उकेरा कोलम

ब्याच नम्बर ६९ : प्रहरीलाई चरेस ग्याँङमा पठाउँदा झन्डै ज्यान गएन


यो चाहिँ सन् १९९८ को केस हो। यो केस बढो रमाइलो छ। उत्तिकै गम्भीर पनि। केस जर्मनी हुँदै चिलीसँग जोडिएको। यही केसमा बयान दिन म जर्मनी पनि गएको थिएँ। बडा गाह्रो भएको थियो, यसको अनुसन्धानमा।

एक दिन जर्मन प्रहरीले इकाइमा फोन गरेर भारत हुँदै जर्मन नागरिक नेपाल छिरेका छन्, उनीहरुबारे हेर है भने। उनीहरु अन्तर्राष्ट्रिय ट्राभलरको रुपमा गाडीमा आउने रहेछन्। भारतसम्म गाडी जहाजमा ल्याउने अनि त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल छिर्ने।

उनीहरुले निकै महत्व दिएर फोन गरिरहेका थिए, त्यो समूहबारे बुझ्न। यति साह्रो किन महत्व दिएका होलान् भनेको त अन्तर्राष्ट्रिय ड्रग्स डिलर पो रहेछन्। उनीहरु नेपालमा विश्व भ्रमणको बहानामा आएर गाडीमा चरेस भरेर फर्कने योजना रहेको खुल्यो।

जर्मनीबाट आएको सूचनाको आधारमा भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिएका जर्मन नागिरकबारे सूचनाहरु संकलन गर्न थाल्यौं। यसको उपाय भनेको भन्सारको विवरण त हो।

जर्मन प्रहरीले हामीलाई एउटा गाडी भनेका थिए। खोज्दै जाँदा गाडी त २ वटा पो देखिन्छन्। एउटा गाडी भैरहवाबाट नेपाल छिरेको देखियो। अर्को गाडी काँकडभिट्टाको नाकाबाट नेपाल छिरेको देखियो।

अब दुवै गाडी उही प्रयोजनाका लागि नेपाल आएका हुन् या संयोग हो बुझ्न कठिन भयो। एउटा मात्र हो भने कुन हो? दुवै उही प्रयोजनका हुन् भने त विषय झन् गम्भीर भयो।

जर्मन प्रहरीलाई 'एउटा हैन दुई वटा गाडी पो छ त' भनेर सन्देश पठाएको उनीहरु नै छक्क परे। 'हो र' भन्दै दुवै गाडी खोज्न आग्रह गरे।

लगत्तै काठमाडौँ भित्रिने सबै नाकामा दुवै गाडीबारे जानकारीहरु दिएर भेटिए लगत्तै जानकारी दिन भन्यौं। इकाइका टोली पनि खटायौँ। दुवै गाडी एकै समयमा थानकोटबाट काठमाडौँ भित्रिएको खुल्यो।

अब काठमाडौँमा गाडी खोज्नुपर्ने भयो। इकाइबाट टोली बनाएर खटायौँ। जति खोजे पनि गाडी भेटिँदैन।

कता लुक्यो-लुक्यो गाडी। उनीहरु ट्राभलर भएर आएकाले गाडी लिएर कतै निस्कनुपर्ने। कतै निस्किएका छैनन्। धुइँधुइँ खोज्दा पनि कतै गाडी फेला परेन।

जर्मन प्रहरीलाई जानकारी पठायौँ, 'गाडी खोजिरहेका छौँ। तर कतै फेला परेको छैन।'

०००
जर्मनहरु गाडी काठमाडौंमै आएको अनि उनीहरु चरेस कारोबारी भएकोमा पक्का थियो। लाजै हुने भइसक्यो। वर्कसपदेखि टुरिष्ट क्षेत्र, होटल अनि उनीहरु बस्न सक्ने अपार्टमेन्ट केही छाडेको छैन। अब मान्छे त चिन्ने अवस्था थिएन। कमसेकम गाडी त फेला पर्नुपर्ने।

टिम खटिएकै थियो। तर उनीहरु 'सर उनीहरु छैनन्' भन्दै आउँछन्।

केही दिनपछि जर्मनीबाटै सूचना आयो, 'त्यही समूहको मुख्य मान्छे जर्मनीबाट नेपाल आउँदैछ। यसलाई फलो गरे काठमाडौँ आएकाहरु भेटिन्छन्।'

पूरा नाम याद भएन। वाल्टर थियो उसको नाम। अनि ऊ जर्मनीको फ्रयाङ्कफडबाट लुप्थान्सा एयरबाट काठमाडौँ आउँदै थियो।

