उकेरा कोलम

ब्याच नम्बर ६९ : नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो, सम्भव छैन


केही सातादेखि म लागुऔषध कारोबार र यसविरुद्ध चलाइएका प्रहरी अप्रेसनबारे उल्लेख गरिरहेको छु।

यो बीचमा नेपालमै चलेका अप्रेसन र जापानी अपराधी समूहको संलग्नतामा भएका केही तस्करी र त्यसको अनुसन्धानबारे चर्चा भयो। योपालि चाहिँ नेपाली गाँजा र चरेसको माग किन हुन्छ, अन्तर्राष्टिय बजारमा भनेर केही उल्ल्लेख गर्न मन लाग्यो।

प्रारम्भको अवस्थासँग अहिलेको अवस्था दाँज्ने हो भने लागुऔषध बजारमा धेरै परिर्वतनहरु भइसकेका छन्। प्राकृतिक लागुऔषधको स्थानमा कृत्रिम लागुऔषधको प्रयोग बढिरहेको छ।

प्राकृतिक लागुऔषध गाँजा पनि केही देशमा कानुनी रुपमै कृत्रिम रुपमा उत्पादन र बिक्री हुन थालेका छन्। तैपनि लागुऔषधको अन्तर्राष्टिय बजारमा नेपाली गाँजा र चरेसको माग किन घट्न सकेन? यस पछाडिका कारण के छन्?

यो अंक यही विषयमा केन्द्रित गरें है त।

०००
लागुऔषधको विश्व बजारमा नेपाली गाँजा र चरेसको पहिचान भनेको हिमालयन ह्यास नै हो। अहिले पनि नेपाली गाँजा र चरेस विश्व बजारमा यही उपनामले चलिरहेको छ। यो नाम एक खालको ब्राण्ड नै बनिसक्यो नेपालको गाँजा र चरेसको।

यसको कारण गाँजा र चरेसका अम्मलीमा परेको छाप नै हो। प्रारम्भमा नेपाली विशेष उच्च भौगोलिक क्षेत्रमा उत्पादन हुने गाँजामा लठ्याउने मात्रा जसलाई टिएचसी भनिन्छ, त्यसको मात्रा उच्च थियो।

यही कारणले नेपालमा उत्पादित गाँजा र चरेसको माग उच्च थियो, लागुऔषधको विश्व बजारमा। अर्को हिमाली क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएको अग्र्यानिक गाँजा र चरेस भनेर पनि कतिपयले यसको ब्रान्डिङ गरिदिए। र, अम्मलीमाझ क्रेज बढायो।

नेपाली गाँजा र चरेसलाई लागुऔषधको विश्व बजारमा फैलाउने काम नेपालमा विभिन्न देशहरुबाट विभिन्न काममा आएका अम्मलीहरुले नै गरेका हुन्। उनीहरु नेपाल आएर नेपाली गाँजा र चरेस खाए। अनी फर्कंदा आफूसँगै बोकेर पनि गए।

सन् १९६०–७० को दशकमा घुम्दै नेपाल आइपुगेका हिप्पीहरुले नै गाँजालाई अन्तर्राष्टिय बजारमा पुर्याएका हुन्। उनीहरु घुम्दै नेपाल आए। यताबाट जाँदा गाडिमा गाँजा र चरेस बोकेर गए। अन्त फैलाए।

उनीहरुले अन्य अम्मलीहरुलाई नेपाली गाँजा र चरेसलाई हिमालय ह्यास, अग्र्यानिक ह्यास भन्दै खुवाए। लागुऔषधका प्रयोगकर्ताहरुले यसको नशा मन पराए र यसको माग बढ्न थाल्यो। अनि पर्यटकका रुपमा नेपाल आउनेहरु नै विस्तारै तस्करीमा सक्रिय भए।

नेपालमा उत्पादित गाँजा र चरेसलाई विश्वबजारमा फैलाउन ठूलाठूला आपराधिक समूह नै संलग्न हुन थाले। लागुऔषधको बजारमा हिमालयन ह्यासको छुट्टै ग्राहक बन्न थाले। माग बढी हुन थालेपछि तस्करीको मात्रा बढ्न थाल्यो। एक्लाएक्लै ओसार्ने कामले संगठित आकार लियो।

नेपालमा गाँजा उत्पादन र चरेस बनाउने दुवै गैरकानुनी हो। तर अचम्म के भने लागुऔषधको विश्व बजारमा अहिले पनि हिमालयन ह्यास पाइन्छ। उनीहरुले नेपालमा उत्पादित गाँजा र चरेस भनेर खुला बिक्री गरिरहेको भेटिन्छ पनि।

