उकेरा कोलम

ब्याच नम्बर ६९ : दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे


जेठ १९ मा म कोठामा थिएँ। सुतिसकेको थिइनँ। आफ्नै काम गरेर बसेको थिएँ। ठ्याक्कै समय त याद भएन। त्यस्तै बेलुका साढे १० तिर जस्तो लाग्छ, फोन आयो। ज्वाईं वीरवाहन शमशेर राणाले फोन गर्नुभएको रहेछ।

उहाँ श्रुती शाहको निजी चिकित्सक हुनुहुन्थ्यो। फोनमा उहाँले 'दरबारमा केही ब्लाष्ट भए जस्तो छ। राजपरिवारको सदस्य ब्लाष्टमा पर्नुभएको जस्तो लाग्यो' भन्नुभयो।

सायद श्रुतीलाई गोली लागेपछि चिकित्सकलाई तयारी अवस्थामा बस्न भनिएकाले उहाँले घटनाबारे जानकारी पाउनुभएको थियो होला। केही बेरमा ब्लास्ट भएको हैन, गोली चलेको हो भन्ने खबर आइहाल्यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायतलाई पनि गोली लागेको भन्ने खबरहरु आए।

मलाई लाग्छ, त्यो दिन दरबाको घटनाबारे जानकारी पाउने थोरैमध्ये म पनि पर्थें। तर प्रहरी भएको आधारमा भन्दा पनि आफन्तका कारण सूचना पाएको थिएँ।

त्यो बेला ज्ञानेन्द्र शाह पोखरामा हुनुहुन्थ्यो। पोखरामा त्यो बेला कुमार कोइराला हुनुहुन्थ्यो। त्यस्तै आधा घण्टा जतिपछि उहाँलाई मैले फोन गरें। ' राजा-रानी नै गइसकेको जस्तो छ,' उहाँलाई भनें।

प्रहरी हेडक्वार्टरमा सिनियर प्रहरी अधिकृतहरुको बैठक बोलाइएको थियो। म डिएसपी थिएँ। बैठकमा म पर्ने कुरा भएन। त्यसमा पनि म प्लेनक्लोथमा काम गर्ने भएकाले दरबा हत्यापछि अन्य कुनै जिम्मेवारी आएन। नियमित काममै खटिएँ।

OOO
म कार्यालयमैं बसिरहेको थिएँ। प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणाले फोन गर्नुभयो। उहाँले भन्नुभयो, 'तिमी सिंहदरबारमा रहेको दरबार हत्याकाण्डको छानविन आयोगमा जाउ। मैले तिम्रो नाम भनेको छु।'

मलाई चित्त बुझेन। म त डिएसपी थिएँ। प्रहरीमा त कतै जानु परे, सुझाव दिनु परे विभागीय प्रमुख जाने चलन छ नि त। जाने पनि, नजाने पनि कार्यालय प्रमुख भएपछि सबै जानेकोझैं हेरिन्छ।

मैले भनें, 'म किन जाने? मभन्दा सिनियरहरु हुनुहुन्छ। विभागीय प्रमुख हुनुहुन्छ।'

उहाँले भन्नुभयो, 'मैले दर्जालाई पठाउन खोजेको हो र? एक्सपर्ट पठाउन खोजेको हो नि। तिमी प्रहरीको एक्सपर्ट हौ।'

साँच्चै भन्ने हो भने त्यो बेला मेरो दिमागले काम गरेन। फोन राखें र सोच्च थालें। दरबार हत्याकाण्डको आयोगमा जानु परेकाले त्यस्तो भएको थिएन। प्रहरी प्रमुखले फोन गरेर 'तिमी त हाम्रो एक्सपर्ट हौ नि' भनेको विश्वास लागिरहेको थिएन।

