उकेरा कोलम

यो सन् १९९७ अन्तिमतिरको घटना हो। त्यो बेला लागुऔषध नियन्त्रण इकाइको कार्यालय ठमेलमै थियो। कार्यालय प्रमुख हुनुहुन्थ्यो सुरेन्द्र पाल।

धेरै दिनदेखि परिवारलाई समय नै दिन पाएको थिइनँ। सामानहरु पनि किन्नुपर्ने थियो। त्यसैले त्यस दिन त्यो अफिसबाट अलि चाँडो निस्किएँ।

सामान न्युरोडमै हो किन्ने। श्रीमतीलाई मोटरसाइकलमा राखेर न्युरोड गएँ। वडा कार्यालयको कम्पाउन्डमा लगेर मोटरसाइकल राखेर बाहिर निस्किएको मात्र थिएँ, वाकिटकीमा सुरेन्द्र सरको कल आयो।

‘ए भाइ, एक पटक विदेशतिर समन्वय गर्नुपर्ने केस आइपुग्यो। केस अलि गम्भीर नै छ। अफिसमा केशव खरेल कुरेर बसेका छन्। तिमी आउनुपर्यो’ भन्नुभयो।

किनमेल गर्न गएको। कम्पाउन्ड बाहिर श्रीमती कुरेर बसेकी थिइन्। बाहिर निस्किएर अफिसबाट अर्जेन्ट कल आयो अफिस जानुपर्यो भनें।

उनी रिसाउने भइहालिन्। अब रिसाएर के गर्ने। प्रहरीको श्रीमती भएपछि यस्तै हो। कतिखेर के सूचना आउँछ के थाहा। जान त किनमेल गर्नै गएको हो नि। अब अर्जेन्ट भनेपछि जानै पर्‍यो।

कम्पाउन्डमा फर्किएर मोटरसाइकल स्टार्ट गरें। श्रीमती गनगन गर्दै मोटरसाइकल पछाडि बसिन्। कार्यालय पुगुन्जेलसम्म उनी गुनगुन गरिरहेकी थिइन् पछाडि।

कार्यालयमा पुग्दा खरेल ब्यग्र भएर बसिरहेका थिए।

त्यो बेलामा नेपालबाट जापानमा शाही नेपाल वायुसेवा निगमको फ्लाइट जान्थ्यो। सूचना त्यही फ्लाइटबारे थियो।

शंकामा थिए, फ्लाइटमा रहेका भिआइपीहरु।

नेपाली कांग्रेसको एक टोली अमेरिका हिँडेको थियो। त्यो टोलीका सबैको नाम त थाहा भएन। सुशील कोइराला र राष्ट्रिय सभाका सांसद लालकाजी गुरुङ थिए।

शंकामा लालाकाजी। उनी भारतीय सेनाबाट अवकाश पाएका कर्नेल।  नेपाली कांग्रेसले उनलाई राष्ट्रिय सभाको सांसद बनाएको थियो। उनी कांग्रेसको नेपाल भूतपूर्व सैनिक संघको अध्यक्ष पनि थिए।

उनीहरु जापानलाई ट्रान्जिट बनाएर अमेरिका जाँदै थिए। लालकाजीले २ वटा सुटकेस बोकेका थिए। दुवै सुटकेसमा भिआइपीको ट्याग थियो।

सूचना थियो, ‘त्यो सुटकेसमा चरेस छ।’ चरेस राख्ने लालकाजी। उनीहरु अमेरिकामा सोसलिस्ट इन्टरनेसनलको कार्यक्रममा भाग लिन हिँडेको खुल्यो।

जापान ट्रान्जिट। एक रात जापानमा बसेर दोस्रो दिन अमेरिका उड्ने फ्लाइट सेड्युल रहेको खुल्यो। लालकाजीले त्यो चरेस जापानमा छाड्न बोकेको भन्ने समेत आयो।

सूचना बढो गम्भीर थियो।

कांग्रेसको भिआइपी टोली। सबै जना भिआइपीकै दर्जा। तर सुटकेसमा छ चरेस।

नेपालमा भिआइपी भनेपछि त पुगिहाल्यो। नेपालको विमानस्थलमा कसले रोक्ने। त्यसमा पनि भिआइपीकै ट्याग लागेको सुटकेस।

नेपालको एयरपोर्टबाट सहजै चरेस भरिएको सुटकेस विमानस्थलभित्र पुग्यो। सुशील कोइराला समेत टिममा भएकाले उनको संलग्नताबारे पनि बुझ्नैपर्‍यो।

सुटकेस कसले बोकेको भनेर बुझ्दा लालकाजीले भन्ने आयो। टोलीमा भएका अन्यको संलग्नताबारे बुझ्दा लालकाजीबाहेक अन्यलाई सुटकेसबारे थाहा छैन भन्ने आयो।

सूचना आइसक्दा यता विमानस्थलबाट प्लेन उडिसकेको थियो। यतै रोक्न सम्भवै भएन। अब चरेस फेला पर्नसक्ने त जापानमै हो। त्यसैले ती सबै सूचना जापानको लागुऔषध हेर्ने टिमलाई जानकारी गराउनुपर्ने भयो।