सबै त नभनौं। किनकी लागुऔषधको बजारमा भारतमा बनेको चरेस पनि हिमालयन ह्यासको नाममा बिक्री भइरहेको भेटिन्छ। तर जहाँ चरेसकोे बिक्री वैध छ, त्यहाँ हिमालयन ह्यासको नाममा बिक्री हुने सबै चरेस भारतको मात्रै पक्कै हैन। नेपालबाट पनि गइरहेका छन्।

०००
नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ आउनुभन्दा अगाडिसम्म त नेपालमा गाँजा खेती र चरेस बनाउने काम वैधानिक नै थियो। सरकारले नै गाँजा र र चरेसको ठेक्का नै लगाउँथ्यो। पश्चिमको म्यादी लगायतका क्षेत्रमा खुल्लम–खुला चरेस नै बन्थ्यो। काठमाडौंमा चिया दोकान जस्तै गाँजा र चरेसका दोकान थिए नि। यहाँ गाँजा पाइन्छ भनेर बोर्ड नै राखिएको हुन्थ्यो।

खुला भए पनि त्यसको बजार भने सीमित थियो। त्यो बेलाको व्यापार नेपालमा विभिन्न बहानामा आउने हिप्पी र पर्यटक लक्षित थियो। भारतका संगठित अपराधीहरु विस्तारै चरेसको तस्करीमा प्रवेश गरिरहेका थिए।

गाँजा त भइगयो। त्यो बेलामा चरेस चाहिँ हातले माँडेर बनाउँथे। हातले माडेर बनाउन एक त समय लाग्थ्यो। दोस्रो परिणाम पनि कम हुन्थ्यो। प्रतिबन्ध लगाएपछि यसको बजार बढ्दै गयो। बजार बढ्दै गएपछि चरेस बनाउने प्रक्रिया पनि बदलियो।

नेपाली चरेसलाई प्रायःले पोलिस भन्ने गरेका पनि छन्। यो पुरानै नाम हो। तर यो बारेमा जानकारी नभएका प्रहरी अधिकारीहरुले पोलिसलाई भर्खर आएको लागुऔषध हो पनि भन्छन्। तर हैन। पोलिस नेपाली चरेसको पुरानै नाम हो।

नेपालमा पोल्याण्डका लागुऔषध अपराधीहरुको चहलपहल बढेसँगै पोलिस नाम पनि भित्रिएको हो। उनीहरुसँगै यो नाम भित्रिनुमा चाहिँ उनीहरुले नेपाल भित्र्याएको चरेस बनाउने प्रविधि मुख्य कारण हो।

हातले माँडेर चरेस बनाउँदा समय पनि लाग्थ्यो। थोरै उत्पादन हुन्थ्यो। त्यसले बजारको माग पूरा हुन सकेन। अनि पोलिस नागरिकले चरेस बनाउने नयाँ प्रविधि सिकाए। गाँजाको बोट सुकाउने, पात झार्ने र इँटा आकारमा ब्लक बनाउने। उनीहरुले मकवानपुरबाट यसको प्रारम्भ गराएको देखिन्छ।

पात हातले माडेर चरेस बनाउनुभन्दा यो सजिलो थियो। त्यसमा पनि धेरै खेर पनि नजाने, चरेस पनि बढी उत्पादन हुने भएपछि उनीहरुले यही विधि प्रयोग गर्न थाले। ब्लक बनाउन विशेष खालको साँचो पनि आफैं बनाए। त्यो बेलामा गाँजा टाँसेर ब्लक बनाउन सल्लाको खोटो प्रयोग हुन्थ्यो।

एकाएक ब्लक आकारमा चरेसहरु फेला परिरहेका थिए। अर्को मकवानपुरमा गाँजाको खेती बढिरहेको सूचना आयो। त्यहाँ कसरी गाँजा खेती भइरहेको छ भने बुझ्न लागुऔषध इकाईबाट एक टोलीलाई मकवानपुर पठायौँ।  

त्यहाँ सल्लाको पूरै बोटै सुक्नेगरी खोटो निकालेको देखिएपछि यो केमा प्रयोग गर्दा रहेछन् भनेर हेर्दा त गाँजालाई ब्लक बनाउन प्रयोग हुने गरेको देखियो।

