उकेरा काेलम

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

हेमन्त मल्ल


योभन्दा अगाडि पाँच सय किलो चरेसको अनुसन्धानबारे उल्लेख गरिरहेको थिएँ। ठ्याक्कै बुधबार जेठ १९ पर्‍यो। कोलमकै दिन नारायणहिटी हत्याकाण्ड भएको दिन। त्यो घटनाको अनुसन्धानमा म पनि कुनै न कुनै रुपमा संलग्न भएकाले दरबार हत्याकाण्ड र कालो पदार्थबारे उल्लेख गर्नु सान्दर्भिक होला भनेर बीचैमा अर्को विषय प्रवेश भयो। आज उही पुरानै पाँच सय किलो चरेस तस्करीबारे उल्लेख गर्दैछु।

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको शैली अनि चरेससँगै डलर र सुन तस्करीको सम्बन्ध कसरी जोडिएको छ भनेर उल्लेख गरेको थिएँ।

यो अंकमा यही प्रकरणमा जोडिएको एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी र एभरेष्ट होटलका कर्मचारीको संलग्नताबारे उल्लेख गर्ने प्रयास गर्नेछु।

OOO
जर्मनीबाट आएको जानकारी र अनुसन्धानको क्रममा बरामद भएका प्रमाणहरुले विमानस्थलभित्र पुगेको सिङगिङ बलको कार्टुनसँग चरेस भएको कार्टुनको बक्सा साट्न एभरेष्ट होटलको गाडी प्रयोग भएको खुल्यो।

यो आरोप मात्र थिएन। विमानका यात्रु र चालक दलका सदस्यका लागि आवश्यक खाना लैजाने जिम्मा एभरेष्ट होटलले पाएको थियो। विमानस्थलभित्र जाने र आउने सबै सवारीको जाँचमा कडाइ हुनुपर्ने हो। तर नियमित आउने-जाने भइरहेपछि केही हेलचेक्र्याइँ गरिदिन सक्छन्। अर्को, सेटिङमै काम भएको पनि हुन्छ।

यो घटना त्यो बेला भएको थियो जुन बेला विमानस्थल ठेक्कामा लागेको थियो। त्यसैले एभरेष्ट होटलको गाडीले चरेस ओसार्ने केवल कर्मचारीको मात्र मिलेमतोमा हो भन्न सकिने अवस्था थिएन।

अनुसन्धानमा होटलको गाडी चरेस प्याक गर्ने नखिपोटको घरमा गएर चरेस भएको कार्टुन बोकेर विमानस्थल जाने र कार्टुनको बाकस साटेर सिङगिङ बल भएको कार्टुनको बाकस बोकेर ल्याएर फेरि त्यही घरमा छाड्ने गरेको पुष्टि भयो।

यसले होटलको स्टाफ मात्रै हैन, गाडी नै प्रत्यक्ष चरेस कारोबारमा संलग्न देखिएपछि केही कर्मचारी पक्राउ गरेर कारबाहीको दायरामा ल्यायौँ।

हाम्रो अनुसन्धानमा लुफ्थान्सा एयरलाइन्सको विमान जर्मनीको फ्रयांकफर्ट पुगेपछि उक्त विमानमा चरेस फेला परेको थियो। त्यतिबेला एभरेस्ट होटलले अन्तर्राष्ट्रिय विमानस्थलमा खाना पुर्‍याउने जिम्मेवारी पाएको थियो। एभरेष्ट होटलको नाममा रहेको बाअप २६४ नम्बरको भ्यानमा खानासँगै चरेस लगेर विमानभित्र खाना पुर्‍याउने क्रममा चरेस भएको कार्टुन र सिङगिङ बल भएको कार्टुन साटिएको पुष्टि भएको थियो।

गाडी कम्पनीको भएपछि त त्यसका सञ्चालक पनि कुनै न कुनै रुपमा जोडिन्छन् नै। जिम्मेवारी त सञ्चालककै हुन्छ। त्यसमा पनि तीन जना होटलकै कर्मचारी पक्राउ परेका थिए।

यी सबै तथ्यहरुले होटल सञ्चालक मस्कुर अहमद लारी पनि अनुसन्धानमा तानिने नै भए। उनीसँग पनि अनुसन्धानको क्रममा केही बुझ्नुपर्ने भयो। उनलाई इकाइले पटक-पटक कार्यालयमा आउन सम्पर्क गर्‍यो। तर उनी आएनन्। प्रहरीले बोलाएको समयमा कार्यालयमा आएर आफूलाई भएको जानकारी दिएर सघाउनुपर्नेमा उनी अनेक पावर सेन्टरलाई फोन गर्न लगाएर बसे।