लागुऔषध अनुसन्धान भनेको एक देशमा मात्र हुँदैन। धेरै देशका एजेन्सीहरु मिलेर अनुसन्धान गर्छन्। सूचना आदानप्रदान हुनु सामान्य नै हो।

लागुऔषधबारे अनुसन्धान गर्ने जापानको प्रहरी टोलीलाई फ्लाइट नम्बर, भिआइपीहरु, शंकास्पद लालकाजी र उनको साथमा रहेको २ वटा सुटकेस भनेर सन्देश पठाएँ।

उता सबै जानकारी दिएपछि यता लालकाजीबारे बुझ्न थाल्यौं। उनी यस अगाडि पनि चरेस कारोबारमा संलग्न रहेको सूचना आयो। उनलाई कसैले झुक्याएको नभई उनले भिआइपी टोलीले पाउने सुविधाको दुरुपयोग गरेर चरेस लैजान खोजेको देखियो।

यो त झन् गम्भीर कुरा आयो।

कार्यालयमा बसिराख्नुको कारण थिएन। दिनुपर्ने जानकारी दिइसकेका थियौं। अब बाँकी काम जापानकै प्रहरीको थियो।

अनि म श्रीमती लिएर घर फर्किएँ।

०००
यति जानकारी दिएपछि त चरेस राखेको सुटकेस सहित पक्कै पनि लालकाजी पक्राउ पर्छन् भन्ने थियो।

किनकी खबर पक्का थियो। शंका मात्र हैन, दुई वटा सुटकेसमा १५–१५ किलो गरेर ३० किलो चरेस राखिएको थियो। जापानमा ३० किलो चरेस भनेको धेरै हो।

बिहानै कार्यालयमा गएर जापानमा सम्पर्क गर्‍यौं। तर छक्कै पर्ने सूचना आयो। न लालकाजी फेला परे न उनले चरेस बोकेर लगेको सुटकेस।

विमानस्थलमा जाँच गर्दा एक जना जापानी नागरिक कम्मरमा बोकेरको अढाई किलो चरेस सहित पक्राउ परेका रहेछन्। तर उनी त्यो टोलीका सदस्य थिएनन्।

सूचना पो गलत थियो कि भन्ने पनि लाग्यो। खरेललाई सोधें, ‘अनि सुटकेस त फेला परेन रे। गलत सूचना थियो कि क्या हो?’

खरेलले भने, ‘हैन सर, हन्ड्रेस पर्सेन्ट सुटकेसमा चरेस थियो। उतै केही गडबड भयो होला।’

विमानस्थलमा प्रहरीको चहलपहल बढी भयो की? उनीहरुले चरेस राखेको सुटकेस छाडेर भागे की? भन्ने लाग्यो।

‘तिमीहरु एयरपोर्टमा सादा पोशाकमा गएका थियौ कि ड्रेसमा’ भनेर जापानको प्रहरीलाई सोधें।

उनीहरुले भने, ‘चारैतिर ड्रेस लगाएका प्रहरी थिए। अनि चरेस फेला पार्ने कुकुर पनि। तर फेला परेन।’

ज्या! गडबड भइहालेछ नि।

अब जताततै प्रहरी, त्यसमा पनि कुकुर बोकेर यात्रु सुँघाउँदै हिँडेपछि त यस्ता कारोबारीले चाल पाइहाल्छन् नि।

०००
विमानस्थलमा प्रहरीको चहलपहल बढी देखेपछि कारोबारी सामान छाडेर भाग्न सक्छन्। त्यसैले यस्ता केस गोप्य रुपमा अनुसन्धान गरिन्छ।

नेपालमा हामीले अप्रेसन गर्दा लुकेर गर्छौं। विमानस्थलका प्रहरीलाई समेत खबर गर्दैनौं। हाम्रै टोली हुन्छ विमानस्थलमा। उनीहरु सादा पोशाकमा खटिन्छन्। उनीहरुलाई सपोर्ट चाहिएको अवस्थामा अर्को टोली पनि जान्छ। तर सादा पोशाकमा।

शंका लागेको सामान र व्यक्ति नियन्त्रणमा नआएसम्म कुकुर लैजाने, प्रहरी ड्रेस लगाएर उभ्याउने गर्दैनौं।

कतिपय केसमा त हामीहरुले जो लागुऔषध बोकेर आएको शंका लाग्छ नि, उसको लगेज जाँच्दा सामान देखियो भने पनि सामान नदेखेझैं गरेर विमानस्थलबाट बाहिर आउन दिन्छौं र बाहिर नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं। यस्तोमा लागुऔषध बोक्ने प्रमाणसहित पक्राउ पर्छन्।

तर, कतिपय देशको प्रक्रिया फरक हुन्छ। प्रोटोकल फरक हुनसक्छ।

०००
खरेल पक्का थिए– लालकाजीको सुटकेसमा चरेस छ।

उनले भने, ‘मलाई जसले सूचना दिएको हो, उसले दिएको सूचना अहिलेसम्म गलत भएको छैन, यो पनि पक्का हो।’

हुन पनि खरेलले ल्याउने सूचना गलत भएको थिएन। पक्का नै हुन्थ्यो।

कतै न कतै सुटकेस भेटिन्छ भन्ने लाग्यो। लालकाजी सहितको टोली कता गयो त? उनीहरु विमानस्थलमा उत्रिएको रेकर्ड देखियो। तर विमानस्थल बाहिर निस्किएको देखिएन।

कता गए त?