यो मेरो लागि ठूलो कुरा थियो। डिएसपी दर्जाको प्रहरीलाई प्रहरी महानिरीक्षकले फोन गरेर यत्तिको भन्नु अहिले पनि ठूलै कुरा हो। त्यो बेलाको त कुरै छाडौँ। तर मैले आफैँ एसेप्ट गर्न सकिनँ।

उहाँले मेरो काम हेरिरहनुभएको रहेछ। त्यो एसपीको बढुवामा देखियो पनि।

प्रहरी इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुँदा म सहितका साथी छुटेका थियौं नि। त्यो २८ महिनाको ग्याप करिबकरिब भरिनेगरी एसपीमा बढुवा उहाँकै पालामा भएको हो। यदि उहाँको पालामा यसरी मेरो बढुवा नभएको भए सायद म एसएसपीमै अवकास पाउँथे होला।

OOO
आयोग जानु भन्ने आदेश आइसकेपछि त जानै पर्‍यो। भोलिपल्ट मोटरसाइकल निकालेर हिँडे सिंहदरबारतिर। सिंहदरबारमा रहेको संसद् सचिवालयमा थियो आयोगको कार्यालय।

आयोगको कार्यालयमा पुग्दा संसद् महासिचव किरण गुरुङ हुनुहुन्थ्यो। अर्केतिर एक व्यक्ति कालो टोपीले मुख ढाकेर सुतिरहेका थिए।

मैले आफ्नो परिचय दिँदै 'ए हजुर म हेमन्त, प्रहरी प्रधान कार्यालयबाट आएको' भनें।

उहाँले 'ए बस्नुस्' भन्नुभयो।

मलाई इकाईबाट पठाएको अनि दरबार हत्याकाण्डमा दीपेन्द्रसँगै कालो पदार्थ पनि जोडिएकाले विषय त्यही हो भन्ने त अनुमान थियो। तर आयोगले के-के बुझ्न चाहेको हो भन्ने थाहा थिएन।

गुरुङले प्रश्न सोध्न थाल्नुभयो। मैले उत्तर दिन थालें। हाम्रो कुरा चल्दै गर्दा कुर्सीमा टोपीले मुख छोपेर सुतिरहेका पनि उठे। उहाँ त सभामुख तारानाथ रानाभाट हुनुहुँदो रहेछ। सायद हाम्रो कुराकानीमा चाख लाग्यो होला उहाँलाई। उहाँ कुर्सीबाट उठेर म बसेको सोफा नजिक आएर बस्नुभयो। आयोगलाई थोरै समय तोकिएको थियो। रातदिन काम भएकाले थाकेर ढल्कनु भएको रहेछ।

उहाँहरुको मुख्य चासो गाँजा-चरेसले मान्छेलाई अपराधमा लाग्न प्रेरित गर्छ गर्दैन। उत्तेजक बनाउँछ या बनाउँदैन भन्ने देखियो।

प्राय: गाँजा र चरेसको मान्छेलाई रिस उठाउँदैन। झुम्म बनाउँछ र व्यक्ति सिथिल र शान्त हुन्छ भनिन्छ। गाँजा-चरेसले कि भ्रममा पार्छ कि झुम्म पार्छ भन्ने प्राय: डकुमेन्टहरुमा पनि पाइन्छ। मैले पनि सानोमा खाएको छु, घोट्टा बनाएर खाँदा मलाई घर घुमाएको थियो।

त्यसले आक्रोशित बनाउँछ कि बनाउँदैन भन्नेमा प्रष्ट छैन। तर गाँजा र चरेस खानेहरु पनि आक्रोशित हुन्छन्। जो लामो समयदेखि गाँजा चरेस खान्छन् र क्रोनिक एडिक्ट हुन्छन् उनीहरु गाँजा-चरेस खाँदा आक्रोशित हुन्छन्।

मैले उहाँहरुलाई जोगीको उदाहरण दिएँ। गाँजा र चरेस मात्र खाए पनि जोगीहरु किन आक्रोशित हुन्छन्?  किनकी उनीहरु लामो समयदेखि गाँजा चरेस खाएर क्रोनिक एडिक्ट भइसकेका हुन्छन्।