इकाइले सल्लाको बोटै नष्ट हुने गरी खोटो निकालिरहेको फिल्ड प्रतिवेदन बनाएर बन मन्त्रालयमा पठाएका पनि थियौं। तर त्यो कार्यान्वयन नै भएन। चासै दिएनन्।

अहिले पनि इँटा आकारका चरेस फेला पर्छन्। त्यसलाई चिप्पड पनि भन्छन्। अहिले भने उनीहरुले टाँस्न खोटोको साटो सस्तो खालको ग्लु प्रयोग गर्न थालेका छन्।

०००
नेपाली गाँजा र चरेस विश्व बजारमा ठूलो परिमाणमा पुग्न थालेको २०४६ पछि नै हो।

२०४६ को राजनीतिक परिर्वतनपछि हवाई मार्गहरु खुले। अन्य देशमा नेपालीहरुको ओहोरदोहोरको क्रम बढ्यो। नेपालीहरुसँगै चरेस र गाँजा पनि ओहोरदोहोर हुन थाल्यो।

पञ्चायतकालमा चरेस र गाँजाको तस्करी नै हुँदैनथ्यो र भन्ने लाग्न पनि सक्छ। त्यो बेलामा पनि हुन्थ्यो। गाँजा जाने भारतसम्म मात्र देखिन्थ्यो। चरेस चाहिँ नेपालबाट भारत गएर त्यहाँबाट सामुद्रिक मार्ग भएर अन्य देशमा जान्थ्यो।

नेपालको हिमालको प्रचार फैलिएसँगै गाँजा–चरेसको प्रचार पनि फैलियो। ह्यास फ्रम हिमालय भनेर प्रचार गराए कारोबारीहरुले। हिमालसँगै गाँजाका पारखीमाझ पनि नेपालको नाम पुग्यो।

नेपाली गाँजा र चरेसको माग बढ्नुमा लट्ठ्याउने मात्रा टिएचसीका कारण पनि हो। तर अहिले कृत्रिम रुपमा उत्पादन गरिने गाँजामा टिएचसीको मात्रा ४० प्रतिशतसम्म हुन्छ। तैपनि नेपाली चरेसको बजार घटेको छैन।

नेपाली चरेसको बजार फैलाउनुमा भारतीय कारोबारीहरु पनि जोडिएका छन्। नेपाली चरेसको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको देखेपछि भारतीय लागुऔषधका कारोबारीहरुले भारतीय चरेसलाई पनि नेपाली भनेर बेच्न थाले।

मुख्य भारतको हिमाञ्चल र कश्मिर र उत्तरपूर्वी भारतमा हो गाँजा र चरेस बन्ने। नेपालबाट तस्करी भएर ठूलो मात्रामा गाँजा अहिले पनि भारत जान्छ। भारतको मात्र उत्पादनले माग पूरा नहुने भएपछि नेपालबाट तस्करी भएर भारत जाने गाँजामा भारतीय गाँजा मिसाएर चरेस बनाई उनीहरुले हिमालयन ह्यास भन्दै विश्व बजारमा पुर्याए।

नेपालबाट पनि कहिलेकाहीँ ठूलो मात्रामा चरेस बाहिर जाने गरेको छ। क्यानडामा हवाई मार्गबाट सात सय किलो चरेस पनि पुगेको छ। यो घटनामा नेपालको भन्सारका धेरै जना कर्मचारी समातिएका थिए। केही त उच्च व्यक्तिका आफन्त पनि पक्राउ परेका थिए त्यो घटनामा।

चरेसको ठूलो मात्रा विदेश पुग्ने सामुद्रिक मार्गबाटै हो। नेपालबाट स्थलमार्ग हुँदै भारत जाने र त्यहाँबाट सामुद्रिक मार्ग हुँदै अन्य देश पुग्छ। भारतको जलमार्ग हुँदै अन्य देश पुगेको ठूलो मात्राको चरेस बरामद पनि भएका छन्।

०००
नेपाली चरेसको ठूलो बजार नेदरल्यान्ड, जर्मनी, बेलायत हो। नेदरल्यान्ड त नेपालीको हब नै हो। नेदरल्यान्डबाट स्विजरल्यान्डसम्म पुर्याउने समूह नै थिए।

जापानमा पनि गइरहन्छ नेपाली चरेस। कुनै समय जापानको लागुऔषध बजारमा नेपाली चरेसले ८० प्रतिशतसम्म ओगटेको थियो। त्यो जालो भत्काउन निकै समय लागेको थियो। दुवै देशको संयुक्त अप्रेसन चलाएर धेरै सिन्डिकेट र रुटहरु भत्काएका थियौं।

