ब्याच नम्बर ६९ : 'रामशरण महत' हेरोइन सहित अष्ट्रेलियामा समातिँदा...

ब्याच नम्बर ६९ : 'रामशरण महत'  हेरोइन सहित अष्ट्रेलियामा समातिँदा...

यसभन्दा अगाडिको अंकमा कांग्रेसका राष्ट्रिय सभा सांसद लालकाजी गुरुङको चरेस तस्करीमा संलग्नताबारे उल्लेख गरेको थिएँ। प्रसंग थियो, अमेरिकाको एक कार्यक्रममा सहभागी हुन जापान ट्रान्जिट बनाएर जाँदा सुटकेसमा चरेस बोकेर लगेको। जापानको प्रहरीले अप्रेसनमा अलि होस नपुर्याउँदा उनीहरु उम्किएका थिए। त्यो घटनामा सुशील कोइरालाको मिसयुज भएको थियो।

नेपालमा भिआइपीहरु अपराधमा जोडिएका धेरै घटना छन्। प्राय: चाहिँ रातो पासपोर्टका घटना छन्। यस्तै अर्को घटना नि छ। यो पनि कांग्रेससँगै जोडिएको छ। यो चाहिँ चरेस होइन, हेरोइनको केस हो। जोडिएका व्यक्ति नेपाली कांग्रेसका नेता रामशरण महत।

अष्ट्रेलियामा एक व्यक्ति एक किलो हेरोइन सहित पक्राउ परे। उनीसँग डिप्लोम्याटिक पासपोर्ट थियो अनि पासपोर्ट बाहकको नाम थियो रामशरण महत। नेपाली डिप्लोम्याटिक पासपोर्ट बोकेका व्यक्ति हेरोइन सहित समातिएपछि अष्ट्रेलियन प्रहरी छक्क पर्ने त भइहाल्यो।

उसले तत्काल सबै विवरणहरु हामीलाई पठायो। ती व्यक्ति हाम्रो एयरपोर्टबाट नगई दिल्लीबाट बैंकक गएका रहेछन्। अनि बैंककबाट अष्ट्रेलिया। एयरपोर्टमा जाँच गर्दा हेरोइनसहित पक्राउ परे।

पासपोर्ट पनि आयो। नाम रामशरण महत। सांसदको रुपमा डिप्लोम्याटिक पासपोर्ट जारी भएको रहेछ। यसो तस्बिर हेरेको डम्म परेको अर्कै व्यक्ति पो छ। जुन तस्बिर थियो, त्यो रामशरण महतको थिएन।

तर, पासपोर्ट त सक्कली हो।

व्यक्ति नक्कली, पासपोर्ट सक्कली। घटना बढो गभ्मीर भयो।

यस अगाडि पनि केही केसमा डिम्लोम्याटको पासपोर्ट दुरुपयोग भएका घटना आएका थिए। यो घटनापछि रातो पासपोर्ट बेचेर मानव तस्करी भएका घटनाहरु पनि आए नि। व्यक्ति नक्कली रामशरण हुन् भन्नेमा कुनै समस्या भएन। तर अब यसमा रामशरणको संलग्नता छ या छैन भन्ने पाटो पनि महत्वपूर्ण भयो।

OOO
विषय हेरोइनसँग जोडिएकाले अनुसन्धान गर्ने जिम्मेवारी इकाइमै आयो। अनुसन्धान गर्नुपर्ने मुख्य विषय थियो, उता अष्ट्रेलियामा पक्राउ परेका व्यक्ति र रामशरण महतको सम्बन्ध। अनि ती व्यक्तिले रामशरण महतको नाममा परराष्ट्रले जारी गरेको पासपोर्ट कसरी पाए?

अब पहिल्यै रामशरणमार्फत अनुसन्धान सुरु गर्नुभन्दा पहिल त पासपोर्टको डिटेल जम्मा गर्नुपर्ने भयो नि। यसका लागि परराष्ट्रमा जानुपर्यो। म आफैँ परराष्ट्र मन्त्रालय गएँ।

नेपालको सांसदको डिप्लोम्याट पासपोर्ट बोकेका व्यक्ति अष्ट्रेलियामा हेरोइनसहित पक्राउ परेका छन्। तर परराष्ट्रका अधिकारीहरुको व्यवहार हेर्दा त ठूलो कुरै होइनझैँ पो गर्छन्।

उताबाट आएको पासपोर्टको सबै विवरण बोकेर मन्त्रालय गएँ। पहिला त आनाकानी गर्न थाले विवरण दिन। हेरोइनको कुरा छ। त्यसमा पनि अष्ट्रेलियन प्रहरी समेत जोडिएको। माननीयको पासपोर्ट छ।

उनीहरुलाई कुन प्रकृतिको घटना हो भनेर बुझाएपछि बल्ल मुख खोले। परराष्ट्र मन्त्रालयमा केही समय अगाडि चोरी भएको रहेछ।

तर, कहिले चोरी भएको? कुन-कुन पासपोर्ट चोरी भयो भन्ने डिटेल भने दिन मानेनन्।

OOO
रामशरण महतको पासपोर्टधारी अष्ट्रेलियामा हेरोइन सहित समातिएको यता हल्ला भइहाल्यो। संसदमा प्रश्न उठ्यो। त्यसपछि रामशरण महत आफ्नो पासपोर्ट बोकेरै संसद् गएका थिए। उनले संसदमा 'मेरो पासपोर्ट मैसँग छ' भनेर देखाएको मलाई याद छ।

हाम्रो अनुसन्धानमा जो रामशरणको नाममा अष्ट्रेलिया पुगेका थिए, उनको र रामशरणको सम्बन्ध देखिएन। अनि उसले बोकेको पासपोर्ट नेपालको त हो तर परराष्ट्र मन्त्रालयले रामशरण महतको नाममा जारी गरेको पासपोर्ट हैन भन्ने देखियो।