उहाँहरु मेरो तर्कमा सहमत हुनुभयो। र, केही डकुमेन्टहरु माग्नुभयो। मैले दिएँ। तर सबै विषय डकुमेन्टमा मात्र पनि हुन्न। केही पक्ष त अनुभवले पनि सिकाउँछ नि। पछिसम्म पनि दीपेन्द्रले कालो पदार्थ खाएको मात्र भनिइरहियो। तर चलनचल्तीको भाषामा त्यो भनेको चरेसै हो।

तर, चरेस मात्र अपराध गराउने कारण हुन्न। त्यो व्यक्तिलाई उत्तेजित बनाउने कारण मात्र हुनसक्छ। व्यक्तिको मनस्थिति कस्तो हुन्छ भन्नेले पनि कस्तोखाले घटना घट्न सक्छ भन्ने हुनसक्छ। मैले जानकारी भएका सबै पक्षबारे आयोगमा जानकारी दिएर फर्किएँ।

OOO
सादा पोशाक त्यो पनि लागुऔधषबारे अनुसन्धान गर्ने भएकाले दरबारका केही गतिविधि त हामीलाई पनि थाहा हुन्थ्यो। दरबार हत्याकाण्डभन्दा अगाडि नै दरबारभित्र चरेस जान्छ भन्ने सूचना थियो। को, कसले चरेस खान्छन् भन्ने पनि सूचना आउँथ्यो।

दरबारका सदस्यहरुलाई चरेस पुर्‍याउने काम एडिसीहरुले नै गर्थे। एडिसी भनेको त गलत काम गर्नबाट रोक्नुपर्ने हो नि। अब उनीहरु नै गलत काममा संलग्न भएपछि के गर्ने। त्यो बेला यस्तोमा प्रहरीले गर्नेसक्ने केही थिएन।

यस्तो कुरा कसलाई भन्ने? त्यो समयको दरबार। दरबारभित्र चरेस जान्छ भनेर कसैलाई भन्यो र दरबारले त्यसलाई नकारात्मक रुपमा हेरिदियो भने जोखिम मात्र बढ्थ्यो। त्यसमा पनि एडिसीहरुको भूमिकाबारे कुरा गरेर सेनासँग कसले निहुँ खोज्ने। यो संकटमा जानजान कसरी हामफाल्नु। त्यसैले दरबार भित्रिने चरेसबारे प्रहरीले अनुसन्धान गरेन। चाहेको भए पनि अनुसन्धान गर्न सम्भव थिएन।

OOO
छानविन आयोगले जे निष्कर्ष निकाल्यो, त्यसलाई आम नागरिकले पत्याइदिएनन्। घटनालाई सबै कोणबाट हेर्दा आयोगले जे निष्कर्ष निकाल्यो दरबार हत्याकाण्डको कारक त्योभन्दा भिन्न हो जस्तो अझै देखिँदैन। तर आयोगले आफ्नो प्रतिवेदनमार्फत त्यसलाई विश्वसीनय रुपमा अगाडि ल्याउन सकेन।

यसमा केही कमजोरी देखिए। पहिलो कमजोरी आयोगमा अपराध अनुसन्धानका अनुभवीहरु संलग्न नगराइनु थियो। निजामती र कानुनी क्षेत्रकाले घटनालाई हेर्ने दृष्टिकोण अनि उनीहरुले अनुसन्धानमा अपनाउने विधि र अपराध अनुसन्धानमा संलग्नले हेर्ने दृष्टिकोण र अपनाउने विधि फरक हुन्छ।

दरबारभित्रै घटेको, राजा-रानीदेखि दरबारका १० सदस्य मारिए पनि यो घटना आपराधिक थियो नि। हत्या थियो नि। यसलाई अपराधको दृष्टिले हेरेर अनुसन्धान गर्नुपर्थ्यो। आयोगमा अपराध अनुसन्धान गर्ने प्रहरीहरु संलग्न गराउनुपर्थ्यो।