अब एक टोलीले मात्र भएन। दुई वटा टोली खटायौं विमानस्थलमा।

उताबाट जुन व्यक्तिबारे जानकारी आएको थियो ऊ काठमाडौँ आइपुग्यो। मोटो ज्यान भएका व्यक्ति थिए। भन्सारको सबै काम सकाएर ऊ सरासर ट्याक्सी स्ट्याण्डमा पुग्यो अनि ट्याक्सी लिएर हिँड्यो।

इकाइको दुवै टोली उसले थाहा नपाउनेगरी पछ्याइरहेका थिए। उसलाई कुनै संकेत नदिने अनि नियन्त्रणमा नलिने। जहाँ जान्छ पच्छ्याउने मात्रै भनेर निर्देशन दिएका थियौँ।

ट्याक्सी कीर्तिपुरको एउटा घरमा छिर्‍यो।

टोलीले घरको लोकेसन पठाएर आदेश माग्यो।

'निगरानी मात्र गर्ने' शंका नहोस्। यति भनें।

०००
जर्मनीबाट आएको सूचनाको मात्र आधार थियो अनुसन्धानको। थप केही तथ्य फेला परेकै थिएन। कुनै शंकास्पद प्रमाण नभई नेपाल आएकै आधारमा कसैलाई नियन्त्रणमा लिन त सकिँदैन।

कमसेकम घर फेला त पर्‍यो।

एउटा टोलीलाई त्यो घरको निगरानीमा खटायौँ। केही नगर्ने। खाली निगरानी राख्ने। अनि गतिविधिको डिटेल रेकर्ड बनाउने। को-को घरमा आए। उनीहरु कहाँ गए। घरमा कति जना हुन सक्छन्? विदेशी नागरिक मात्र आउँछन् कि नेपाली पनि? सबै।

पूरै लगबुक राख्न लगाएका थियौँ, समय सहित। भेट्न आएकाहरु फर्किएर कहाँ-कहाँ गएसम्म पछ्याउने। अनि कोही घरबाट बाहिरियो भने ऊ घर नफर्किएसम्म पछ्याउने।

यस्तो काम निकै जोखिमपूर्ण हुन्छ। सानो चुक भयो भने पनि सबै मिहिनेत खेर जाने। अनुभव र चनाखोपनसँगै प्रतिबद्धता उत्तिकै चाहिन्छ यस्तोमा। अर्को महत्वपूर्ण पक्ष भनेको धैर्यता।

बस्यो, पछि लाग्यो अनि फर्कियो गर्दा लामो समयसम्म केही सूचना नआउन पनि सक्छ। ह्या यस्तै हो भनेर सानो हेलचेक्र्याइँ मात्र गर्‍यो भने पनि त्यही बेलामा महत्वपूर्ण सूचना मिस हुन सक्छ नि।

त्यसैले यस्तो काममा खटिनेहरु २४सै घन्टा जुनसुकै बेला जेसुकै हुनसक्छ भनेर चनाखो हुनुपर्छ। हरेक गतिवधि हेर्नैपर्छ। अनि हरेकलाई शंकाले हेर्नुपर्छ।  

निगरानी गर्ने टोलीमा खटिएका थिए असई रामबहादुर राना। उनी अति व्यावसायिक। अति राम्रो। यस्ता मान्छे कमै भेटिन्छन् प्रहरीमा। उनको नेतृत्वमा २ वटा टोली खटिएका थिए। २४ घन्टा निगरानी। १५ दिनसम्म।

०००
एकदिन गेट खोलेर भित्र जाने व्यक्तिले राम्रोसँग ढोका लगाएन। सानो प्वाल बस्यो दुवै ढोकाको बीचमा। हाम्रो एक जनाले देखिहाल्यो। भित्र चियाउने मौका मिल्यो।

त्यही प्वालबाट भित्र चिहाएर हेरेको एउटा गाडी देखियो। नम्बर प्लेट पनि देखियो। नम्बर थाहा भएपछि भिडाएर हेर्दा जर्मन प्रहरीले शंका गरेको गाडी त्यही हो भन्ने पुष्टि भयो।

यसैमा हेर्नुस् त। त्यो मान्छे भित्र गएको र ढोका कसरी लगाएको छ भन्ने मात्र ध्यान नदिएको भए भित्र हामीले खोजेकै गाडी छ या छैन भन्ने कसरी पुष्टि हुन्थ्यो? उनीहरुको सानो गल्ती हाम्रो लागि सूचना पुष्टिको महत्वपूर्ण माध्यम बन्यो नि। यही हो के अनुसन्धान भनेको। सानो कुराले पनि धेरै सघाउँछ।