अर्को, नेपालबाट सिधै क्यानडा, अमेरिकासम्म पनि चरेस जान्छ। अर्को बजार हङकङ र चीन पनि हो। चीनमा चाहिँ स्थलमार्गबाटै जाने हो। तातोपानी हुँदै चरेस चीन पुर्याएर हङकङसम्म पुर्याएका घटनाहरु पनि टन्नै छन्।

लागुऔषधको विश्व बजारमा नेपाली चरेस पुग्ने भनेको पाँच प्रतिशत मात्रै हो। यो मात्रा पनि ठूलै हो। तर त्यसले जोखिम मोलेर गाँजा र चरेस बनाउने नेपालीको आर्थिक अवस्था भने उकासेको छैन। उत्पादकको आर्थिक अवस्था अहिले पनि उस्तै नै हो।

विश्व बजारमा नेपाली चरेसको मूल्य उच्च छ। तर नेपालमा भने सस्तो छ। यी सबै तथ्यहरु इकाइको अनुसन्धान र विशेष अप्रेसनमा पक्राउ परेकाहरुबाट खुलेका विवरणहरुबाट स्थापित भएका हुन्।

०००
नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग बेलाबखत उठिरहन्छ। पछिल्लो समय नेपालमा यो अलि चर्किएको माग हो। हाम्रा सांसदहरुले संसदमै विधेयक पनि दर्ता गराएका छन्।

तर, यो हल्ला गर्ने मात्र विषय हो। नेपालमा गाँजा खेती वैध गराउन सम्भव नै छैन। लागुऔषध उत्पादन र वितरण अब कुनै एक देश विशेषको निर्णयमा मात्र सम्भव छैन। त्यसमा नेपालले लागुऔषध नियन्त्रण सम्बन्धी जे–जति अन्तर्राष्टिय र क्षेत्रीय कानुनहरुमा हस्ताक्षर गरेको छ, ती सबैले पनि यो सम्भव हुनै सक्दैन।

केहीले गाँजा खेतीलाई धान खेती जस्तैगरी बुझेका छन्। जसरी धानलाई सहजै धान भनेर बेच्न सकिन्छ, त्यसरी गाँजालाई गाँजा हो भनेर बेच्न सकिँदैन। भुलाउन त जे भने पनि भइहाल्यो।

विदेशी बजारमा खुल्लम–खुला चरेस पाइन्छ भने उत्पादन गरेर किन बेच्न सकिँदैन भन्ने लाग्न पनि सक्छ। हुन पनि हो, अमेरिकाका केही स्टेटमा गाँजा सेवन खुला छ। त्यहाँ नेपाली चरेस पनि पाइन्छ।

नेदरल्यान्डमा कफी सपमा सजिलै चरेस किन्न पाइन्थ्यो। कफि सपमा पाँच ग्राम किन्न सकिन्थ्यो। पसलेले आधा किलोसम्म राख्न पाउँथ्यो। अहिले कानुन बदलियो कि त्यो हेरेको छैन। परिणाम बदलिएको हुनसक्छ, तर बिक्री चाहिँ खुलै छ।

कफी सपमा आधा किलो चरेस राख्न पाइने। तर उनीहरुले वैध रुपमा चरेस भने किन्न पाउँदैनन्। कफी सपमा राखेको आधा किलो चरेस कहाँबाट ल्याएको त्यो पनि खुलाउनु नपर्ने। किन्न नपाउने तर राख्न पाउने, बेच्न पाउने। बढो ट्रिकी कानुन।

अमेरिकाको केन्द्रीय कानुन कडा छ। जहाँ गाँजा–चरेस खान पाउने नियम बनेको छ। केही राज्यमा बाहिरबाट आयात गरेर लैजान पाइन्न। सकिन्न पनि। त्यही उत्पादन हुनुपर्छ। क्यानडामा पनि चरेस र गाँजा खुला छ। तर यताबाट बोकेर लैजान त पाइँदैन। आयात पनि गैरकानुनी। निर्यात पनि गर्न पाइन्न। खान खुला गरिए पनि बिक्री र सेवनको कानुन कडा छ।

यस्तै ट्रिकी कानुनका कारण लागुऔषधको भूमिगत बजार फैलिरहेको छ। निर्यात गर्न पाइन्न। तर खान पाइन्छ। जसरी ल्याए पनि नसोध्ने। तर वैध रुपमा निर्यात गर्न नपाउने नियमले बढाउने त भूमिगत गिरोहै त हो।