यस्तो गरेको भए प्रतिवेदन विश्वसीनय आउन सक्थ्यो। अपराध जसले गराएको त्यसका आधार र प्रमाण बलियो बन्न सक्थ्यो। किनकी उनीहरुले कोसँग, कसरी बयान लिने र घटनामा जो संलग्न भनिएको हो उबारे सबै कोणबाट हेर्थे। आयोगको अनुसन्धानमा अनुभवी प्रहरी नहुँदा यो पाटो छुट्यो।

अर्को कमजोरी पोष्टमार्टम रिपोर्ट नगर्दा भयो। मृत्यु भएकाहरुको पोस्टमार्टम गरेको भए जुन हतियार प्रहार गरेर हत्या भयो भनिएको छ त्यो प्रमाणित हुन्थ्यो। चलेको गोलीको परीक्षणबाट त्यो कुन हतियारबाट चलेको हो भन्ने ब्याल्स्टिक परीक्षणबाट प्रमाणित हुन्थ्यो। त्यसले आशंका रहन पाउँदैनथ्यो।

अपराध अनुसन्धानका अनुभवी आयोगमा भएका भए उनीहरुले पोस्टमार्टमको महत्व र यसले भोलिका दिन उठ्नसक्ने शंकालाई कसरी निवारण गर्छ भनेर सम्झाउन सक्थे। यो पक्षमा ठूलो चुक भयो। त्यसले दीपेन्द्रकै साथमा भएको बन्दुकबाट गोली चलेको हो भन्ने प्रमाण के भनेर कसैले सोध्दा प्रमाण देखाउन सकिने अवस्था रहेन।

दीपेन्द्रकै विषयमा पनि अन्योल भयो नि, उनले पोखरीको पेस्तोलबाट आफैँलाई गोली हानेका हुन् या हैनन् भन्नेमा। पोस्टमार्टम गरेर गोली निकालेको भए यो सहजै पुष्टि भइहाल्थ्यो। किनकी हरेक बन्दुकमा गोलीलाई हान्ने जुन ट्रिगर हुन्छ नि त्यसको रेखा भिन्न हुन्छ। हाम्रो हस्तरेखाझैँ। यो पाटोको बुझाइमा कमजोरी रह्यो।

OOO
घटनाको कारणबारे धेरै विश्लेषणहरु भए। तर यसका महत्वपूर्ण पाटाहरु अझै बहसमा आएका छैनन्। पहिलो त गाँजा चरेसको दरबारमा खुला उपयोग र त्यसमा सुरक्षाका लागि खटिएका एडिसीहरुकै संलग्नताको पक्ष भइहाल्यो। यसमा चाहेको भए दरबार र सुरक्षाको जिम्मेवारी लिएको निकाय दुवैले निगरानी र कडाइ गराउन सक्थ्यो।

अर्को महत्वपूर्ण पाटो हो हतियारको। घटनामा जुन प्रकारका हतियार प्रयोग भए र दीपेन्द्रलाई जसरी हतियारमा सहज पहुँच दिइयो यो गम्भीर त्रुटि थियो। दरबारसँग मेरो परिवारका मानिस पनि नजिक थिए। उनीहरुले भने अनुसार राजा महेन्द्रको समेत त्यसरी हतियारमा पहुँच थिएन।

उहाँ सिकार गरेर दरबार फर्किएपछि हतियार लगेर राख्ने र त्यसमा ताल्चा मारेर चाबी एडिसीले लिने गर्थे रे। तर पछि हतियारबारे दरबारमा त्यो खालको अनुशासन देखिएन। एम १६ जत्तिको घातक हतियारमा पनि सहज पहुँच दिनु भनेको दरबारको सुरक्षा प्रणालीको गम्भीर चुक हो। यो पाटोमा विश्लेषण आवश्यक छ।