उनीहरुलाई भित्रैबाट तत्काल अमेरिका जाने अर्को फ्लाइट मिलेछ। टिकट लिएर हिँडिहाले।

उनीहरुको फ्लाइट सेड्युलमा एक रात जापान बस्ने नै थियो। एकाएक सेड्युल बदलेर विमानस्थल भित्रैबाट अर्को फ्लाइट मिलाएको भनेपछि विमानस्थलमै गडबड भयो भन्ने भइहाल्यो।

तर, चरेस भएको सुटकेस अमेरिका लैजान सम्भव थिएन।

लालकाजीको टार्गेट जापानै थियो। भिआइपी भन्दैमा अमेरिकामा छुट हुँदैन। त्यसमा पनि लालकाजीको कनेक्सन जापान भएकाले उनी बेकारमा चरेस लिएर किन अमेरिका जान्थे र?

विमानस्थलमा सुटकेस छाडेर भागेको पनि हुनसक्छ।

जापानको टोलीलाई भनें, ‘कसैले क्लेम नगरेको सुटकेस छ कि खोजौं न।’

हो रहेछ। नेपालको भिआइपीको ट्याग लागेको २ वटा लावारिस सुटकेस फेला पर्यो। सुटकेस खोलेर हेर्दा १५–१५ किलो चरेस राखेको चरेस फेला पर्‍यो। तर उनीहरु त अमेरिका गइसकेका थिए।

अब व्यक्ति फेला परेन। चरेस फेला पर्‍यो। लालकाजी सांसद बनेर भिआइपी पदको दुरुपयोग गर्दै चरेस कारोबारमा संलग्न रहेको पुष्टि भयो।

०००
चरेससहित पक्राउ नपरे पनि लालाकाजी चरेस कारोबारमा भएको त पुष्टि भयो। यता हल्ला भइहाल्यो। नेपाली कांग्रेसको पदाधिकारीकारीकै टोलीमा रहेका राष्ट्रिय सभाका सांसदले बोकेको सुटकेसमा चरेस भेटिएको समाचार प्रकाशित भयो।

त्यसपछि कांग्रेसले उनलाई निलम्बन गरेको थियो। पछि यही केसमा उनको सांसद पद गयो।

भिआइपी पहिचान दुरुपयोग भएर भएका अन्य अपराध पनि छन्। त्यसबारे चाहिँ अर्को अंकमा।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : जब डेनमार्कको टोली नै नेपाल आयो

कुनै केसको अनुसन्धानमा आन्तरिक निर्णयको आधारमा पनि हुन्छ। अनि देशअनुसार अनुसन्धान पद्धतीका प्रक्रियाहरू अनौठा पनि हुन्छन्। कुनै- कुनै प्रक्रिया देख्दा त हामी नै छक्क पर्छौँ।....

चौथो अङ्गमा प्रकृति अधिकारी : शिक्षा पत्रकारिता लेनदेनमा फस्यो, पत्रकार ‘हण्डी’  खाने भए

शिक्षा डाइरेक्टरहरू कार्यक्रममा जान्थे। शिक्षा डाइरेक्टरले नै प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाउँथे। भोलिपल्ट श्री ३ सरकारको 'स्पिच' भनेर गोरखापत्रमा छापिन्थ्यो। शिक्षा डाइरेक्टर र प्रधानाध्यापकको स्पिच....

मोहन जसले कीर्तिपुरका तीन शहीदकाे शव लुकाए

जङ्गबहादुरलाई यही चित्त बुझेन। माछा सुकाउनाले आफ्नो दरबारमा ‘झिँगा’ आएको भन्दै ती पुजारीहरूको बस्ती नै स्थानान्तरण गरिदिए। विष्णुमतीको किनारमा पठाए। देउला पुजारीहरूको थातथलो राणाको भयो।....

मिडियाकर्मी सरिताश्री ज्ञवालीको प्रसव पीडा र खुसी : पहिलोपालि लात्ती हानेको अनुभव गर्नै पाइन 

मिडियाकर्मीको यात्रा सुरु गर्दै उनले नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम ‘म्युजिक प्लस’मा काम गर्न थालिन्। उनको परिवारले मिडिया क्षेत्र त्यति रुचाएको थिएन। परिवारले अमेरिका पढ्न जाने....

१९ हजार बालबालिका बेहोस बनाउने डाक्टर

तर नआत्तिनुस्, यो कुनै गलत काम होइन। उनी एनेस्थेसियोलोजिष्ट हुन्। अर्थात् चिकित्सा विज्ञानको यस्तो विधा जसले बिरामीलाई बेहोस बनाउने काम गर्छ।  हुन त चिकित्सकले बेहोसीको....