त्यो पासपोर्टको सम्बन्ध परराष्ट्र मन्त्रालयमा चोरी भएको घटनासँग जोडिन्थ्यो। कहिले चोरी भएको? के के चोरी भएको सबै विवरण माग्दा परराष्ट्रले सहयोग नै गरेन। मन्त्रालयमा चोरी भएको घटना प्रहरीलाई समेत जानकारी दिएको देखिएन। त्यत्तिकै गुपचुप राखेका रहेछन्।

त्यो पासपोर्ट कहाँ बन्यो भनेर बुझ्दै जाँदा त्यसको कनेक्सन दिल्ली देखियो। दिल्लीमा केही नेपाली र नाइजेरियनको समूह नेपाली राहदानीमा पिसी (फोटो चेन्ज) गरेर लागुऔषधको कारोबारमा प्रयोग गर्न सक्रिय रहेको देखियो। उनीहरुसँग सक्कली नेपाली राहदानीहरु रहेको र उनीहरुले त्यसैमा छेडखानी गरेर नेपाली भिआइपीहरुको नाममा नक्कली व्यक्तिको तस्बिर राखेर पासपोर्ट बनाउने गरेको समेत खुल्यो।

नेपाली पासपोर्टहरु दुरुपयोग भइरहेको छ भन्ने यही घटनाले पुष्टि गर्यो। नेपालकै ट्राभल्स एजेन्सीको सहयोग लिएर दिल्लीमा बसेका नेपालीले यो अपराध गरिरहेको भन्ने समेत आएको थियो। तर यो घटनामा परराष्ट्रबाट कुनै सहयोग नभएपछि अनुसन्धान निचोडमा पुग्न सकेन।

हामीले जे-जति विवरणहरु संकलन गर्न सक्यौं त्यो अष्ट्रेलियामा पठायौँ र जो समातिएको हो ऊ नेपालको डिम्लोम्याट नरहेको र उसको पहिचान रामशरण महत नभएको भनेर डिटेल पठायौँ। उसलाई उतै जेल भयो।

OOO
यही घटनाले नेपालको राहदानीको दुरुपयोग भएर लागुऔषधको कारोबारमा प्रयोग भइरहेको त देखायो। त्यसपछि हामीले नेपालमा यस्तो धन्दामा संलग्न हुनसक्नेहरुको खोजी सुरु गर्यौं।

अनुसन्धानमा अमर भट्टको नाम आयो। भट्ट पहिला प्रहरी नै थिए। प्रहरी हवल्दारको जागिर छाडेका उनी लागुऔषध मुद्धामै जेल समेत परेका थिए। जेलबाट मुक्त भएपछि उनले लागुऔषधमा बिचौलियाको काम गर्ने गरेको खुल्यो।

भट्टको गोल्फुटारमा रहेको घरमा छापा मार्दा डिप्लोम्याट पासपोर्टहरु फेला पर्यो। त्यसमा कांग्रेसकै लमजुङका रामचन्द्र अधिकारी लगायतको पासपोर्ट पनि थियो। हामीले सबै प्रमाण संकलन गरेर गृह मन्त्रालयमा पठायौँ। त्यसैको आधारमा गृह मन्त्रालयले रातो पासपोर्ट दुरुपयोगबारे छानविन गर्न समिति नै गठन गरेको थियो। अधिकारीमाथि मुद्धा पनि चलेको थियो। पार्टीले कारबाही पनि गरेको थियो। उनले पछि सफाइ पाए।

जे गरे पनि पछिसम्म नेपालको रातो पासपोर्टको दुरुपयोगको क्रम रोकिएन। पहिला लागुऔषधमै प्रयोग भएको थियो। पछि जसरी पनि विदेश जान चाहनेहरुलाई पठाउन सांसदहरुको पासपोर्ट दुरुपयोग हुन थाल्यो। नारदमुनी राना, गायत्री शाह, विपी यादव, शिव पुजन राय लगायतकाहरु पनि पासपोर्ट दुरुपयोगमा देखिए नि।

ती राहदानीहरु अष्ट्रेलिया र क्यानडा जान चाहनेहरुलाई पठाउन मानव तस्करीमा सक्रिय समूहले दुरुपयोग गरेको खुलेको थियो। रातो पासपोर्टमा सहजै भिसा लाग्ने भएपछि गिरोहले सक्कली राहदानी लिएर फोटो परिवर्तन गरेर व्यक्तिहरुसँग ५० लाखसम्म लिएर पठाउने गरेको देखिएकै हो नि।

यो केसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो। त्यसमा अध्यागमनका कर्मचारीहरु पनि तानिएका थिए। त्यसपछि कुटनीतिक राहदानीमा कडाइ गरियो। तर ढुक्क हुने अवस्था भने छैन।

मेरो दिमागमा अहिले पनि हेरोइन सम्झँदा अष्ट्रेलियाको त्यो घटना याद आउँछ। सँगै परराष्ट्र मन्त्रालयका जिम्मेवार अधिकारीहरुले गरेको असहयोग झल्झली सम्झन्छु।

यदि त्यो बेला परराष्ट्रका अधिकारीले चोरी भएका विवरण दिएको भए यस्तो गतिविधिमा संलग्नहरुको जालो चिर्न सकिन्थ्यो। उनीहरुले विवरण नदिँदा कतै मन्त्रालयकै कर्मचारीको मिलेमतोमा अपराध भइरहेको त थिएन भन्ने प्रश्न अझै हराइसकेको छैन मेरो मनबाट।

ब्याचका पुराना अंक

 क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

 

२३ असार, २०७८, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।