेका हुन्छन् जसले उनीहरूको शाखा जनाउँथ्यो। उसको शरीरमा त्यो प्रकारको खोपेको भेटियो। औला नकाटिएको देखेपछि सोधे‘तेरो औला त काटिएको छैन त? कुनै गल्ती गरेको छैनस् अहिलेसम्म ?’

उनीहरूले नीति बदलेर अब ओला काट्नुको साटो केही पैसा जरिवाना गराउने गरेको रहेछन्।

०००

यता अनुसन्धान चलिरहेको थियो। उनीहरूले समूह खुलाएपछि त्यो बारे पनि नेशनल पुलिस एजेन्सी जापानलाई जानकारी गरायौँ। इनागावा-काईको सदस्य भनेपछि जापानको प्रहरी पनि गम्भीर भइहाल्यो।

ऊसँग फेला परेको विवरण, पासपोर्टको विवरणहरू पठायौँ। तर जापानमा केही पनि फेला परेन। उनीहरूले फिङगर प्रिन्टको डिटेल मागे। हामीले त्यो पनि पठायौँ।

पासपोर्टमा उसको जे विवरण थियो त्यो म्याच भएन। पछि दाँतको डिटेल मागे। त्यो पनि पठायौ। अनुसन्धान गर्दै जाँदा त उसको नामै अर्कै रहेछ। उसले मरिसकेको जापानीज नागरिकको परिचय बोकेर हिँडिरहेको खुल्यो।

उसमाथि जापानमा १० वटा मुद्दा रहेछ। पद टोकियो हेर्ने समूहको डेपुटी टिम लिडर। जापानको प्रहरीले उसलाई खोजेको खोज्यै रहेछ। तर गायब। अब अर्कैको नामको परिचय बनाएर हिँडेपछि उनीहरूले पनि कसरी पत्ता लगाउनु।

उ नेपालमा समातिएको छ भनेपछि उताबाट नेपालको मुद्दा सकिएपछि कि जापान डिर्पोट गर्न या नेपालमा रहेको जापानी दूतावासका अधिकारीलाई बुझाउन आग्रह आयो।

०००

केही समयमा जापानी दूतावासका अधिकारीहरू आएर भने‘उनीहरूको खर्चका लागि पैसा आएको छ राखिदिनु न।’

हिरासतमा रहेको बेला केही किन्न पैसा खाँचो परेछ क्यार भन्ने लाग्यो। सोधे‘कति छ?’

उनीहरूले भने‘२० लाख’

हैट त्यत्रो पैसा अब प्रहरीले कहाँ राख्छ। न प्रहरीले राख्न सक्छ न त हिरासतमा रहेकालाई नै दिन सक्छ।

‘हामी सक्दैनौ तिमीहरू नै राख’ भनेर पठायौँ। त्यो पैसा उनीहरूले नै राखेर बेलाबेलामा आएर दिएर जान्थे।

उनीहरूको रवाफै अलग हिरासतमा। पैसाको कुनै कुरै भएन। धरौटी बुझाउन नसकेर हिरासतमै रहेकाहरूको धरौटी तिरिदिन्थे। सुनको औँठी उपहार दिन्थे।

कतिसम्म भने उनीहरू हिरासतमा सामान्य पानीले ननुहाउने। मिनिरल वाटरले नुहाउँथे। ठुलो जार नकिन्ने। पानी खाने सानो बोतल मगाएर त्यसैले नुहाउने।

जार किन नकिनेको भनेर सोधेको उचाल्न गाह्रो हुन्छ रे।

०००

केही दिनमा जापानबाट सन्देश आयो‘ हिरासतमा रहेकाहरूलाई भेट्न जापानबाट याकुजा समूहकै तीन जना नेपाल आउँदै छन्।’

सूचना आए लगत्तै विमानस्थलका प्रहरीलाई सबै विवरण पठाएर अलर्टमा राखियो।

भनेकै दिन याकुजाका तीन जना आए। उनीहरू सामान्य भिजिटरको रूपमा आएका थिए। गर्न मिल्ने केही थिएन। विमानस्थलमा आफूले बोकेको रकम खुलाउन पाइन्थ्यो। प्रति व्यक्ति ३० हजार अमेरिकी डलरको दरले ९० हजार अमेरिकी डलर डिस्क्लोज गराए।

केही दिनमा उनीहरू इकाईको कार्यालयमा भेट्न आए। उनीहरूले नेपालमा कुनै अपराध गरेका थिएनन् पक्राउ गर्न। भेट्न खोजेपछि भेटे। 

उनीहरूले आफूहरूको जापानमा आइटी कम्पनी छ भनेर कुरा गरे। आइटी इन्जिनियर भन्ने भर्खरको थियो। यसो उसको हातको औला हेरेको कान्छी औला थिएन। याकुजाका हुन् भन्ने पक्का भो। उनीहरूले  पक्राउ परेकाहरूबारे केही कुरा गरेनन्। मलाई भिजिटिङ कार्ड दिँदै जापान आउँदा सम्पर्क गर्नुहोला भनेका थिए।

अब कसलाई दशा लागेको थियो र जापान जाँदा उनीहरूसँग सम्पर्क गर्न।

०००

तीनैजनाबारे अनुसन्धान सकाएर मुद्दा प्रक्रियामा गयो। तीनै जना पूर्पपक्षका लागी थुनामा गए। तीनै जनालाई नखु कारागार राखिएको थियो।

कारागारमा बस्दा तीन जनामध्ये २ जनाको झगडा भएछ। झगडाको क्रममा एक जना मारिए नै। यसरी झगडा गर्नेहरू नाइके थिएनन् सहयोगी थिए।

उनीहरूमा पनि हाइर्याकिङ हुन्छ। सिनियरको सेवा गर्नुपर्ने हुन्छ। त्यही विषयमा विवाद हुँदा २ जना जुनियुरविच झगडा भएको रहेछ। तोकिएको सजाय कटाएपछि जापान प्रहरीले नाइकेलाई बुझाउन भनेका थिए। हामीले आफै लिन आउनु भन्यौँ। उनीहरू आएर लिएर गए।

एक जना मारिइगए। एक जना हत्या अभियोगमा थप जेल सजाय भएर नक्खु जेलमै थुनिए।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....

वर्षको तीन महिना मात्र खुल्ने पसलका साहुजी विपिन

आकाशमा उड्न कम भएसँगै चंगा पसलहरू पनि हराउँदै गएका छन्। व्यापारीहरूले चंगा बेच्नै छाडिसके। अहिलेसम्म गरिरहेकाहरू अधिकांश पनि अर्को वर्ष नगर्नेमा पुगिसकेका छन्। काठमाडौंको रक्तकालीमा....

डा. हरिहरको पोष्टमार्टम अनुभव : बलात्कारपछि हत्या गरिएकी बालिकाको रिपोर्ट प्रहरीले आत्महत्या बनाएपछि...

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउनु डा. हरिहरको विद्या, सीप र काम हो। मृत्युपछि गरिने....