हामीले पटक-पटक गरेको प्रयास सफल भएन। उनी लुकेरै बसे।

OOO
पाँच सय किलो चरेसमध्ये २ सय ५० किलो जर्मनी पुगेको थियो। २ सय ५० किलो चरेस यतै फेला परेको थियो। अनुसन्धानमा घटनाको मुख्य योजनाकार लक्ष्मी कंसाकार देखिइन्। उनलाई एभरेष्ट होटलका कर्मचारी अनि विमानस्थलका कामदारले सघाएको खुलिसकेको थियो।

कंसाकार पक्राउको क्रममा फेला परेका कागजपत्र लगायतका प्रमाणले उनीहरु अभियुक्त बन्ने नै भए। लारी जति गर्दा पनि प्रहरीको सम्पर्कमा आएनन्। अनुसन्धानलाई प्रारम्भदेखि नै असहयोग गरेपछि प्राप्त प्रमाणको आधारमा उनलाई पनि अभयुक्त बनाएर अनुसन्धान सक्कायौँ।

लारी लामो समयसम्म पनि पक्राउ परेनन्। उनी अदालत पनि गएनन्। लामो समय उनको मुद्धा तामेलीमा रह्यो। २०६८ मा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ आदेश जारी गरेपछि उनी २०७४ फागुनमा पक्राउ परेका थिए। प्रारम्भमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा गएका थिए। पछि छोटो समयमै उनको मुद्धा टुंगिएर सफाइ पाए।

बीचमा अदालती प्रक्रियामा के-के भयो त्यसमा हाम्रो त्यति चासो हुने कुरा भएन। अनुसन्धान सकाएर राय सुझाव पठाएपछि प्रहरीको जिम्मेवारी सकियो।

OOO
यो घटनाको अनुसन्धानबाट त्यो बेलामा विमानस्थलमा सेटिङ मिलाएर भइरहेको तस्करीको भित्री जालोसम्म पुग्न सकिने सम्भावना थियो। प्रयास नभएको पनि हैन। तर बीच-बीचमा व्यक्ति हराए। विमानस्थलबाट सेटिङमा तस्करी गर्न कुनै न कुनै रुपमा कुनै तहका प्रहरी मिलेकै हुन्छ।

संगठनले नै सघाउने हैन। व्यक्तिले सघाउन पनि सक्छन्। धेरै तस्करीका घटनामा प्रहरी अधिकारी, भन्सार लगायतकाहरु पनि पक्राउ पर्ने गरेका नै छन्।

यो केसमा पनि कतै न कतै प्रहरीको पनि संलग्नता छ कि भनेर त्यो पाटोको पनि अनुसन्धान गरिरहेका थियौँ। हामीलाई शंका लागेको तल्लो तहका एक प्रहरी कर्मचारी एकाएक हराए। उनलाई खोज्ने प्रयास सफल भएन। हामीलाई लागेको शंका कुनै न कुनै रुपमा ती व्यक्ति संलग्न छन्। अब उनी नै हराएपछि अनुसन्धानको चेन भत्कियो।

जर्मनबाट पैसा आएको हङकङमा रहेका नेपालीको खाताबारे विस्तृत विवरण नआउँदा सुन, डलर अनि चरेस तस्करीलाई एक अर्कासँग जोडेर अनुसन्धान गर्न सकिएन। यता विमानस्थलका एक प्रहरी भागेपछि त्यो पाटो पनि अधुरै रह्यो।

हाम्रो जिम्मेवारी चरेसको जालो भत्काउने थियो। लक्ष्मी र उनको सञ्जालका सहयोगी पक्राउ गरेर एक हदसम्मको जालो भने भत्कियो। तर जुन रुपमा अनुसन्धानलाई फराकिलो पार्न सकिन्थ्यो त्यो भने सकिएन।

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

चौथो अंगमा श्रीरामसिंह बस्नेत : नेताको खल्तीबाट नियुक्ति पाएकाहरुबाट सही सूचनाको के आश?

नेपालमा भने गोरखापत्र, रेडियो, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजन राज्यबाट सञ्चालित छन्। यी सञ्चार माध्यमलाई धेरैले सरकारी सञ्चार माध्यम भन्ने गरेका छन्। तर यसमा....