कसैलाई त के गेट ढुकेर बस्नु भन्ने लाग्न पनि सक्छ नि। तर ठूलाठूला केसको प्रमाण गेट ढुक्दा पनि फेला पर्छ नि। त्यसैले त अपराध अनुसन्धानमा सबैभन्दा ठूलो कुरा धैर्यता हो भनेको। हतार गर्‍यो भने त सब गडबड हुनसक्छ।

त्यो घरमा आउनेहरुमा केही नेपालीहरु पनि थिए। उनीहरुबारे आएको सूचना अनि ती जर्मनको चरेस तस्करीमा कस्तो खालको कनेक्सन हो भन्ने चाहिँ केशव खरेल हेरिरहेका थिए। बुझ्ने क्रममा उनीहरु धादिङको छत्रे देउराली समेत जाने गरेको देखियो। नेपालीहरु पनि संलग्न देखिए। महत्वपूर्ण पाटो उनीहरु यस अगाडि पनि नेपाल आएर ठूलो मात्रामा चरेस बोकेर लगेकोसम्म खुल्यो।

उता जर्मनहरुको अनुसन्धानमा यही समूहको सम्बन्ध चिलीसम्म पनि जोडियो। नेपाल आएको समूहले नेपालबाट जर्मन चरेस लैजाने। अनि चिलीको समूहले उताबाट कोकिन बोकेर जर्मनी आएर चरेससँग साट्ने देखियो। यो जालो पुष्टि भएपछि जर्मनहरुले भने, 'उनीहरुमध्ये कोही पक्राउ पर्नासाथ खबर गर है। उता चिली र जर्मनीमा पनि उनीहरुको समूहका सदस्य त्यही बेला समात्नुपर्छ।

यसरी यो एकै पटक तीन देशमा अप्रेसन हुने अनुसन्धान पो बन्यो।

कति बाहिर मात्र बस्ने। कुनै तरिका अपनाएर एक जनालाई घरभित्र पठाउन सके त! भन्ने लाग्यो। यसमा त ठूलो जोखिम हुन्छ। जोखिम मोल्न तयार प्रहरी हुनु पनि पर्‍यो। वीरबहादुर गिरी तयार भए। हामीले अनेक जुक्ती लगाएर भित्र छिरायौँ।

उनलाई घरको केही मर्मत गर्ने व्यक्ति बनाएर घरभित्र पठाउन सफल भयो टोली। भित्रको माहोल बुझ्ने अनि कति जना छन् त्यो बुझ्ने उद्देश्य थियो।

घरभित्र धेरै समय राख्न सकेनौं। एक जनाले शंका गरेझैं लाग्यो। यस्तोमा ज्यानै जानसक्ने जोखिम पनि हुन्छ। तत्काल केही बहाना बनाएर बाहिर निस्कनु भने। ऊ यताउता गरेर निस्कियो पनि।  

थोरै समय घरभित्र रहे पनि निकै महत्वपूर्ण सूचनाहरु आए। त्यो सूचनाले जर्मन समूह हामीले आँकेभन्दा संगठित देखिए।

०००
त्यो दिन म चाँडै सुतें। कुनै कामले थाकेको थिएँ। वाकिटकीमा केशव बराल सरको कल आयो, 'मल्ल साप एउटा गाडी त घरबाट निस्कियो त।' गाडी थानकोट पुगेको रहेछ।

म झटपट उठिहालें, 'सर त्यसलाई केही नगरौं है। सरक्क फर्काएर उनीहरुकै डेरामा ल्याउँ। म आइहाले।'

उता जर्मनीमा पनि खबर गर्नुपर्ने छ। कतै केस बिग्रिएला कि भनेर हतार-हतार निस्किएर मोटरसाइकल स्टार्ट गरेर घर बाहिर निस्कन आँटेको त श्रीमती पछिपछि आइरहेको।

'के भयो फेरि यो हतार भएको बेलामा' भनेर यसो हेरेको उनको हातमा सर्ट थियो। आफ्नो ज्यानमा हेरेको त पाइन्ट त लगाएछु तर टिसर्ट या सर्ट नै नलगाई भित्री गन्जी नै लगाएर निस्किएको रहेछु।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

 

ब्याचका पुराना अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....