दरबारका सदस्यको सुरक्षामा महत्वपूर्ण भूमिका रहने धेरै एडिसीहरु क्षमताको आधारमा भन्दा चाकडीको आधारमा छानिए। कतिपय त पुस्तौनी रुपमै छानिए। त्यसले उनीहरुमा राजपरिवारको सुरक्षा हाम्रो जिम्मेवारी भन्नेभन्दा पनि चाकडी गरेर खुसी पार्नु जिम्मेवारीझैँ भयो। जसले सुरक्षामा भ्वाँङ पारिरहेको थियो। जसको परिणाम अकल्पीनय आयो।

अर्को महत्वपूर्ण पाटो दीपेन्द्रको दोहोरो चरित्र (स्पिल्ट पर्सनालिटी) लाई सार्वजनिक गर्न नसक्नु हो। दरबारमा काम गरेका र उनको व्यवहारप्रति जानकारका अनुसार उनी बाहिर अति मिलनसार देखिए पनि भित्र अर्कै (स्प्लिट पर्सनालिटी) का थिए। बाहिर सर्वसाधारणसँग पनि सहजै घुलमिल भएकाले उनको सार्वजनिक छवि अर्कै बन्यो।

उनको भित्री चरित्र सार्वजनिक नहुँदा हत्याको छानविन गरेको आयोगले कालो पदार्थ र मदिराको नशाको सुरमा दीपेन्द्रले बाबु, आमा, भाइ लगायतको हत्या गरेको स्वीकार्न सकेको छैन। यसमा आयोग पनि चुक्यो।

OOO
अन्तिममा सधैं चासोमा रहेको दरबार हत्याकाण्डको पुन: छानविन सम्भव छ/छैन भन्ने पाटोबारे केही उल्लेख गरेर बिट मारौँ।

घटना लगत्तै जसरी अनुसन्धान गर्न सकिन्थ्यो, त्यसरी नै अहिलेको अवस्थामा अनुसन्धान गर्न सम्भव छैन। तर जे-जस्ता पाटाबारे अझै शंका छ, त्यो पाटो खुलाउन अनुसन्धान गर्ने हो भने सम्भव छ। अहिले पनि घटनाका धेरै प्रत्यक्षदर्शीहरु जीवितै छन्।

उनीहरुसँग पुन: बयान लिएर प्रष्ट नभएका पक्षहरु प्रष्ट बनाउन सकिन्छ। तस्बिर र भिडियोहरु पक्कै सुरक्षित होलान्। घटनाका प्रत्यक्षदर्शीका आधारमा डमी घटनास्थल बनाएर अध्ययन गर्न सकिन्छ।

मलाई अहिलेसम्म पनि हत्या घटना जसको कारण भएको हो भन्ने आएको छ, त्यसमा शंका लाग्दैन। तर शंका नलागेर मात्र भएन विश्वसनीय पनि हुनुपर्यो।

यसका लागि सरकारले चाहने हो भने अहिले पनि दरबार हत्याकाण्डको अनुसन्धान गरेर खुल्न बाँकी पाटाहरु खुलाउन सक्छ। तर अनुसन्धान गराउने कसले? सरकारले किन अनुसन्धान गराउँछ? किनकी अहिले पनि पूर्वराजालाई धम्काउनुपर्यो भने 'दरबार हत्याकाण्डका नाइके' भन्न पाएका छन्। अनुसन्धान गरेर जेल हाल्छौँ भन्न पाएका छन्।

सत्य/तथ्य आयो भने त यो धम्क्याउने बाटो नै बन्द भइहाल्छ।

यदि सरकार दरबार हत्याकाण्डमा अन्योलमा रहेको पक्ष खुलाउन अझै प्रतिवद्ध हो भने छानविन गराए हुन्छ। छानविन सम्भव छ।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....