एउटा अनुभव सुनाउँ है त।

सन् १९९७ मा सिंगापुरको एक कार्यक्रममा गएको थिएँ। त्यो बेलामा अमेरिकाको क्यालिफोर्निया र कोलोराडोमा गाँजा खेती भइरहेको थियो। कार्यक्रम चाहिँ लागुऔषध नियन्त्रण सम्बन्धी थियो। केही अमेरिकी न्यायाधीशहरु पनि थिए कार्यक्रममा।

कार्यक्रममा नेपालमा अवैध रुपमा उत्पादन हुने गाँजा नियन्त्रण गर्नुपर्यो भनेर भन्न थाले। मैले आफ्नो देशमा वैध रुपमा गाँजा खेती गर्न दिने अनि नेपालमा चाहिँ अवैध रुपमा गाँजा खेती बढ्यो भन्न मिल्छ भनिदिएँ अमेरिकीहरुलाई।

अमेरकामा कसरी गाँजा खेती भइरहेको छ भनेर सोधें। उनीहरु चुप बसे। पछि उनीहरुले कोलोराडो र क्यालिफोर्नियाको गाँजा खेती नष्ट गरेछन्। पूर्व योजना थियो कि कार्यक्रममा मैले त्यो विषय उठाएर नष्ट गरे त्यो चाहिँ थाहा भएन।

इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्ड (आइएनसिबी) ले लागुऔषध सम्बन्धी सबै कानुनको अनुगमन गर्छ। वैज्ञानिक परीक्षण या औषधि प्रयोजनका लागि गाँजा खेती गर्नसक्ने कानुनहरु पनि छन्। तर खेती गर्ने प्रक्रिया छ।

यसका लागि पहिला त आइएनसिबीमा निवेदन दिनुपर्यो। उनीहरु आएर अन्ुमति दिन उचित छ या छैन भनेर हेर्छन्। उचित कारण देखिए अनुमति दिन पनि सक्छन्।

तर, मुख्य विषय नेपालमा गाँजा उत्पादन गरेर गर्ने के भन्ने हो नि। उत्पादन गरेर मात्र भयो? अन्तर्राष्ट्रिय बजारमा वैध रुपमा लैजान सकिन्छ?

औषधि उत्पादन भनेर हल्ला पनि हुन्छ। कुन औषधि? कति मात्रामा उत्पादन गर्ने अनि निर्यात चाहिँ कहाँ गर्ने? यो सबै प्रष्ट हुनुपर्दैन? गाँजा रोप्ने अनि पशुपतिमा लगेर बेच्ने त होइन होला।

भारतले औषधि प्रयोजनका लागि अफिम उत्पादनको अनुमति लिएको छ। बलियो मेकानिजम बनाएका छन्। तैपनि नियन्त्रण गर्न नसकेर हैरान छन्। अफिमको दुरुपयोग बढेपछि अन्तर्राष्टिय मञ्चहरुमा विरोध भयो।

अहिले उनीहरुले अफिमको खेती गर्न अनुमति दिने मात्रा घटाइरहेका छन्। यता हामी भने गाँजा खेती खुला गर्नुपर्यो भनिरहेका छौं। यो गफ मात्र हो। सम्भव छैन। त्यसैले नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो।

प्रष्ट भए हुन्छ, अहिले जहाँ–जहाँ गाँजा खेती भइरहेको छ, खेती गर्नेहरुको दबाबमा सांसदहरु गाँजा खुला गराउनुपर्छ भनेर बोल्न बाध्य भइरहेका छन्। जहाँ गाँजा–चरेस खुला छन्, त्यहाँ नियमनको कानुन कस्तो छ थाहै छैन।

गाँजा खुला गराउनुपर्ने जसले माग गरिरहेका छन्, उनीहरु धेरैलाई नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय कानुनहरुबारे कम जानकारी छ।

औषधिको लागि गाँजा रोप्न खोजेको हो भने नयाँ कानुन नै चाहिँदैन। लागुऔषध ऐनमै व्यवस्था छ। तर पूरा गर्नुपर्ने प्रावधान त पूरा गर्नुपर्छ।

गाँजा त भयो नै। अहिले मध्यपश्चिममा अफिम खेती बढिरहेको छ। त्यताका कुनै नेताले कुनै दिन अफिम खेती खुला हुनुपर्छ भनेर आवाज उठाए आश्चर्य नमाने हुन्छ। के गर्ने नेपाल यस्तै त छ।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....